अविस्मरणीय क्षण — सरासर एयरपोर्ट पुग्दा !
—जेबी खत्री,कोलमुनि
९ महिनापछि बल्ल सबै कुरा मिलेर आयो । हुने बेला भएपछि सबै कुरा मिल्दै आउँदो रहेछ । नत्र कहिले पुलीस रिपोर्टको म्याद गुज्रियो भन्दिने । कहिले मेडिकलको । फेरि पुलीस रिपोर्ट बना । मेडिकल गर ले कागजात बुझा । कहिले पासपोर्ट जल्यो । अर्को बना ले बुझा हैरान । यति गरेर पनि कहिले आउला उड्ने दिन ? पहिलो विदेश यात्रा मेरो । नयाँ जोस,जाँगर,उमङ्ग र उत्साहले खुट्टा निक्कै माथि उचालिएका थिए । त्यस सँगसँगै के होला । कसो होला भन्ने चिन्ता र उत्तिकै कामको चुनौति पनि थियो । कस्तो ठाउँमा परिने हो ? कस्तो काम पर्ने हो ? एक हप्ता अगिनै हाम्रो सम्पूर्ण तयारी पूरा भएको थियो । लकेजहरू बाँधेर बसेका थियौँ । काठमाडौँको बसेको कोठाबाट निस्केर हिँड्न मात्र बाँकी थियो । घरबाट त त्यो पनि बाँकी थिएन । ३ महिना अगि नै विदावारी भएर हिँडिसकेका थियौँ । त्यसपछिको खान,बस्नको व्यवस्था एजेन्सीले गरेको थियो । बोलाएर भनेको समयमा उडाउन नसकेपछि बाहिरबाट आउँनेलाई नउडाउन्जेल एजेन्सीले खान,बस्नको व्यवस्था त गर्नै प¥थ्यो । दिनको २०० भत्ता दिएर थुम्थुम्याएको थियो । काठमाडौँको ठाउँमा त्यतिले त के पुग्थ्यो । अरू हाम्रो आफ्नो गोजीबाट जान्थ्यो । गइरहेकै थियो ।
२०६१ साल चैतको अन्तिम दिन । दिनको १२ बजे भित्र मेन पावर अपिसमा भेला भइसक्नु पर्ने भनिएको थियो । हामी ४ जनाको गु्रपिङ भिसा थियो । मेन पावरमा गएर हामीले भिषा,टिकट लगायत एग्रिमेन्ट पेपर आदि लिएर सिधै बेलुका ६ बजे एयरपोर्ट भित्र छिरिसक्नु पर्ने थियो । अन्यथा कोही छुट,फुट भए मेन पावर जवाफदेही हुने वाला थिएन । त्यसको जिम्मेवार आफैँ हुनु पर्ने थियो । सूचना पाटिमा यस्तै सूचना टाँसिएको थियो । हामीलाई बाटोमा आइपर्न सक्ने सम्भावित समस्याहरूका बारेमा मेन पावरले केही कुरा सुझाउँने भनिएको थियो । हामी ४ जना नै मेन पावरले दिएको समय भित्र अपिसमा हाजिर भइसकेका थियौँ । उनीहरूले हामीलाई खास गरि टिकट र गन्तव्यमा पुगेपछि रिसिभ गर्न आउँने मानिसका बारेमा वताए । काम र तलबका बारेमा त कुरा भइपनि सकेको थियो । हामीले भारतको नयाँ दिल्लीबाट रूस हुँदै तेलभीभ ओर्लनु पर्ने रहेछ । टिकट त्यस्तो थियो । अन्त समस्या छैन । नयाँ दिल्ली एयर पोर्टमा चाहिँ सोधखोज गर्न सक्छ । त्यहाँ चाहिँ बाहिर निस्केर फेरि भित्र पस्नु । भित्र पस्दा हातमा टिकट र पासपोर्ट लिएर मात्र पस्नु भनिएको थियो । किन यसो भनियो त ! भन्ने प्रश्नले मनमा अलिकति चिसो पस्यो । के होला भन्दा पनि जे होला भन्ने थियो,हामीलाई । त्यतिका समयपछि बल्ल भिषा लागेको थियो । १ महिनाको पेपर भिषा दिएको थियो,हामीलाई एम्बेसीले । वर्क प्रमिट भिषामा जाँदै थियौँ,हामी । मेन पावरले धेरैको डकुमेन्ट र पैसा लिएकोले मेन पावरमा रडाको मच्चिरहेको थियो । मान्छे धेरै कोटा थोरै । सबैलाई पठाउँन सकिरहेको थिएन । हाम्रो फ्लाइट भनिएको दिन पनि धेरै उम्मेद्वारहरू जान नपाएर रडाको मच्चाइरहेका थिए । हामीलाई १÷१ ओटा ट्याक्सी लिने । आ–आफ्ना सामान,व्याग,एटेज आदि के छन् ट्याक्सीमा हालेर सिधै एयरपोर्ट भित्र छिर्ने भनिएको थियो । हामी त्यसै अनुसार बेलुकीपख आ–आफैँ ट्याक्सी चढेर एयरपोर्टतिर लाग्यौँ । बिचमा अगिपछि भइयो । स्याङजाली १ सिन्धुपाल्चोक र गोरखाको १÷१ जना पाँचथरको म गरि ४ जना थियौँ । उनीहरू अगि लागेका थिए । मेरो ट्याक्सी वाला के गर्न थाल्यो । ढिला ग¥यो । बिचमा हाम्रो देखाभेट भएन । म एजेन्सीले जसो भनेको थियो,त्यसै सिधै ट्याक्सी लिएर एयरपोर्ट गेटबाट भित्र छिरेँ । मलाई कसैले रोकेन । सोधखोज पनि गरेन ।
एयरपोर्ट भित्र मलाई छोडेर ट्याक्सी फर्कियो । म साथीहरूलाई खोज्न थालेँ । कोही छैन । यता छन् कि भन्छु । उता छन् कि भन्छु । हेर्छु कतै देख्दिन । ४ जना सँगै छिर्नु प¥थ्यो । ग्रुपिङ भिषा छ । त्यो पनि हामीसँग छैन । एजेन्सीसँगै छ । साथी पनि आउँछन् भन्छु आउँदैनन् । बाटो हेर्दाहेर्दै आँखा चिप्रा परिसके ! ६ बजे भित्र एयरपोर्ट छिरिसक्नु भनेको थियो । म ६ बज्नु भन्दा १५÷२० मिनेट अगाडि नै छिरिसकेको थिएँ । म भन्दा अगाडि नै उनीहरू छिरिसकेका भएपनि समयसम्म त मलाई पर्खिनु पर्ने हो । म घडी हेर्दै अतालिन थालेँ । कतै म भन्दा पहिले नै आएर उनीहरू अगि नै भित्र त छिरिसकेका त हैनन् ? भन्ने कुराले मलाई त्रसित बनाउँन थाल्यो । यदि उनीहरू म भन्दा पहिले नै भित्र छिरिसकेका र प्लेन चढीसकेका रहेछन् भने त म कसरी बिना कागजात त्यहाँसम्म पुग्ने ! मसँग केही थिएन । खाली साथमा एउटा आफ्नो नागरिता थियो । पासपोर्ट लगायतका अरू सबै कागजातहरू मैले लकेज भित्र कोचिसकेको थिएँ । नयाँ दिल्ली पुगेर बाहिर निस्केर भित्र पस्दा मात्र पासपोर्ट र टिकट हातमा लिएर पस्नु भनिएको थियो । किन त्यसो भनियो । मलाई केही थाहा थिएन । एक्लै यो सब अब कसरी सम्भव छ ? त्यो पनि बिना कागजात ! जीवनमै पहिलो पल्ट म यति सारो अतालिएँ । मलाई लाग्यो,उनीहरू सम्पूर्ण चेक,पास सहित प्लेन चढीसके । सायद प्लेन पनि उडिसक्यो,होला । म छुटेँ । अब कुनै हालतमा पनि मेरो विदेश गई हुँदैन । अहिले पनि नभएको अब कहिले होला ! घडी हेर्दा बेलुकाको ७ बजिसकेको थियो । मसँग मोबाएल पनि थिएन । त्यतिबेला अहिले जस्तो सबकोहीको हात–हातमा मोबाएल परिसकेको थिएन । मोबाएल हात परेपनि सिम कार्ड हात पर्न गाह्रो थियो । मैले विदेश जाने कुरा लगभग मायाँ मारेँ । एउटा कुरा कि उनीहरूले मलाई झुक्याए त ! हैन,साथीहरू गए । म छुटेँ नै भन्ने भयो । अब मेरो घर फर्कनुको विकल्प थिएन ।
अन्त्यमा एउटा उपाय हात लाग्यो । मैले एयरपोर्ट भित्रै ल्याण्ड लाइनबाट सिधै मेन पावरमा फोन गरेँ । एकै कलमा फोन उठ्यो । अपिसमा बस्ने एक हर्ताकर्ताले फोन उठाए । खै त मेरा साथी,कोही छैनन् त यहाँ त ? सोझो मान्छेलाई किन यसरी ढाँट्नु ! आफ्नो औकातले भ्याएसम्म थर्काएँ । उनले सोधे,तपाइँ अहिले काँ हुनुहुन्छ ? मैले एकै सासमा भनेँ,म एयरपोर्ट भित्रै छु । उनले भने,ए अरू साथी एयरपोर्ट भित्र छिरेकै छैनन् । तपाइँ बाहिर निस्कनु त । गेट अगाडी बाहिरपटि छेउको चिया पसलमा छन् सबै । डाइरेक्टर साब पनि सँगै आउँनु भएको छ । ए छोडिएको रहेनछु भन्ने कुराले मन खुसी मात्र भएन । छाती नाङ्लो जत्रो भयो । थाहा भयो । फेरि कुरा फेरेछन् । आज पनि फ्लाइट नहुने भयो । लकेज घिसार्दै बाहिर निस्किएँ । नभन्दै हो रहेछ ।
हाम्रो अन्तिम विदाइका लागि हात हल्लाउँन भनेर केही साथीहरू पनि आएका रहेछन् । उनीहरूलाई देखेर म नतमस्तक भएँ । मलाई मात्र थाहा नभएको रहेछ । मेन पावरमा भएको रडाकोको कारण सकेसम्म कसैलाई थाहा नदिई हामीलाई उडाउँन खोजिएको रहेछ । उनीहरूलाई झुक्याउँनका लागि मात्र हामीलाई बेलुका ६ बजे भित्र एयरपोर्ट छिरिसक्नु पर्ने भनिएको रहेछ । खासमा हाम्रो फ्लाइट भोलि पल्ट २०६२ साल वैशाक १ गते विहान ८.३० बजेको चाहिँ रहेछ । उनीहरू कहाँ गयो ! भनेर मलाई नै धुइँधइँती खोजिरहेका रहेछन् । भोलि पल्ट विहान ६ बजे भित्र फेरि एयरपोर्ट छिरिसक्नु पर्ने भयो । त्यो दिन पनि हाम्रो फ्लाइट भएन । त्यहीँ नजिकैको एउटा होटलमा राखियो । त्यहीँ बस्यौँ । भोलिपल्ट विहान ८.३० बजे कस्मिक एयर वैजबाट हाम्रो फ्लाइट भयो । बल्ल हामी ९ महिनापछि इजरायलका लागि उड्यौँ ।
यसरी म त्यो दिन फ्लाइट भनेर नराम्रोसँग झुक्किएर एयरपोर्ट भित्र पुगेको छु । विगतलाई सम्झिने क्रममा बेलाबेला यो घटना मेरो दिमागमा अझैपनि आइरहन्छ । यो पानि मेरो जीवनको एउटा अविस्मरणीय क्षण हो ।












