अंक ७६ ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते बुधवार Jan 16, 2013
आन्दोलनको ताप
सरब कुमार महर्जन
चिसो मौसमबाट अव तापक्रम बढ्दो क्रममा छ । केही वर्षको अधिकतम चिसो यो वर्ष जस्तै राजनीतिक क्षेत्रमा पनि यो वर्ष अत्याधिक महिला हिंसा बढेको, भ्रष्टाचार बढेको, अराजनीतिक गतिविधि वढेको, विदेशी दलालहरुको बोलवाला भएको, राष्ट्रघाटी सम्झौता भएको, मंहगीले आकास छोएको, देश अध्यारो नेपालतिर धकेलेको वर्षको रुपमा, मितव्ययिताको स्वाङ पारी साधारण खर्च अत्याधिक रुपमा बढेको वर्षको रुपमा रहन पुग्यो । देशमा सरकारमा बसेर मन परि गर्ने, र सरकारको लागि आफनो स्वाभिमान पनि जुवाको दाउमा राख्ने जस्ता अति घतिया कामहरु पनि भए । दलहरु दलदलमा फसेको, राष्ट्रपतिले सर्वदलिय राष्ट्रिय सहमतिको सरकारको लागि दिएको हदम्यादको पनि कुनै अर्थ नहुने अवस्था बनेको छ । सर्वदलिय सरकार र तोकिएको समयमा नयाँ निर्वाचन हुने अवस्था नबनेको कारण देशमा एकपछि अर्काे आन्दोलन शुरु हुने भएको छ । अव आन्दोलनको तामक्रम बढ्ने क्रममा छ । महिला हिँसा विरुद्धको आन्दोलन जारी छ । पत्रकार डिकेन्द्र विष्टलाई जिउँदै खाल्डोमा गाड्नेहरु विरुद्ध पत्रकारहरु पनि सडक आन्दोलन तताउन थालेको छ । अव विपक्षहरु पनि सर्बदलिय सरकार र नयाँ निर्वाचनको लागि आन्दोलनको कार्यक्रमहरु घोषणा गर्दैछन् । आन्दोलनको राप र तापले को कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो छ ।
हुन त हिजो पनि आन्दोलन एकैदिनमा उठेको थिएन । आन्दोलनको लागि गाउँ गाउँबाट उठ, बस्तिबस्तिबाट उठ, यो देशको मुहार, फेर्नलाई उठ, भनेकै थियो । हातमा कलम हुनेहरु, कलम लिएर उठ, हातमा औजार हुनेहरु, औजार लिएर उठ, साथमा केही नहुनेहरु, आवाज लिएर उठ, भनेर जनकलाकारहरुले मात्र हैन आम आन्दोलनकारीहरुले सडक गुन्जाएमान बनाएका थिए । त्यतिमात्र हैन युद्धप्रसाद मिश्रको ‘रक्तक्रान्तिको ज्वालामुखिमा, आज उठेको यो स्वाभिमान, भन्ने क्रान्तिका गीतहरुले आन्दोलनलाई राप र ताप दिने गर्दथियो । आज २०६२/०६३ सालको जनआन्दोलन भनौं वा जनक्रान्तिका दिनहरु सम्झँदा, १९ दिने जनआन्दोलनका शहिदहरु, मर्न र बाच्नुमा परेको घाइतेहरुको अवस्था देख्दा, नेपाली जनतालाई आन्दोलनदेखि विरक्त पनि लागेको छ । आन्दोलन भनेको नेताहरुलाई मन्त्री बनाउने, प्रधानमन्त्री बनाउने, सरकारमा पठाएर देशलाई लुत्न मात्र दिने हो कि जस्तो लागिरहेको छ । तर पनि नयाँ नेपाल बनाउन, नयाँ संविधान बनाउन यहाँ सम्म कि सर्वदलिय सरकार बनाउनसम्म पनि आन्दोलनको आवश्यक महसुस गर्न थालेको छ । देशमा भएका महिला हिँसा रोक्न, स्थानीय निकायमा भएका मनपरी तन्त्र हताउन, भ्रष्टाचारलाई कार्वाही गर्न गराउन, पत्रकारहरुको हकहित संरक्षण गर्न समेत लोकतान्त्रिक सरकारसंँग पनि अव मागेर पाइदैन भन्ने बुझिएको छ ।
सरकारमा पुगेपछि त्यो जनताको सरकार हुदैनन्, त्यसले आम जनताकोे हित पनि गर्दैन, जनता भनेको दुहुने गाई मात्र हुन भन्ने व्यवहार त देखिन्छ । जनता आफै सचेत नभइ, जनताको लागि जनताद्धारा भन्ने प्रजातान्त्रिक उक्तिलाई पनि आफनो अनुकूल संचालन गर्ने कुख्यात नेताहरुका कारण प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रप्रति नै वितृष्णा पैदा भएको छ । जनताको शक्ति, जनताको आवाज, जनताको योग्यता क्षमता देखाउन अव जनताकै आन्दोलनको अनिवार्य छ । जसले घोडामा बसेको बादशाहलाई घोडाबाट खसाल्न सकोस् ।
No comments:
Post a Comment