Monday, February 18, 2013

खोकनाको भिं प्याखँ हेरेपछि

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

खोकनाको भिं प्याखँ हेरेपछि

ज्ञानवहादुर महर्जन नेवाः


नेपालको परम्परागत नेवाः सांस्कृतिक नाटक, नाटक विधामा अत्यन्त लोकप्रिय छ । आजको आधुनिक युगमा पनि परम्परागत दबली नाटक मञ्चन गर्नु सजिलो छैन । त्यसो भएता पनि काठमाडौंको     राष्ट्रिय नाचघरको दबलीमा ऐतिहासिक नृत्य नाटिका भिं प्याखँ एकादशी ब्रत टिकट शोको रुपमा मञ्चन गर्न सफल भयो । दिनको १२.१५ देखि परम्परागत दाफा बजाएर शुभारम्भ गरेको नृत्य नाटिका ६ घण्टासम्म लगातार देखाइएको थियो । ललितपुर जिल्लाको खोकना मा रहेको श्री रुद्रायणी देपा दाफा खलः र म्हे नायो दाफा खलःको आयोजनामा लिधंसा पासा पुचःको सहयोगमा भिं प्याखँ नृत्य नाटिका २०६९ माघ २७ गते शनिवार प्रस्तुत गरिएको थियो ।

नेपालमण्डलमा नाटक विधा अन्तर्गत परम्परागत अनुसार लोप हुँदै गइरहेको अवस्थामा सार्वजनिक रुपमा नाटक मञ्चन गर्नु अहिलेको अवस्थामा अवस्य पनि सजिलो छैन । स्मरणरहोस पहिले पहिले देव देवीहरूको गं प्याखँ, भिं प्याखँ, खः प्याखँ अति लोकप्रिय थियो । जुन रातरातभर हेर्ने गरिन्थ्यो । तर आजकल यस्तो नाटक लोप हुँदै गइरहेको छ । यसै सन्दर्भमा यो भिं प्याखँ हेर्न पाएर साह्रै रमाइलो लाग्यो । त्यसैले यो नाटक सिकाउने गुरु तथा कलाकारदेखि सहयोग गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । करीव १५० जना कलाकार र संगितकर्मीहरूलाई आजकलको जमानामा पनि एकै ठाउँमा ल्याई युवा÷युवती देखि बुढापाकाहरूलाई समेत नाटक सिकाउने÷गाना सिकाउने भनेको ठूलो चुनौती र साहसिक कदम हो ।  आधुनिक रहन सहनमा हुर्केका युवापिढीलाई   परम्परागत बाजाको तालमा नृत्य सिकाउनु सजिलो काम होइन । तैपनि यो नृत्यमा यो पक्षलाई चुनौति दिएर नयाँ पुस्तालाई समर्पित गर्न सफल भएको देखिन्छ । यो नृत्य सिकाउन तान्त्रिक पक्षका मूल गुरुद्वय देव वहादुर डंगोल र बाबुकाजी डंगोल हुनुहुन्छ । उहाँहरूको अथक प्रयासबाट तान्त्रिक विधि अनुरुप नेवाः परम्परागत नेवाः बाजा मृदङ्ग(दाफा), पोङ्गा, नायखिं बाजालाई प्रयोगमा ल्याइएको छ । त्यसैको ताल र सुरमा नृत्य सिकाउनु हुने लक्ष्मीदास डंगोल हुनुहुन्छ । गाना गुरु काजीलाल महर्जन र बुद्धिवहादुर महर्जन हुनुहुन्छ भने व्यवस्थापन अकल मान डंगालले गर्नु भएको छ । करिव ४४ वर्षपछि ललितपुरको खोकनामा प्रस्तुत गरिएको यो नृत्य आजको समय सापेक्ष चार पाँच दिनको नृत्यलाई छोट्याएर एकदिनमा प्रस्तुत गर्न सक्नुलाई ठूलो उपलब्धि मान्न सकिन्छ । यस नृत्य नाटकको कथासार यस प्रकार छन । नृत्यको पहिलो चरणमा बैकुण्ठमा एकादशी ब्रत बस्नको लागि बैकुण्ठका विद्याधारी पृथ्वीलोक आइ विजयपुरका राजा रुकमांगदको बगैंचामा पूmल टिप्न आउँदा राजपुरोहितको तन्त्रमा परी विमान नचल्ने र पछि राजाले एकादशि ब्रत बसेका मानिसको खोजि गर्दा कोही नभेटी धेरै दिनदेखि भोकैरहेका नन्दवंशीहरूलाई ब्रत बसाली विद्याधरीको उदार गर्ने र उसैको उपदेश अनुसार मन्दराचल पर्वतमा तपस्या गरी बसेका ऋषिमुनीहरूसँग ब्रत विधि ज्ञान लिइ हरेक वर्ष एकादशि ब्रत बस्ने संकल्प गरी एकादशी ब्रत बस्ने गर्दछन । यसैका प्रभावले  राजालाई सन्तान फल प्राप्त हुन्छ ।  नृत्यको दोस्रो चरणमा रुकमांगद राजाका छोरा    राजकुमारको राजा सुप्रमानन्दकी राजकुमारीसँग प्रेम भई बिहे सम्पन्न हुन्छ । पछि रुकमांगद राजाको धर्म परीक्षाको लागि विष्णुलोकबाट मोहनमाया नामको अप्सरालाई पृथ्वी लोक खटाउँछन । मोहनमायाले आफ्नो मायाजालमा पारी राजालाई एकादशी ब्रत भंग गर्ने प्रयास गर्छन र अन्तमा वचन हार गराउन राजालाई राजकुमारको शिर छेदन वा एकादशी ब्रत त्याग गर्न माग गर्छन् । आखिरमा राजाले राजकुमारको बलि दिन तयार हुन्छन् तर एकादशी ब्रत त्याग्न तयार हुँदैन । राजाले मोहनमायाको अगाडि      राजकुमारको टाउको काटेर दिन्छ । आफ्नो मायाजाल असफल भएको देखेर रिसले चूर भइ मोहनमायाले जावो एकजना महिलाले भन्दैमा   छोराको टाउको काटेर दिने मूर्ख   राजा भनेर हार मानी विष्णुलोक पुग्छन । यी सबै विष्णुलोकमा बसेर ब्रम्हा विष्णुले हेरिरहेको हुन्छ । टाउको काटिएको राजकुमारलाई ब्युँताएर हरिविष्णुले राजपरिवारको उदार   गरी स्वर्ग पु¥याउँछन । यसरी नाटकको अन्त्य हुन्छ ।

यो नाटकमा रमाइलो पक्ष भनेको राजारानीको श्रृंगार नृत्य, राजकुमार र यक्षको युद्ध, यमदुत र विष्णुदुतको भिडन्त, पिठ देवीको नृत्य तथा ख्याक, कवं, दांगिनी नृत्य हुन भने नाटकको वियोगान्तले दर्शकहरूलाई शोकाकुल बनाउन सक्नु नाटकको उत्कृष्टता मान्न सकिन्छ । दर्शकहरूलाई नाटकको अन्तमा राजपरिवारको भावविहवल रोदन दृश्यबाट शान्त पार्न र हसाउन अन्तिममा पीठ देवी तथा दांगिनी नृत्य राखिएको छ । जसले दर्शकलाई हँसाउन सफल भएको प्रशंसनीय पक्ष हो । यो नाटक नेपालमण्डलमा मात्र होइन देशभर फैलाउन जरुरी देखिन्छ । यसमा समानुसार कथालाई परिमार्जन गरी समाजमा भएको विकृति र विसंगती हटाएर देशको भलाई हुने, आपसी मैत्रीभावको कथा प्रस्तुत गर्नु पर्ने आजको आवश्यकता हो । यो नाटकले वास्तवमा दिन खोजेको सन्देश यही हो ।

No comments:

Post a Comment