अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013
को थिए थारु समुदायमा देशबन्ध्या गुरुवा ?
सन्तोष दहित
देशबन्ध्या गुरुवा भन्ने शब्द अहिले सुन्दा जो कोहीलाई पनि यो के शब्द होला भन्ने सोध्न मन लाग्छ । यो भनेको के होला भन्ने सबैको लागि खुल्दुलीको विषय पनि बन्न सक्छ । यो देशबन्ध्या गुरुवा भन्ने शब्द थारु भाषामा भनिन्छ । यो धेरै पुरानो शब्द पनि होइन । यो अहिले पनि थारु समुदाय रहेको गाउँमा जाने हो भने जताततै सुन्न पाइन्छ ।
थारु समुदायमा केही वर्षअगाडि आफ्नो गाउँ टोल हुँदै गाविसदेखि पल्लो गाविससम्मको प्रगन्नाको रेखदेख गरिनुका साथै पूजापाठ गर्ने, गराउनेको नेतृत्व गर्दै आएका व्यक्तिलाई देशबन्ध्या गुरुवा भनिन्छ । देशबन्ध्या गुरुवा शब्दलाई अर्को शब्दमा गुर्वाबा पनि भनिन्छ । तर हिजोआज देशबन्ध्या गुरुवा बनाउने चलन छाडेपछि देशबन्ध्या गुरुवाहरू हराउँदै गएका छन ।
देशबन्ध्या गुरुवा तान्त्रिक मन्त्रका ज्ञाता मानिन्छ । यो देशबन्ध्या गुरुवाहरू भएको सम्बन्धमा सानो किंवदन्ती रहेको छ । थारु अगुवाहरूको भनाई अनुसार प्राचीनकालमा धनपत नाम भन्ने एकजना थारु जातिका व्यक्ति देशबन्ध्या गुरुवा थिए । तिनका चार छोराहरू थिए । तिनकै चार सन्तानलाई दाङ जिल्लामा देशबन्ध्या गुरुवाको जिम्मेवारी दिएको थियो । त्यतिबेलादेखि थारु जातिका दहित, पछलडङ्ग्या, जिनगुनी र डेमनडौराका थर छुट्याइएको थियो । त्यही थरका थारु जातिहरूलाई यसको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । त्यसको नेतृत्व पाएपछि उनीहरूलाई आफ्नो कार्यक्षेत्रमा पठाएको थियो । ती चार देशबन्ध्या गुरुवालाई काम गर्न सजिलो बनाउनको लागि क्षेत्राधिकारको बाँडफाँड गरिएको थियो । त्यतिबेला दाङमा चार प्रगन्ना विभाजन गरिएको थियो । जसअनुसार अग्ला प्रगन्न, पश्चला प्रगन्न, पातु प्रगन्न र पछला प्रगन्न गरी चार भागमा विभाजन गरिएको थियो । अग्ला प्रगन्न घोराहीदेखि पूर्व देउखुरीसम्मको प्रगन्न मद्वा देवता मान्ने जिनगुनी थरका व्यक्तिले नेतृत्व गर्दै आएका थिए भने पश्चला प्रगन्न तथा छिल्ली प्रगन्नाको नेतृत्व भेठवा देवता मान्ने दहित थरका जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरी पातु प्रगन्ना तथा पछला प्रगन्नाको जगनथ्या देवता मान्ने पछलडङ्ग्या जातका थारु जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरी बाँकी ठाउँमा छुटेको गाउँठाउँका डेमनडौरा जातिका थारुले रेखदेख गर्दै आएका थिए । देशबन्ध्या गुरुवाहरूको काम गाउँ(गाउँमा मारकाट, हिंसा अन्त्य गर्नुको साथै दिगो शान्ति स्थापना गर्न ठूलो भूमिका रहन्छ । त्यस्तै, गाउँमा जो कोही विरामी परे उनीहरूलाई गुरुवामार्फत तन्त्रमन्त्रले निको बनाउने कार्य पनि गर्दै आएको पाइन्छ । त्यसैगरी बिग्रेको अन्नबाली सपार्नको लागि गुरुवाहरूले तन्त्रमन्त्रको माध्यमबाट राम्रो बनाउने गरेको पनि थारु अगुवाहरू बताउँछन् । यति ठूलो महत्वपूर्ण काम गर्दै आएका देशबन्ध्या गुरुवाहरूको विषयमा चासो नराखेकोले अहिले देशबन्ध्या गुरुवाहरू हराउँदै गएको छ । हरेक पूजापाठ गर्दै आएका देशबन्ध्या गुरुवाहरू नहुँदा अहिले थारु समुदायमा गरिने विभिन्न पूजापाठहरू पनि हराउँदै गएका छन । त्यतिबेला देशबन्धया गुरुवाहरू हुँदा नियमित रुपमा पूजाआजा हुने गरेकोमा अहिले भने समयमा पूजापाठ हुने त परै जाओस कुनै गाउँमा त पूजापाठ गर्नसमेत छाडेका छन । थारु जाति मात्र नभएर अरु समुदायले पनि देशबन्ध्या गुरुवाको विश्वास उतिकै गर्दै आएका थिए । थारु समुदायमा देशबन्धया गुरुवाहरूमा ठूलो शक्ति रहेको विश्वास गरिन्छ । यदि वर्षातको समयमा पानी नपरेको बखतमा देशबन्ध्या गुरुवाहरुले पूजापाठ गरेपछि पानीसमेत पर्ने गरेको थारु अगुवाहरु बताउँछन । त्यसैगरी देशबन्ध्या गुरुवाहरुमा ठूलो तन्त्रमन्त्र भएकोले पनि देवताहरुलाई समेत नजरबन्द गरिदिने अर्थात् देवतालाई उठबस गराइदिने समेत गराउँछन भनिन्छ । अहिले पनि देवता(भूत) लाई थुन्ने गर्छन् । पूजाआजा गर्ने बेला देवता (भूत)लाई फलामको किलाकाँटी ठोकेर तन्त्रमन्त्रको माध्यमबाट थुन्ने गरेको पाइन्छ । देवताहरु जब गाउँमा बिगबिगी मच्चाउँछन, त्यतिबेला देशबन्ध्या गुरुवाहरुले थुन्ने गर्दछन् । यसैगरी विभिन्न पूजाको माध्यमबाट गाउँमा शान्ति ल्याउने र गाउँको अन्नबालीमा रोग व्यथा नलागोस् भनेर पूजाको माध्यमबाट रोगब्याधी हटाउने प्रयास देशवन्ध्या गुरुवाहरूले गर्दछन ।
त्यतिबेला गाउँमा मान्छे बिरामी परेपछि उपचार गर्ने न स्वास्थ्यचौकी थियो न त अस्पताल । विरामीको उपचारसमेत देशबन्ध्या गुरुवाहरुले गर्दथे । जति मान्छे बिरामी हुन्थे त्यतिबेला देशबन्ध्या गुरुवाको खोजी हुन्थ्यो । त्यसैगरि थारु जातिका मानिस सबै कृषिमा निर्भर रहेकाले त्यतिबेला पनि धान खेतीदेखि तोरी हिउँदे बालीमा रोग लागेपछि औषधी पाइन्थ्यो । त्यसमा लागेको रोगलाई हटाउन पनि थारु समुदायमा त्यही देशबन्ध्या गुरुवाको माध्यमबाट पूजापाठ गरिन्थ्यो । यसरी रोग व्याधी हटाउन र गाउँमा दिगो शान्ति स्थापना गर्नमा देशबन्ध्या गुरुवाहरुको ठूलो भूमिका रहेको पाइन्छ । यतिमात्र नभएर त्यतिबेला देशबन्ध्या गूरवाहरुले गाउँ(गाउँमा धेरैभन्दा धेरै गुरुवा, वैदवा पनि उत्पादन गर्ने गरेका थिए । अहिले देशबन्ध्या गुरुवाहरु नभएपछि गाउँ गाउँमा गुरुवाहरु समेत कमै मात्रामा पाइने गरेको पाइन्छ । त्यतिबेला थारु गाउँमा घरघरमा थारु गुरुवाहरु हुने गरेका थिए ।
No comments:
Post a Comment