अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013
संस्कृतिका धनी ज्यापु
पद्म श्रेष्ट
सक्षम र अनुभवी अर्थात् जस्तोसुकै कठिन कार्यलाई पनि व्यवस्थित रुपमा पुरा गर्ने स्वभाव भएका नेपाल मण्डल (काठमाडौं उपत्यका) का आदिवासी ज्यापु (ज्या–काम, पु–सक्षम) आफैमा गौरवमय नेवार समाज मानिन्छन् ।
भूमिपुत्र ज्यापु समाजलाई चिनाउने आदि बाजा धिमे र धुङयां संस्कृति, धाः पोङ्गा, ख्याली भुस्या लगायतका संगीत र आफ्नै परम्परागत पहिरन पतासि, भोटो, कय्ता, पुतुलं, भादगाउँले टोपीको भेषमा आधारित प्राचीनता नै समष्टिगत रुपमा नेवार परिचय हो । कृषि पेशामा आत्मनिर्भर ज्यापु नै काठमाडौं उपत्यकालाई खनी–खोस्री कृषि योग्य भूमिको रुप दिने विश्वकर्मा हुन् । त्यसैले प्राचीन नेवार वस्ती पनौती लगायत उपत्यकाका विभिन्न ठाउँमा ज्यापु÷ज्यापुनीको पूजा र जात्रा गर्ने नेवार समाजमा मौलिक परम्परा पाइन्छ । ज्यापु खाना चिउरा, छोय्ला, तःखाः, चतांमरी, बारा लगायतका भोजलाई नेवारी भनिनु र उपत्यकाका अधिकांश जात्रा पर्व परम्परा अद्यावधि ज्यापु समाजकै नेतृत्वमा सञ्चालन हुनुले ज्यापु र नेवार पर्यायवाची पहिचान बन्न पुगेको पाइन्छ । सम्पूर्ण नेवारको आधाभन्दा बढी जनसंख्या रहेका ज्यापु कृषि उत्पादनका वाहक धर्म, संस्कृति र भाषाका संरक्षक भईकन पनि इतिहासको कुनै पनि मोडमा राज्यसत्ताको निर्णायक बिन्दूसम्म पुग्न सकेको भने पाईदैनन् ।
ज्यापु समाजका लोक बंशावलीकार स्वर्गीय नाति महर्जनले ‘स्वनिगःया संस्कृति, जाति वा इतिहास दुवाला’ पुस्तकमा उल्लेख गर्नु भएको छ— उत्तरबाट नेपाल छिरेका किराँत मंगोलले नेपालमा राज्य गरे दक्षिणबाट छिरेका लिच्छवि, मल्ल, शाह र राणाहरू नेपालका राजा लगायत उच्च ओहदामा छन् तर यहींकै आदिवासी ज्यापु भने लिच्छवि कालदेखि नै वैदिक शास्त्रको मनुस्मृतिको आधारमा शोषित हुनु बाहेक स्वतन्त्राको अनुभव गर्न पाएका छैनन् । ज्यापु समाज शोषणमा पर्नुको प्रमुख कारण शिक्षाको अभाव, विहान उठ्यो खेत गयो, दिनभर खेतमा काम ग¥यो, घर फर्कियो जे छ खायो सुत्यो, एकोहोरो जीवन पद्धतीमा व्यस्त बाहिरी संसारसँग कुनै सम्बन्ध नरहनु नै हो ।
त्यही खनीखोस्री दुःखजिलो गरिरहेको खेत पनि विभिन्न समयमा राज्यसत्ता बलियो भई डाडुपन्यू हातमा लिएका लिच्छवि, मल्ल, शाह र राणाकालसम्ममा पनि आफ्ना भारदारलाई बक्सिस दिनुप¥यो, दरवार वा स्कूल क्याम्पस बनाउनु प¥यो भने तिनै ज्यापुको खेत अनेक षडयन्त्र मूलक कानून बनाएर वा जवर्जस्ती अधिकरण गरी लिने गरिन्थ्यो । उदाहरणका लागि महाराजगञ्जदेखि जावलाखेल सम्म ५० हजार रोपनी खेतीयोग्य ज्यापुको जग्गामा सिंहदरवारदेखि राजदरवारसम्म निर्माण भएको दाबी किसान नेता नाति महर्जनको छ ।
तोरीबारी उपनामले प्रख्यात भृकुटीमण्डप बसपार्क, गोंगबु बसपार्क मात्र होइन कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय बनाउन अधिकरण गरिएको ६५०० रोपनी खेत ज्यापुबाट लिएपछि उनीहरूलाई खेतीविहिन बनाउँदै लगिएको बताइएको छ ।
नेपालको इतिहास अध्ययन गर्नेहरूले नेवार संस्कृति, राजनीति, अर्थव्यवस्था, धर्म भाषा, लिपिबारे थाहा नपाईं हुँदैन । तर ज्यापु महागुथि पूर्व अध्यक्ष विपिन्द्र महर्जन ९० प्रतिशत ज्यापुको हातमा जग्गाको लालपुर्जा छैन भन्नुहुन्छ । एक समय जात्रा कला संस्कृतिको मूल स्रोत जग्गालाई ‘जसको जोत उसको पोत’ गरि दिएपछि देवस्थलको प्रत्यक्ष नाउँमा रहेका जग्गा धमाधम बेच्न थालियो ।
ज्यापुलाई काममा लगाएर बसी–बसी खानेको नाउँमा जग्गा भएपछि त्यस्ता जग्गा पनि धमाधम बेच्न थालियो । फलस्वरुप परम्परागत जात्रा, पर्व, गुठी गाना चाहेर पनि बचाउन नसक्ने स्थितिमा छ । अध्यक्ष महर्जन भन्नुहुन्छ–‘जात्रा गुठी चलाउने ज्यापु तर गुठी संस्थानमा हाकिम राखिन्छ गुठीबारे कुनै ज्ञान नभएका व्यक्ति जसले हाम्रो जग्गा बेचेर गुठीको कोष खडा गरिन्छ जग्गा बेचेर आएको रुपियाँ गुठी संस्थानमा राजनीतिक रुपले जागिर खान जाने कर्मचारीलाई तलब खुवाउन खर्च गरिन्छ ।’
ज्यापु समाजको धर्म संस्कृति :
जंगली जनावरलाई धपाउन र जस्तोसुकै दुःखमा पनि रमाइलो गर्ने उपाय स्वरुप किराँत समाजमा जस्तै धिमे बाजा र धुङया संस्कृतिको पहिचान बोकेका ज्यापु समाज पूर्णतः प्रकृतिपूजक बौद्ध धर्मावलम्बी भन्न रुचाउने गर्दछन् । घाम, पानी, हावा आगो, पृथ्वी, आकाश, अन्न, रुख, ढुङ्गा मात्र होइन नासःद्यो भनी आमा, बाबु र गुरुरुपी तीन प्वालयुक्त (नाट्यश्वर) नृत्य नाथलाई जुनसुकै शुभकार्यको शुरुआतमा पनि सर्वप्रथम पूजा गर्ने यो समाजमा गहिरो प्रभाव पाइन्छ ।
डा. जगदीशचन्द्र रेग्मी, डा. जेके लक्क, दि ग्यालनर लगायतका अन्वेषकको अनुसन्धान निष्कर्षको उपमा दिनुहुँदै ज्यापु महागुथिका पूर्व अध्यक्ष विपिन्द्र महर्जन, नासःद्यःलाई राँगा बलि दिने प्रथा पनि ५ सय वर्ष अगाडि मात्र प्रचलनमा आएको बताउनुहुन्छ । माता पिता र गुरुको प्रतिक स्वरुप नासःद्यःलाई बलि दिंदा धकिं (एक प्रकारको रातो कपडा)ले छोप्ने प्रचलनले हामी बुझ्दछौं, राँगा बलि विवशतावश इतिहासको कुनै कालखण्डमा लादियो र पछि संस्कारको रुप लिंदै अत्यावश्यक जस्तै बन्नुपुग्यो । लिच्छवी कालमा शुरु भएको र ई. सं. ४६८ मा झांगिएको वैष्णव मत, ई.सं. ५३३ मा शैव मत नेपाल भित्रिएपछि पद्मपाणि लोकेश्वरलाई चाँगु नारायण, उच्छिटेश्वर विहार रहेको देवपतन बस्तीलाई पशुपति र बुंग लोकेश्वरलाई मच्छिन्द्रनाथ भनी नामाकरण गरे पनि मूलदेवताको अस्तित्व परिवर्तन गर्न सकेको छैन ।
किनकी ज्यापु बौद्ध समाजले आफ्नो मौलिक अस्तित्वलाई कुनै न कुनै रुपमा बचाइराखेका छन । यो भनाइ काठमाडौं उपत्यकामा ने. सं. ५२३ अर्थात् राजा यक्ष मल्लभन्दा अगाडि एउटा पनि नेवार समाजको स्वतन्त्र अस्तित्व रहेका शैव बैष्णव मतका मठ–मन्दिर नदेखिनु र उपत्यकामा प्राचीन लिच्छवीकालीन ढुंगेधारा, विहार, गुम्बा, टोल–टोलमा बौद्ध चैत्य मूर्ति, शिलापत्र यत्रतत्र भेटिनुले पनि प्रमाणित गर्दछ ।
ज्यापु जात :
ने.सं.६०१ अर्थात् राजा राजमल्लदेवीका श्रीमान जयस्थिति मल्लभन्दा अघि कृषि तथा शारीरिक काम गर्नेलाई भावो र प्रशासन राजनीति आदि मानसिक काममा लागेकालाई भारो भनिएको कुरा इतिहासविद् भुवनलाल प्रधान बताउनुहुन्छ ।
भावो वर्गमा रहेका श्रमजीवी ज्यापुमध्ये सम्पन्नलाई महाजन अथवा महर्जन, नापीनक्सामा काम गर्ने नापी प्रमुखलाई डंगोल, पूmलको खेती गरी व्यापार गर्ने ज्यापुलाई मुनिकार, माटोको भाँडाकुँडा बनाउने ज्यापुलाई प्रजापति, खाने पकाउनेलाई सुवाल, इँटा बनाउने पेशामा लागेकालाई दुवाल भन्न थालिएको बताइन्छ । बौद्धधर्मको मूलच्छेदन गर्न नेपाल पसेका शंकराचार्यको प्रभावमा परी राजा जगतजय मल्लको राज्यकालमा जात परिवर्तन गरी हिन्दू धर्म अनुशरण गर्नेलाई शुद्रबाट बैश्य हुने घोषणा भएपछि अधिकांश भक्तपुरे ज्यापुले जात र धर्म परिवर्तन गरेको आख्यान पाइन्छ । फलस्वरुपं भक्तपुरमा आज पनि महर्जन, डंगोल, मुनिकार जातका ज्यापु पाइँदैनन् र यहाँका छसय ४० जातका नेवारमध्ये चारसय ११ जातका ज्यापु मात्र छन । भक्तपुरका नेवार ज्यापु वर्गका अनुसन्धानकर्ता हरिराम लवजु । द्यःला समाजका महासचिव माइला बाबु द्यःलाका अनुसार यहाँ काठमाडौं, ललितपुर, मध्यपुर र कीर्तिपुरभन्दा छुट्टै प्रकृतिका अनगिन्ती जात पाइनुको कारण पनि राजनीतिक तथा धार्मिक हस्तक्षेप नै हो ।
पद्म श्रेष्ठद्वारा लिखित ‘नेवार’ पुस्तकबाट
No comments:
Post a Comment