Saturday, March 23, 2013

थुनुवाको डायरी—६१

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013

थुनुवाको डायरी—६१

नजरराम महर्जन

यस स्तम्भ केहि समय सम्म लगातार रुपमा प्रकाशित गरेको र पछिल्लो समयमा प्राविधिक कारणले स्थगित गरिएकोमा हाल अध्याधिक पाठकहरूले माग गरेका कारण पुनः नियमित रुपमा प्रकाशित गर्न लागेको जानकारी दिन चाहन्छौं (सं.)


२०६७/०९/११ आइतवार, २६ डिसेम्बर २०१०, एकासी दिन  

आज विहान ४.३० बजे मेरो निद्रा खुल्यो । बाहिर गएर नित्यकर्म गरेर आएँ । मैले आकाशमा हेरें । चन्द्रमालाई हल्का वादलले ढाकेको छ । बाहिर कोही कोही मुख धोइ  रहेका छन् । भाले कुखुरा बास्न थालेको छ ।

हिजो राती चाँडै सुतेको  थिएँ । आज चाँडै उठ्ने विचार थियो । झन अरू दिनभन्दा आज आधाघण्टा अबेर सुतें । आफ्नो कोठामा आएर कफी बनाएर खाएँ । ६ बजे नम्बर खुल्यो । पाइन्ट लगाएँ, पंजा लगाएँ र जुत्ता लगाएर बाहिर घुम्न गएँ । हिजो छोराले ल्याइदिएको खैरो सावरको जुत्ता लगाएर गएको त लाइब्रेरीको खुडकिला चढदा दुईचोटि ठक्कर लाग्यो । झन्डै लड्न लागेको थिएँ । त्यसपछि त्यो सिंढी नै चढिन ।

ओमशान्तिमा आज राजेन्द्र भाइजी आउनु भयो । मुरली सुनाउनु भयो । आजको मुरलीमा यस्तो छ –जसरी 
रूखको मुख्य आत्मा जरामा हुन्छ त्यस्तै संकल्प रुपी बीज हरेक आत्माप्रति प्रकृतिप्रति शुभ भावना होस । सबैलाई बाप समान बनाउने भावना, निर्बललाई वलवान बनाउने, दुःखी अशान्त आत्मालाई सधैं सुखी शान्त बनाउने भावना हरेक संकल्पमा भरेको होस् । कुनै पनि संकल्प रुपी बीज यो भावनाबाट खाली नहोस्  ।

आज ठिक समयमा खाना खाएर दाह्री काटें । कोठामा आएर उपन्यास लेख्न थालें । आज छोरा आउँछ कि जस्तो लागेको छ । त्यसैले कोठामा बसेर उपन्यास लेखिरहँदा पनि मेरो कान माईकतिर लागिरह्यो । तर     छोरा आएन । कुनै काम छैन भने किन आउँछ ? दिनको दुईबजे होटलमा के पकाएको छ हेर्न गएँ । आज दुनोट बनाएको छ । दुईवटा दुनोट  खाएँ । चीनि नभएको चिया बनाईदेउ भनेको त अहिले बन्दैन भन्यो । फर्केर आएँ ।

आज कहाँ जाउँ, के गरुं   भैरहेको छ । जहाँ गएपनि मन स्थिर छैन । जहाँ बसेपनि बस्न मन छैन । मन गोलमाल छ । आज खेमराजजीलाई भेट्न वकिल मदन रेग्मी आउनु भएको थियो । उहाँलाई भेटेर आएपछि खेमराजले मलाई भेट्न आयो ।

“रेग्मीजीसँग तपाईंको मुद्दाको बारेमा कुरा गरेको थिएँ । तपाईंलाई षडयन्त्रपूर्वक भ्वाइस अफ चिल्ड्रेनले फसाएको हो भन्ने  कुरा न्यायाधिशले थाहा पाइसक्नु भयो । तपाईंले पक्कै पनि सफाई पाउनु हुनेछ   भन्नुभयो ।” खेमराजले भन्यो । यो कतिको सत्य हुन्छ हेरुं ।

घरबाट दिन का दिन को भेट्न आउन सक्छ ? फेरि जरुरी काम पनि छैन । अनि एक दिन नआउँदैमा किन मेरो मन यति आशक्त भयो ?

म होटलमा गएँ । एक कप चिया पिएँ । डाँडामा गएर चुरोट पिएँ । आज एउटा ज्यान केसको मुद्दामा एक जना केटाले सफाई पायो । जव कि पुर्पक्षको लागि उसले १५ महिना जेल बसिसकेको थियो । उसको १५ महिनाको समयको हर्जाना कसले तिर्ने ? अनुसन्धानको लागि भनेर ल्याउँछ । थन्काइ दिन्छ । कस्तो न्याय ? कोठामा आएँ । एक कप कफी बनाएर पिएँ । ४.३० मा छाला जुत्ता लगाएर बाहिर घुम्न गए । आज पनि सिढी चढ्दा दुईचोटि लड्लाजस्तो  भयो । त्यसैले धेरै   राउण्ड घुमिन । बाहिर गफ गर्दै र अरूको गफ सुन्दै बिताएँ ।

५.३० मा खाना खाएर कोठामा गएको त स्टाफहरूको  रोलकल सकिएको छैन भनेर कोठाभित्र पस्न दिएन । बाहिर घुम्दै समय बिताउन लागें । ७ बजे कोठाभित्र गएँ । टी.भी. हेर्नेहरूको भीड छ । त्यसैले लेखपढ गर्न अप्ठ्यारो लाग्यो । ओमशान्तिमा गएँ । शिवानीको प्रवचन सुनें । आज नोर्बुले मुरली पढ्नु भयो ।

आज ९ बजे नम्बर लाग्यो । म सुतें ।

२०६७/०९/१२ सोमवार, २७ डिसेम्बर २०१०, बयासी दिन

आज विहान २.४५ बजे   मेरो निद्रा खुल्यो । हिजो ९ बजे नै सुतेको थिएँ । आज पनि बत्ती थिएन । बाहिर पिशाव गर्न जाँदा एक जना भाइनाईके मसँग   आयो । पिशाव फेरेर आएँ । यी भाइनाईकेहरूलाई पनि साह्रै गाह्रो रहेछ । यस्तो दुःख गरे वापत उनीहरूले वर्षको एक महिना कैद मिनाहा पाउँछ । कोठामा आएर इमरजेन्सि लाईट बालेर हिजोको डायरी लेख्न बाँकि थियो । लेखें । ४ बजे फेरि सुतें ।

अहिले विहानको ५.२०  भयो । एक कप कफी बनाएर खाएँ । उपन्यास लेख्न थालें । ६.१५ मा बाहिर घुम्न गएँ ।  दिनेश भेट भयो । दुबैजना सँगसँगै घुमें । ६.४५ बजे ढोका खुल्यो । दूध आयो । म चिया पिउन होटलमा गएँ । चिया पिएर ओमशान्तिमा गएँ । आज पनि नवराज भाइजी आउनु भएको रहेछ । म जाँदा उहाँले मुरली सुनाइरहनु भएको थियो । आजको मुरलीको सार यस्तो छ — अब हामी सत्ययुगमा जानु छ त्यसैले यो शरीर र शरीर सम्बन्धी सबै सम्बन्धलाई बिर्सेर शिबबाबाको याद गर्ने र पवित्र बन्ने । हाम्रो आत्मामा सियोको टुप्पो जतिकै विस्तार विस्तारै खिया लाग्दै गएको छ । भगवानको यादमा रहँदा त्यो हटेर जान्छ । जव खिया हट्छ अर्थात आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ तब बाबासँग फर्किन सक्छ ।

८.१५ मा ओमशान्तिबाट बाहिर आएँ । आज यतिबेलासम्म घाम लागेको  छैन । कुहिरो लागिरहेको छ । हिजो अस्तिभन्दा आज जाडो छ भनेर मानिसहरू कुरा गरिरहेका थिए । तर मलाई त्यति जाडो लागेको छैन । मलाई यहाँ जाडो होला भनेर मेरो श्रीमती र छोराले सबै व्यवस्था गरिदिएका छन । हाइनेक गंजी दुईटा, हाफ स्वीटर, पूmल   स्वीटर, ज्याकेट २ वटा, गर्मी टाउजर, ऊनी सर्त दुईटा, ऊनीको ओढ्ने, ब्लांकेट, पंजा, जुत्ता, चप्पलमा लगाउने मोटो ऊनीको मोजा, तातोपानी राख्ने थर्मस दुईवटा पठाएको छ । त्यसैले यसपाली मैले जाडो महसुसै गर्नु परेको छैन । यसपाली अहिलेसम्म मलाई रुघा लागेको छैन । खोकी लागेको छैन । मेरो दम पनि फुलेको छैन । अहिले मलाई यहाँ केही तकलीफ छैन । सबै थोक पुगेको छ । केवल यो अग्लो पर्खालबाट बाहिर जान पाएको छैन । आफ्ना प्रियजनहरू सँग चाहेको बेला भेट्न नपाउनु दुःख छ ।

कोठामा आएर कफी बनाएर खाँदै उपन्यास लेखिरहें । दश बजे औषधी खाएर आधाघण्टा ग्राउण्डमा घाम ताप्दै भलिवल खेल  हेरिरहें । साढे दशबजे खाना खान गएँ । खाना खाएर पन्द्रह मिनेट बाटोमा ओहोर दोहोर गरेर औषधी खान गएँ ।

कारखाना नाईके हरि थापा आज सत्र वर्षपछि छुट्दै छ । उहाँलाई लागु औषधमा २० वर्ष कैद हानेको थियो । उहाँले यहाँ आएर कारखाना नाईके भएर काम गर्दा ३२ महिना छुट पाएर आज ऊ छुट्न लागेको छ । यहाँ जेलमा बस्दाबस्दै उसको एक जना छोरा मरिसकेको छ । ऊ ३७ वर्षको उमेरमा जेल आएको थियो । आज ५४ वर्षको उमेरमा ऊ बाहिर जाँदै छ । तैपनि ऊ कति खुशी छ । सबैसँग हात मिलाइरहेको छ । मानिस स्वतन्त्रताको कति हिमायती छ भन्ने यसले देखाएको छ । उसलाई यहाँ जेलमा सबैजनाले नाईके दाइ भनेर नमस्कार गर्छन् । उसलाई खान बस्न सुविधा छ । तैपनि बन्धनमा बस्न गाह्रो हुँदा रहेछन । आज छोराले मलाई भेट्न आउने दिन । मेरो रमाइलो   दिन । माईकबाट मेरो नाम बोलाउने प्रतीक्षा गर्दै उपन्यास लेखिरहें । एकबजे कोठाको छतमा डण्डी हाल्न वारिंग गर्न आए । हामीलाई कोठाबाट बाहिर जान भने । बाहिर आएँ । बाहिर साथीहरूसँग गफ गरिरहेको बेला माईकबाट मेरो नाम बोलायो । ढोकामा गएँ । छोरा बुहारी आएका रहेछन् । मैले बकपत्रको नक्कल मागेको थिएँ । १७ नं. बाट फर्काएर ल्याएपछि मात्र सरकारी वकिल र न्यायाधिशले सही गर्नुहुन्छ अनि मात्र नक्कल पाउँछ  भन्यो । अब १७ नं. को फैसला नभएसम्म फाईल त्यहिं रहन्छ । यसको मतलब जिल्लामा मेरो पेशी अबेर हुनेभयो । बेकारमा १७ नं.मा गएको जस्तो लाग्यो । धेरैबेरको कुराकानी पछि उनीहरू गए । म भित्र आएँ ।

आज होटलमा चिकेन चिल्ली बनाएको रहेछ । कोठाबाट चिउरा लिएर गएँ । एक प्लेट चिकेन चिल्लि लिएर खाएँ ।

आज साँझ अबेर खाना खाएँ । नम्बर लाग्ने बित्तिक्कै म सुतें ।

to be continued.....

No comments:

Post a Comment