Tuesday, April 30, 2013

थुनुवाको डायरी—६२

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
 
थुनुवाको डायरी—६२

२०६७/०९/१३ मंगलवार २८ डिसेम्बर २०१० त्रियासी दिन   

आज मेरो आँखा खुल्दा ५.१५ भैसक्यो । कोठामा अँध्यारो छ । बिजुली बत्ती बलेको छैन । म बाहिर जाने बित्तिक्कै भाइ नाइकेले मलाई दोहो-याउनु भयो । म दिसा बस्न गएँ । भाइ नाईकेले पर्खिरहनु भयो । यहाँ लोडसेडिंग भएको बेला युपीएस बलेन भने बाहिर एक्लै जान दिंदैन । यो जेल आन्तरिक प्रशासनको सतर्कता हो । एक कप कफी बनाएर पिएँ ।

६ बजे नम्बर खुल्यो । डाँडामा गएर एउटा चुरोट पिएँ । अनि माथि पैदल हिंडन थालें । जुत्ता राम्रो नभएकोले जुत्ता लगाएर पैदल हिंड्न अप्ठ्यारो भयो । उनीको जुत्ता चप्पलमा लगाएर घुमें । धेरैबेर घुम्न सकेन । ६.३० मै कोठामा आएर तातो पानी पिएँ ।

७ बजे चिया पिएर ओमशान्तिमा गएँ । आज पनि नवराज भाइजी आउनु भएको रहेछ । आजको मुरलीको आशय – संगमयुगमा देह–अभिमानको बीज लगाउनु हुँदैन । यो बिउबाट सबै किसिमको विकारहरूको विरुवा निस्कन्छ । यो बेला जताततै पाँच विकारको विरुवा उम्रेको छ । सबैले काम क्रोधको बिउ रोप्दै छ । बाबाको निर्देशन छ कि योग बलबाट पवित्र बन । यो विउ रोप्न बन्द गर । आज एउटा अण्डा लिएर खाना खान गएँ । आज भान्सामा करेलीको तरकारी पकाएको रहेछ । यहाँ आएर पहिलो पटक यो तरकारी खाएको खूब मिठो लाग्यो । खाना खाएर कोठामा आइ उपन्यास लेख्न थालें । आज मेरो भेटघाट आउला भन्ने मैले आशा गरेको छैन । एक घण्टासम्म उपन्यास लेखी बस्दा मेरो आँखा तिरमिरायो । म बाहिर गएँ ।

अचानक माईकबाट मेरो नाम तीनचोटि बोलायो । को आएको होला भनेर गएको त मेरो जीवन संगीनी, प्राणप्यारी कृष्णा आएकी रहिछिन् । उनी एक्ली आएकी छिन् । उनलाई देख्ने बित्तिक्कै मेरो मन प्रफुल्लित भयो । म भेटघाटस्थल मा गएँ । हामी दुबैजना आमने सामने बस्यौं । उनलाई अंगालोमा हालेर जुनीभरीको माया दिउँजस्तो लाग्यो । तर अपशोच ! हामी दुईको बीच कानूनी दिवार छ । मैले चाहेर पनि उनलाई छुन सक्दिन । हामी एक अर्काको आमने–सामने छौं । एक अर्काको मुहार हेरेर नयन तृप्त ग¥यौं । अहिले उनी स्वस्थ देखिन्छिन् । उनलाई स्वस्थ देखेर मेरो मन सन्तोष भयो । मलाई स्वस्थ देखेर उनले सन्तोषको सास फेरेको मैले अनुभूति गरें । एकछिन यताउताको कुराकानी भयो । म निर्दोष छु भन्ने उनलाई पूरा विश्वास छ । म चाँडै छुट्छु भन्नेमा पनि उनी विश्वस्त छिन् । आज उनी मेरी श्रीमती होइन साक्षात मेरी आमा मेरो सामुन्ने बसिरहेकीजस्तो लागेको छ । आमाले आफ्नो सन्तानले जतिसुकै वदमाशी ग-यो भनेपनि आफ्नो आँखाले नदेखेसम्म    छोरालाई दोष दिंदैन । त्यस्तै उनलई मेरो यौन जीवन पूरा थाहा छ । उनले मलाई सहानुभूति, हिम्मत र ढाडस दिइन । मसँग पैसा छ कि छैन भनेर सोधिन् । छ भनें । कुन कुन दिन मासु पठाउँ भनेर सोधिन । मासु १ गते र १५ गते यहाँ भान्साले नै ख्वाउँछ पठाउनु पर्दैन भनें ।

आज उनले आधा किलो कुखुराको मासु पकाएर ल्याएकी छिन् । मेरो कपडाको जुत्ता पनि धोएर ल्याएकी छिन ।

कृष्णले ल्याई दिएकी मासु र चिउरा खाएँ । उनको मायालु हातले पकाएर ल्याएको मासुको स्वाद मिठो लाग्यो । बेलुका भातसँग पनि खाएँ । भोलि  विहान र दिउँसोको लागि पनि बूँकि राखें ।

आज साँझ ४ बजेदेखि ९ बजेसम्म लोडसेडिंग भयो । हिजो छोराले टर्चलाईट ल्याई दिएको थियो आज काम लाग्यो । छोरा र श्रीमतीको यतिकै माया पाइरहें भने म यो जेलमा पाँचवर्ष बस्नु परेपनि गाह्रो हुँदैन होला ।

यहाँ लोडसेडिंग भएको बेला युपीएस बाल्थ्यो । आजकल युपीएस एक घण्टाभन्दा बढी बल्दैन । त्यसैले अब जेनेटर किन्न लागेको छ । त्यसको लागि सक्दो सहयोग गर्न आव्हान गर्नु भएको छ । मैले रु.१००५/- सहयोग गरेको छु ।

९ बजे लाइन आयो । १०.३० बजेसम्म उपन्यास लेखिरहें ।

contd...

No comments:

Post a Comment