Tuesday, May 28, 2013

पुस्तकको भरिया

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
कथा साहित्य

पुस्तकको भरिया

प्रेमकृष्ण श्रेष्ठ

पुषको महिना ।  बाक्लो हुस्सु लागेको हुन्छ । हुस्सुले वरिपरिको केही दृश्य देखिएको हुँदैन । सखारै दुइजना बालक , एउटा  सडकको पेटी – पेटी हिँडिरहेको दृश्य देखिन्छ । एउटा बालकको लुगा चिटिक्क परेको हुन्छ । ऊ स्कूल युनिफर्ममा हुन्छ । अर्को बालक एउटा गह्रौं भारीले थिचिएको हुन्छ । उस्को गर्दन पुस्तकको झोलाले आधा     नुहुरेको हुन्छ । त्यस बालकको लुगाको कठालोमा एउटा कालो सर्प लमतन्न परी सुतिरहेको हुन्छ । शोककाव्यको कुनै पृष्ठजस्तो त्यस बालकको अनुहार हेर्दा, त्यो अनुहार कुनैदिन मुस्कुराउन सक्छ भनेर विश्वास गर्न पनि गाह्रो छ । उनीहरू हिँडेर एउटा चोकमा पुग्छन् र थ्याच्च रोकेको गाडीमा त्यो चिटिक्क परेको बालक उक्लेपछि उस्को हातमा त्यो  भारी हस्तान्तरण गरी त्यो कितावको भरियाले भारी बिसाउँछ । त्यो भरिया बालक गाडीको गमनलाई हेर्दै रितै फर्किन्छ । प्रत्यागमनको बाटोमा सँधै बिजु साहुको पसलको चामलको भारी बोक्ने कृष्र्णेसित उस्को भेट हुन्छ । कृष्णे जिस्केर बोल्छ, –कति किटावको भारी बोक्छस् ए गधा, चामलको    भारी बोक न । दुइचार पैसा त पाउँछ ’ रामु त्यो बेला फिसिक्क हाँस्छ मात्र । यो दृश्य यो सडकमा दिनदिनै दोहोरिने दृश्य हो । त्यो पुस्तकको नोकर र मालिकको उमेरमा खासै फरक पनि छैन । त्यो पुस्तकको  भरिया, रामप्रसाद, जस्को रामप्रसादको ‘प्रसाद’ पनि  समाजले खाएर मात्र रामे भनी बोलाइन्छ भने त्यो कितावको भारी बोकाउँदै हिँड्ने बालक, किरण , जस्को नामको अगाडी  बाबु थपिएर ‘बाबु किरण’ले सम्वोधित छ । यी दुई बालकविचको भिन्नता त्यस आलिशान  महलको मन्दिरमा सजाइएकी सरस्वतीले त गुनासो गरेकी छैनन् भने अरूले के   गरोस् । 

रामप्रसादलाई आफ्नो  आमाको वारेमा त्यति जानकारी छैन । बाबुको धमिलो  आकृति भने उस्को मानसपटलमा  कैलेकाँही झल्याकझुलुक आउँछ । पाँचथरवाट केही बर्षअघि बाबुको औँला समातेर ऊ एउटा ओरालो  झरेको थियो । बाबुले त्यसबेला उस्लाई एउटा होटेलमा खुवाएको जिलेबीको याद उस्लाई अझै आउँछ । त्यो जिलेबीको सम्झनासँगै उस्को जिब्रो गुलियो भएर आउँछ । त्यसपछि बाबुुले उस्लाई एउटा ठूलो घरमा लगेर ‘राम्रोसँग बस है रामु’ भनेर गएको थियो । त्यो दिन  गएको बाबु कैले पनि फर्केन । बाबुलाई सम्झिन खोज्दा उस्ले त्यति सम्झन सक्दैन । जे होस्, बाबुको नाकैमा झुन्डिएको एउटा कोठीलाई ऊ सम्झन्छ । जुन कोठीले एउटा धमिलो गहुँगोरो अनुहार बोकेर ल्याउँछ । जुन अनुहार र जिलेबी उस्लाई एउटै जस्तो लाग्छ र अनुहारको    स्मरणसँगै केही थोपा थुकले जिब्रोवाट पेटमा छर्लाङ्ग मार्छन् । 

आज रामु अचाक्ली खुशि छ । किनभने ऊसित आज एउटा पुस्तक छ । घरमा     किरणबाबुका केही पुराना कितावहरू मिल्काउन थुपारेका थिए । त्यस पुस्तकको थुप्रोवाट एउटा पुस्तक काम लाग्ला कि भनेर उस्ले सुटुक्क आफ्नो कोठामा ल्याएको थियो । सँधै बोक्ने भारीमा तेस्तो के चिज छ ? त्यस बालकमा जिज्ञासा उब्जनु स्वभाविक  हो । रातको धिपधिपे मैनबतीमा रामुले त्यो पुस्तक विस्तारै निकाल्छ । त्यस कितावमा के लेखिएको छ , उस्लाई थाहा छैन । पहिलो पृष्ठ पल्टाउँछ, गाउँतिर हजुरबाबुले टेक्दै हिँड्ने लौरोको सम्झना आउँछ । एउटा  ठूलो स्याउ देखेर उस्को मुख रसाएर आउँछ । ऊ टोक्न खोजेजस्तो मुख आँ आँ गर्छ । कागजको स्याउमा थोपो पनि रस हुँदैन भन्ने कुरामा ऊ अनजान हुँदैन । उस्लाई त्यो ‘तिनटा ली’ जस्तो लागेको चिजलाई के भन्छ भनेर किरणबाबुलाई सोधुँ सोधु जस्तो पनि लाग्छ । तर उस्ले हिम्मत जुराउन सक्दैन किनकी किरणबाबुलाई बिहान, बेलुका कितावको झोला बोकेर बसस्टपसँग पु¥याउँनु , दिउँसो सुन्तलीको चमेनागृहवाट मःम ल्याइदिनु र साँझपख घाँसेमैदानमा साइकल डो¥याउनु भन्दा बढी हिमचिम बढाउने उस्लाई अनुमति छैन । उस्ले सोच्यो त्यो कागजको स्याउलाई हेरी, अहिले यो त्यति पाकेको छैन । भोलि रातो हुने गरी पाक्नेछ, तव यस्लाई खाउँला । यस्तै कुरा मनभरि सोचेर त्यो पुस्तककै शिरानी लाएर ऊ भुसुक्क निदायो । रातको सपनामा उस्ले त्यसरात प्रसस्त स्याउ खायो । केही स्याउ उस्ले किरणबाबुलाई पनि खुवायो । नयाँ लुगा र स्याउमा तृप्त ती बालक त्यो रात नोकर र मालिक थिएन, बरु कृष्ण र सुदामा जस्तो देखिए । 

भोलि बिहान भयो । उस्ले अरू दिनझैँ  पुस्तकको भारी बोकेर किरणबाबुलाई गाडीसम्म पु¥याइदियो । बेलुका पनि त्यो भारी बोकेर घर फिर्ता भयो । साँझपख आज किरणबाबु र रामुलाई मात्र छोडेर घरको मालिक्नी कतैतिर गएकी हुन्छे । यस्तै रातको आठ बजेको छ । किरणबाबु रामुको कोठामा आएर खेलिरहेको छ । उस्लाई झल्याक हिजो रातिको स्याउको सम्झना आउँछ । उस्ले त्यो ‘तिनोटा ली’जस्तो लागेको चिजलाई के भन्छ भनेर सोध्ने उत्सुकता  जागेर शिरानीवाट बडो जतनले राखेको पुस्तक बाहिर निकाल्छ । त्यो पुस्तकलाई काँपेका औँलाले यसो के फुकाउन खोजेको हुन्छ , चुराको छर्लङ्ग आवाज निकालेर एउटा हातले उस्को हात बेसकन समात्छ । मानौ कुनै चोर रंगेहात पक्रिएको  छ । ‘किरणबाबुको किताव चोरी भयो भनेको त , तैँले पो चोरेको रहेछ , हैन । तँलाई पख ।  आज किताव चो¥यो, भोलि घडी चोेर्ला अनि  सुनचाँदी, गहना केमा तेरो हात पर्ने छैन । तँलाई आज ठीक नपारी छोड्दिनँ ।’ मालिक्नीले पल्लो कोठावाट एउटा बाँस टिपेर ल्याई रामुको पिठँयु, अनुहार, टाउकोमा चुट्नुसम्म चुट्छे । रामु रुँदै बोलिरहेको हुन्छ – ‘मैले चोरेको हैन मालिक्नी, तपाईले हिजो फालेको पुस्तकको थुप्रोवाट एउटा पुस्तक काम लाग्छ भनेर टिपेको ।’ त्यस बालकको अनुनय (विनय कति पनि नसुनी निर्मम प्रहार गरिरहन्छे र बालक भुइँमा लोटछ । बालकलाई निर्मम प्रहार गरी मालिक्नी भनाउँदा अर्को कोठातिर  लाग्छे । 

भोलि बिहान हुन्छ । त्यो पुस्तकको मालिक उठेर स्कूल जाने तयारीमा हुन्छ । तर, त्यो पुस्तकको नोकर उठदैन । मालिक्नी गएर रामुको कोठामा गएर हेर्छे । रामु सुतिरहेको हुन्छ ।  रामे, रामे  भन्दै उठाउन खोज्छे, परन्तु रामुले हिजोका दिनमाझँै डर र त्रासको अनुहार लिएर उठदैन । उस्को अनुहारमा कुनै थकान र पीडाको रेखा छैन । ऊ मस्त सुतिरहेको छ । उस्को अनुहार र शरीरभरि नीलडाम नै नीलडाम छ । ऊ बडो मायाले आफ्नो छातीमा त्यो पुस्तक समातेर बसेको  छ ( त्यो बाह्रखरी । जुन पुस्तकमा मूल्य  लेखिएको छ, रु २५ । ‘लौन नि के भयो’ भनी मालिक्नी  चिच्याउँछे  । घरमा चित्कार उठ्छ ।  सवै जम्मा हुन्छन् । केही सहानुभूति दिएर सवै जान्छन् । केही समयपछि एउटा लास फाल्ने मान्छेलाई ल्याएर मालिक्नीले भन्छे – ‘यो लासलाई एउटा बोरामा पोका पारी आजै फालिदे । अनि यो पुस्तक पनि ।’ छातीमा रामुसँग सुतिरहेको पुस्तकलाई इङ्गित गरी मालिक्नी बोल्छे । एउटा बालकको लाससँगै एउटा पुस्तक पनि मलामी भएर त्यस घरवाट बाहिरिन्छ, चुपचाप । 

त्यसदिनपछि केही दिन सडक रितै भयो । अनि एकदिन पुनः अर्को पुस्तकको भरिया त्यो सडकमा देखियो । को हो त्यो ?  जो होस्, अर्को रामु, जो बाह्रखरीको स्याउ पाक्ला, र कुनैदिन खाउँला भन्दै स्याउ नपाक्दै अर्को दुखद मृत्युवरण गर्छ, कुनै मालिक वा मालिक्नीवाट बिना अपराधको सजायँ पाएर  । 

No comments:

Post a Comment