Thursday, May 30, 2013

नेपालमा सङ्घीय राज्य प्रणालीको सम्भावित स्वरूप र संरचना

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
नेपालमा सङ्घीय राज्य प्रणालीको सम्भावित स्वरूप र संरचना

श्याम श्रेष्ठ
(सङघीय राज्यको नयाँ संरचना पुस्तकबाट साभार)

नेपाल सङ्घीयतामा जानुपर्नाको कारण : गतांकको बाकि 

गाविसको बेग्लै स्थिति

तर गाउँ विकास समिति तहमा हेर्ने हो भने जातीय सघनताको स्थिति बिल्कुलै बेग्लै देखिन्छ । नेपालका कुल गाविस मध्ये एकतिहाइमा (अर्थात् ३२ प्रतिशतमा) कुनै न कुनै जात÷जातिको एकलौटी निरपेक्ष बहुमत छ । नेपालभरिका कुल ४०५१ नगरपालिका र गाविस मध्ये पाँचवटा जात÷जातिको १०० वटा भन्दा बढीमा निरपेक्ष बहुमत रहेको देखिन्छ । ती जात÷जातिहरू क्रमशः क्षेत्री, मगर, तामाङ, थारु र बाहुन हुन् (शर्मा, २००६) क्षेत्रीको ३८७ वटा गाविसमा एकलौटी निरपेक्ष बहुमत देखिन्छ । मगरको निरपेक्ष बहुमत १७५ वटामा रहेको छ । तामाङको एकलौटी निरपेक्ष बहुमत भएका गाविस १५९ वटा छन् । थारु १०६ वटा गाविसमा निरपेक्ष बहुमतको स्थितिमा रहेका छन् । बाहुनको निरपेक्ष बहुमत भएको गाविस पनि १०२ वटा छन् ।

नेपालका दुईवटा जनजाति – गुरुङ र राईको एकलौटी निरपेक्ष बहुमत ७५ देखि ९९ वटा गाविसमा रहेको छ । गुरुङको ७७ र राईको ७६ वटा गाविसमा एकलौटी निरपेक्ष बहुमत छ । २५ देखि ४९ वटामा निरपेक्ष बहुमत हुने जात/जाति/धार्मिक अल्पसङ्ख्यक लिम्बु, मुसलमान, नेवार र यादव हुन् ।

गाविस तहमा गएपछि दलितहरूको निरपेक्ष बहुमत भएको खण्ड पनि भेटिन्छ, जव कि जिल्ला तहमा उनीहरू कहीँ निरपेक्ष बहुमतमा छैनन् । नेपालका कुल १२ वटा गाविसमा दलितहरूको एकलौटी निरपेक्ष बहुमत छ । त्यस्तै, अति अल्पसङ्ख्यक अन्तर्गत पर्ने चेपाङको पनि ४ वटामा, थामीको ३ वटामा, छन्त्याल र सुनवारको २–२ वटामा एकलौटी निरपेक्ष बहुमत रहेको छ ।

जिल्लागत हिसाबले बाहुन र क्षेत्रीको सघन उपस्थिति रहेको जिल्लाको सङ्ख्या बढी देखिए पनि गाविसको दृष्टिकोणले हेर्दा जनजातिको सघन उपस्थिति रहेको गाविसको सङ्ख्या ज्यादा छ । प्रायः सबै हिमाली क्षेत्र, सुदूर पश्चिमबाहेक सबै पहाडी क्षेत्र र सुदूर पश्चिम र पश्चिम तराइका गाविसमा आदिवासी जनजाति समुदायको एकलौटी निरपेक्ष बहुमत रहेको स्थिति छ (शर्मा, २००६)

अझ गाविसहरूमा जातिगत बाहुल्यताको चित्र  योभन्दा पनि फरक छ । ३०० भन्दा ज्यादा गाविसमा एउटैको बाहुल्यता रहेको जात÷जातिको सङ्ख्या ६ वटा छन् । ती क्षेत्री, बाहुन, मगर, थारु, यादव र तामाङ् हुन् । १०० देखि २९९ वटासम्म गाविसमा बाहुल्यता भएका जात/जाति ४ वटा छन् । मुसलमान, राई, गुरुङ र लिम्बू त्यस्ता जात÷जाति÷धार्मिक समुदाय हुन् । नेवारको बाहुल्यता ८४ वटा गाविसमा देखिन्छ ।

दलितहरूको सघन उपस्थिति पनि गाविस तहमै गएपछि ज्यादा देखिन्छ । पश्चिम तथा सुदूर पश्चिम पहाड र पूर्वी तराइमा गरी जम्मा २११ वटा गाविसमा दलितहरूको उपस्थिति ३० प्रतिशतभन्दा बढी रहेको छ । (शर्मा, (२००६) । यो भनेको दलितहरूको निकै सघन र वलवान उपस्थितिको अभिव्यक्ति हो । यी सबै आंकडाहरूले के देखाउँछन् भने गाविस तहमा जाँदा आदिवासी जनजाति र दलितहरूको पनि थुपै्र ठाउँमा, दुवैको मिलाएर अरू सबै जात/जातिभन्दा ज्यादा गाविसमा, स्वायत्त स्वशासित क्षेत्र बन्न सम्भव छ ।

 नेपालमा कुनै एउटा जात÷जातिको निरपेक्ष बहुमतमा आधारित स्वायत्तता र स्वशासन गाविस तहमा गएपछि मात्र व्यापक मात्रामा बन्न सम्भव देखिन्छ ।

गाविसभन्दा माथि प्रदेशको तहमा भने बाहुल्यतामा आधारित बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वशासन मात्र व्यापक मात्रामा बन्न सम्भव देखिन्छ ।

नेपालको भाषा स्थिति–सबै भाषा अल्पसंङ्ख्यामा

नेपालको पछिल्लो जनगणना–२०५८ ले नेपालमा जम्मा ९२ वटा भाषा प्रचलनमा रहेको देखाएको छ, तर २० वटा भाषा चिनियाँ, अङ्ग्रेजी, असमी जस्ता विदेशी भएकाले नेपालमा चलन–चल्तीमा रहेका भाषा यथार्थमा ७२ वटा छन् । यही कारणले नेपाल बहुभाषिक मुलुक हो  ।

यति धेरै भाषा भएकाले कुनकुन भाषा नै व्यवहारमा प्रयोग ल्याउनु, यो समस्या हुन्छ भन्दै एकथरि मानिसहरू नेपाली भाषालाई मात्र सरकारी कामकाजको भाषा बनाउनुपर्ने तर्क गर्छन् । परन्तु यी ७२ वटा भाषामध्ये पनि एक प्रतिशत भन्दा ज्यादा जनसङ्ख्याले बोल्ने भाषा त देशमा केवल ११ वटा मात्र छन् (वज्जिका भोजपुरी भाषाकै एउटा भाषिका भएकाले त्यसलाई छुट्टै भाषाका रूपमा हिसाब गरिएको छैन) । ती भाषाहरू नेपाली अर्थात् खस भाषा, मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार, मगर, अवधि, बान्तावा राई, गुरुङ र लिम्बु हुन् । स्विटजरलैन्डमा प्रचलित ४ वटा तथा दक्षिण अफ्रिकामा प्रचलित ११ वटा भाषा नै राष्ट्र भाषा भए जस्तै सङ्घीय नेपालमा पनि यिनै एघारवटा भाषाहरू राष्ट्र भाषा वा सरकारी कामकाजको भाषा हुने हैसियत राख्छन् । अरू स्थानीय वा क्षेत्रीय रूपमा सरकारी कामकाजका भाषा हुनसक्छन् । यी भाषामध्ये पनि तत्काल प्रचलनमा ल्याउन सक्ने हैसियतसहितको लिपी र साहित्य नभईकन उत्तिकै र स्वतः कुनै एउटा भाषा सरकारी कामकाजको भाषा हुन सम्भव नहुने कुरा स्पष्ट छ ।

नेपालको कटु यथार्थ के हो भने सबैभन्दा धेरैले बोल्ने नेपाली अर्थात खस भाषा पनि केवल ४८.६ प्रतिशतले बोल्दछन् । त्यसैले नेपाली भाषा पनि बहुमतको भाषा होइन । नेपालको दोस्रो ठूलो भाषा मैथिली हो जो १२.३ प्रतिशतले बोल्दछन् । तेस्रो ठूलो भाषा भोजपुरी बोल्नेहरू ७.५ प्रतिशत छन् । अन्य ठूला भाषाहरूमा थारु ५.८ प्रतिशत, तामाङ ५.१९ प्रतिशत, नेवार ३.६३ प्रतिशत, मगर ३.३९ प्रतिशत र अवधि २.४७ प्रतिशत, बान्तावा राई १.६ प्रतिशत, गुरुङ र लिम्बू १ं५ प्रतिशतले बोल्ने भाषाहरू हुन् । यस हिसाबले नेपाल भाषिक तवरले पनि अल्पसंख्यकहरूको मुलुक हो ।

हाम्रो अर्को वास्तविकता यो छ कि नेपालमा मातृभाषा बोल्नेहरू उनीहरूको जातिगत जनसङ्ख्याभन्दा निकै कम छन् । सातवटा जिल्लामा मगरबाहुल्यता छ, तर मगर भाषा बोल्नेको बाहुल्यता भने कुनै एउटा जिल्लामा पनि छैन । नेपालभरि १६ लाख २२ हजार मगर भएता पनि मगर भाषा बोल्नेहरू भने ७ लाख ७० हजार मात्र छन । नेवार र गुरुङ जातिभन्दा ती भाषा बोल्नेहरूको सङ्ख्या झण्डै आधाभन्दा थोरै बेसी मात्र छ । राज्यको लामो समयसम्मको एक भाषा विशेषाधिकारको नीति र भाषिक दमनले गर्दा यो स्थिति पैदा भएको हो ।

परिणामतः भाषागत बाहुल्यताको स्थिति केलाउँदा नेपाली भाषाको बाहुल्यता ५५ जिल्लामा छ, तर निरपेक्ष बहुमत भने ४९ जिल्लामा देखिन्छ । नेपालीबाहेकका अन्य भाषाहरूको बाहुल्यता २० जिल्लामा देखिन्छ, तर निरपेक्ष बहुमत १३ जिल्लामा मात्र छ । उदाहरणका लागि मैथिली भाषाको बाहुल्यता पूर्वी तराइका ६ वटा जिल्लामा छ तर निरपेक्ष बहुमत भने ५ वटा जिल्लामा छ । मध्य तराइमा भोजपुरी भाषाको बाहुल्यता र निरपेक्ष बहुमतको स्थिति हाराहारीमा तीन–तीनवटा जिल्लामा छ । त्यस्तै थारु, नेवार र गुरुङको निरपेक्ष बहुमत र बाहुल्यताको स्थिति एक–एकवटा जिल्लामा मात्र छ । तामाङ र अवधिको भने दुई–दुईवटा जिल्लामा बाहुल्यता भएता पनि निरपेक्ष बहुमत भने १–१ वटामा मात्र देखिन्छ । बान्तावा राईको कहीं पनि बाहुल्यता छैन, अनि लिम्बूको बाहुल्यता २ वटा जिल्लामा भए पनि निरपेक्ष बहुमत एउटामा पनि छैन ।

भाषागत हिसाबले हेर्दा पनि गाविसको चित्र केही बेग्लै देखिन्छ । नेपालका ८४ प्रतिशत गाविसमा एउटा न एउटा भाषाको निरपेक्ष बहुमत देखिन्छ । अनि नेपालका जम्मा ४०५१ वटा गाविस र नगरपालिकामध्ये ५१ प्रतिशतमा नेपाली भाषाको बाहुल्य छ र ४६ प्रतिशतमा निरपेक्ष बहुमत रहेको देखिन्छ । बसाईं सराइ तीब्र गतिको कारण विगत केही दशकयता तराइको जनसङ्ख्या को संरचनामा काफी अन्तर आइसके पनि तराइमा मैथिली, भोजपुरी र अवधी(भाषीहरूको आफ्नो बसोबासका क्षेत्रमा सन्निकट र सघन उपस्थिति अझै कायम छ । पहाड र हिमाली क्षेत्रमा यस्तो सघन र सन्निकट बसोबास गुरुङ, लिम्बू, बान्तावा राई र भोटे शेर्पाहरूको रहेको छ । पहाडमा ठूलो सङ्ख्यामा रहेका तामाङ र मगरभाषीहरू तथा तराइमा ठूलो मात्रामा रहेका थारुभाषीहरू एउटा सिङ्गो क्षेत्रमा नभएपनि दुई तीनवटा क्षेत्रमा सन्निकट र सघन बसोबास गर्छन् (शर्मा २००६)

No comments:

Post a Comment