Wednesday, September 7, 2016

जिउँदो लाशको मुर्दो आवाज— १ हनुमान ढोका प्रहरी खोरमा मेरो पहिलो रात

जिउँदो लाशको मुर्दो आवाज— १ हनुमान ढोका प्रहरी खोरमा मेरो पहिलो रात




      हनुमान ढोका प्रहरी प्रभागको फलामे ढोका छिर्ने बित्तिक्कै मेरो हातको हतकडी फुकाली दियो । अनि एकजना प्रहरीको पछि लागें । भित्र एउटा सानो चोक रहेछ । चोकको दायाँ बायाँ सिमेन्टले प्लास्टर गरिएको दुईटा  भ¥याङंग रहेछ । म बायाँतिरको भ¥यांङ्गबाट माथि चढें । खुट्टा दुखेकोले भित्ता समात्दै माथि गएँ ।
भ¥यांङ्ग उक्लिने बित्तिक्कै पूर्वतिरको ढोकाबाट एउटा कोठामा लग्यो । त्यहा“ एकजना वर्दिधारी प्रहरी र सादा पोशाकको प्रहरी बसिरहेका थिए ।

वर्दिधारी प्रहरीले मेरो शरीरको खानतलाशी लियो । मेरो खल्तीमा रहेको ड्राइविंग लाइसेन्स, बैंकको एटिएम कार्ड र अरू कागजपत्रहरू सबै लिए । कलम, लाइटर पनि लियो । पैसामात्र फिर्ता दियो । मैले लगाइराखेको औंठी र पेटी पनि फुकाल्न लगायो । सबै सामान एउटा प्लाष्टिक झोलामा राख्यो । त्यसमा मेरो नाम लेख्यो ।
“के केसमा आउनु भएको ? पूर्जी हेरूँँं सादा वर्दिधारी प्रहरीले भन्यो ।

मैले कालीमटीबाट दिएको पूर्जी थम्याएँ । उसले एउटा रजिस्टरमा मेरो तीन पुस्ते नाम र ठेगाना सोधेर लेख्यो । त्यसमा मलाई सही गरायो । ल्याप्चे पनि लियो ।
“यहाँ त परिसर ड (क) समेत लेखेको छ । कतिजना केटीहरू थिए ?” वर्दिधारी प्रहरीले सोधे ।
“दुईजना छन् ।”
“तपाईंलाई कहाँबाट गिरफ्तार गरेको ?”

     “एउटा कुरा सोध्नु छ आउनुस् भनेकोले म आफै कीर्तिपुर थानामा गएको थिएँ । त्यहाँबाट कालीमाटी पठाएको ।”

“केटीहरूसँग घारघुर हुँदा खुट्टा भाँचिएको कि के हो ?” वर्दिधारी प्रहरीले सोध्यो ।

“होइन, पाँच दिन पहिले नै खुट्टा मर्केको थियो ।”
“होइन, यो साठी वर्षे बुढोलाई पनि कति जोश चढेको होला । दुई दुई जना केटीहरूलाई भ्याउने हिम्मत गरेको होला । केटीहरू कस्तो छ च्वाँक च्वाँकका छन् ?”

“के नचाहिने कुरा गरिरहनु भएको ? मैले त्यस्तो केही गरेकै छैन । कुनै घटना भएकै थिएन ।”

“हामीसँग जिस्केको कि के हो ? भोलि केरकार शाखामा लगेर मर्केको खुट्टा भाँच्ने गरी हानेपछि सबैकुरा ओकल्छ होला नि ।”

“मैले गर्दै नगरेको कुरो पनि तपाईंले पिट्दैमा हो भन्छु ?’

“हाम्रो डण्डा परेपछि थाहा पाउँछ ।’

“तीस वर्षे पंचायती शासकले ढाल्न नसकेको मेरो काँध तपाईंहरूले ढाल्न सक्नुहुन्न ।’ मैले पनि जे पर्लापर्ला भनेर रिसाएर भनें, ‘मलाई पिट्ने भए मर्नेगरी पिट्नु । यदि म बाँचें भने तपाईंहरू एकएक जनालाई ठीक पार्छु । म कीर्तिपुरे हुँ । मेशिन गनदेखि नडराउने मलाई, यो फिस्ते लट्ठि देखाएर तर्साउन खोजेको ?’

मेरो कुरा सुनेर एकजना सादा पोशाकको प्रहरीले भन्यो, “हेर्नुस् बा, तपाईं बाहिर जतिसुकै ठूलो मान्छे होस् या धनि होस् हामीलाई मतलब छैैन । अहिले तपाईं हाम्रो कैदमा हुनुहुन्छ । तपाईंले हाम्रो आदेश मान्नुपर्छ । तर एउटा कुरा यस्तो बैंशमा लाग्नु नपर्ने आरोप लाग्यो । यदि यो आरोप सही सावित भयो भने तपाईंको जीवन जेलमै बित्ने भयो ।”

“यदि यो धरतिमा सत्यता छ भने । न्याय, निसाफ बाँकि छ भने म निर्दोष साबित हुनेछु । मैले गर्दै नगरेको अपराधमा कसरी सजाय भोग्नुपर्ला ? मलाई नेपालको न्याय प्रणालीमा पूरा भरोसा छ ।”

“त्यो त हो बा, तपाईंलाई आरोपमात्र लगाएको छ । आरोप लाग्दैमा अभियुक्त हुँदैन । तपाईं थुनुवा मात्र हुनुहुन्छ । तपाईंले केही गर्नु भएको छैन भने केही पनि हुँदैन ।”

म एकचोटी कडके पछि प्रहरीहरू कोमल भए । वर्दिधारी प्रहरीले मलाई बाहिर लिएर गयो । दायाँ बायाँ कोठा वीचमा बाटो हुँदै मलाई पाँच नं कोठामा लगेर राख्यो । जहाँ पहिले नै छ सात जना मान्छेहरू बसिरहेका थिए ।
‘ल यो बालाई राम्ररी बस्न दिनु । होच्याउने, जिस्क्याउने होइन ।’ प्रहरीले भन्यो ।

म कोठाभित्र गएँ । कोठामा बस्ने ठाउँ नै थिएन । तैपनि गुडुल्किएर एउटा सानो ठाउँमा बसें । त्यहाँ ओढ्ने ओछ्याउने केही थिएन । कालो फोमका टुक्राहरू मात्र थिए ।

‘अंकल, तपाईं के केसमा आउनु भएको ?’ एक जना भोटेजस्तो देखिने केटाले सोध्यो ।

‘जवरजस्ती करणी उद्योगमा ।’ मैले छोटकरीमा जवाफ दिएँ ।

“केटीहरूसँग सुत्न लागेको बेलामा समातेर ल्याएको हो ?” अर्कोले सोध्यो ।

“केटी कति च्वाँक छ होला ? यस्तो बुढोलाई पनि लोभ लागेको ।” फेरि अर्कोले भन्यो ।

“यस्तो बुढो बैंशमा पनि कति जोश आएको होला ?” अर्कोले भन्यो ।

   “त्यस्तो केही कुरा होइन । मैले केही गरेकै होइन । मलाई फसाउन आरोप मात्र लगाइएको हो ।”

“हो, प्रहरीकहाँ पुगेपछि सबैले त्यस्तै भन्छन् ।”

“भोलि केरकार शाखामा लैजान्छ । के गाना सुन्ने भनेर सोध्छ । मन परेको गाना सुनाउँदै हो नभनेसम्म डण्डाले हान्छ । त्यतिले नपुगे जिब्रोमा करेन्ट लगाइदिन्छ । अनि त जस्तोसुकै मैं हुँ भन्नेले पनि अपराध सकार्न बाध्य हुन्छ ।” फेरि अर्कोले भन्यो ।

“म मरे पनि आपूmले नगरेको अपराध सकार्दिन ।” मैले भनें ।

यसरी जसलाई जे मन लाग्यो त्यो बोल्न थाल्यो । मलाई के गरूँ, के भनूँ भयो । मलाई रुन मन लाग्यो । कस्तो ठाउँमा आइपुगेछु । उनीहरूको कुरा सुनेर मलाई डर लाग्न थाल्यो । मेरो मुख अँध्यारो भयो ।

“चूप लाग । धेरै नचाहिने कुरा नगर्नु ।” एकजना अधबैंशेले केटाहरूलाई भन्यो, “त्यसै त उहाँलाई कस्तो टेन्सन भैरहेको होला । तिमीहरू न प्रहरी हौ, न न्यायाधीश नै हौ । तिमीहरूलाई किन चाहियो ? दाइ, यो ठाउँमा सांँचो कुरा कसैलाई नभने पनि हुन्छ । अझ करणी त भन्नै हुँदैन । अब अरू कसैले सोध्यो भने मान्छे मारेर आएको भन्नुहोला । तपाईंदेखि सबैजना डराउने छन् ।”

म चूप लागें । मलाई घरको पीर आयो । अब त छोरा घर पुग्यो होला । श्रीमतीले थाहा पाईहोलिन । हाई ब्लडप्रशरको रोगी । यस्तो घटना सुनेर श्रीमतीलाई केही भयो कि ? उनले के सोचे होलिन् ? मलाई यहाँ जेसुकै भए पनि मेरो श्रीमतीलाई केही नहोस् भन्ने कामना गरीरहें ।

एकछिन पछि नै बाटोमा कुट बिछ्याउन ल्यायो । कुटमाथि दाल, भात र तरकारीको भाँडो राख्न ल्यायो । भात थाप्न मान्छेहरू थाल लिएर लाइनमा बस्न आयो ।

“दाइ, खाना खाने भए तपाईं पनि तल ट्यांकिनिरबाट थाल लिएर आउनुस् ।” अधबैंशे थुनुवाले भन्यो ।

दिउँसो तीन बजेतिर अलिकति चिउरा खाएको थिएँ । म गजवको मान्छे हुँ । अरूलाई टेन्सन भयो भने खाना रुच्दैन । मलाईं त टेन्सन भयो भने भोक पनि लाग्छ । निद्रा पनि लाग्छ । मलाई थाल लिन जाउँ कि नजाउँ भयो ।

“अय् बाजिगर बालाई थाल ल्याइदेऊ त । अनिखेरां बाले तिमीलाई अण्डा ख्वाउनु हुन्छ ।” एकजना मोटो केटाले अर्को दुब्लो पातलो केटालाई भन्यो । बाजिगर भन्ने केटा उठेर गयो । मोटो केटाले फेरि भन्यो, “बा तपाईंको खुट्टा दुखेको छ । तलमाथि गर्न गाह्रो होला । बाजिगरलाई अलिअलि पैसा दिनुहोला । उसैले थाल पनि माझी दिन्छ ।”

बाजिगरले तलबाट थाल ल्यायो । भात लिन म पनि लाइनमा बस्न गएँ । मेरो थुनुवापूर्जी ल्याउ भन्यो । मैले दिएँ । रजिस्टरमा मेरो नाम लेख्यो अनिमात्र खाना दियो । भात, पहेंलो मुसुरोको दाल र लौका तरकारी दियो । थाल लिएर कोठामा आएँ । भात र दाल मुछुं भनेर हेरेको भात त एकदम गिलो रहेछ । ढिंडोजस्तो गिलो रहेछ । दुई तीन गाँस खाँदा घरको याद आयो । आज घरमा छ्वय्ला, अचार बनाएको छ । कुखुरा मासु पकाएको छ । यस्तो मीठो खाना खाने समयमा अहिले यहाँ यस्तो खाना खानु परिरहेको छ । मलाई खाना खान मन परेन । मलाई वाक्क आउलाजस्तो भयो । खाउँ कि नखाउँजस्तो भयो । त्यत्रो भात फाल्दा प्रहरीहरूले गाली गर्ला कि भनेर डर पनि लाग्यो । घरको खाना सम्झिदै आँखाबाट बर्रर बर्रर आँसु झारें । सायद त्यो आँसु मेरो मुखमा प¥यो होला । खाना नुनीलो भयो । स्वाद आयो । सबै भात खाएँ । बाजिगरले हात धुन पानी ल्याइदियो । त्यही थालमा हात धोएँ । बाजिगरले नै तल थाल पु¥याउन गयो । म कहीं जानु परेन ।

मैले कोठाको चारैतिर आँखा दौडाएँ । कोठाको सेतो भित्तामा रगतको दागै दाग देखें । कस्तो घिनलाग्दो कोठा । यो कोठामा उडुस आउँछ होला । त्यही उडुस मारीराखेको दाग त होला नि । यस्तो उडुस आउने ठाउँमा कसरी सुत्ने ? सम्झिंदै मेरो शरीर नै जिरिंग भयो ।

सबैजनाले खाना खाए । अघि खानाको भाँडाहरू राखेको ठाउँ सफा गर्न लाग्यो । सफा भएपछि त्यही ठाउँमा थुनुवाहरू कोही फोमका टुक्रा र कोही तन्ना विछ्याएर आ–आफ्नो ठाउ ओगट्न लागे । कोठामा सुत्न ठाउ नपुगेकाहरू बाटोमा सुत्दा रहेछन् । म कहाँ सुत्ने ? यस्तो सानो कोठामा एघार जना कसरी सुत्ने ? म यस्तै सोचिरहेको बेला बाजिगरले मलाई बोलायो । उसले पनि बाहिर ठाउँ ओगटी सकेको थियो । म पनि बाटोमा बिछ्याइएको फोममा सुत्न गएँ । ओढ्ने केही पनि थिएन । म ज्याकेट लगाएरै सुतें । मलाई पानी प्यास लाग्यो । पानी खाने थिएन । बाजिगरले ८ नं कोठाबाट एक बोटल मिनरल वाटर किनेर ल्यायो । बीस रुपैयाँ लियो । हामी पल्टेको एकैछिनमा थुनुवा गन्ति गर्न आयो । म पल्टिरहें । तर मलाई निद्रा लागेन । मनमा अनेकौं कुरा खेल्न थाल्यो ।

रातको दशबजेतिर एकजना मानिस प्लाष्टिकको बाल्टिनमा अण्डा राखेर बेच्न आयो । जोसँग पैसा थियो उनीहरूले दुईटा–दुईटा अण्डा लिए । जोसँग पैसा थिएन उनीहरू टुलु टुलु हेरिरहे । मैले पनि चारवटा अण्डा लिएँ । दुईटा बाजिगरलाई दिएँ । फेरि अर्को मान्छे किटली र सेतो प्लाष्टिकको गिलास लिएर चिया बेच्न आयो । दूध नभएको कालो चिया रहेछ । दुई कप चिया लिएर बाजिगर र मैले पिएँ । चियामा मरिच हालेको रहेछ मिठो लाग्यो । अण्डा र चिया गरेर पचास रुपैयाँ खर्च भयो । त्यसपछि सुतें ।
जिउँदो लाशको मुर्दो आवाज —मेरो जेल जेल डायरी —१ को बाँकी अंश क्रमश ....

No comments:

Post a Comment