के हो ? भाजंगलस्थित प्रस्तरको मन्दिर भैरव वा कालु पाण्डेको स्तुप
प्रयागमान प्रधान
ऐतिहासिक, धार्मिक, पुरातात्विक स्थान, मन्दिर र बस्तुलाई बिना अध्ययन र प्रमाणको आधारमा चर्चा—परिचर्चा नामकरण वा नाम सम्बोधन गरियो भने गलत हुन जाने छ । यस प्रसंगमा कीर्तिपुरको विभिन्न स्थान तथा मन्दिरको पुरातात्विक स्थानलाई गलत रुपले चर्चा–परिचर्चा गर्ने गरिएको पाइएको छ, ती मध्येमा भाजंगालको भैरवको प्रस्तर मन्दिर पनि एक हो । यो मन्दिर मल्लकालीन सांस्कृतिक र धार्मिक भावनाले निर्माण गरिएको भैरवको प्रस्तर मन्दिर हो । भैरवलाई नेवारहरुले भैलव तथा भैलद्यः भन्ने परम्परा रहेको छ । भैरवको विशेष आस्था राख्नेले भैरवलाई आफ्नो इष्टदेवताको रुपमा मानी कीर्तिपुरको कुसिक्व टोलका रामकृष्ण भारो र आफ्ना परिवारजनका तर्फबाट प्रस्तरको मन्दिर बनाई सो मन्दिरमा आफ्ना इष्टदेवता स्थापना गरिएको छ भन्ने उल्लेख गरी मन्दिरको दक्षिणतिरको बाहिरी भिट्टामा नेपाल सम्वत् ८०४ को प्रस्तरको शिलालेख राखिएको छ । उक्त शिलालेखमा मन्दिर संरक्षणका लागि गुठी पनि स्थापना गरिएको व्यहोरा उल्लेख रहेको छ । शिलालेखमा “ॐ नमो श्री श्री श्री स्वइष्ट भैलवायै नमः ।। अद्यः स्वद्यत वाराह कल्पे त्यादि ।।
श्रेयोस्तु ।। सम्वत् ८०४ फाल्गुण........सव्र्वदा कल्याण मंगल ।। शुभ ।। ” आदि नेपाल लिपिको अक्षरमा नेपालभाषा र संस्कृतभाषामा कुंदिएको पाइन्छ । यस मन्दिर निर्माताको सम्बन्धमा कीर्तिपुर(१, सतःक्व टोलका ६८ वर्षिय भीमकुमार राजभण्डारीले आफ्नो कुलघर कुसिक्व टोलमा रहेको र रामकृष्ण भारो पुर्खा हुनुपर्छ त्यसैले उहाँ(रामकृष्ण भारो)ले स्थापना गरेर गएको सो मन्दिरमा हालसम्म पनि सिथीनख अर्थात् कुमार षष्टिका दिन इष्टदेवता तथा कुलदेवताको रुपमा दिवालीपूजा मनाई आइरहेको र कुसिक्वमा रहेको श्याम राजभण्डरीको घरमा हालसम्म पनि दशैंमा आगमपुजा गरिरहेको बताउनु हुन्छ । साथै विशेषगरी भैरवलाई आफ्ना इष्टदेवता तथा कुलदेवताको रुपमा मान्ने सतःक्व टोलकै बिस्यत(श्रेष्ठ थरका लक्ष्मण प्रसाद, कृष्ण प्रसाद, ध्र्रुव, महेश आदि) परिवारहरु पनि सोहि मन्दिरमा सोहि दिनमा दिवालीपूजा मान्दै आइरहेका छन् ।
बाघभैरवको मन्दिरमा अधिकांश समयमा दर्शनधारीहरु मात्र पुजारीको रुपमा बसिरहेको पाइन्छ र उनीहरु मात्र त्यहाँको पुजारी हुन् भन्ने अधिकांशले देखिरहेको छ, थाहा पाइरहेको छ । तर यसो होइन विभिन्न चाडपर्वमा कीर्तिपुरका अन्य महर्जन परिवार पनि बस्ने गरिन्छ भने विशेष पर्व–पर्व र बाघभैरवको जात्राको अवसरमा आठ दिनसम्म सतःक्व टोलका बिस्यतहरुबाट पुजारीको रुपमा पालो बसी भूजा र पशु बलिकासाथ विशेष पूजा सम्पन्न हुने परम्परा अहिले सम्म भइरहेको छ । यस्तै पशुपतिको दक्षिणपट्टिको मुखलाई भैरव मान्दै आएकोछ भने त्यस्मा पशुका (पञ्चरङ्गि धागो) बाँधेर पशुपति परिसरको दक्षिण(पच्छिममा रहेको भैरवसम्म ल्याइ भूजा र पशु बलि चढाउनेहरुपनि बिस्यतहरु नै रहेबाट बिस्यतहरु भैरवको विशेष पुजारी हुन् भन्ने बुझिन्छ । यस पृष्ठभूमि रहेका परिवारजनबाट दिवालीपूजा गर्न स्थापना भइराखेको भाजंगालको भैरवको मन्दिर र सो परिसरमा विभिन्न खलक÷परिवारहरुको अन्य चार वटा दिवाली पूजा गर्ने शिलातोरणहरु पनि स्थापना भइराखेको पाइन्छ । यस प्रकारले दिवालीपूजा हुने मन्दिर परिसरलाई बिना अधार कालु पाण्डेको स्तूूप भनेर चर्चा–परिचर्चा सुन्नमा आइरहेको छ, पढ्नमा आइरहेको छ, जुन सरासर झुठ तथा गलत हो । यो चर्चा–परिचर्चा विगतका राजावादी सामन्ती सोच र संस्कारीहरुको मानसिक अज्ञानतावस् ब्यक्त भावना मात्र हो ।
इतिहासको पाना पल्टाएर हेर्ने हो भने पृथ्वीनारायण शाहसँग भएको कीर्तिपुरको युद्धमा कालु पाण्डे नेपाल सम्वत् ८८० तिर मारिएको भन्ने उल्लेख गरिएको पाइन्छ जवकि यो मन्दिर नेपाल सम्वत् ८०४ तिर नै निर्माण भइसकेको उक्त मन्दिरमा रहेको शिलापत्रमा उल्लेख भइराखेको व्यहोराबाट छर्लङ्ग देखिन्छ । अर्थात् कालुपाण्डे मारीनु भन्दा ७६ वर्ष अगाडि नै यो मन्दिर निर्माण भइसकेको स्पष्ट हुन्छ । तसर्थ कीर्तिपुरका नेवार परिवारहरुको एउटा महत्वपूर्ण धार्मिक र सांस्कृतिक धरोहर क्षेत्रलाई आधारहिन सामन्तीवादी चिन्तनस्वरुप भाजंगालको भैरव मन्दिरलाई कालु पाण्डेको स्तूप भनेर हुँदैआइरहेको चर्चा–परिचर्चालाई खण्डन गर्दै जिज्ञासु सम्पूर्ण समक्ष यस सत्यतथ्य अवगतार्थ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
यस मन्दिर जिर्नोद्धार तथा परिसर ब्यवस्थापन गर्ने गरिएको छ जुन सराहनीय छ । यस कार्यमा लाग्नु हुने सम्पूर्ण ब्यक्ति तथा संस्था धन्यवादका पात्रहरु हुनुहुन्छ । तर रङ्ग लगाउने क्रममा शिलालेखमा समेत सेतो लगाउँदा सो अभिलेख बिग्रन जाने कुरालाई मनन् गर्नु पर्ने पनि जरुरी देखिन्छ । तसर्थ सो सेतो रङ्ग पुछेर अभिलेख संरक्षण गर्न तत्काल ध्यान जानु पर्ने देखिन्छ ।
No comments:
Post a Comment