नगाउँको धाल्चा खाकेगु जात्रा सम्बन्धि पत्रकार सम्मेलन
काठमाडौंको दक्षिण पश्चिम भेगमा अवस्थित सात गाउँले जात्रा थिंलाथ्व अस्तमि (जसलाई बखुंमदःअस्तमि भनिन्छ) देखि जात्रा सुरु हुन्छ । कीर्तिपुरको नगाउँमा धाल्चा खाकेगु जात्रा सुरु हुन्छ । त्यही जात्राको बारे जानकारी दिन मंसिर २४ गते सोमवार बालकुमारी परिसरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो ।
साधुराम महर्जनले संचालन गर्नु भएको उक्त पत्रकार सम्मेलनमा की.न.पा. वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जन, नगाउँ देय् गुथिका नाइके कृष्णदेव महर्जन, बालकुमारी सहकारीको सांस्कृतिक उपसमिति प्रमुख लक्ष्मीप्रसाद महर्जन, संस्कृतिविद् कर्ण महर्जन र शम्भुराम महर्जनको उपस्थिति रहेको थियो ।
प्रेस विज्ञप्तिमा भनिएको छ – २५० घरधुरी र १५०० जनसंख्या भएको नगाउँको रैथाने बासिन्दा भनेको ज्यापू र मालाकार नै हुन । आजभन्दा ४७० वर्ष अगाडि नै अस्तित्वमा आइसकेको नगाउँमा परम्परागत नेवाः बस्तीमा पाइने प्रायः सबैखाले धार्मिक, सांस्कृतिक तथा लौकिक बास्तु संरचनाहरुको साथै अभौतिक सांस्कृतिक सम्पदा युक्त छ । मंसिर शुक्ल अष्टमीको दिन मूयाःको रुपमा मनाइने नगाउँको बालकुमारी जात्राको विशेषता भनेको अष्टमीको राती बालकुमारी पीठमा मनाइने धाल्चा खाकेगु परम्परा हो । विधिवत रुपमा यो जात्रा मंसिर शुक्ल पंचमीको अर्थात् नितँको दिन भेलुथ्वं बनाउने कार्यबाट हुन्छ । यस दिन चारजना जात्रापाःलाहरुमध्ये जेष्ठपालाःको घरमा अन्य तीनजना पालाःहरुको सहभागितामा विधिवतरुपमा भेलुथ्वं बनाउने गर्दछ । त्यसपछि सप्तमीको दिन गाउँभरि रंगीबिरंगी ध्वजापटाकाहरुले सिंगार्ने गरिन्छ र घर आंगनमा लिपपोट गरिन्छ । घरघरमा तःखा पकाइन्छ । यसरी त्यसदिन उत्सुकताकासाथ व्छयलाभू अर्थात जात्राको पूर्वसन्ध्याःभोज मनाइन्छ ।
मूयाः अर्थात् अष्टमीका दिन बिहानदेखि घरघरबाट लाछिस्थित बालकुमारी द्यःछेंमा पूजा जान्छन् । सांझ द्यःछेँमा रहेको बालकुमारीको मूर्तिलाई खटमा राखि बाजागाजा सहित जात्रागरी देउलस्थित पिगंमा लगिन्छ । बालकुमारीको मूर्तिलाई पिगंको गर्भगृहमा थापना गरिसकेपछि जात्रापालाःको घरबाट पूजा ल्याइन्छ, त्यसपछि नितंको दिन पकाएको भेलुथ्वंं पिगंमा ल्याइन्छ । बालकुमारीको विधिवत पूजा सकेपछि जात्राको मुख्य आकर्षयको रुपमा रहेको धाल्चाखाकेगु प्रकृया सुरु हुन्छ । धाल्चाखाकेगु एक परम्परा तान्त्रिक विधिद्वारा योगिनीहरुलाई जगाई कम्पन गराउने एउटा तान्त्रिक पद्धति हो जसलाई योगिनी कमाउने पनि भनिन्छ । यसरी योगिनी कमाउने परम्परा मध्यरातमा होम गरेर नै सम्पन्न गर्नु पर्छ भन्ने मान्यता रहि आएको छ । यसरी योगिनी कमाउनुको मुख्य उद्देश्य गाउँबस्तीलाई भूत, प्रेत, आदिबाट बचाउनको लागि हो भन्ने विश्वास गरिन्छ । नगाउँमा धाल्चाखाकेगु प्रकृयामा नगाउँ देगुथिका दिक्षाप्राप्त गुथियारहरुमध्ये प्रत्येक वर्ष पाँचजनाले फुकि कवःको आधारमा पालो थाप्ने गर्दछ ।
बालकुमारीको सबै पूजाविधि सकेपछि धाल्चाकाम्ने पाँचैजना अग्नीकुण्डको दायाँबायाँ जेष्ठताको क्रममा बस्दछन् । गुरुजुले योगिनी काम्ने पाँचैजनालाई बिधिवतरुपमा तयार गराइन्छ । त्यसपछि जाँड, रक्सी, रगत, दुध र दहि राखिएको एकएकवटा धाल्चाहरु पाँचैजना योगिनीहरुको हातमा थमाइन्छ । त्यसपछि पाँचैजनाको हातमा पंचरंगि धागो बेरिदिन्छ । त्यसपछि गुरुजुले ताः (एक प्रकारका ताल बाजा) को तालमा चर्या गाउन थाल्छ, उता काहां बाजा बजाउन सुरु गर्छ भने अर्कोतिर नायखिं बाजा बजाउन थाल्छ । यता चर्याको सुरमा धाल्चा समाईराखेका हातहरु विस्तारै काम्न थाल्छन् । यसरी क्रमशः योगिनीहरुको हातहरु काम्ने गति तीब्र हुँदै जान्छ । कहिलेकाहिं धाल्चाभित्र रहेका तरल पदार्थहरु बाहिर निस्कने गरी हातहरु उच्च गतिमा काम्ने गर्दछ । यसरी धाल्चा कमाउने काम झण्डैै १५ देखि २० मिनेटसम्म जारी रहन्छ । गुरुजुले चर्या गाउन सकेपछि ती धाल्चाहरुलाई विधिपूर्वक पूजा गरी खोस्ने गरिन्छ । यसरी धाल्चा खोस्दा योगिनीहरु निद्राबाट ब्युंझे जस्तै झसंग हुने गर्दछ । योगिनी कमाउने प्रकृया सकेपछि योगिनीहरु लगायत पालाःगुथियारहरु, गुथिनाइके र गुरुजुलाई चतांमरी अर्थात पानीरोटी र समयबजि प्रसादको रुपमा बांधिन्छ । साथै दर्शकहरुलाई पनि चतांमरि र समयबजि प्रसादको रुपमा बाध्छ र योगिनी कमाउने अर्थात धाल्चा खाकेगु जात्राको सम्पूर्ण कार्य सम्पन्न हुन्छ ।
Kirtipur Sandesh Issue 275 Dare 26/08/2075
No comments:
Post a Comment