Thursday, April 18, 2019

सन्दर्भ शेयर बजार र लगानीकर्ताको पिडा

सन्दर्भ शेयर बजार र लगानीकर्ताको पिडा






दिनेश दर्शनधारी


            जुन बेला शेयर बजार बुलिस ट्रेन्डमा थियो त्यो बेला ब्रोकर अफिसमा बस्ने ठाउँ पनि पाउन गाह्रो हुन्थ्यो । आजभोलि सोही अफिसमा जाने हो भने कि त सिटहरु खालि हुन्छन् वा यदि मानिसहरु भेटिएमा पनि अनुहारमा कुनै चमक देखिदैन । ठुला र चलाख भनाउँदा केहीलाई छोडेर प्राय सबै लगानीकर्ता आजका दिनमा आफ्नो घाटाको पिडा लुकाएर बस्न बाध्य छन् ।

          ऋण लिएर सेकेन्डरी मार्केटमा लगानी गरेका लगानीकर्तालाई खरिद गरेको शेयर निल्नु न ओकल्नु भएको छ । पालेर राखे पनि थेग्न नसक्ने र बिक्री गरे पनि ठूलो घाटा ब्यहोर्न पर्ने हँुदा लगानीकर्ताहरु दुबिधामा परेका छन् । गत बर्षचैत्रको यसै समयमा नेप्से १७०० अंकको हाराहारीमा थियो । त्यस यता बजार गत सोमबारसम्म ५३२ अंकले गिरावत आईसकेको छ ।

             बजार घट्दै गएर दर्जनौं कम्पनीहरुको सेयर मुल्य आईपिओ कै भाउमा आउँदा समेत शेयर खरिद गर्ने भन्दा बिक्रि गर्नेको चाप देखिएको छ । यस आर्थिक बर्षको श्रावणमा नेप्से १६६७ भएको गत सोमबार घटेर ११६८ मा झर्दा लगानी कर्ताहरुको दिमाग खराव भएको छ । शेयर बजारमा अस्वभाविक ओरालो लाग्दा लगानीकर्ताहरुको सम्पत्ति मापन गर्ने समग्र बजार पुँजीकरण १३ खर्ब ६८ अर्ब रुपैयामा खुम्चिएको छ । १८८१ बाट ओरालो लागेको नेप्से ११६८ सम्म झर्दा अझै होल्ड गर भन्दा लगानी कर्ताले सहन सक्छ कि सक्दैन बिचार गर्नु पर्ने हुन्छ आफुलाई बजारका एक्सपर्ट बिश्लेषकहरुले ।

           शेयर बजारबाट यति कमायौं उति कमायौं भन्नेहरु गायब भएका छन् । अनलाईन र फेसबुकमा आफु एक्सपर्ट भनाउँदाहरुको एनालाईसिस झुट साबित हुँदा उनीहरु लगानीकर्ताहरु बिपतमा हँुदा कहाँ छन् थाहा छैन । हिजो लगानीकर्ताले थोरै कमाउँदा पनि मैले भनेको मिल्यो नि भन्नेहरु आज बजार ओरालो लागेर घाटा खाँदा कुन दुलोमा लुकेर बसेका छन् ।

                 लामो समयको राजनितिक अन्यौलता पछि नेपालमा अहिले सम्मकै शक्तिशाली दुईतिहाई बढी बहुमत प्राप्त स्थिर सरकार भएता पनि शेयर बजार भने निरन्तर ओरालो नै लागि रहँदा लगानी कर्ताहरुको मनोबल अति नै गिरेको महसुस भएको छ । लगानीकर्ताहरु यति बिघ्न निराश भएका छन् कि धेरै जसो लगानीकर्ता अब यो भन्दा बढी घाटा नखाने मनस्थितिमा छन् त्यसैले तिनीहरु सस्तोमा शेयर बेचेर बजारबाट पलायन भईरहेका छन् ।

          विकसित देशहरुको पँुजी बजारलाई हेर्ने हो भने त्याहाँ राम्रा कम्पनीहरुको शेयर मूल्य नेप्से बढ्दा बढेको हुन्छ भने नेप्से घट्दा पनि त्यति मूल्य घटेको हुदैन । तर नेपालको शेयर बजारमा भने नेप्से बढ्दा जति नराम्रा कम्पनीको शेयर मूल्य बढ्ने र नेप्से घट्दा राम्रा कम्पनीको पनि मूल्य पनि घट्न गएको देखिन्छ । यसरी लगानीकर्ताहरुले आधारभूत पक्षको अध्ययन नै नगरी हल्लाको भरमा लगानी गर्दा प्राय जसो लगानीकर्ता आफुलाई फसेको महसुस गर्छन । यसरी फसेको महसुस भएपछि लगानी कर्ताले शेयर बजारलाई कमाउने किल्ला कि गुमाउने जुवा घर भनेर आरोप लगाउन थालेका पनि छन् ।

           अहिले बजारमा बीस लाख नेपाली लगानीकर्ता छन् जो बजार बढ्ला र आफुसँंग भएको शेयर महंँगोमा बेचेर पैसा कमाउला भनेर कुरेर बसेका छन् । करोडौं कमाउन शेयर बजारमा छिरेका सोझा लगानीकर्तालाई अहिले सोही बराबरको घाटा ब्यहोर्नु पर्दाको पिडा सहन मुस्किल भएको छ । हिजो शेयर बजार उकालो लाग्दा यो बजारबाट नै जिविकोपार्जन हुन्छ भन्दै लगानी गर्दै आएका लगानीकर्ताले अवका दिनमा लगानीको बातावरण देख्न छोडेका छन् ।

         सेयर बजार सम्बन्धि एउटा कथा हामी लगानी कर्ताहरुलाई पनि सान्दर्भिक होला ं उल्लेख गर्दैछु ।
एक पटक एक जना ब्यक्ति कुनै गाउँमा पसेछ । त्यो गाउँ सम्पन्न थियो । गाउँका सबै सम्पन्न थिए । खेतीपाती पनि मनग्गे हुन्थ्यो । गाउँलाई टेन्सन भनेको नै बाँंदर जंगलबाट गाउँ पस्ने र अन्नबाली खाईदिने गथ्र्याे । तर पनि गाउँलेलाई प्रसस्त खान पुग्थ्यो ।

           त्यो नयाँ ब्यक्ति गाउँ पसेर गाउँलेहरुलाई भन्यो कि उसले एउटा बाँदरको रु १००मा  किन्नेछु । त्यो सुनेर गाउँलेहरु खुसी भए किनकी आफ्नो अन्न खाएर दुखदिईरहेको बाँदर किन्न मान्छे आएछ । त्यसैले गाँउलेहरु नजिकैको जंगलमा गएर बाँदरहरु समाती रु १०० प्रति गोटाका दरले बेच्न थाले । त्यो ब्यक्तिले ती बाँदरहरु खरिद गरि त्यही गाउँ भन्दा पर ठुलो खोर बनाएर पाल्न थाल्यो ।

            केही दिन पछि यो सिलसिला कम हँुदै गयो र मान्छेहरुको दिलचस्पी घट्न थाले ।
         केही समय पछि त्यो मान्छे फेरी त्यो गाउँमा आयो र यस पाली एउटा बादरको रु ५०० मा खरिद गर्ने घोषणा गर्याे । यो सुनेर गाँउलेहरु फेरी जंगलतिर कुद्न थाले र प्रति गोटा रु ५०० को दरले प्रति बाँदर बेच्न थाले ।
एवं रितले फेरी अर्काे पल्ट त्यो ब्यक्तीले बाँदरको रेट बढायो र  १००० पु¥यायो । जंगलमा बाँदर धेरै घटीसकेको थियो भने त्यो ब्यक्तीले भने आफ्नो खोरमा टन्न बाँदर जम्मा गरिसकेको थियो । १००० को दरमा पुरै गाँउलेले १० वटा भन्दा बढी बाँदर त्यो ब्यक्तीलाई बेच्न सकेन ।

          बाँदरले गाँउलेको खेतमा आएर अन्न खाई दुख दिन छोडि सकेको थियो किनकी बाँदर जंगलममा समेत मुस्किलले पाउन छोडिसकेको थियो । तर केही दिन पछि फेरि मामला शान्त भयो । ६ महिना पछि त्यो मान्छे फेरी गाउंँमा आएछ र भनेछ कि उ भन्दा पनि माथिको हाकिम खुसी भएछ र अवको पालोमा एउटा बाँदरको रु १०,००० दिने घोषणा गरेछ । सारा गाउँले जंगलमा बाँदर खोज्न गएछ तर एउटा पनि भेट्टाएनछ । सबै गाँउले निराश भएर फर्किएछ ।

           यति धेरै रेट आउँदा एउटा पनि बाँदर नहँुदा यही मौकामा त्यो मान्छेले भनेछ कि म मेरो हाकिमलाई थाहा नहुने गरी तिमीहरुलाई मैले खोरमा पालिराखेको बाँदरहरु रु ५,००० मा तिमीहरुलाई दिन्छु अनि मेरो हाकिम यहाँ आउने बेला तिमीहरुले रु१०,००० मा बेच्नु ।

            सबै गाउँले यो सुनेर खुसी भए र जम्मै लोभिए । तर पहिला बाँदर बेच्दा आएको पैसा जति सबै सित्तैमा आएकोले सबैले मोज मस्ती र भोज भतेर गरेर अनि घुमघाम गरेर सकिसकेको थियो । सबै गाउँलेले पछि रामै्र कमाई हुने सोचेर आफ्नो सम्पती धितो राखेर ऋण लिए र त्यो मान्छे संग भएको सबै बाँदर रु ५,००० मा खरिद गर,े जुन आफुले रु१०० देखि रु१,००० को दरले बेचेका थिए ।
सबै बाँदर बेचिसकेपछि त्यो ब्यक्ती आफ्नो हाकिमलाई लिएर चाँडै रु १०,००० को दरले खरिद गर्न आउँछु भन्ने बाचाका साथ पैसा बोकी बिदा भएर गए ।

         गाउँलेहरु अब ती बाँदरहरु महंगो मुल्यमा बेच्न पाउने आसमा त्यो मान्छेको प्रतिक्षामा कुरिरहे ।
दोस्रो दिन नै हाकिमलाई लिएर आउने बाचाका साथ गएको त्यो ब्यक्ती एक हप्ता कुर्दा नि आएन । एक महिना कुर्दा नि आएन । छ महिना कुर्दा नि आएन । ती बादर अनि ऋणले गाउँलेलाई सताईरह्यो सताईरह्यो ।
शेयर बजारको चर्चित कथा हो यो । तर अपुरो कथा ।

           प्रसंग शेयर बजारसंग जोडौं । अनेक हल्ला गरेर सोझा सिधा लगानीकर्ताहरुलाई फसाउँदै शेयर बजारको ईन्डेक्स १८८१ सम्म आजभन्दा ३ बर्ष अगाडी पु¥यायो । आज ती सबै लगानी कर्ताहरु आफु फसेको महसुस गरिरहेका छन् । हामीले स्टान्डर्ड चार्टड बैंकको शेयर बजारमा भाउ रु १०,००० को हाराहारीमा देखेका थियौं । बजारमा त्यो भाउमा पनि शेयर किनेका लगानी कर्ता पक्कै होलान । अहिले बजारमा सोही बैंकको भाउ ५०० को हाराहारीमा छ । हामीले सोझो हिसाब गर्दा पनि लगानीकर्ता ठुलो घाटामा देख्छौं । जान्ने बुझ्नेले शेयर बजारमा बिभिन्न हल्ला गर्दै भाउ १०,००० पु¥याए अनि आफुमा भएको सबै शेयर सोझा लगानीकर्तालाई बेचिभ्याए । बजारमा कुनैबेला ५००० भन्दा बढी मुल्यका प्राय सबै बैंकको शेयरको भाउ अहिले ५०० मुनि छन् । अव तपाई हामी सबैले बिचार गर्नु पर्ने आखिर यसो हुँदा कसले कमायो त ?

                आज भन्दा ३ बर्ष अगाडी शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुको अवस्था सवभन्दा दयनीय छ । त्यो बेला प्रवेश गरेका प्राय सबै लगानीकर्ताहरुको अहिलेको शेयरलाई हिसाव गर्दा तिनिहरुको सम्पति जम्मा ३० प्रतिशत मात्र बाँकी हुनु पर्छ । त्यसमा पनि यदि ऋण लिएर लगानी गरेको भए त झन शुन्य प्रतिशतमा नै झरिसकेको हुनु पर्छ ।

                  अर्काे एउटा प्रसंग पनि जोड्न चाहन्छु । एउटा मान्छेले कुनै ठाउँमा भएको केही जग्गा छोडेर प्राय सबै जग्गा रु एक लाख प्रति आनाको दरले किन्छ । केही समय नबित्दै त्याहाँ बाँकी रहेको ५–१० रोपनी जग्गा पनि आफैले कृतिम भाउ उक्साएर रु दशलाख प्रति आनामा फेरी किन्छ । फेरी केही समय चुप लागेर बस्छ । त्यसले आफै २–४ वटा घर पनि बनाउँछ र मान्छेहरुलाई भ्रमित बनाउने प्रयास गर्छ । त्यो ठाउँमा बस्ती बस्न थालेको जस्तो नाटक गर्छ । बाँकी रहेको मध्ये १–२ रोपनी जग्गा फेरी कृतिम भाउ बढाएर रु २० लाख प्रति आनामा किन्छ  । यसरी रु २० लाख प्रति आनामा उसले आफैले किने पनि अव उसको सबै जग्गाको भाउ पनि रु २० लाखको नै दर लगाउँछ जुन उसले रु एक लाखले किनेको हुन्छ । यसरी आफ्नो छेउछाउको लगानीकर्तालाई पनि  भ्रमित गर्छ र २–४ जना ब्रोकर खटाएर भए पनि अरु लगानीकर्तालाई भ्रमित पार्छ । त्याहाँको जग्गाको कृतिम भाउ रु २० लाख भए पनि अरु लाई थाहा नदिई रु १२–१५ लाख प्रति आनामा सस्तो भनि बेचिदिन्छ । अरु सिधासाधा भने सस्तोमा जग्गा पाए भनि मख्ख पर्छन । तर बास्तवमा तिनीहरु ८–१० लाख प्रति आनामा ठगीमा परेको कुरा त्यस बेला थाहा हुन्छ जुन बेला बजारमा जग्गाको भाउमा मन्दि आउँछ । यस्तै कुरा शेयर बचारमा पनि लागु हुन्छ । बजार तात्दा अन्धो भई किन्ने अनि सेलाउदा निधारमा हात लगाउनु पर्ने अवस्था कसैको पनि नआवस् । जुन सुकै क्षेत्रमा लगानी गर्दा बिशेष ध्यान पु¥याउनु पर्छ ।

No comments:

Post a Comment