Sunday, July 28, 2019

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरवासीको लागि दुर्भाग्य हो

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरवासीको लागि दुर्भाग्य हो



टीकाराम महर्जन

(कीर्तिपुरको शिक्षित एवं जागरुक व्यक्तित्वको रुपमा आफ्नो पहिचान बनाउन सफल समाजसेवी टीकाराम महर्जनसंगको भलाकुसारीको आधारमा तयार पारिएको सामाग्री यहाँ प्रस्तुत गरेका छौं ।)

उहाँको जन्म वि.सं.१९९३ यःमरि पुन्हिको भोलिपल्ट बुबा न्हुच्छे बहादुर महर्जन र आमा ज्ञानीमाया महर्जनको माहिलो छोराको रुपमा कीर्तिपुरको इटाछेँ टोलमा जन्मनु भएको हो ।

त्यतिबेला अहिलेजस्तो स्कुलहरु थिएन । शिक्षाको महत्व बुझ्नु भएका उहाँका बुबाले उहाँलाई प्राथमिक शिक्षा भाषा पाठशालामा पढाउनु भयो । पछि पाँगाको जलविनायक आधार हाई स्कुलमा पढ्न जानुभयो । त्यस स्कुलमा कक्षा ८ सम्म पढाई हुन्थ्यो । त्यहाँबाट उहाँले कक्षा ८ पास गर्नु भयो । त्यतिबेला कक्षा ८ पास भएकालाई जागिर खान एस.एल.सी.को मान्यता दिन्थ्यो । इन्टरमिडियट पढ्नको लागि भने अंग्रेजी एक विषयमा एस.एल.सी.पास गर्नु पथ्र्यो । उहाँले २०१३ सालमा एस.एल.सी. परीक्षा दिएर पास गर्नुभयो । उहाँले आई.एड. ताहाचल कलेजबाट पास गर्नुभयो ।

२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था हटाएर पंचायत व्यवस्था ल्यायो । पढेलेखेको मानिस भनेर उहाँलाई २०१९ सालमा चिठू विहार गाउँ पंचायतको प्रधानपंच बनाइयो । त्यहीबेला गोकर्णमा पंचायत सम्बन्धि ३ दिने तालिम लिन जानु भयो । तालिम सकिएपछि सबै पंचायतलाई एक एक वटा प्राथमिक विद्यालय दिनेभयो । त्यतिबेला मंगल स्कुल पालिफल पंचायतको कुटुझोमा संचालित थियो । पालिफल पंचायतका तत्कालिन प्रधानपंच ईश्वरलाल महर्जनले मंगल नाम हटाएर उहाँको छोरी विश्व शान्तिको नाममा चलाउने भन्नुभयो । उहाँले मंगल नाम नहटाउने मेरो पंचायतमा लैजान्छु भनेर मंगल स्कुललाई चिठूविहार पंचायत अन्तर्गत चिलंचोमा ल्याउनु भयो । त्यसपछि नयाँबाजरमा सार्नुभयो । जुन अहिले नयाँबजारमा आफ्नै भवनमा संचालित छ ।
टीकाराम महर्जन २०२० सालसम्म प्रधान पंच रहनु भयो । उहाँले २०२१ सालमा पंचायत मन्त्रालयमा पंचायत तालिम अधिकृतमा जागिर खानुभयो । जागिरको सिलसिलामा उहाँले विभिन्न अंचल, जिल्लामा खट्नु भयो । २० वर्ष जागिर खाएपछि पेन्शन पाक्यो । उहाँले २०४१ सालमा जागिर छाड्नु भयो । त्यसपछि उहाँ समाजसेवामा लाग्नुभयो ।

राजनीतिक संलग्नता ः कीर्तिपुरको कम्युनिस्ट दान भनेर चिनिने दानवहादुर महर्जनको संगतमा परेर उहाँ कम्युनिस्ट पार्टीमा लाग्नु भयो । नगाउँका कोमल महर्जन, पानवहादुर महर्जन आदि सिनियर कम्युनिस्ट कार्यकर्ताहरु थिए । २०१५ सालको आम निर्वाचनमा कीर्तिपुर क्षेत्रबाट कम्युनिस्ट पार्टीको उम्मेदवार शम्भुराम श्रेष्ठ हुनुहुन्थ्यो । त्यहीबेला नगाउँको रामलाल महर्जनको छोरा जन्मियो । उहाँको नाम शम्भुराम लाई सम्झिरहने गरी राख्ने निर्णय गरेर शम्भुराम नाम राखिएको उहाँ बताउनु हुन्छ । जसलाई अहिले शम्भुराम ‘मान्छे’ भनेर चिनिन्छ । त्यो चुनावमा गोरखा परिषदको खुकुरी दलले कीर्तिपुर क्षेत्रमा चुनाव जित्यो ।

वि.सं.२०१७ सालमा सबै पार्टीहरु प्रतिबन्ध भए । त्यतिबेलासम्म उहाँको एक जना छोरा र एक जना छोरी भइसकेको थियो । एक वर्ष प्रधान पंच भएर काम गर्नुभयो । त्यसपछि जागिर खान जानुभयो । जागिरको अवस्थामा पनि भित्र भित्र कम्युनिस्ट पार्टीलाई सघाई राख्नुभयो । उहाँको घर नेताहरुको सेल्टरको रुपमा प्रयोग हुन्थ्यो । वि.सं.२०४१ सालमा जागिर छाडेर आएपछि सामाजिक सेवामा लाग्नु भयो । वि.सं.२०४३ सालमा उहाँ जनपक्षीय उम्मेदवारको रुपमा चिठू विहार गाउँ पंचायतको प्रधानपंचमा विजयी हुनुभयो ।

वि.सं.२०४६ सालमा जनआन्दोलन भयो । उहाँ पनि आन्दोलनमा सक्रिय रुपले लाग्नु भयो । त्यतिबेला कीर्तिपुरको चिठू विहार गा.वि.स.को प्रधानपंच उहाँ, लायकूको रुद्रबहादुर प्रधान, पालिफलको अमर श्रेष्ठ, बाहिरीगांवको शम्भुराम महर्जन, विष्णुदेवी गा.वि.स.पाँगाको प्रधानपंच रमेश मान महर्जन, बालकुमारीको मदन महर्जन र चोभार भूतखेलको प्रधानपंच शिशिर धिताल हुनुहुन्थ्यो । जनआन्दोलनको समर्थनमा सातै जना प्रधानपंचहरुले बाघभैरवस्थानमा सभा गरेर सामुहिक राजिनामा दिनुभयो ।

पहिलेको कम्यूनिस्ट पार्टी र अहिलेको कम्यूनिस्ट पार्टीमा के फरक पाउनु भएको छ ?

—अहिलेको कम्यूनिस्ट पार्टीहरु कोही पनि असली कम्यूनिस्ट पार्टीहरु छैनन् । चुनावमा गएपछि मास बेस पार्टी हुनुप¥यो । मास बेस पार्टी भएपछि जो पायो त्यसलाई पार्टी प्रवेश गराउँछ र तुरुन्तै पार्टी सदस्यता दिन्छन । पहिले कम्युनिष्ट पार्टीको सदस्यता लिन ३ वर्षसम्म अटुट रुपमा काम गर्नुपर्छ । ज्यानको बाजी लगाएर सदस्यता लिनुपर्छ । त्यतिबेला कम्यूनिष्ट पार्टीको सदस्यता पाउनु भनेको गर्वको कुरा हुन्थ्यो । अब त जसरी हुन्छ सत्तामा जाने, सत्तामा गएपछि पैसा कमाउने, अर्को चुनावको लागि पैसाको जोहो गर्नु रहेको देखिन्छ । समय काल परिस्थिति अनुसार परिवर्तन हुँदै गयो ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राख्नको लागि संघर्ष हुँदा तपाईं कतातिर हुनुहुन्थ्यो ?

—सुरुमा त हामी पनि त्रि.वि.कीर्तिपुरमा राख्न हुँदैन भन्ने पक्षमा थियौं । थुप्रै नारा जुलुस भयो । प्रहरीसँग महिलाहरुले समेत मुठभेड गरे । जसरी गरे पनि त्रि.वि.कीर्तिपुरमै राख्ने भयो । अब लडेर हामी जित्न सक्दैनौं भन्ने लाग्यो । त्यतिबेला अलि पढेलेखेका युवाहरुले कीर्तिपुरको सामाजिक, आर्थिक विकासको लागि युवक संघ गठन गरेका थियौं । जसको अध्यक्ष चन्द्रमान नकःमि हुनुहुन्थ्यो । अब हामीले लडेर जित्न सक्दैनौं बरु त्यहाँबाट जे जति फाइदा लिन सकिन्छ लिउँ भनेर प्रस्ताव लिएर गयौं । कुराकानीको क्रममा सरकारले कीर्तिपुरको एक रोपनीको बदला चितवनमा ३ बिघा जमिन दिने, जंगल फडानीको लागि तिन सय रुपैया पनि दिने भनेका थिए । त्रि.वि.को भवन बनाउँदा कीर्तिपुरवासीलाई नै काम दिने । अफिस खुलेपछि कीर्तिपुरवासीलाई योग्यता अनुसार जागिर दिने सरकारले वचन दिएका थिए । तर हामीले यो कुरा जनतालाई बुझाउनै दिएन । आन्दोलनकारीको नेतृत्व बासुपासाले गरेका थिए । हाम्रो मांग विथोल्न उहाँले हामीलाई यःसंघ भनेर विपक्षी पार्टी बनाईदियो । उसको लहैलहैमा लागेर कीर्तिपुरवासी हाम्रो विपक्षमा उत्रियो । हामीले बाध्य भएर चुप लाग्नु प¥यो । कीर्तिपुरवासीलाई विभाजित बनाएर कमजोर बनाईसके पछि बासु पासा सरकारी पक्षमा लाग्यो । कीर्तिपुरवासी हे¥याहेरै भयो । उसले सहायक अंचलाधिशसम्म पडकायो । कीर्तिपुर नै छाडेर गयो । हाम्रो मांगको लिखित दस्तावेज बनाउन सकेनौं । त्यसैले हामी पिडितको पिडितै भयौं ।

त्रि.वि. कीर्तिपुरमा राखेर कीर्तिपुरवासीलाई फाइदा भयो भनिन्छ नि । तपाईंको के धारणा छ ?

—त्रि.वि.कीर्तिपुरमा राख्नु हाम्रो लागि दुर्भाग्य सावित भएको छ । त्रि.वि.कै कारण हामी विकासमा पछि परेका छौं । त्रि.वि.ले गर्दा कीर्तिपुरवासीलाई हरेक किसिमले कमजोर बनाई दियो । त्यतिबेला मुख्य पेशानै खेती किसानी थियो । खेत नभएपछि काम भएन । त्रि.वि.बाट मुआब्जा पाएपछि कीर्तिपुरमा भट्टी पसलहरु धमाधम खुल्न थाले । मुआब्जाबाट पाएको पैसाले जाँड रक्सी पिउने, तास खेल्ने चलन बढेर गयो । मानिसहरुमा काम गर्ने इच्छा कम हुँदै गयो । मानिसहरुलाई अल्छि बनायो । अहिले पनि त्रि.वि.मा कीर्तिपुरका कति मान्छेले रोजगारी पाएका छन ? कौडीको भाउमा हाम्रो जमिन लिएर त्रि.वि.ले अरुहरुलाई जग्गा भाडामा दिएर कमाई रहेको कुरा  नयाँ पत्रिकामा प्रकाशित भएको छ । त्रि.वि.कै कारण हामीकहाँ कुनै पनि ठूला उद्योग खुलेन । त्रि.वि.कै कारण रिंगरोडले कीर्तिपुर छोएन । पहिले गाउँ भनिने गोंंगबुँ, बानेश्वर, ज्ञानेश्वर अहिले कति विकास भैसक्यो ? त्यसको दाँजोमा हामी कता छौं ?

हाम्रो समाजको पहिलेको अवस्था र अहिलेको अवस्थामा के फरक पाउनुभयो ? अथवा हाम्रो समाज कतातिर जाँदैछ ?

—पहिलेको र अहिलेको कुरा गर्दा आकाश पातालको फरक भएको छ । हाम्रो पालामा स्कुल भनेकै थिएन । काठमाडौं या पाटनसम्म हिंडेरै पढ्न जानुपथ्र्यो । बाटो पीच थिएन । वर्षातमा हिलोमा टेकेर जानुपर्छ । हिउँदमा धुलो धुलो हुन्छ । अहिलेका बच्चाहरुलाई आँगनसम्म गाडीले लिन आउँछ । हाम्रो पालामा सिन्का बालेर पढ्थें । काठको गोरःमा कालो पोटेर लेखेर पढ्नु पर्छ । सरकारले त्रिभुवन विश्वविद्यालय लिएपछि मात्र बिजुली बत्ती आएको थियो । त्यसैले “बिजुली मत च्यात च्यात, ट्यांगलाफाँट मन्त” भन्ने गीतै बनाएको थियो । पहिले हाम्रो समाजमा गुथिलाई महत्व दिइन्थ्यो । ठूलठूला निर्णयहरु गुथिले गर्थे । गुथिको कारण समाजमा बदनाम होला भन्ने डरले मानिसहरुले अनैतिक काम गर्न डराउँथे । मानिस सामाजिक हुन्थ्यो । त्यतिबेला संयुक्त परिवारको चलन थियो । जसको जति ठूलो परिवार हुन्थ्यो उसको समाजमा इज्जत हुन्थ्यो । अहिले त एकल परिवारको जमाना आयो । पहिले हरेकको चार पाँच जना सन्तान हुन्थ्यो । अब दुई जनाभन्दा बढी सन्तान जन्माउन छाडीसक्यो । पहिलो सन्तान छोरा भयो भने त अरु बच्चा नै जन्माउँदैनन् । छोरी भयो भने छोराको आशामा अर्को एक जना सन्तान जन्माउन रुचाउँछ ।

अहिले मानिसहरुको जीवनस्तर बढेको छ । पहिलेजस्तो धान कुट्न ढिकि जाँतो गर्नु पर्दैन । पहिले बजारमा चामल किनेर खानेको इज्जत हुँदैनथ्यो । अहिले बोराका बोरा चामल किनेर ल्याउँछ । पहिले मासु भनेको दशैं तिहार र चाड पर्वमा मात्र खाइन्थ्यो । अब त दिनहुँ खान पनि पाइन्छ ।  पहिले जाँड रक्सी खाजा खाने पसललाई भट्टी भनिन्थ्यो । भट्टीमा जाने मानिसलाई बदमाश थान्थ्यो । अहिले त रेष्टुराँको नाममा टोलैपिच्छे भइसक्यो । अब त रेष्टुराँमा गएर खानुलाई शान सम्झन थालेका छन । अहिले मानिसहरुको आयु बढेको छ । औषधि हरेकको सुविधा भयो । अस्पतालको सुविधा भयो । अलिकति जग्गा जमिन हुनेहरु धनी भएका छन् । जग्गा बेचेर गाडी चढ्छन । घर बहालमा राख्न घर बनाउँछ । पहिले घरबाट बाहिर जाँदा सबै चिनेजानेका मात्र हुन्थ्यो । अहिले त बाहिर जाँदा एक दुई जना मात्र चिनेका मानिस बाटोमा भेटिन्छन् । अहिले त जहाँ गए पनि हूलका हूल मान्छे भेटिन्छ तर तिनीहरु स्थानीयभन्दा बाहिरका बढी हुन्छन् । अब पहिलेको कुरा गर्नु त नाति नातिनाको लागि दन्त्यकथा भैसक्यो । पहिले हाम्रो समाजमा जातिय भेदभाव धेरै थियो । अब त्यस्तो रहेन । अब अन्तरजातिय विवाहले पनि मान्यता पाईसकेका छन । पहिलेका मानिसहरु खस भाषा बोल्न जान्दैन । सबैले आफ्नै मातृभाषा नेपालभाषा बोल्थ्यो । त्यसैले यहाँ तरकारी बेच्न आउने मानिसहरुले पनि हाम्रै भाषा बोल्छन । अहिले त बोर्डिंग स्कुलमा पढ्ने बच्चाहरुले नेपालभाषा बोल्नै छाडिसक्यो । आमाहरुले नै मातृभाषा बोल्न सिकाउँदैनन् । यस्तो चलनले  गर्दा भोलि हाम्रो संस्कृति, जात्रा पर्व कसरी बचाई राख्छ भन्ने चिन्ता बढन थालीसक्यो । हाम्रो पहिचान गुम्ने खतरा भइसक्यो । भाषा संस्कृति भनेको हरेक जातिको पहिचान हो । भाषा नै नरहे जातले मात्र हामी नेवाः हुनेछौं ।  यसमा युवाहरुले सोच्नु पर्ने भइसक्यो ।

No comments:

Post a Comment