अग्रजहरुको कुरा सुनौं
कीर्तिपुर मुलछेँका चन्द्रमान नकःमि एक जमानामा कीर्तिपुरको गिने चुनेका शिक्षित व्यक्तिहरु मध्ये एक जना हुनुहुन्थ्यो । बुबा–जगतमान नकःमि आमा– नानीवेटी नकःमिको पहिलो सन्तानको रुपमा वि.सं.१९९० साल कार्तिकमा मुलछेँमा जन्मनु भएको हो । उहाँको ४ दाजुभाइ र ४ जना बहिनीहरु हुनुहुन्थ्यो ।
त्यतिबेला कीर्तिपुरमा कुनै विद्यालय थिएन । उहाँको मामाघर पाटनमा थियो । त्यसैले मामाघर पाटनमा बसेर उहाँले पाटन हाईस्कुलमा पढ्नुभयो । त्यहींबाट कक्षा १० पासगरी २००९ सालमा एस.एल.सी पास गर्नुभयो ।
पहिलेदेखि नै केही गरौं भन्ने भावना भएको कारण एसएलसी पास गरेपछि भारतको इलाहावादमा रेडियो टेक्निसियन कोर्स (RTC) कोर्ष पढ्न जानुभयो । त्यहाँबाट आए लगतै हवाई विभागमा जागिर पाउनु भयो । त्यहाँ जागिर खाएको केही वर्षपछि नै फेरि इलाहावादमा एयर ट्राफिक कन्ट्रोल (ATC) कोर्स गर्नुभयो । त्यसपछि उहाँको एयरपोर्टमा सरुवा भयो । त्यहाँ केही वर्ष काम गरिसकेपछि विराटनगर एयरपोर्टमा सरुवा भयो । त्यहाँ केही वर्ष काम गरिसकेपछि भरतपुर सरुवा भयो । भरतपुरबाट काठमाडौं सरुवा हुनुभयो ।
उहाँले बैंककको ICAO Resional office संस्थाबाट ३ वर्ष हवाई उडान सम्बन्धि काम गर्नुभयो, अष्टे«लियामा ११ महिना Advance तालिम लिनु भयो । त्यतिबेला एयरपोर्टमा हवाई जहाजको टावर संचालन भारतीयहरुले गरिरहेका थिए । उहाँसहित छ जना नेपालीहरुले तालिम लिएर आएपछि नेपालीहरुले नै एयरपोर्टको टावर चलाउन सुरु गर्नुभयो । त्यहाँ केहि वर्ष काम गरिसकेपछि हाकिमहरुसँग केहि खटपट भयो । आफ्नो स्वाभिमानको रक्षार्थ उहाँले २०३५ सालमा जागिरबाट राजिनामा दिनुभयो । अरु एक वर्ष काम गरेको भए पेन्सन पाक्ने थियो । त्यसको लोभ पनि गर्नुभएन ।
उहाँको ५ जना छोराहरु महेश, दिनेश, गौतम, कसेम र रसिल रहेका छन । त्यस्तै छोरीहरुमा बसन्ती, जयन्ति र बैजयन्ति ३ जना छोरीहरु रहेका छन । ती मध्ये २ जना छोराहरु गौतम नकःमि र कसेम नकःमि अमेरिकामा आफ्नै व्यापार गरी बसेका छन ।
छोरीहरु मध्ये बसन्ती र जयन्ती अमेरिकामा र बैजयन्ती क्यानाडामा आफ्नै व्यापार गरेर बसिरहेका छन । अहिले नेपालमा ३ जना छोराहरु पनि आ(आफ्नो व्यवसाय गरी बसिरहेका छन । हाल उहाँ श्रीमती रामदेवीसहित कान्छो छोरासँग बस्नु हुन्छ ।
उहाँका अनुसार उहाँले शिक्षाको महत्व बुझ्नु भएका कारण कीर्तिपुरमा शिक्षा विकासको लागि विहान बेलुका आफ्नै घरमा बालबालिकाहरु भेला गराएर पढाउन थाल्नुभयो । किरण विद्यालय स्थापना भएर पनि शिक्षकलाई तलब दिन नसक्दा शिक्षकको अभाव भएको कारण उहाँले तलब नै नलिइकन ६ महिना पढाउनु भयो ।
कीर्तिपुरको सामाजिक, आर्थिक विकासको लागि तत्कालिन युवाहरु मिलेर युवक संघ गठन गरियो । त्यस युवक संघको सभापति उहाँलाई बनाइयो । त्यहीबेला त्रिभुवन विश्वविद्यालयको लागि कीर्तिपुरमा जग्गा लिनेभयो । त्यसको विरोधमा कीर्तिपुरमा नारा जुलुस सुरु भयो । प्रहरीसँग मुठभेड पनि भयो । उहाँहरु त्रिभुवन विश्वविद्यालयलाई जग्गा दिनु पर्छ भन्ने समर्थक होइन । विरोधी भनेर खुलेर पनि लागेको थिएन । त्यतिबेला विरोधीहरुको नेतृत्व वासुपासाले गरिरहेको थियो । आफ्नो नेतृत्व कायम राख्न युवा संघको अपभ्रंश गरेर विश्वविद्यालय राख्न चाहने यः संघ भन्ने आरोप लगाएर उहाँहरुको विरुद्ध अभियान चलाउन थाल्यो । यःसंघ आरोप लगाएर जहाँ भेटायो त्यहिँ पिट्ने गर्न थालियो । त्यसपछि आपूmहरु पनि संगठित हुनुपरेको उहाँ बताउनु हुन्छ । कीर्तिपुरवासीलाई फुटाएर वासुपासाले कीर्तिपुरेहरुलाई धोका दिए । पछि आपूm सरकारको पक्षमा गएर भुमिसुधार अधिकृत, सहायक अंचलाधिशसम्म बन्नुभयो र कीर्तिपुर छाडेर गयो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राख्दा कीर्तिपुरलाई धेरै फाईदा भयो भन्ने भनाई छ यसमा तपाईंको के धारणा छ ?
—आ–आफ्नो धारणा हो । मेरो विचारमा त्रि.वि.का कारण हामी कीर्तिपुरेहरु विकासमा ५० वर्ष पछि पारेको छ । कीर्तिपुरेहरुको जीवनस्तरमा ठूलो प्रभाव पारेको छ । बाघ भैरव पूर्वपट्टिका धेरैजसोको जमिन त्रि.वि.मा परेका छन । कतिजना त भूमिहिन नै भएका थिए । कृषिमा आधारित किसानहरुको दैनिक जीवन यापन गर्नमै कठिनाई परेका थिए । यदि त्रि.वि. नभएको भए अहिलेको रिंगरोड कीर्तिपुर भएर जान्थ्यो । रिंगरोड कीर्तिपुर भएर गएको भए कीर्तिपुर कति विकास भइसक्थ्यो होला । पहिले कीर्तिपुरभन्दा पिछडिएका ठाउँ वाफल, सितापाईला, गोंगःबुँ, बानेश्वर, ज्ञानेश्वर आज कति विकास भैसकेको छ । हाम्रो कीर्तिपुरमा के विकास भएको छ ? यहाँ न कुनै ठूला उद्योगहरु छन, न व्यापारीक हब नै छन । यही नयाँबजार एउटा अहिले अलि विकास भएको जस्तो देखिन्छ । नत्र कहाँ कति उल्लेखनिय विकास भएको छ र ?
त्रि.वि.मा पढ्ने विद्यार्थीहरुले घरभाडामा लिंदा कीर्तिपुरेहरुलाई फाईदा भएको छ भनिन्छ नि ?
—के फाईदा भन्ने खोई ? घर भाडा त अरु ठाउँमा पनि त लागेको छ नि । घर भाडा लगाएर फाईदा भन्ने हुँदैन । घर भाडामा लगाउन घर बनाउन गरेको रुपैया लगानी अरु कुनै व्यापार या व्यवसायमा लगाएको भए त्यो भन्दा बढी फाईदा हुन्थ्यो । यो अनुत्पादक व्यवसाय हो । घर भाडा त अरु ठाउँमा पनि लागेको छ बरु यहाँभन्दा बढी भाडामा लगाएको देखिन्छ ।
पहिलेको समाज र अहिलेको समाजमा के कति फरक पाउनु हुन्छ ?
—धेरै फरक भइसक्यो । पहिले शिक्षित भन्ने नै थिएन । हाम्रो पालामा एसएलसी पास गर्ने रत्न नारायण, राम बहादुर, जुजुकाजी र म गरी जम्मा ४ जना मात्र थिएँ । पढ्न हिंडेर काठमाडौं या पाटन जानुपथ्र्यो । अहिले शिक्षामा निकै प्रगति भएको छ । अब त बच्चाहरु २ वर्ष नपुग्दै स्कुल भर्ना गर्ने भइसक्यो । स्कुलहरु पनि धेरै भइसक्यो । पहिलेका मानिसहरु खेतीपाती, सिकर्मि, डकर्मि आदि प्राविधिक काम गर्थे । अलि पढेलेखेका मानिसहरु सरकारी जागिर खान जान्थे । त्यतिवेला बाहिरका मानिसहरुको त्यति आवत थिएन । बाटोमा पनि त्यति भीडभाड हुँदैनथ्यो । अहिले त घरबाट बाहिर गयो भने स्थानीयभन्दा बाहिरका मानिसहरु बढी भेटिन्छ । अब त धेरैभन्दा धेरै खेत बेचिसक्यो । खेतीपाती काम गर्ने मानिस नै कम भइसक्यो । बाहिरका मानिसहरु नआएको भए खेत रोप्न र बाली भित्राउनै नसक्ने भैसक्यो । पहिले संयुक्त परिवारको चलन थियो । अब त्यस्तो छैन । मानिसहरु एकल परिवारमा रमाउन थालेका छन् ।
अर्को कुरा पहिलेका मानिसहरु सामाजिक थियो । पहिले सार्वजनिक जग्गा, पाटी पौवा मिच्नु हुँदैन भन्ने भावना हुन्थ्यो । तर अहिले व्यक्तिवादी चिन्तन हावी भइसक्यो । अब त सार्वजनिक जग्गा, पाटी पौवा मिच्नु आफ्नो बहादुरी थान्न थालेका छन । मानिसहरुको सोच नै बदली सक्यो । पहिले पुरानो बस्तीमा जमघट हुन पाटी पौवा हरेक हुन्थ्यो । विहान बेलुका भजन किर्तन, दिउँसो बुढा बुढी बसेर गफ गर्ने थलो हुन्थ्यो । अब नयाँबस्ती बढ्दै गयो । त्यहाँ त्यस्तो जमघट हुने ठाउँको अभाव भयो । अब त हामी जस्ता काम गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई समय काट्न नै गाह्रो भैसक्यो । अब त बातावरण पनि स्वच्छ रहेन । जताततै धुलो र धुवाँले भरीसक्यो । दमका रोगीहरु बढेका छन । विषादी प्रयोग नगरेका शुद्ध तरकारी, खाद्यान्न, तेल केही पनि पाईंदैन त्यसैले क्यान्सरका रोगी, खुट्टा दुख्ने रोगले जरो गाड्न थालेका छन । साठी वर्ष नपुग्दै खुट्टा दुखेर हिंड्न नसक्ने भएका छन । खोई यसलाई विकास भन्ने कि के भन्ने ?
आजकल हरेक १० घरका मध्ये एक घरका छोराछोरीहरु विदेश बस्न थालेका छन । यसले हाम्रो समाजलाई कस्तो असर पु¥याएको छ ?
—आफ्नो देशमा योग्यता अनुसारको काम पाईंदैन । सरकारी नोकरी पाउन गाह्रो छ । विदेश जानु उनीहरुको बाध्यता हो । विदेश जानु उनीहरुको भविष्यको लागि राम्रो होला । घर बन्धकमा राखेर होस या जग्गा जमिन बेचेर भए पनि छोराछोरीलाई विदेश पढ्न पठाउने चलन नै भइसक्यो । विदेश गएकाहरु त्यहीं बसोबास गर्छन । तर यता आमाबाबुलाई नरमाइलो लाग्छ । छोराछोरीले पैसा पठाउँछ । जीवनस्तर बढ्छ तर मनको शान्ति हराउँछ । कुनै पनि आमाबाबुले बुढेशकालमा आफ्ना सन्तानसँग बस्न रुचाउँछ । बस्न नपाउँदा धेरै जना डिप्रेशनमा बाँचिरहेका देखेको छु । सक्षम युवाहरु विदेश पलायन हुँदा राष्ट्रको लागि घाटा नै हुन्छ ।
तपाईंको दुई जना छोराहरु र तिन जना छोरीहरु विदेशमा छन । तिन जना छोराहरु आपूmसँगै छ । तपाईंलाई त बच्चाहरु विदेश गए पनि खासै फरक पर्दैन होला ।
—आफ्नो सन्तान भनेको आफ्नै हो । सम्झना त आइहाल्छ । सँगै बस्न रहर पनि हुन्छ । तर के गर्ने ? हो मेरो त तिन जना छोराहरु आपूmसँगै छ । सबैले हामीलाई मान सम्मान र माया गरी राखेका छन । कुनै दुःख छैन । विदेश गएका छोरा छोरीसँग पनि आजकल इन्टरनेटको सुविधाले गर्दा मुख हेरेर कुरा गर्न पाइन्छ । एउटा सन्तोषको कुरा हो । खर्च गर्न पैसा चाहिन्छ कि भनेर पैसा पनि पठाईरहेका छन । तर धेरैजसोको छोरा छोरी विदेशमा यहाँ बुढाबुढीमात्र बस्छन् उनीहरुलाई अवस्य फरक पर्छ होला । पैसा त होला । पैसा नै सबैथोक होइन । सबभन्दा ठूलो कुरा मनको शान्ति हो ।
No comments:
Post a Comment