Monday, September 23, 2019

नेवाः संस्कृतिको आधार दाफा

नेवाः संस्कृतिको आधार दाफा



—श्रीकृष्ण महर्जन

नेपालमण्डलको सभ्यता भन्नु नै नेवाः सभ्यता खः । नेपालमण्डल क्षेत्रमा दक्षिणदेखि उत्तरबाट आएकाहरु भएकोले एउटै नश्ल नभएकाहरु बसेर विकास गरेको सभ्यता भन्नु नै नेवाः सभ्यता हो । पुर्वको सुनकोशी, पश्चिमको त्रिशुली अनि दक्षिणमा चिसापानी र उत्तरमा सिलुतिर्थसम्मका क्षेत्रलाई नेपालमण्डल भनेर नेपाल महात्म्यमा लेखेको छ । त्यही आधारमा आजकलका बाह्रवटा जिल्लालाई ऐतिहासिक नेपालमण्डल
भन्ने गरेको छ ।

नेपाल महात्म्य्मा ६४ शिवलिङले घेरिएको क्षेत्रलाई नेपालमण्डल भनिएकाले अहिले पनि त्यही क्षेत्रलाई नेपालमण्डल क्षेत्र हो भनेर भन्दै आएका छन । नेपालमण्डल क्षेत्रमा विकास भएका भाषा, संस्कृति र सम्पदा नै नेवाः सभ्यता हो । नेवाःहरुको जीवन पद्धति हो । नेपालमण्डल क्षेत्रका आदिवासी नै नेवाः हुन । त्यसैले नेपालमण्डल भनेको नेवाःहरुसँग सम्बन्धित विषय हो । यो सभ्यता दुईहजार वर्षभन्दा अगाडिदेखि भएको हो । अनि कहिलेदेखि नेपालमण्डलको सभ्यता विकास भयो त्यसबेलादेखि नै सांगितिक क्षेत्रको विकास सँग सँगै विभिन्न संस्कृति विकास भएका हुनुपर्छ भनेर अनुमान गरिएका छन । सांगितिक क्षेत्रको विकासको क्रममा अगाडि परेको एउटा संस्कृति हो दाफा संस्कृति ।

दाफा संस्कृति भनेको नेवाः संस्कृतिको आधार बनेका छन । दाफा संस्कृति जीवन्त भएको ठाउँमा नै विभिन्न किसिमका मौलिक संस्कृति बचाई राखेको अनि त्यही दाफा संस्कृति बचाई राखेका दाफा खलःबाट नै जात्रा पर्वहरु संचालन गर्दै आइरहेको देखिन्छ । जहाँ दाफा छ त्यहाँ नेवाःहरु संगठीत नै भएको देखिन्छ । त्यति मात्र होइन घरैपिच्छ कलाकार तयार गर्ने काम पनि दाफा खलकले गर्दै आइरहेको देखिन्छ । पहिले पहिले त दाफा खलकले निर्णय गरेको आधारमा नै सामाजिकको साथै सांस्कृतिक रुपमा टोल वा वस्ती नै अगाडि बढेको देखिछ । त्यसैले दाफा संस्कृति नेवाः संस्कृतिको ठूलो आधार भएको देखिन्छ ।

दाफा परिचय ः

मूल रुपमा खिं बाजा अनि ताः र बबुचाको तालमा दुई समूह बसेर पालैपालो गीत गाउनुलाई नै दाफा गाउनु वा दाफा बजाउनु भन्दै आइरहेको छ । दाफा भनेकै खिं बाजा हो भन्नेहरु पनि नभएको होइन । तैपनि व्यवहारमा हेरियो भने यो तिनवटा बाजाको तालमा पालैपालो राग लिएर बाद्य प्रधान बनाएर गीत गाउनुलाई नै दाफा भन्दै आइरहेको देखिन्छ । एउटै गाना पहर अनुसार अर्थात विहान एउटा लय, दिउँसो अर्को लय् अनि बेलुका अर्कै लयमा गाउने गर्दै आइरहेका छन दाफा बजाउने अर्थात दाफा गाउने क्रममा । त्यस्तै ऋतु अनुसार पनि लयमा गाउँदै आइरहेका छन । भक्ति भावलाई धेरै प्राथमिकता दिएर गाउँदै अएको दाफाको इतिहासमा विभिन्न घटनासँग सम्बन्ध बनाएर गाना अनि स्थान विशेषको गाना पनि नभएको भने अवश्य होइन । दाफा गाउने क्रममा राग लिएर रागको आधारमा नै गाना गाउने हो भने तालको पनि आफ्नै मोलिकताका तालहरु छन् ।
दाफामा मूल रुपमा सात तालहरु रहेका छन । च्व, लंताल, प्रताल, जति, पलेमा, अस्त्र र गरह ताल छन् । लताः नेवाःहरुको किसिमको देखिन्छ । अरु तालहरु जस्तो कि खजर्ती ताल, एकतालको साथै विभिन्न किसिमका तालहरु पनि रहेका छन । राग मालश्री, धनाश्री, वसन्त, श्री, भुपाली, प्रथमन्जली करीव तीसभन्दा बढी रागहरु रहेका छन । भारतको शास्त्रीय रागभन्दा फरक छ ।

आफ्नै किसिमको पनि छ । यसरी हेर्दा भारतीय शास्त्रीय संगीतसँग मिलेका र नमिलेका ताल र राग पनि रहेका छन नेवाःहरुले चलाईरहेका दाफा संस्कृतिमा । भाषाको दृष्टिकोणले हेर्दा नेवा भाषा, खस भाषा, हिन्दी भाषादेखि मैथिली भाषा समेत मिसिएका छन । हुन त नेवाः भाषा मात्रको गीत पनि नभएको भन्ने अवश्य
होइन ।
दाफा शब्दबारे खोज्दै जाँदा उर्दुभाषा अर्थात् फारसी भाषामा दफ भनेर मूल शब्द प्रवेश गराएको छ । फारसी भाषामा दफ भनेको एक किसिमको छालाले ढाकेको गोलो बाजा भनेर लेखेको छ । त्यस्तै हिन्दी भाषामा पनि दफः अनि दफलि भन्ने शब्द प्रयोग गरेको देखिन्छ । त्यस्तै मैथिली भाषामा पनि दफला भन्ने शब्द प्रयोग गरेको छ । दाफा भनेर नेवाःहरुले अहिलेसम्मको प्रमाणको रुपमा नेपाल संवत ७९३ मा प्रयोग भइसकेको छ । त्यसबेला नै दाफा शब्द प्रयोग भैसकेको थियो भने दाफालाई कहिं कहिं दापा पनि भन्दै आइरहेको छ । यस किसिमले हे¥यो भने मूल रुपमा दाफा संस्कृति नेपालमण्डल क्षेत्रमा आफ्नै किसिमले विकास भएको संस्कृति हो भन्न सकिने अवस्था छ । पाटनका राजा सिद्धिनरसिंह मल्लका पालादेखि कार्तिक नाच देखाउने सुरु भएको हो भने त्यसबेला नै दाफा बजाएर नाच देखाउन सुरु गरेकोले त्यसबेला नै राम्ररी दाफा संस्कृतिको विकास भइसकेको थियो भन्न सकिन्छ ।

दाफा संस्कृति 

दाफा बजाउने भनेको नेवाःहरुले आफ्नो खेतीपातीको काम नभएको बेला बजाउँदै आइरहेका छन । खेती गर्ने समय भनेको विशेष गरेर सिथिनखः देखि गथांमुगः पर्वसम्म हो । यो समय दाफा बजाउनु हुँदैन भन्छ । अनि बजाउन पनि बजाउँदैन । खेतीपातीको काम सकिएपछि गुंलाको बेला बिहान बिहान दाफा बजाउने गर्छ । यंलादेखि बेलुका बजाउने गर्छ । त्यस्तै माघ महिनामा बिहान दाफा बजाउने गर्छ ।
यसरी बिहान सबेरै उठ्नु पर्ने बेला बिहान पातीमा दाफा बजाउने गर्छ भने अबेर सुत्नु पर्ने अवस्थामा बेलुका मात्र दाफा बजाउने गर्छ । मौसम अर्थात् ऋतुसँग पनि सम्बन्धीत यस किसिमले नेवाःहरुले दाफा बजाउने गर्दै आइरहेका छन । त्यस्तै आ-आफ्नो स्थानीय जात्रा पर्वमा पनि दाफा बजाउने गर्छ । यस किसिमले हेर्दा समय सुहाउने गरी दाफा बजाउँदै आइरहेका छन नेवाःहरुले ।

दाफा संस्कृति उपत्यकामा मात्र हे¥यो भने करीव ३०० दाफा खलःले बचाईराखेको देखिन्छ । काठमाडौंका परम्परागत टोलहरु, तोखा, थानकोट, सतुंगल, ब्वसिगां, तापाख्यः, बलम्बु, बन्थचा, कीर्तिपुर, नगां, पाँगा चोभार, फर्पिंग लगायत ठाउँहरुमा दाफा बजाउँदै आइरहेका छन । त्यस्तै भक्तपुर शहर, थिमि, नगदेश, बोडे, लोकन्थलीको साथै नेवाःहरुको बस्तीले दाफा संस्कृतिलाई बचाईराखेका छन । त्यस्तै पनौतिदेखि दोल्खा, भोजपुर, चित्लाङ, पालुङको साथै नेवाःहरुको वस्ती वस्तीले नै दाफा संस्कृतिलाई बचाईराखेको देखिन्छ । यस किसिमले हेर्दा उपत्यका बाहिर पनि जहाँ नेवाःहरुले बसोबास गरिरहेका छन त्यहाँ पनि दाफा संस्कृतिलाई बचाईराखेको देखिन्छ । दाफा संस्कृति नेवाःभित्र पनि यसो हेर्दा ज्यापुहरुले मात्र बचाईराखेको जस्तो देखिए पनि वास्तवमा नेवाःभित्रका सबै थरकाहरुले पनि पहिले दाफा बजाउने गर्दै आइरहेका थिए । आजसम्म पनि ज्यापुहरुसँगै श्रेष्ठ, शाक्य, बज्राचार्य, उदाय, सायमि, प्रजापति, खड्गीहरुले समेत दाफा बजाउँदै आइरहेका छन । त्यस्तै केही समय अगाडिसम्म देउलाहरुले समेत दाफा बजाउँदै आइरहेको थियो भनिन्छ ।
यस किसिमले हेर्दा दाफा संस्कृति भनेको नेवाःहरुको साझा संस्कृति हुन । यसप्रकार नेवाःहरुले महत्व दिंदै आइरहेका दाफा संस्कृत आज आएर करीव २० देखि ३० प्रतिशत बन्द भइसकेको अवस्था छ ।

दाफा संस्कृति बन्द हुनुका मूल कारण भनेको युवापुस्तालाई आकर्षित गर्न नसक्नु, समय सुहाउँदो किसिमले अगाडि बढ्न नसक्नु, राज्यबाट पनि कुनै किसिमको सहयोग नपाएर हो भन्न सकिन्छ । आजसम्म दाफा संस्कृति राज्यको सहयोग बिना नै नेवाःहरुले आफ्नै किसिमले बचाउँदै आइरहेको संस्कृति हो । यस संस्कृति नेवाःहरुको सभ्यतासँग गाँसिएको भएर दाफा संस्कृति हरायो भने एक किसिमको सभ्यतामा नै असर पर्ने अवस्था आउन सक्छ ।

त्यसैले दाफा संस्कृति बारे अझ धेरै अध्ययन गरेर युवाहरुलाई बुझाई नेवाः संस्कृतिलाई जिवित बनाईराख्ने अभियान चलाउनुपर्ने आवश्यकता छ । त्यसको लागि स्थानीय सरकारदेखि सरोकारवाला पक्षहरुले चासो राख्नु पर्ने आवश्यता भइसकेको छ ।

No comments:

Post a Comment