Thursday, September 5, 2019

पुण्य कार्य समयमै गर्नुपर्छ पछि पछुटाएर केही लाग्दैन

पुण्य कार्य समयमै गर्नुपर्छ पछि पछुटाएर केही लाग्दैन




अर्जुन महर्जन
सालिक, पाँगा, की.न.पा.–८

सन्दर्भ “गौतम बुद्ध विहार पाँगाको अस्तित्व संकटमा” बारे कीर्तिपुर सन्देश साप्ताहिकको भाद्र ११ गते बुधबार प्रकाशित लेख पढ्न पाएँ । सो सम्बन्धमा मैले जानेको बुझेको केही कुरा राख्न चाहन्छु ।

गौतम बुद्ध विहार पाँगाको संस्थापक स्व.कृष्ण बहादुर महर्जन पाँगा धुसिटोल निवासी हुन् । उमेरले केही फरक भए पनि यो विहार निर्माण र वहाँको धर्मप्रति आस्था बारे मैले पनि धेरै अनुभव गरेको छु । बुद्ध धर्म सम्बन्धि विचार गर्दा बज्रयानको रुपमा बज्राचार्य मार्फत संसकार चलाउने महर्जनहरु हुन् । यस पाँगामा ९९% महर्जनहरु बस्छन् भने अन्य १% प्रतिशत मात्र होलान् । यसरी बुद्ध धर्मका अनुयायीहरु भए पनि भिक्षु थेरवाद विहार तर्फ धेरै पछि मात्र संगत गर्नेहरु हुँदै आएको देखिन्छ । जसमा स्व.कृष्ण वहादुर महर्जन यस पाँगाकै पहिलो व्यक्ति हुनुपर्छ । वहाँको साथ काममा हिंड्नेहरुले वहाँसँग लागेर केही विहारहरुमा पुगेको सुनाउँथ्यो । दोस्रोमा पाँगा भुजिन्द निवासी स्व.शुकराम महर्जनले पनि विहार सम्बन्धी अध्ययन र संगत गर्न थालेका थिए । यस्तैमा हामी जनसेवा प्रौढ शिक्षालय पाँगामा अध्ययनरत थियौं । त्यतिबेला दाता स्व.कृष्ण बहादुर महर्जनले विहार स्थापना गर्ने सोच्नु भएको रहेछ । त्यतिबेला स्कुल भवन थिएन । स्कुल भवन पनि बनाउने र विहार पनि त्यसको साथमै बनाउने कुरा चल्यो र त्यतिबेलाका अगुवाई समाजसेवीहरुले स्कूल भवन र विहार एकैठाउँमा बनाउने सहमत गरेका थिए ।

पाँगाको इचाखेल हाल जनसेवा माध्यमिक विद्यालय र जनाधार सामुदायिक क्याम्पस रहेको चौर खाली थियो । स्कूल भवन र विहार दुवैलाई पर्याप्त हुने जग्गा थियो । त्यसैले निर्माण कमिटि बनाई भवन बनाउने निर्णय भएको थियो । निर्माण कार्य गर्न सहयोग माग गर्दै जाँदा केही आर्थिक सहयोग र काठको लागि पनि कटानी गर्ने निकासा भै कटानी गरी ल्याएको थियो । त्यतिबेला काठ कटानीको लागि आर्थिक सहयोग गर्नेको कमीभै वहाँ कृष्ण वहादुरले सापतीको रुपमा लगानी समेत गर्नुभएको थियो । भवन निर्माणको लागि इचाखेलमै ईट्टा बनाउन सुरु गरेका थिए । ईट्टा पोल्नको लागि धुसिटोलमकै पिपल बोट कटानी गरी दाउरा प्रयोग गरेको थियो । पोलेको ईट्टा बिग्य्रो के के भयो त्यसरी प्रयास गर्दा पनि त्यतिबेला स्कूल भवन पनि बन्न सकेन । विहारलाई ठाउँ पनि भएन । यो पाँगाकै दुर्भाग्य भयो । त्यतिबेला स्कूल भवन र विहार बन्न सकेको भए धेरै पहिलेनै पाँगाले विकासको गति लिने थियो ।



त्यतिकैमा वहाँ स्व.कृष्ण वहादुर महर्जनले विहार चाहिं बनाउने र स्थापना गर्ने दृढ निश्चय गर्नु भै आफ्नै घर कौसीमा भिक्षु महाप्रज्ञालाई बुद्ध मूर्ति निर्माण गर्न लगाउनु भएको थियो ।

विहारको लागि हालको धुसि टोलमा रहेको दाता जितलाल महर्जनसँग मिलेर जग्गा मिलाउनु भयो । सबैसँग सहयोगको अपिल गर्न तयार गर्नलाई म कहाँ आउनु भएको थियो । मैले सबैतिर सहयोग माग गर्न नाम मात्र भरी दिए पुग्ने गरी पत्र तयार गरी दिएको थिएँ । सबैको सहयोगमा स्व.कृष्ण वहादुर महर्जनले पाँगा धुसिटोलमा गौतम बुद्ध विहार बनाउन सफल हुनुभयो ।

त्यस्तै यस पाँगामा विहार निर्माण गर्न पाँगा भुजिन्द निवासी स्व.शुकराम महर्जन पनि जग्गा जोड्नतिर लागेको थियो । पाँगा सिकुछेँ निवासी स्व.श्यामकुटी महर्जनले भुजिन्द चिखुको पाःचा केब नामको जग्गा दान
दिनुभयो । त्यससँगैको सार्वजनिक जग्गा पनि विहार बनाउनको लागि लिन खोज्दा धेरै मुद्दासमेत खेप्नु
परेको थियो । तैपनि पछि सबै जग्गामिलाई सबैको सहयोगमा श्री पवित्र कुटी विहार निर्माण गरी भिक्षु समेतको व्यवस्था भै हाल राम्ररी संचालन भईरहेको छ ।

यसरी पाँगाका बासिन्दाले विहारको बुद्ध धर्म सम्बन्धी अध्ययन गर्ने शिल पालना गरी आफ्नो जीवन सफल बनाउन पाएको छ । हाल आएर यसरी दाताहरु कृष्ण वहादुर र जितलालकै परिवारको समन्वय नभै गौतम बुद्ध विहारको अस्तित्व मै संकट हुन आएकोमा साह्रै दुःख लागेको छ ।



आफ्नो पुर्खाको निर्वाण कामना गरी आफ्नो र आफन्त सबैको धर्म चित्त शुद्ध भै जीवन सफल बनोस् भन्ने कामना गरी विश्व शान्तिका अग्रदूत भगवान बुद्धको उपदेशको ज्ञान दिन धर्मको कार्य गर्न र सबैको सहमतीमा देशमा सुख शान्ति सम्बृद्धिको कामनाका साथ निर्माण भएको यस्तो विहारप्रति सबैको आस्था जागी आ–आफ्नो तर्फबाट सकेको सहयोग दान र त्याग री समयमै पुनः निर्माण कार्य गर्ने तर्फ लाग्न सकोस भन्ने कामना गर्दछु । दाताहरुले आफ्नो समयमा यस्तो राम्रो काम गरेर जानुभयो । त्यस पुर्खाको कीर्तिलाई अझ बढी राम्रो बनाउन हामी सन्तानको कर्तव्य नै हो । बेलामा विचार गर्न नसके पछि पछुटाएर केही लाग्दैन । त्यसैले एउटा सानो कुरा सुनाउन चाहन्छु । एक समय एक जनाले धेरै मिहेनत गरी प्रशस्त धन सम्पत्ति जोरजाम गरे । मिहेनत गर्दा गर्दै समय वितेको यादै भएन छ । पुण्य कार्य केही गर्न पाएको थिएन । एक दिन कालले लिन आई पुगेको छ । कालसँग उसले भनेछ, “मैले धेरै मिहेनत गरी धन सम्पत्ति कमाएँ । पछि धर्म कर्म पुण्य गरौला भन्ने सोच
थियो । अहिलेसम्म केही गर्न पाएको छैन । त्यसैले म दानपुण्य धर्म गर्छु । केही दिनका लागी समय दिनुस ।” भनी कालसँग समय मागेछ ।

 कालले भन्यो, “तिमीले जे गर्नु थियो, पहिलेनै गर्नु पथ्र्यो । म आएपछि एकछिन पनि रोक्न मिल्दैन जाउँ हिंड” भनी लिएर गयो । त्यसैले समयमै दान धर्म पुण्य गर्न नसके पछि पछुटाएर केही हुँदैन । यो विहारका दाताहरुले पनि दाताका परिवारले पनि यस्तो विहार बनाउने वातावरण मिलेको बेलामा दान त्याग र पुण्य गरी  आफ्नो पुर्खाले गरेर गएको दान पुण्य काीर्तिमा अझ आपूmहरुले पनि थप थाप गरी पुण्य लाभ गर्नु हुन सादर अनुरोध गर्दछु ।
भगवान शरणम
भवतु सब्ब मंगलम्

No comments:

Post a Comment