Friday, April 3, 2020

नखाएको विष - (थुनुवाको डायरी)

नखाएको विष 
(थुनुवाको डायरी)
लेखक तथा पत्रकार नजरराम महर्जनको जीवनको वास्तविक कहानी

म प्रहरी खोरमा पुगेको पहिलो दिन  २०६७/०६/०७ विहिवार


 कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा प्रकाशित भैसकेको
2068 



२०६७ साल असोज ७ गते विहिवार समयबजि पुर्णिमा (इन्द्रजात्रा)को दिन मेरो जिन्दगीको पहिलो अविस्मरणीय दिन । यो दिनको घटना मेरो जीवन कहानीमा स्वर्णीम अक्षरले लेख्छ कि कालो मसिले कालो दिनको रूपमा लेख्छ त्यो भविष्यले बताउने छ ।

  २०६७ असोज ७ गते विहिवारको दिन विहान चियापिउँदै कम्प्यूटरमा साथीहरूलाई इमेल गरिरहेको थिएँ । मेरो खुट्टा मर्केकोले चारदिनदेखि म घरबाट बाहिर जान सकिरहेको थिएन । निर्मला (नाम परिवर्तन) एउटा ब्याग लिएर आइन्  । उनी मेरो नजिक आएर सोधिन, “बा, अहिले तपाईंलाई कस्तो छ ?”
“राम्रो भैरहेको छ । अब एक दुई दिनमा निको हुन्छ । बिहानैदेखि कहाँ गएर आएकी ?”
     “सविता (नाम परिवर्तन)ले उनको कपडासँगै हाम्रो तत्रा पनि ल्याएको रहेछ । त्यही तत्रा लिएर आएको । ल हेर्नुहोस् ।” भनेर उनले तत्रा झिकेर देखाइन् ।

“हिजो कति चामल किन्यौं ?”
“दुई किलोमात्र किनें । किलोको पैंतालीस रुपैयाँ लियो । बा मलाई दश रुपैयाँ दिनुस् ।”

“ल दस रुपैयाँ होइन, यो सय रुपैयाँ नै लिनु । तिमीले हिजो ज्वजलपा पत्रिका बेचेको ज्याला ।” भनेर मैले उनलाई एकसयको एउटा नोट दिएँ ।
“थैंक यू डाय्ड” भनेर हात हल्लाउँदै उनी गइन् ।
आज मौसम पनि राम्रो छैन । आकाश कालो वादलले ढाकिएको छ । पानी पर्ला पर्ला जस्तो पनि छ । जेसुकै होस् आपूm त बाहिर जान सक्ने होइन । किनकी अस्ति आइतवार साँझ आफ्नै घर आँगनमा सिंढीमा चिप्लेर मेरो बायाँ खुट्टा मर्केको थियो । त्यसैले म घरमा बस्न बाध्य भएको छु । विहानको खाना खाएर सुतें । दिनको एक बजे मेरो निद्रा खुल्यो । वैठक कोठामा  सुतेको थिए । कोठामा एक्लै छु । भान्सा कोठामा गएँ । श्रीमती समयबजि तयार पार्दैछिन् । आज समयबजि पूर्णिमा । घर घरबाट समयबजि लगेर बाहिर बाँड्नु पर्छ । पाँगा घरमा बस्ने केटीहरूलाई पनि समयबजि भाग दिनुपर्छ भनेर म वैठक कोठामा आएँ । म घरबाट बाहिर जान सक्दिन । यस्तो अवस्थामा बच्चाहरू आइदिए कति रमाइलो हुन्थ्यो । म घरमा नहुदा भने कति बच्चाहरू आएको भनेर श्रीमतीले भन्थिइन् । म एक्लै टी.भी. हेरिरहें ।

  “टत्र, टत्र” मेरो मोबाईल बज्यो । कसको फोन होला भनेर नम्बर हेरेको त कीर्तिपुर थानाको रहेछ ।
“हेलो” मैले फोन उठाएर भनें ।
“दाइ हो ?” कीर्तिपुर थानाको प्रहरी निरिक्षक विनोद खरेलको आवाज आयो ।
“हो, किन फोन गर्नु भयो ?” मैले उत्सुकतापूर्वक सोधें ।
“तपाईंको संस्थाको बारेमा केही बुझ्नु छ भनेर यहाँ दुई तीन जना सरहरू आउनु भएको छ । तपाईं एकचोटी यहाँ आउनुस् ।”
“मेरो खुट्टा मर्केको छ । म हिंड्डुल गर्न सक्दिन । त्यसैले म आउँदिन ।”
“एकछिन त हो नि । तपाईंलाई लिन गाडी पठाईदिन्छु ।” उहाँले एकै स्वरमा भन्यो ।
“मैले खाजा खाएको छैन । खाजा खाएर आउँला ।”
मैले घडी हेरें । तीन बजिसकेछ । श्रीमतीलाई खाजा खान ल्याउ भनें । मुंगको बारा, छ्वय्ला र कुखुराको मासु र चिउरा एउटा थालमा राखेर ल्याइन् । खाजा खाँदै मैले सोचें । हाम्रो संस्थाको बारेमा के सोध्ने होला ? केही सहयोग गर्नेहरू आएका होलान् । मेरो यस्तो अवस्थामा पनि अहिल्यै आउनु भनेर अनुरोध गर्दैछ । विनोद खरेलसँग मेरो राम्रो सम्बन्ध छ । त्यसैले मैले खासै शंका गरिन ।
“दाइ, हामी आइसकें । यहा चोकमा बसिरहेको छु । छिटो आउनुहोला ।” स.ई.ले फोन ग¥यो ।
 खाजा अलिकति बाँकि थियो । भान्सामा राख्दै श्रीमतीलाई भनें, “ल म एकछिन बाहिर गएर आउँछु । फर्केर आएर खाउँला ।”
   “यस्तो खुट्टा दुखेको बेलामा पनि किन जानुप¥यो ? भेट्नु परे घरमै आउनु भनन ।” श्रीमतीले आफ्नै ढंगले भनिन् ।

“संस्थाको बारेमा बुझ्न केही मानिसहरू कीर्तिपुर थानामा आएका छन् । मलाई लिन गाडी पठाईसकेको छ ।” यति भनी लट्ठी टेक्दै बाहिर गएँ । बाहिर गाडी देखिँन । त्यहीबेला भतिजा हरिभक्त भेटें । उसको बाईकमा बसेर जान लाग्दा नीलकण्ठको घर अगाडि प्रहरी गाडी रोकीराखेको देखें । हरिभक्तलाई भैगो जाउ भनेर पठाएँ । म प्रहरीको गाडीमा बसेर थानामा गएँ ।
“यस्तो खुट्टा दुःखेको बेलामा पनि गाडी पठाएर बोलाउनु भयो । त्यस्तो के काम आइप¥यो ?” मैले ईन्स्पेक्टरसँग सोधें ।
“तपाईंलाई कालीमाटीमा बोलाउनु भएको छ । हाम्रो गाडीले पु¥याइदिन्छ ।”
“जाऊँ दाइ” भनेर मलाई लिन आउने स.ई.ले नै भन्यो ।
हुन्छ त भनेर गाडीमा बस्न गएँ । नेपालीको पछाडि बुद्धि भने झै गाडीमा बसेपछि मेरो मनमा शंका उठ्यो । यो राम्रो भएन । मैले मोबाईलबाट पंचलाललाई फोन गरें ।
    “पंचलाल मलाई कीर्तिपुर थानाबाट गाडीमा राखेर कालीमाटी थाना लैजाँदै छ । एकचोटी कालीमाटीमा आउनु ।”
मलाई प्रहरी प्रभाग कालीमाटी महिला सेलमा लग्यो । त्यहाँका महिला ईन्स्पेक्टरले हाम्रो संस्था नेपाल टुहुरा कल्याण संघको बारेमा, त्यसमा आबद्ध बच्चाहरूको बारेमा सोधिन् । मैले यथार्थ बयान दिएँ । अनि बच्चाहरू पालीराखेको घरको बारेमा सोधिन् । होस्टेलको बारेमा सोधिन् ।
“त्यो होस्टेल होइन । उनीहरू मात्र बस्ने मेरो घर हो । कहिं जाने ठाउँ नभएका बाहिर जिल्लाका तीनजना केटीहरू राखीराखेको ठाउँ हो । मेरो पुरानो घर हो । मलाई यहाँ किन बोलाउनु भएको ?” मैले सोधें ।
“आपूmले पालीराख्नु भएका बच्चाहरूलाई तपाईंले जबरजस्ति करणी गर्ने प्रयास गर्नुभयो भनेर यहाँ उजुरी परेको छ । त्यसैले सोधपुछको लागि तपाईंलाई यहाँ बोलाएको हुँ ।” ईंन्स्पेक्टरले भनिन् ।
उनको कुरा सुनेर म त छानाबाट खसेको जस्तो भएँ । दिउँसो पानी परेर अलिअलि जाडो महसुस भएको थियो । अहिले एकैचोटी मेरो शरीर पसिनाले निथु्रक्कै भिज्यो ।
“राम राम तपाईंले के भत्रुभएको यो ? मैले यो के सुत्रुुप¥यो ? आपूmले छोरीजस्तो मानी पालीराखेका बच्चाहरूलाई पनि त्यसरी गर्छु र ? त्यो पनि म जस्तो चीनि (मधुमेह) रोगीले ।” मेरो मुखबाट निस्केको शब्द यिनै हुन् ।
“खोई उनीहरूले त यस्तै उजुरी दिएका छन् । बयान लिनका लागि उनीहरूलाई लिन पठाएको छु । उनीहरूले होइन भन्यो भने तपाईंलाई छाड्छु ।” ईन्स्पेक्टरले भनिन् ।
“ठीक छ । उनीहरूलाई मेरो अगाडि राखेर बयान लिनुस् । मेरो अगाडि उनीहरूले मैले त्यस्तो गरेको हो भन्यो भने तपाईंले जे सजायँ दिनुहुन्छ त्यो भोग्न म तयार छु ।”
मलाई एउटा कोठामा राखेर उनी बाहिर गइन् । त्यहीबेला शुभकामना एकेडेमीका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीको फोन आयो । मैले आपूm एउटा मिटिंगमा व्यस्त छु, पछि कुरा गरूँला भनेर फोन राखेँ । ईन्स्पेक्टरले मोबाईलमा कुरा गर्न पाउनु हुन्न भनेर मेरो मोबाईल माग्यो । मैले स्वीच अफ गरेर मोबाईल दिएँ ।
साथी पंचलाल आएको देखें । ऊ सरासर ईन्स्पेक्टरको कोठामा गयो । ईन्स्पेक्टरसँग कुराकानी गरेर पंचलाल मकहाँ आयो । उसले आएर भन्यो, “बच्चाहरूको बयान पछि मात्र केही भन्छु भनेको छ ।”
प्रहरी भ्यान आयो । “ल तपाईं भित्र बस्नुस् ।” भनेर मलाई एउटा कोठामा राखेर बाहिरबाट चुकुल लगाइदियो । मैले झ्यालबाट देखें बच्चाहरू ल्याएको रहेछ । मेरो अगाडि बयान लिनु भनेको त मलाई कोठामा थुनेर अलग्गै कोठामा पो बयान लिन लागेको छ । बच्चाहरूले के बयान दिन्छ ? मैले उनीहरूलाई गाली गर्नु सिवाय अरू केही गरेकै छैन । मैले उनीहरूलाई पाली राखेको थिएँ । उनीहरूको बानी व्यहोरा नराम्रो देखेपछि अब म पाल्न सक्दिन आ–आफ्नो घर जाऊ भनेको हुँ । सवितालाई ३ गते नै उनको आमालाई बोलाएर घर पठाईसकेको थिएँ । निर्मलालाई दशैंमा घर पठाउने, एस.एल.सी.जाँच नसकिएसम्म नीरूलाई कीर्तिपुर घरमा राख्ने भनेर सुनाएको थिएँ । त्यसैले त्यसबेलादेखि ५ किलो २ किलो मात्र चामल किनीदिएको थिएँ । कसैसँग पैसा लिएर उनीहरूलाई पालीराखेको होइन । उनीहरूले आरोप लगाउँदैमा मलाई थुत्र पाइन्छ ? यस्तै मनमा कुरा खेलाउँदै म एक्लै कोठामा बसिरहें ।
बाहिर अँध्यारो भैसकेको छ । आधाघण्टा पछि गाडी गएको आवाज आयो । सायद बच्चाहरू फर्केर गएका होलान् । उनीहरूले के बयान दियो होला थाहा पाउन मेरो मन हतारियो । त्यहीबेला म बसिरहेको कोठाको ढोका खुल्यो । मलाई कोठाबाट बाहिर लग्यो । छोरा निरज र भरत पनि आइसकेका रहेछन् ।
“के भयो डैडी ?” छोराले सोध्यो ।
“मैले बच्चाहरूलाई जवरजस्ती गर्न खोज्यो रे ।”
“अँ, प्रहरीले निर्मला र पारूलाई भ्यानमा राखेर हाम्रो घरमा ताला लगाएर आयो भनेर नीराले फोन गरेर ल्यायो । अनि सोध्दै खोज्दै यहाँ आएको ।” छोराले भन्यो ।
“बच्चाहरूले तपाईंले बलात्कार गर्न खोज्नु भएकै हो भनेर बयान दिएछ । अब तपाईलाई यहाँ होइन हनुमान ढोका पठाउँछ । भोलि साथीहरूलाई लिएर हनुमान ढोका आउँछु ।” पंचलालले भन्यो ।
“ल बा, बच्चाहरूले त तपाईंले उनीहरूलाई जवरजस्ती करणी गर्न खोज्नु भएकै हो भने । हो, होइन अनुसन्धान गर्न तपाईं प्रहरी खोरमा बस्नुपर्ने भयो ।” ईन्स्पेक्टरले भन्यो,‘तपाईलाई यहाँ अप्ठ्यारो हुन्छ । त्यसैले हनुमान ढोका पठाईदिन्छु ।’
“घडी लट्ठी सबै छोरालाई दिनुस् । त्यहाँ केही पनि राख्न दिंदैन ।” एकजना प्रहरीले भन्यो ।
मैले छोरालाई घडी र लट्ठी दिएँ । छोराले आपूmले लगाएर आएको ज्याकेट फुकालेर मलाई दियो । प्रहरीले मलाई एउटा कागज थमायो । मैले कागज पढें । लेखेको रहेछ —
“परिसर ड (क) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नजरराम भत्रे नजरमान महर्जन भएको जवरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तपाईंलाईं हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकोले आजका मितिदेखि तपाईंलाई यस कार्यालयको हिरासतमा राखी मुलुकी ऐन अ.ब.नं.१२१ बमोजिमको यो थुनुवा पूर्जी दिइएको ब्यहोरा जानकारी गराइन्छ ।”
एकजना सादा पोशाकको पुरुष प्रहरीले मेरो दुईटै हातमा हतकडी लगाई दियो । अर्को एकजना महिला प्रहरी पनि आइन् । दुबैजनाले डोे¥याउँदै मलाई बाहिर लग्यो । मेरो छोरा र साथीले विवशताको नजरले हेरिरहे ।
“ट्याक्सीमा जाने कि हिंडेर जाने ?” प्रहरीले सोध्यो ।
“तपाईंहरूले जे भन्नुहुन्छ ।” मैले भनें ।
“पैसा छ भने ट्याक्सीमा जाउँ ।”
“हुन्छ । भाडा म तिर्छु ।” हतकडी लगाएर के हिंडेर जाने भनेर मैले भनें ।
बाहिर एउटा ट्याक्सी लियो । अगाडि सीटमा महिला प्रहरी बसिन् । पछाडिको सीटमा हामी बस्यौं । ट्याक्सीले भिमसेनस्थान हुँदै हनुमान ढोका पु¥यायो । ट्याक्सी भाडा मैले तिरें । मलाई हनुमान ढोका प्रहरी प्रभागभित्र लग्यो ।

हनुमान ढोका प्रहरी प्रभागको फलामे ढोका छिर्ने बित्तिक्कै मेरो हातको हतकडी फुकाली दियो । अनि एकजना प्रहरीले मलाई दो¥याएर लग्यो । भित्र एउटा सानो चोक रहेछ । चोकको दायाँ बायाँ सिमेन्टले प्लास्टर गरिएका दुईटा भ¥याङंग रहेछ । म बायाँतिरको भ¥यांङ्गबाट माथि चढें । खुट्टा दुखेकोले भित्ता समात्दै विस्तारै माथि गएँ । भ¥यांङ्ग उक्लिने बित्तिक्कै पूर्वतिरको ढोकाबाट एउटा कोठामा लग्यो । त्यहाँ एक जना वर्दिधारी प्रहरी र एक जना  सादा पोशाक लगाएका प्रहरीहरू बसिरहेका थिए ।

वर्दिधारी प्रहरीले मेरो शरीरको खानतलाशी लियो । मेरो खल्तीमा रहेको ड्राइभिंग लाइसेन्स, बैंकको एटिएम कार्ड र अरू कागजपत्रहरू सबै लिए । कलम, लाइटर पनि लियो । पैसामात्र फिर्ता दियो । मैले लगाइराखेको औंठी र पेटी पनि फुकाल्न लगायो । सबै सामान एउटा प्लाष्टिक झोलामा राख्यो । त्यसमा मेरो नाम लेख्यो ।
“के केसमा आउनु भएको ? पूर्जी हेरूँ ?” सादा वर्दिधारी प्रहरीले भन्यो ।
मैले कालीमटीबाट दिएको पूर्जी थम्याएँ । उसले एउटा रजिस्टरमा मेरो तीन पुस्ते नाम र ठेगाना सोधेर लेख्यो । त्यसमा मलाई सही गरायो । ल्याप्चे पनि लियो ।
“यहाँ त परिसर ड (क) समेत लेखेको छ । कतिजना केटीहरू थिए ?” वर्दिधारी प्रहरीले सोधे ।
“दुई जना छन् ।”
“तपाईंलाई कहाँबाट गिरफ्तार गरेको ?”
     “एउटा कुरा सोध्नु छ आउनुस् भनेकोले म आफै कीर्तिपुर थानामा गएको थिएँ । त्यहाँबाट कालीमाटी पठाएको ।”
“केटीहरूसँग घारघुर हुँदा खुट्टा भाँचिएको कि के हो ?” वर्दिधारी प्रहरीले सोध्यो ।
“होइन, पाँच दिन पहिले नै खुट्टा मर्केको थियो ।”
“होइन, यो साठी वर्षे बुढोलाई पनि कति जोश चढेको होला । दुई दुई जना केटीहरूलाई भ्याउने हिम्मत गरेको होला । केटीहरू कस्तो छ च्वाँक च्वाँकका छन् ?”
“के नचाहिने कुरा गरिरहनु भएको ? मैले त्यस्तो केही गरेकै छैन । कुनै घटना भएकै थिएन ।” 
“हामीसँग जिस्केको कि के हो ? भोलि केरकार शाखामा लगेर मर्केको खुट्टा भाँच्ने गरी हानेपछि सबैकुरा ओकल्छ होला नि ।”
“मैले गर्दै नगरेको कुरो पनि तपाईंले पिट्दैमा हो भन्छु र ?”
“हाम्रो डण्डा परेपछि थाहा पाउँछ ।”

“तीस वर्षे पंचायती शासकले ढाल्न नसकेको मेरो काँध तपाईंहरूले ढाल्न सक्नुहुत्र ।’ मैले पनि जे पर्लापर्ला भनेर रिसाएर भनें, ‘मलाई पिट्ने भए मर्नेगरी पिट्नु । यदि म बाँचें भने तपाईंहरू एक–एक जनालाई ठीक पार्छु । म कीर्तिपुरे हुँ । मेशिन गनदेखि नडराउने मलाई, यो फिस्ते लट्ठि देखाएर तर्साउन खोजेको ?’
मेरो कुरा सुनेर एकजना सादा पोशाकको प्रहरीले भन्यो, “हेर्नुस् बा, तपाईं बाहिर जतिसुकै ठूलो मान्छे होस् या धनि होस् हामीलाई मतलब छैैन । अहिले तपाईं हाम्रो कैदमा हुनुहुन्छ । तपाईंले हाम्रो आदेश मात्रुपर्छ । तर एउटा कुरा यस्तो बैंशमा लाग्नु नपर्ने आरोप लाग्यो । यदि यो आरोप सही सावित भयो भने तपाईंको जीवन जेलमै बित्ने भयो ।”

“यदि यो धर्तीमा सत्यता छ भने । न्याय, निसाफ बाँकि छ भने म निर्दोष साबित हुनेछु । मैले गर्दै नगरेको अपराधमा कसरी सजायँ भोग्नुपर्ला ? मलाई नेपालको न्याय प्रणालीमा पूरा भरोसा छ ।”
“त्यो त हो बा, तपाईंलाई आरोपमात्र लगाएको छ । आरोप लाग्दैमा अभियुक्त हुँदैन । तपाईं थुनुवा मात्र हुनुहुन्छ । तपाईंले केही गर्नु भएको छैन भने केही पनि हुँदैन ।”
म एकचोटी कडके पछि प्रहरीहरू कोमल भए । वर्दिधारी प्रहरीले मलाई बाहिर लिएर गयो । दायाँ बायाँ कोठा वीचमा बाटो हुँदै मलाई एउटा कोठामा लग्यो । मैले कोठाको ढोकामा टाँसी राखेको नम्बर हेरें । पाँच नं कोठामा रहेछ । जहाँ पहिले नै छ सात जना मान्छेहरू बसिरहेका थिए ।
“ल यो बालाई कोठामा राम्ररी बस्न दिनु । होच्याउने, जिस्क्याउने होइन ।” प्रहरीले भन्यो ।
म कोठाभित्र गएँ । कोठामा बस्ने ठाउँ नै थिएन । तैपनि गुडुल्किएर एउटा सानो ठाउँमा बसें । त्यहाँ ओढ्ने ओछ्याउने केही थिएन । कालो फोमका टुक्राहरू मात्र थिए ।

“अंकल, तपाईं के केसमा आउनु भएको ?” एक जना भोटे जस्तो देखिने केटाले सोध्यो ।
“जवरजस्ती करणी उद्योगमा ।” मैले छोटकरीमा जवाफ दिएँ ।
“केटीहरूसँग सुत्न लागेको बेलामा समातेर ल्याएको हो ?” अर्कोले सोध्यो ।
“केटी कति च्वाँक छ होला ? यस्तो बुढोलाई पनि लोभ लागेको ।” फेरि अर्कोले भन्यो ।
“यस्तो बुढो बैंशमा पनि कति जोश आएको होला ?” अर्कोले भन्यो ।
      “त्यस्तो केही कुरा होइन । मैले केही गरेकै होइन । मलाई फसाउन आरोप मात्र लगाइएको हो ।”
“हो, प्रहरीकहाँ पुगेपछि सबैले त्यस्तै भन्छन् ।”
“भोलि केरकार शाखामा लैजान्छ । के गाना सुन्ने भनेर सोध्छ । मन परेको गाना सुनाउँदै हो नभनेसम्म डण्डाले हान्छ । त्यतिले नपुगे जिब्रोमा करेन्ट लगाइदिन्छ । अनि त जस्तोसुकै मैं हुँ भत्रेले पनि अपराध सकार्न बाध्य हुन्छ ।” फेरि अर्कोले भन्यो ।

“म मरे पनि आपूmले नगरेको अपराध सकार्दिन ।” मैले भनें ।
यसरी जसलाई जे मन लाग्यो, त्यो बोल्न थाल्यो । मलाई के गरूँ, के भनूँ भयो । मलाई रुन मन लाग्यो । कस्तो ठाउँमा आइपुगेछु । उनीहरूको कुरा सुनेर मलाई डर लाग्न थाल्यो । मेरो मुख अँध्यारो भयो ।
“चूप लाग । धेरै नचाहिने कुरा नगर्नु ।” एकजना अधबैंशेले केटाहरूलाई भन्यो, “त्यसै त उहाँलाई कस्तो टेन्सन भैरहेको होला । तिमीहरू न प्रहरी हौ, न न्यायाधीश नै हौ । तिमीहरूलाई किन चाहियो ? दाइ, यो ठाउँमा सा“चो कुरा कसैलाई नभने पनि हुन्छ । अझ करणी त भन्नै हुँदैन । अब अरू कसैले सोध्यो भने मान्छे मारेर आएको भन्नुहोला । तपाईंदेखि सबैजना डराउने छन् ।”
म चूप लागें । मलाई घरको पीर आयो । अब त छोरा घर पुग्यो होला । श्रीमतीले थाहा पाईहोलिन् । हाई ब्लडप्रेशरको रोगी । यस्तो घटना सुनेर श्रीमतीलाई केही भयो कि ? उनले के सोचे होलिन् ? मलाई यहाँ जेसुकै भए पनि मेरो श्रीमतीलाई केही नहोस् भन्ने कामना गरीरहें ।
एकछिन पछि नै बाटोमा कुट बिछ्याउन ल्यायो । कुटमाथि दाल, भात र तरकारीको भाँडो राख्न ल्यायो । भात थाप्न मान्छेहरू थाल लिएर लाइनमा बस्न आयो ।
 “दाइ, खाना खाने भए तपाईं पनि तल ट्यांकिनिरबाट थाल लिएर आउनुस् ।” अधबैंशे थुनुवाले भन्यो ।
दिउँसो तीन बजेतिर अलिकति चिउरा खाएको थिएँ । म गजवको मान्छे हुँ । अरूलाई टेन्सन भयो भने खाना रुच्दैन । मलाईं त टेन्सन भयो भने भोक पनि लाग्छ । निद्रा पनि लाग्छ । मलाई थाल लिन जाउँ कि नजाउँ भयो ।
“अय् बाजिगर बालाई थाल ल्याइदेऊ त । अनिखेरां बाले तिमीलाई अण्डा ख्वाउनु हुन्छ ।” एकजना मोटो केटाले अर्को दुब्लो पातलो केटालाई भन्यो । बाजिगर भत्रे केटा उठेर गयो । मोटो केटाले फेरि भन्यो, “बा तपाईंको खुट्टा दुखेको छ । तलमाथि गर्न गाह्रो होला । बाजिगरलाई अलिअलि पैसा दिनुहोला । उसैले थाल पनि माझी दिन्छ ।”

बाजिगरले तलबाट थाल ल्यायो । भात लिन म पनि लाइनमा बस्न गएँ । मेरो थुनुवापूर्जी ल्याउ भन्यो । मैले दिएँ । रजिस्टरमा मेरो नाम लेख्यो अनिमात्र खाना दियो । भात, पहेंलो मुसुरोको दाल र लौका तरकारी दियो । थाल लिएर कोठामा आएँ । भात र दाल मुछुं भनेर हेरेको भात त एकदम गिलो रहेछ । ढिंडोजस्तो गिलो रहेछ । दुई तीन गाँस खाँदा घरको याद आयो । आज घरमा छ्वय्ला, अचार बनाएको छ । कुखुरा मासु पकाएको छ । यस्तो मीठो खाना खाने समयमा अहिले यहाँ यस्तो खाना खानु परिरहेको छ । मलाई खाना खान मन परेन । मलाई वाक्क आउलाजस्तो भयो । खाउँ कि नखाउँजस्तो भयो । त्यत्रो भात फाल्दा प्रहरीहरूले गाली गर्ला कि भनेर डर पनि लाग्यो । घरको खाना सम्झिदै आँखाबाट बर्रर बर्रर आँसु झारें । सायद त्यो आँसु मेरो मुखमा प¥यो होला । खाना नुनीलो भयो । स्वाद आयो । सबै भात खाएँ । बाजिगरले हात धुन पानी ल्याइदियो । त्यही थालमा हात धोएँ । बाजिगरले नै तल थाल पु¥याउन गयो । म कहीं जानु परेन ।
मैले कोठाको चारैतिर आँखा दौडाएँ । कोठाको सेतो भित्तामा रगतको दागै दाग देखें । कस्तो घिनलाग्दो कोठा । यो कोठामा उडुस आउँछ होला । त्यही उडुस मारीराखेको दाग त होला नि । यस्तो उडुस आउने ठाउँमा कसरी सुत्ने ? सम्झिंदै मेरो शरीर नै जिरिंग भयो ।
सबैजनाले खाना खाए । अघि खानाको भाँडाहरू राखेको ठाउँ सफा गर्न लाग्यो । सफा भएपछि त्यही ठाउँमा थुनुवाहरू कोही फोमका टुक्रा र कोही तन्ना विछ्याएर आ–आफ्नो ठाउँ ओगट्न लागे । कोठामा सुत्न ठाउँ नपुगेकाहरू बाटोमा सुत्दा रहेछन् । म कहाँ सुत्ने ? यस्तो सानो कोठामा एघार जना कसरी सुत्ने ? म यस्तै सोचिरहेको बेला बाजिगरले मलाई बोलायो । उसले पनि बाहिर ठाउँ ओगटी सकेको थियो । म पनि बाटोमा बिछ्याइएको फोममा सुत्न गएँ । ओढ्ने ओछयाउने केही पनि थिएन । म ज्याकेट लगाएरै सुतें । मलाई पानी प्यास लाग्यो । खाने पानी थिएन । बाजिगरले ८ नं कोठाबाट एक बोटल मिनरल वाटर किनेर ल्यायो । बीस रुपैयाँ लियो । हामी पल्टेको एकैछिनमा थुनुवा गन्ति गर्न आयो । म पल्टिरहें । तर मलाई निद्रा लागेन । मनमा अनेकौं कुरा खेल्न थाल्यो ।

रातको दशबजेतिर एकजना मानिस प्लाष्टिकको बाल्टिनमा अण्डा राखेर बेच्न आयो । जोसँग पैसा थियो उनीहरूले दुईटा–दुईटा अण्डा लिए । जोसँग पैसा थिएन उनीहरू टुलु टुलु हेरिरहे । मैले पनि चारवटा अण्डा लिएँ । दुईटा बाजिगरलाई दिएँ । मैले दुईटा खाएँ । फेरि अर्को मान्छे किटली र सेतो प्लाष्टिकको गिलास लिएर चिया बेच्न आयो । दूध नभएको कालो चिया रहेछ । दुई कप चिया लिएर बाजिगर र मैले पिएँ । चियामा मरिच हालेको रहेछ मिठो लाग्यो । अण्डा र चिया गरेर पचास रुपैयाँ खर्च भयो । त्यसपछि सुतें ।

No comments:

Post a Comment