२०६७/०७/११ (२८ अक्टोवर २०१०) बिहिवार—२२औँ दिन
आज रातभरमा तीनचोटि पिशाव गर्नु प¥यो । अस्ति डाक्टर देखाउँदा ब्लड प्रेशर लो छ पानी बेस्सरी पिउनु, झोल पदार्थ खानु भनेकोले झोल पदार्थ र पानी अलि बढी पिएको थिएँ । त्यसैले पिशाव बढी गर्नु परेको होला । डायबिटिज रोगीको किड्नी खराब हुनसक्छ भन्ने सुनेदेखि अलि बढी पिशाव लाग्यो कि किड्नी बिग्य्रो कि भन्ने चिन्ता हुन्छ ।मेरो वकिल मदन रेग्मी, भान्जा नरेन्द्र र छोरा निरज पुनरावेदन अदालत १७ नं मा जान निवेदनमा मलाई सही गराउन आएका रहेछन् ।
“म बाहिर आउन पाउने हो कि होइन ?” मैले वकिलसँग सोधेँ ।
“तपाईं छुट्ने धेरै आधारहरू छन् । धन्दा नमान्नुहोस् । तपाईंलाई पुर्पक्षमै पठाउनु नपर्ने हो । १७ नं.बाट साधारण तारिखमा छुटाएर लैजान्छु ।” वकिल मदन रेग्मीले विश्वासका साथ भन्नुभयो ।
“बच्चाहरूलाई स्कूल पठाएको छ कि छैन ? के छ खबर ?” मैले छोरासँग सोधेँ ।
“कहाँ स्कूल पठाउने † उनीहरूले त तपाईंले भन्दा बढी सास्ती भोगिरहेका छन् । उनीहरूलाई त एउटा कोठामा थुनिराखेका छन् । कसैसँग भेट्न दिएको छैन । कहीँ जान पनि दिएको छैन ।” निरजले भन्यो ।
“मामालाई ती बच्चाहरूको त्यत्रो पीर किन ?” भान्जा नरेन्द्रले भन्यो, “मामाले जिन्दगीभर खाली अर्काको भलाइको लागि मात्र काम गर्नु भयो । अर्काको भलाइ हेर्दाहेर्दा आज आफै यस्तो ठाउँमा आएर बस्नु परिरहेको छ । अब त्यो समाजसेवा छोड्नुहोस् ।”
मैले वकिलले ल्याएको कागजमा सहीछाप गरी दिएँ । उनीहरू मसँग विदा भएर गए ।
कोठामा आएको एकछिन पछि ज्वाइँ जनक एक्लै आयो । शोभा, बाबुलाई कस्तो छ भनेर सोधेँ ।
“बाबु विरामी छ । घरमा एक्लै छोड्नु भएन । त्यसैले म एक्लै आएको हूँ । काकालाई कस्तो छ ?” जनकले सोध्यो ।
“अब १७ नं पुनरावेदनमा जान आज निरज, नरेन्द्र र वकिल आएर मलाई सही गराएर लगेका छन् । अनि गाउँघरमा मेरो बारे के चर्चा छ ?”
“तपाईं निर्दोष हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । यस्तो समाज सेवक मान्छेले त्यस्तो काम गर्दैन । धर्म गर्न खोज्दा पाप लाग्यो भन्नेहरू पनि छन् । फेरि जवरजस्ती नगरेको भए केटीहरूले ग¥यो भन्ला र ? भन्नेहरू पनि छन् ।”
“होइन जनक, हाम्रो गाउँका मान्छेहरूले मेरो मुद्दाको बारेमा राम्ररी थाहा पाएको छैन जस्तो लाग्छ । मैले बच्चाहरूलाई करणी ग¥यो भनेको छैन । मलाई फसाउन करणी उद्योग भन्ने झुटो आरोपमात्र लगाएका हुन् ।”
“त्यो त हो । अहिले धेरै जनाले कुरा बुझिसकेका छन् । सबैले भन्छन् त्यस्ता खाते केटीहरूलाई मान्छे बनाउन खोज्दा आपूm बदनाम हुनुप¥यो ।”
यस्तै गफ गर्दै हामी छुट्टियौँ । एकछिन पछि भान्जी रचना र उनको छोरी रेश्मा आए । सञ्चो विसञ्चोको कुराकानी भयो । बाहिरभन्दा भित्र नै म हृष्टपुष्ट भएको देखेर उनले सन्तोषको सास फेरिन् । मलाई अपराधी मान्न उनी पनि तयार थिइनन् । मलाई फसाइएको हो भन्नेमा उनी पनि विश्वस्त रहिछिन् । उनले पनि आइन्दा त्यस्तो दुःख पाएको, अनाथ भनेर कसैलाई माया नगर्न अनुरोध गरिन् । डलरधारी संस्थाहरूले मानिसहरूलाई फसाएर मुद्दा लड्ने नाममा डलर कमाउने मेसो हो भनिन् । हेर्दाखेरि साह्रै सोझीजस्ती भए पनि कुरा त निकै गहकिला गर्दा रहेछन् । आखिर पत्रकारिता क्षेत्रमा काम गरिरहेकी न हुन् ।
उनीसित छुटेर आएको एकछिन पछि फेरि माइकबाट मेरो नाम बोलायो । म गेटतिर गएँ । मन्दिरको प्राङ्गणमा बसिरहेका साथीहरूले भने, “ओहो † आज त तपाईंलाई भेट्न कति आएको † माईकले बोलाएको बोलाएकै छ ।”
“अँ” भनेर गेटमा गएँ । बाहिर हेरेको त ज्वजलपा पत्रिका लिएर जितेन्द्र आएको रहेछ । ऊसँग कुराकानी भयो ।
“ज्वजलपाको प्रकाशक तपाईं थुनुवामा पर्नुभयो त्यसैले पत्रिका बन्द गर भनेर धेरैजनाले सल्लाह दिइरहेका छन् के गर्ने ?” जितेन्द्रले गुनासो राख्यो ।
“म थुनामा परेर के भयो त ? प्रकाशकले त पत्रिका निकाल्ने व्यवस्थामात्र गर्ने त हो नि ? पैसाको व्यवस्था म गरिदिन्छु । अरू सबै गर्न तपाईंहरू हुनुहुन्छ ।” मैले भनेँ ।
“भोलि कानूनी अड्चन आयो भने के गर्ने ? भनेर लेख दिनेले लेख पनि दिएन । विज्ञापन पनि कसैले दिएन ।” जितेन्द्रले मन खिन्न गरेर भन्यो ।
जितेन्द्रले मलाई ज्वजलपा पत्रिका देखायो । मैले पत्रिका हेरेँ त्यसमा एउटा पनि विज्ञापन थिएन । विज्ञापन नभइकन पत्रिका कसरी चल्छ ? अनि मैले भनेँ, “म कैदी होइन । थुनुवा मात्र हँु । तैपनि ज्वजलपाको नामबाट प्रकाशित गर्न अप्ठ्यारो लाग्छ भने ज्वजलपा बन्द गरिदेऊ । तिमीहरू नै प्रकाशक, सम्पादक भएर ‘न्हूगु ज्वजलपा’को नामबाट प्रकाशित गर ।”
अनि अरूअरू विषयमा कुराकानी भयो । अन्तमा मैले भनेँ, “कीर्तिपुरजस्तो नेवारहरूको बाहुल्यता भएको पुरानो शहरमा एउटा पनि नेपालभाषाको पत्रिका भएन भने हामी कीर्तिपुरेहरूको इज्जत जान्छ ।”
“नेवारहरूले नै नेपालभाषा पत्रिकाको विरोध गर्छन् ।” जितेन्द्रले निराश भावमा भन्यो ।
“हामी नेवारहरूमा राजनैतिक चेतना छैन । त्यसैले हामीमा आफ्नो जातिी, भाषा र संस्कृतिप्रति त्यति सचेत छैनौँ । हामी स्वाभीमानी छैनौँ । त्यसैले त हामी नेवारहरू सबै क्षेत्रमा सम्पन्न भइकन पनि झनझन कमजोर हुँदै गइरहेका छौँ ।” मैले भनें, “ठिकै छ । म भित्र छु । साथीहरूसँग सल्लाह गरेर जे गर्नु पर्छ गर ।’
“न्हूगु ज्वजलपा निकालेँ भने आइतवार निकालूँला ।” भनेर जितेन्द्र गयो ।
भित्र आएँ । उसको कुरा सुनेर मेरो मन खिन्न भयो । देशमा भएका ठूला ठूला जन आन्दोलनमा कीर्तिपुरेहरूको ठूलो योगदान छ । तर आफ्नै जाति भाषा साहित्य उत्थानको लागि अलिकति पनि योगदान छैन । नेतृत्व लिन कोही तयार छैन । कतिञ्जेल अर्काको लागि काँध थापेर भ¥याङ्गमात्र बनिरहने ? कीर्तिपुरे जनतालाई राजनैतिक चेतना दिउँ भनेर मैले आफ्नै पहलमा ज्वजलपा पत्रिका निकालेँ । आज म थुनामा पर्ने बित्तिक्कै बन्द हुने स्थिति आयो ।
२०६७/०७/१२ (२९ अक्टोवर २०१०) शुक्रवार २३औँ दिन
म भद्रवन्दी गृहको ३ नं.को चामल कोठामा छु । जहाँ १९ जना बन्दीहरू एक लाइनले सुतिरहेका छौँ । त्यो १९ जनामा मेरो बेड ११ नम्बरमा छ । सुरुमा यहाँ आउँदा टी.भी. हलमा सुतेको थिएँ । त्यतिबेला कहिले कोठाभित्र सुत्न पाउँला जस्तो लागेको थियो । अहिले कोठाभित्र सुत्न पाउँदा पनि मेरो मन सन्तोष भएको छैन । पुरा खुट्टा पसारेर सुत्न पाएको छैन । खुट्टा तन्काएर सुत्दा बाटो बन्द हुन्छ । अहिले मेरो कोठाका सहयात्रीहरू कोही घुरिरहेका छन् । कोही अंगडाइ लिइरहेका छन् । कोही ग्यास छाडिरहेका छन् । म केही लेख्न व्यस्त छु । वातावरण शान्त छ ।आज मेरो रगत परीक्षण गराउनु पर्छ । त्यो पनि फास्टिंगको । त्यसैले मैले पानी पनि पिउनु हुन्नथ्यो । ७ बज्यो अस्पतालमा जान मलाई माइकबाट अनुरोध गरे । अस्पताल कोठामा गएँ । फास्टिंगको लागि रगत दिएँ । पी.पी.को लागि अहिले नै केही खाएर दुई घण्टा पछि रगत दिनु पर्छ भन्यो । खाना खाने बेला भएको छैन । दूध, पाउरोटी र विस्कुट खाएँ । घडी हेरेँ । बल्ल ८ः३० भएछ । १०ः३० बजे पी.पी.को लागि रगत दिएँ । पिशाव जँचाउन एउटा प्लास्टिकको भाँडामा राखेर दिएँ । यी सबैको लागि जम्मा रु.६५÷– मात्र लाग्यो । कति सस्तो ?
पत्रिका पढिरहेको बेला माइकबाट मेरो नाम बोलायो । ढोकामा गएको त नीम्ता आएकी रहिछिन् ।
“सरिताको भोलि परीक्षा छ । त्यसैले उनी तपाईंलाई भेट्न पर्सि आउने छिन् ।” नीम्ताले भनिन्, “पीर नलिनुहोस् नजराम बा, हामीले सकेको मद्दत गर्ने छौं ।”
हामी छुट्टियौँ । एकछिन पछि भतिजा केशमान र धन आए । सञ्चो विसञ्चोको कुराकानी भयो ।
“नजरराम सर, जसले जे भने पनि तपाईं निर्दोष हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।” धनले भन्यो ।
“कसले फसाएको हो, केही थाहा पाउनु भयो ?” केशमानले सोध्यो ।
“खोइ प्रमाण छैन, शङ्काको भरमा कसलाई दोष दिउँ ?” मैले भनेँ ।
“यो बाहिरबाट आएर बसेकाहरूको संगत गर्नै हुँदैन । उनीहरूलाई जतिसुकै सहयोग गरे पनि हाम्रो गुण सम्झँदैन । अहिले भित्र कस्तो छ ?” धनले सोध्यो ।
“राम्रो छ । मलाई त वृद्धाश्रममा बसिरहेको जस्तो लाग्छ ।” मैले भनेँ ।
“त्यो त अहिलेको यहाँको वातावरणले थाहा पाइसकेँ । २०३७ सालमा म पनि यहाँ बसेर गएको थिएँ । यहाँबाट कीर्तिपुर देखिन्छ है ? भित्र एउटा ढुङ्गे धारा थियो । अहिलेसम्म पनि छ कि ? खाना कसरी खानुहुन्छ ?” धनले जिज्ञासा राख्यो ।
“अहिले पनि ढुङ्गेधारा त तर पानी आउँदैन । खाना खानको लागि यहाँ चारवटा भान्साघर छन् । अहिले त आपूmले खाएको थाल पनि माझ्नु पर्दैन । दिनको ७०० ग्राम चामल र ४५ रुपैयाँ पाइन्छ । यहा“बाट कीर्तिपुर राम्ररी देखिन्छ । त्यही त दुःखको कुरा हो, आँखाले भ्याउने घरमा पनि जान पाइएन ।” मैले भनेँ ।
उनीहरूसँग निकैबेर कुराकानी गरेर विदा भएँ ।
त्यसको केही बेरमै फेरि मलाई माइकबाट बोलायो । ढोकामा जान लागेँ ।
“तपाईं दिनभरि यतैतिर बसिरहनु भएको भए हुन्थ्यो । किन तलमाथि गरिरहनु हुन्छ ? माइकबाट बोलाएको बोलाएकै छ ।” एकजना साथीले भन्यो ।
म केही नबोलिकन ढोकामा गएको त बाहिर छोरा मलाई पर्खिरहेको रहेछ ।
“आज पुनरावेदनमा मुद्दा दर्ता भएन । आइतवार मात्र दर्ता हुन्छ । तिहारपछि मात्र पेशी हुन्छ ।” छोराले मलिन अनुहार बनाएर भन्यो ।
“ममीको के हालखवर छ ?” मैले चिन्तित भएर सोधेँ ।
“ममीको हाल बेहाल छ ड्याडी । तपाई घरबाट निस्कनु भएदेखि न राम्ररी सुत्नु हुन्छ, न त खाना नै खानु हुन्छ । ममी तपाईंहरूको कोठामा सुत्नु हुन्न । भान्सामा डाइनिंग टेबुलमा बसेर खाना पनि खानुहुन्न । साह्रै पीर लिइरहनु भएको छ ।”
“मलाई केही हुँदैन । मैले सफाइ पाइहाल्छु । परिवन्दले मात्र मलाई भित्र पठाएको हो ममीलाई सम्झाउ न ।”
“मैले सम्झाएको त हो नि ? ममी मान्नुहुन्न । बाहिरका मानिसहरूले थरि थरिका कुरा गर्छन् । कसैले तपाईंलाई ५ वर्ष जेल सजाय हुन्छ भन्छन् । कसैले १५ वर्ष भन्छन् भनेर घरमा आएर रुनु हुन्छ ।”
समय सकियो भनेपछि उठेर आएँ । अरूबेला छोरा भेटेपछि मन हलुका हुन्थ्यो । अहिले भारी महसुस भयो ।
२०६७/०७/१३ (३० अक्टोवर २०१०) शनिवार— २४औँ दिन
श्रीमतीलाई पत्र मार्फत सम्झाउनु प¥यो भनेर ओम शान्तिमा नगइकन श्रीमतीको नाममा पत्र लेख्न थालेँ ।
प्रिय जीवन संगीनी कृष्णदेवी,
अशेष अनुराग, आँखाभरिको सम्झना, मुटुभरिको माया ।
हिजो छोरा मलाई भेट्न आउँदा ममीको के हालखवर छ भनेर सोधेको थिएँ । के भनूँ ड्याडी, ममीको हाल बेहाल छ, ममी रातभरि सुत्नुहुन्न, खाना पनि राम्ररी खानुहुन्न, हरेक पल तपाईंको पीर लिइरहनु हुन्छ भन्यो । यो सुनेर मेरो मन खिन्न भयो । मलाई पनि रुन मन लाग्यो । बिछ्यौनामा बसेर धेरैबेर रोएँ । रुँदारुँदै मेरो मुखबाट सु“क्कसु“क्क आवाज पनि आयो । सँगै सुतिरहेका साथीहरूले किन रोएको बा, नरुनु भनेर सम्झाए । हाम्रो कोठाका २५ जना वन्दीमध्ये सबैभन्दा जेठो र बूढो मै हूँ । सबैजनाले मलाई बा भनेर सम्मान गर्छन् । हो, रोएर के गर्ने ? तिम्रो हाम्रो हातमा केही पनि छैन । यो विधिको विधान हो । हाम्रो कर्मको फल हो । हाम्रो जीवन एउटा नाटक हो । हामी नाटकका पात्र हौं । त्यसैले रोएर अपशोच मानेर केही हुनेवाला छैन । त्यसैले मन दह्रो बनाएर यो परिस्थितिको सामना गर्नु नै हाम्रो बहादुरीपन हो ।
कृष्णा, हामी जीवनको गोरेटोमा एउटा रथको दुई पाङ्ग्रा भएर गुडेको ३७ वर्ष भएछ । चखेवाचखेवीजस्तै हामी सँधै सँगै हुन्थ्यौँ । एकले अर्कोको मनको भावना बुझेर दुःख सुख बाँड्थ्यौँ । हाम्रो जीवनमा अनेकौँ उतार–चढाव आए । कति दुःख कष्ट आयो । हामीले मिलेर सामना ग¥यौँ । तिम्रो साथ पाएर मैले सफलता हासिल गरेँ । तिम्रै सम्झनामा, तिम्रै मायाको बलले आज म भद्रवन्दी गृहमा जिउँदो छु । म छिट्टै तिमी कहाँ आउने छु । निराश नहुनु ।
हाम्रा ति विगतका दिनहरू सम्झ । हामीले समस्याहरूसँग कसरी जुध्यौँ । अरूहरूले विवाहपछि पढाइ छाड्छन् । तिम्रो प्रेरणाले मैले पढाइ सुरु गरेँ । काठमाडौंको थानाबहालमा हाम्रो डेरा थियो । म दिनभरि जनसेवा माध्यमिक विद्यालयमा पढाएर आउँथें । डेरामा पुग्ने बित्तिक्कै तिमीले मलाई खाजा ख्वाउँथ्यौँ । खाजा खाएर त्रिचन्द्र कलेजमा बि.ए.पढ्न जान्थें । कहिलेकहीँ आज कलेज जान्न भन्दा तिमीले मलाई रत्नपार्कसम्म पु¥याउन आउँथ्यौँ । क्याम्पसबाट फर्कंदा रातको १० बजी सकेको हुन्थ्यो । खाना खाएर म पढिरहन्थेँ । तिमीले मेरो पढाइमा कहिल्यै बाधा पु¥याइनौँ । स्वास्नीसँग डेरामा बसेर के पढ्छ ? भनेर गिल्ला गर्नेहरूलाई मैले बि.ए.पास गरेर देखाइ दिएँ । तिमी निरक्षर केटीले डेरामै बसेर नेपाली लेख्न पढ्न सिक्यौँ । तिमी कति मेहनती, परिश्रमी छौँ ।
कृष्णा, मैले तिम्रो एउटा इच्छा पूरा गर्न सकिनँ । तिमीले म शाखा अधिकृत भएको हेर्न चाहन्थ्यौं । त्यसैले मैले थुप्रै ठाउँमा थुप्रै पटक शाखा अधिकृतको परीक्षा दिएँ । कहिल्यै कहीँ पास गर्न सकिनँ । म अयोग्य भएर होइन । म कलेज पढ्दादेखि नै व्यवस्था विरोधी राजनीतिमा लागेका कारण ‘व्यवस्थाप्रति आस्था नभएको’ भन्ने आरोप लागेको रहेछ । म अन्याय, अत्याचार र शोषणको घोर विरोधी त्यसैले जनसेवामा खाइरहेको मास्टर जागिर पनि राजीनामा दिन बाध्य पारे । अनि सानो छोरा लिएर हामी वीरगञ्ज गएको होइन ? त्यहाँ पनि हामीलाई कबुल गरे बमोजिम साहुले तलब दिएन । छोरालाई खाना खुवाउन नसक्ला भनेर कति दिन आधा पेटमा गुजार्नु परेको थियो । वीरगञ्ज गएर पनि हामीले कति दुःख झेल्यौँ । तिमीले रातदिन स्वीटर बुनेर खर्च जुटायौँ । मैले बच्चाहरूलाई ट्यूसन पढाएँ । वीरगञ्जको रेशमकोठीमा दाउरा डिपो राखेँ । वीरगंज–जनकपुर चल्ने बसमा पार्टनरशीप गरेँ । मैले केही दिन कन्डक्टरी काम पनि गरेँ । त्यतिबेला मानिसहरूले हामीलाई कति हेला गर्थे । तैपनि हामी अलिकति पनि विचलित भएनौँ । तिम्रो गहना बेचेर हामीले कोइलाको व्यापार ग¥यौँ । तिम्रो माया र सल्लाहले ममा हिम्मत बढ्यो । काम गर्ने जाँगर बढ्यो । त्यसैले व्यापारमा हामी सफल भयौँ । वीरगंञ्जमा घर बनाएँ । जग्गा किनेँ । कीर्तिपुरमा जग्गा किनेर घर बनाएँ । हाम्रो व्यापारको सफलताले हाम्रा साथीभाइहरू, नातेदार र आफन्तले पनि हामीबाट फाइदा लिए ।
कृष्णा, त्यतिबेला तिम्रा आफन्तहरूले तिमीलाई भाग्यमानी मान्दथे । मेरो परिवार र आफन्तहरूले तिमीलाई ‘साक्षात लक्ष्मी’ ठान्थे । त्यस्तो गरीव परिवारमा तिम्रो आगमनले यति सम्पन्न बनायो भन्थे । मलाई पनि हिम्मतदार र मेहेनती भनेर प्रशंसा गर्थे । तिमीजस्तो जीवन साथी पाएर म खुशी थिएँ । तिमी सुन्दरी, चिटिक्क परेकी, तिम्रा ती ठूलाठूला गाजलु आँखाहरू, पिडौलासम्म पुग्ने तिम्रा ती निख्खर कालो बाक्लो कपाल र बान्की परेको जिउडाल हेरेर मेरा साथीहरूले ईष्र्या गर्थे ।
कृष्णा, तिमी कति हिम्मतदार महिला हौ । आज म आपूmले नगरेको अपराधमा आरोपित भएर जेल पर्ने बित्तिक्कै तिमी किन निराश भयौँ ? किन हतोत्साही भयौँ ? म मरेको छैन । अहिलेसम्म बाँचेकै छु । जीवितै म जेलबाट फर्किन्छु । म अपराधी होइन । मलाई आरोपमात्र लगाइएको हो । मेरो मुद्दाको फैसला भएको छैन । त्यसैले म कैदी होइन । थुनुवा मात्र हुँ । तिमीले ठानेकी हौली जेलमा मैले कति दुःख पाइरहेको होला भनेर । हामीले बाहिर बसेर सोचे जस्तो यहाँ केही तकलिफ छैन । मलाई त लाग्छ म वृद्धाश्रममा बसिरहेको छु । यहाँ समयमा खाना खान पाइरहेको छु । मन्सुली चामलको भात, दुई थरी तरकारी र गोलभेडाको अचार खान पाइरहेको छु । मैले एक पैसा तिर्नु पर्दैन । आपूmले खाना खाएको थालसम्म पनि पखाल्नु पर्दैन । विहान छ बजेदेखि साँझ पाँच बजेसम्म पैसा तिरेर चिया, कफी खान पाइन्छ । विहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म भात खाइसक्नुपर्छ । बेलुका ९.३० बजेसम्म बिछ्यौनामा जानुपर्छ । हल्ला गर्न पाईंदैन ।
म विहान सबेरै उठेर नित्यकर्म गर्छु । यहिँ खेलकुद ग्राउण्डमा मर्निंग वाक गर्छु । ६ः३० बजे होटलमा गएर बिना चीनिको दूधवाला चिया, अण्डा वा विस्कुट खान्छु । त्यसपछि ओम शान्ति हलमा गएर ध्यान बस्छु । प्रवचन सुन्छु । ८ बजे फिल्टरको खाने पानी थाप्छु । त्यसपछि एकछिन घाम ताप्छु । फेरि एक कप चिया खाएर आफ्नो बेडमा आउँछु । अनि चिठ्ठि लेख्नु परे लेख्छु नभए डायरी लेख्ने गर्छु । डायरी लेख्न सिध्याएर कहानी लेख्छु । १० बजे डायविटिजको औषधी खान्छु । आधा घण्टा बाहिर घुम्छु । १०ः३० बजे खाना खान्छु । एकछिन घाम ताप्छु । अनि पुस्तकालयमा गएर पत्रिका पढ्छु । त्यसपछि मलाई भेटघाट गर्न आउनेहरूस“ग भेट्दा भेट्दै दुई तीन बज्छ । मलाई भेट्न आउनेहरू मध्ये कसैले मासु, चिउरा, कसैले फलपूmल, कसैले सुगर फ्री विस्कुट ल्याएको हुन्छ । त्यही खाजाको रूपमा खान्छु । यहाँ भित्र होटलमा पनि कहिले छ्वय्ला, कहिले बफ चिल्ली, कहिले तास, कहिले ममः बनाएको हुन्छ । चार बजेदेखि ६ बजेसम्म साथीहरूसँग गफ गर्दै बित्छ । ६ बजे औषधी खाएर ६ः३० बजे खाना खान्छु । एकछिन यताउता घुमेर ७ बजे ओम शान्ति हलमा गएर ध्यान बस्छु । टी.भी. मा शिवानीको प्रवचन सुन्छु । त्यसपछि बेडमा आएर सुत्छु ।
कृष्णा, यसरी मेरो दिन आरामले बितिरहेको छ । यहाँ मेरो कोठाको नाईके, सहनाईके, भाइनाईकेहरू हाम्रा छोरा भन्दा कम उमेरका छन् । साहै्र राम्रा मान्छेहरू छन् । उनीहरूमध्ये कसैले मलाई बा भन्छन्, कसैले अंकल भन्छन् । उनीहरूको व्यवहार हेर्दा साहै्र माया लाग्छ । त्यसैले कृष्णा, जेलमा परेकाहरू सबै खराव मान्छे होइनन् । बदमाश छैनन् । सबैको हृदयमा भगवान छन् । कोही मजस्तै फसाइएका छन् । कोही परिवन्दले जेल परेका छन् । अरूले भने वमोजिम नेपालको जेलहरूमा सबैभन्दा राम्रो र व्यवस्थित जेल यही नै हो ।
कृष्णा, तिमी हरेश नखाउ । हिम्मत नहार । तिमी आपूm जवान छँदाको विगत सम्झ त । छोरा ५ वर्षको थियो होला । तिमी जवान थियौँ । म जवान थिएँ । कामको सिलसिलामा त्यतिबेला महिनाको १५ दिन म वीरगंजबाट बाहिरै हुन्थेँ । तिमी र छोरामात्र वीरगञ्जमा हुन्थ्यौँ । त्यतिबेला तिमीलाई छाडेर जान म हिचकिचाउँथेँ । तिमी मलाई ढाडस दिएर भन्थ्यौँ,“धन्दा मान्नु पर्दैन, जहाँ जानु पर्ने हो जानु मेरो चिन्ता नलिनु । मेरो सुरक्षा म आफै गर्न सक्छु । म कसैको कोठामा जान्न । मेरो कोठामा पसेर कसैले केही गर्न खोजे अगाडि जे हतियार छ त्यसैले हानिदिन्छु ।’
अनि तिम्रो हिम्मत देखेर म उत्साहित हुन्थेँ । निर्धक्क भएर आफ्नो काममा लाग्थेँ । हामीले सफलता पनि पायौँ । कृष्णा, त्यतिबेला तिमीस“ग सानो छोरा बाहेक वीरगञ्जमा आफ्नो भन्ने कोही पनि थिएन । आज हामी आपूm जन्मेको ठाउँ, कीर्तिपुरमा बसिरहेका छौं । जहाँ हाम्रो आफन्त, नातेदार, साथीहरू सबैजना छन् । सबभन्दा ठूलो कुरा त आज तिमीसँग जवान छोरा–बुहारी र नाती छन् । हिजो मैले कमाउन नसक्दा हाम्रो घरको चुल्हो बल्दैनथ्यो । आज हाम्रो घरको स्थिति त्यो छैन । मैले कमाउन नसक्दैमा हाम्रो घरको चुल्हो नबल्ने होइन । विगत आठ वर्षदेखि कमाउन छाडेर समाजसेवामा लागिरहेको छु । तैपनि हामी भोकै छैनौँ । अहिले हाम्रो जीवनमा अभाव भनेको हामी सँगै बस्न नपाएको मात्र त हो नि ।
मेरो जीवनरूपी रथको पाङ्ग्रा, मेरो जीवनको प्रकाश, मेरो हिम्मतको बलियो खम्बा कृष्णा † तिमी नरुनु । तिमी रोएको भन्ने मात्र सुन्दा आज मलाई यत्रो पीडा भयो । साँच्चीकै तिमीलाई केही भयो भने म त जिउँदै मर्छु । शायद हृदयाघात भएर म जेलमै मर्छु होला । त्यतिबेला छोराको कत्रो विजोग हुन्छ ।
त्यसैले मेरी प्यारी कृष्ण † तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ । यो एकहप्ता भित्रमा मलाई भेट्न आउनु । म तिम्रो प्रतीक्षामा छु ।
तिम्रो जीवन साथी
दिउँसो चिया खाएर डाँडामा बसी चुरोट तानिरहेको बेला माइकबाट मेरो नाम बोलायो । को आएको होला भनेर गएको त तुयू वहादुर र जितेन्द्र आएका रहेछन् । उनीहरूसँग भेट भयो । सञ्चो विसञ्चोको कुरा भयो । मेरो मुद्दाको बारेमा कुरा भयो । तुयू वहादुरले त मैले त्यो अपराध गरेकै हो भन्ने ठोकुवा गर्दै मसँग सोध्यो, “साथीको नाताले वास्तविक के भएको हो मलाई नढा“तिकन भन त बच्चाहरूलाई खाटमा राखेर गरेको कि भुईंमा राखेर गरेको ?”
उसको कुरा सुनेर म छक्क भएँ । के सोधेको होला ? मलाई ऊदेखि रिस पनि उठ्यो । तैपनि मैले रिस थामेर भनें, “तिमीले के भन्न खोजेको ? मेरो के मुद्दा हो थाहा छ ? मैले बलात्कार ग¥यो भनेको छ र ? कहाँ राखेर गरेको भनेर सोध्नलाई ? मैले जवरजस्ती गर्न खोजेको मात्र भनेको छ । त्यो पनि गर्दै नगरेको झुटो आरोपमात्र लगाएका हुन् । बच्चाहरूको कुमारी जाली नच्यातेको भनेर मेडीकल रिपोर्ट आइसकेको छ ।’
हामी दुई जना वीच निकै चर्काचर्की भयो । जितेन्द्र मुख अँध्यारो पारेर बसिरह्यो । उसले एक शब्द बोलेन ।
“तिमी साथीको नाताले मलाई सान्त्वना दिन आएको कि पीडा दिन आएको ? तिमीले के भन्न खोजेको ?” मैले सोधेँ ।
“तिमी वाहिर ननिस्केसम्म अब ज्वजलपा पत्रिका निस्किँदैन ।” कति न उसको सहयोगले प्रकाशित भइरहेको जस्तो तुयू वहादुरले भन्यो ।
“किन त्यत्रो साथीहरू छन् । म कारागारमा परेर के भयो ?”
“किनभने पत्रिका वितरण गर्न जाने पनि कोही छैन । सन्ध्या टाइम्स पनि अब कीर्तिपुरमा ल्याउन छाड्यो ।” उसले वडो गर्वका साथ भन्यो ।
“ज्वजलपाको नामबाट पत्रिका निकाल्न असुविधा भए अरू कुनै नामले निकाले पनि त हुन्छ नि ।”
“अर्को नामबाट पत्रिका निकाल्न पैसा छैन । पैसाको व्यवस्था गरी देउ ।” उसले भन्यो ।
“म कारागारभित्र परेको मानिसले कसरी पैसाको व्यवस्था गर्ने ? तिमी त नेपाल भाषाको नाममा पैसा कमाइरहेको मान्छे । तिमी नै लगानी गर ।” मैले भनेँ ।
उनीहरू फर्केर गए । मेरो मनमा कुरा खेल्न थाल्यो । नेपाल भाषाका कीर्तिपुरका चार खम्बा मध्ये आपूmलाई एउटा खम्बा ठान्ने मान्छे । नेपाल भाषा पढाएरै तीन तीन ठाउ“बाट तलब लिइरहेको मान्छेले आपूmले पनि केही गर्छु भन्ने त कहाँ कहाँ मसँग पो पैसा माग्छ । उसले त नेपाल भाषालाई दुहुनो गाई पो बनाएका रहेछन् ।
सन्ध्या टाइम्स पत्रिका मैले नै कीर्तिपुरमा बा“ड्न लगाएको थिएँ । अब बन्द भयो भनेर गर्व ग¥यो । यस्ता नक्कली नेपाल भाषा प्रेमीहरूले गर्दा त आज नेपाल भाषाको यो हातल भएको । काम केही नगर्ने पद नभइ नहुने ।
३ः३० बजेतिर माइकबाट फेरि मेरो नाम बोलायो । निरज आएको होला भनेर गएको त लक्ष्मी र नीलम आएका रहेछन् । पहिले पब्लिक भेटघाट गर्ने ठाउँमा पठायो पछि फेरि स्टाफ भेटघाट गर्ने ठाउँमा पठायो । एक छिन के कुरा गरेको थिएँ । भेटघाटको समय सकियो भनेर हामीलाई उठायो । अरू दिन अलि चाँडै आउँला भनेर उनीहरू गए ।
२०६७/०७/१४ (३१ अक्टोवर २०१०) आइतवार—२५औँ दिन
खाना खाँदै गर्दा माइकबाट मेरो नाम बोलायो । ढोकामा जाँदा निरज र भरतलाई देखेँ । भेटघाट गर्न गएँ ।
हिजो तुयू वहादुरसँग भएको कुरा बताउँदै भनेँ, “अब ज्वजलपा पत्रिका बन्द गर ।”
“तपाईं भित्र परेर के भयो त ? हामी प्रकाशित गर्छौ । भरत र म मिलेर चलाउँछौँ ।” निरजले भन्यो ।
“ठीकै छ । भरत, राज्य, जितेन्द्र, श्रीकृष्ण सबैसँग सल्लाह गरेर अर्को नामबाट चलाउ । पत्रिका पछि दर्ता गरे पनि हुन्छ ।” मैले भनेँ, “पत्रिका कसले बांँड्छ ?”
“म बांँड्छु । म खट्छु ।” भरतले भन्यो ।
“१७ नं.पुनरावेदनमा मुद्दा दर्ता गर्न लागेको छु । अहिले हतार गर्नु हुँदैन । १७ नं बाट धरौटी या सामान्य तारिखमा छुडाउने प्रयास गर्दैछु ।” निरजले भन्यो ।
निरजले मैले लेखेका नेपाल भाषाका ६ वटा उपन्यासहरू र एउटा कथा संग्रह दियो । एउटा टिफिन क्यारियर पनि दिएर गयो ।
कोठामा आएर टिफिन क्यारियर खोलेर हेरेँ । बारा (ओ) र छ्वयला पठाएको रहेछ । अस्ति कुखुरा मासु मात्र पठाउँथ्यो । अति भएपछि खति हुन्छ भनेझै मलाई चिकेन खानै मन लागेन । त्यसैले छ्वय्ला ल्याइदेउ भनेको थिएँ । बारा, छ्वय्ला र चिउरा खाजा खाने बेलामा खाएँ । मिठो लाग्यो । मिठो पनि किन नलाग्ने ? यस खानामा घरको स्वाद छ, स्वास्नीको माया थियो । घरका मान्छेहरूको मायाले त म यहाँ आनन्दले बसिरहेको थिएँ । बस्न सकेको थिएँ । मेरो मुहार सँधै हँसिलो देखेर अरूहरू छक्क पर्थे । अस्ति ब्लड दिएको ब्लड टेस्टको रिपोर्ट आयो कि भनेर सोध्दा आइसक्यो भनेर रिपोर्ट दियो । फास्टिंगमा ११६ र पीपीमा २०९ आएको रहेछ । मेरो सुगर त बढेको रहेछ ।
No comments:
Post a Comment