कथा ‘कृष्णेकी आमा’
प्रेमकृष्ण श्रेष्ठ
कृष्णेले जीवनमा कैले मोटर चढेको थिएन । यसकारण मोटर उस्को लागि सपनाको वायुपङखी घोडा थियो । कृष्णेले आफ्नी आमा पनि मोटरमा सवार भएको कैले देखेको थिएन । यसकारण मोटरमा चढ्दा कस्तो अनुभूति हुन्छ आमा ? भनेर कैले सोधेन । मोटर चढ्ने रहरै रहर बढिरहेको समयमा एकदिन कृष्णेले आफ्नी आमालाई एउटा मोटरमा सवार भएको देख्यो । कृष्णे त्यो बेला स्कुलबाट घर फर्किरहेको थियो । मलाई मोटरमा नराखी किन एक्लै आमा चढ्नुभयो ? कृष्णेले आफ्नी आमाप्रति खुब चित्त दुखायो । उस्ले त्यस मोटरलाई बाटैमा समात्न मोटरको गति जति नै आफ्नो गति पनि बढाएर दौड्यो । मोटर उस्को घरको आँगनमा रोकियो । मोटर चढ्न पाएको आमा खुशिले हाँस्दै ओर्लेलिन भनेर कल्पना गरेको त, आमा रुँदै मोटरबाट झरेको दृुश्य कृष्णे विस्मित भयो । मोटरको छातीमा ठूलो अक्षरले लेखिएको थियो — शवबाहन । कृष्णेले त्यो शब्दको अर्थ त बुझेन । त्यो बेला रुनु भएकी आमालाई आमा, किन रुनु भयो भनी प्रश्न नगरी त्यस्को सट्टामा सपनाको वायुपङखी घोडामा चढ्न नपाएको दुखेसो पो ब्यक्त गर्यो । ‘किन मोटरमा नराख्नु भएको मलाई ? तपाईले त मोलाई माया नै गर्नुहुन्न ।’ त्यो बेला आमाले रुँदै कृष्णेलाई छातीमा च्यापेकी थिइन् ।
कृष्णे यस्तै ८ बर्ष हुँदाको कुरा हो । असारको महिना भएकाले पानी खुव दर्किएको थियो । त्यो बेलाको पिलन्धरे झरी पर्यो भने दुईदिनसम्म सृष्टिमा बास लिन्थ्यो । सवैका आमाहरु हातमा आधुनिक छाता लिएर आ—आफ्ना छोराछोरीलाई लिन बिद्यालय आएका थिए । कृष्णेले पनि त्यो बदमास झरीबाट आफूलाई संरक्षण दिन आफ्नी आमाले पनि वायुपङखी छाता लिएर आउने कल्पना गरेको थियो । तर आमा आउँदा हातमा वायुपङखी छाता होइन, गाउँतिर रोपाइँको बेलामा ओढ्ने घुम लिएर आउँदा कृष्णे खिन्न बन्यो । चुहेको छाना जस्तै चुहिरहेको त्यो घुम देखेर उस्लाई आत्मग्लानी भयो । आफ्ना साथीहरुका आमाहरुले लिएर आएको छातासँग आफ्नो आमाले लिएर आउनु भएको छातालाई तुलना गर्यो । निकै विभेद चर्किए पछि कृष्णेले आमालाई रिसाउँदै बोल्यो –‘यो घुम तपाई नै ओढ्नुस । म यस्तो घुम ओढेर तपाईसित घर जान्न भन्दै’ कुष्णे असारको दर्कदो मुसलधारे पानीमा रुझेरै घरसम्म कुलेलम ठोके ।
यस्तै कृष्णे नौ बर्षको हुँदा बिद्यालयमा अभिभावक दिवश भएको थियो । सवै साथीहरु आ– आफ्ना बाबुआमा लिएर बिद्यालय आएका थिए । सवैका पोशाक चिटिक्क परेको थियो । कृष्णेले आफ्नी आमालाई नियाल्यो । आफ्नी आमाको मैलो त्यो पनि दुईचार ठाउँमा फाटेको सारी देखेर कृष्णेलाई आफ्नी आमा र साथीहरुको आमालाई तुलना गरी ग्लानी भयो । कृष्णेले आमालाई गुनासो गर्यो—‘अरुका आमाहरु कति नयाँ–नयाँ लुगा लगाएर अ’का छन् । तपाई मात्र सेतो र मैलो लुगा किन लगाउनु भ’को आमा ? मोलाई त तपाईलाई आमा भन्न पनि लाज लाग्छ’ कृष्णेले यसो भन्दा पनि आफ्ना छोरालाई गर्लम्म अँगालो हाली कृष्णेकी आमाले दुईचार थोपा आँसु झार्न बिर्सिनन् ।
कृष्णे दश बर्षको हुँदा आमा नियमितरुपमा दमको औषधि सेवन गरिरहन्थी । उस्लाई त्यो औषधिको झोल, कुनै फलफूलको झोल जस्तो लाग्यो । उस्ले एक्लै त्यो झोल खाँदा आमालाई भन्थ्यो — ‘आमा, मलाई पनि स्याउको रस ।’ आमाले यो खानुहुन्न बाबा भन्दा कृष्णेले रिसाउँदै भन्थ्यो — ‘तपाई त कस्तो नहुने, एक्लै खानुहुन्छ । मलाई त माया पनि गर्नुहुन्न ।’
आज कृष्णे अठार बर्षको किशोर भइसकेको छ । उस्को ओठमाथि जुँगाको रेखी पनि बसिसकेको छ । आज उस्लाई जीवन र मृत्युको बारेमा रामै्र बोध भइसकेको छ । छ बर्ष भयो आमाले पनि संसार छोडेर, कृष्णेलाई टुहुरो बनाइ गएको । आमासँग जोडिएका एक–एक संस्मरण सम्झिँदै आउँदा मन चिस्याउँछ । आज कृष्णेले आफ्नी स्वर्गीय आमाको नौ बर्ष अघिको सेतो वस्त्र लुगाको फोटामा हेरी भनेका छन् — एउटी बिधवा गरीव आमाले आफ्नो संतानको लागि त्यो भन्दा बढी त्याग अरु के नै गर्न सक्थ्यो र ! कृष्णे आज धुरुधुरु रोएको थियो ।
No comments:
Post a Comment