प्रचारमा आउन नचाहने समाजसेवी हरि महर्जनसंग एकछिन
कीर्तिपुर नगरपालिका वडा नं. ८ द्यःचपामा बस्नुहुने समाजसेवी हरि महर्जनको गत कार्तिक १९ गते स्वर्गारोहण हुनुभयो । उहाँको स्मरणमा उहाँको २०७३ कार्तिक ३ गते बुधबार कीर्तिपुर सन्देश साप्ताहिकमा प्रकाशित उहाँको अन्तर्वार्ता यहाँ पुनः प्रकाशित गरेका छौं । जसबाट उहाँको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ —सं
(हरि दाइ, हरि मारसाब नामले चिनिने हरि महर्जन वि.सं.१९९५ जेठ महिनामा बुबा तरिबाबु महर्जन र आमा लाती महर्जनको कोखबाट पाँगाको तुँचाखेलमा जन्मनु भएको थियो । वि.सं.२०३३ सालदेखि उहाँ शहिदपथ पाँगामा बस्दै आउनु भएको छ । उहाँको २ जना छोराहरू आजाद महर्जन र अमिर महर्जन हुनुहुन्छ । उहाँको ३ जना छोरीहरू हरिदेवी, मेनकुमारी र रुपा महर्जन हुनुहुन्छ । उहाँको जीवन संगिनी नजरमाया महर्जन धेरै वर्ष पहिलेनै दिवंगत भइसकेको छ । उहाँसँग हाम्रा सम्बाददाता रामभोला महर्जनले लिनु भएको भलाकुसारीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।(संपादक)
तपाई तत्कालिन समयमा कीर्तिपुर पाँगा क्षेत्रको शिक्षित व्यक्ति मध्ये एक भन्ने चिनिन्छ । तपाईंको शिक्षा दिक्षा कहाँ भयो ?
—त्यतिबेला चोभारको गुरुबाजेले पढाउनु हुने भाषा पाठशालामा पढेर अक्षर चिनें । त्यसपछि कक्षा ८ सम्म पाँगाकै जल विनायक आधार स्कुलमा पढें । त्यसपछि सेना अन्तर्गतको रिसल्ला तबेलामा बहिदार जागिर खान गएँ । जागिर खाँदै दरवार स्कुलमा संचालित त्रिभुवन प्रौढ शिक्षामा विहान पढेर एस.एल.सी. पास गरें । जागिर खाँदै पढ्दै मैले वि.कम.सम्म पास गरेको छु ।
तपाई सेनामा जागिर खान गएको मान्छे पछिल्लो समयमा त नेपाल राष्ट्र बैंकबाट रिटायर हुनुभएको थियो ।
—हो मैले सुरुमा सेनाको रिसल्ला तबेलामा बहिदार पदमा काम गरेको थिएँ । २०२२ सालमा नेपाल राष्ट्र बैंकमा हेड असिष्टेन्टमा नोकरी गरेको थिएँ । त्यहाँ २० वर्षसम्म काम गर्दा पनि मैले प्रमोशन पाउन सकेन । प्रमोशन पाउने बेलामा म भन्दा जुनियर व्यक्तिलाई पदोन्नति गरिदियो । आपूmभन्दा जुनियर व्यक्तिको मुनि बसेर काम गर्न मेरो स्वाभिमानले दिएन । मेरो पेन्सन पनि पाकीसकेको थियो । त्यसैले मैले आफ्नो स्वाभिमानको लागि जागिरबाट अवकाश लिएँ ।
तपाईंलाई पुराना मान्छेहरुले हरि मारसाब भन्ने गरिन्छ । तपाईंको पेशा त शिक्षण पेशा होइन रहेछ ।
—पाँगामा २०१८ सालमा लाछिको रामवहादुर दुवाल, भुजिन्दको सुकराम महर्जन, हिम्मत नारायण महर्जन, ढोकाफलको विष्णुवीर महर्जन, सिकुछेँको जितवहादुर महर्जन, दुर्गावहादुर महर्जन लगायत मिलेर तत्कालिन कन्ट्रोलर शिवहरि शर्मा, कृष्ण प्रसाद रिमालको सहयोगमा पाँगा लाछिमा जनसेवा प्रौढ हाईस्कुल स्थापना गर्नु भएको थियो । त्यही स्कुलबाट तत्कालीन तुँचाखेलका अर्जुन महर्जन र नन्दवहादुर महर्जनले एस.एल.सी. जाँच दिनु भएको थियो । जनसेवा प्रौढ हाइस्कुल दुई तीन वर्ष संचालन भएर बन्द हुने अवस्था आयो । पुराना संचालकहरुले छाडेर गए । २०२२ सालमा धोकासीको बुद्धिवहादुर महर्जन, ढोकाफलको मोहनलाल महर्जन, शुकराम दाई, नन्दवहादुर, अर्जुन र म लगायत तत्कालिन अवस्थामा एस.एल.सी. पास भैसकेका अलि शिक्षित व्यक्तिहरु मिलेर स्कुल पुनः संचालन गरेको थिएँ । त्यसबेला बुद्धि वहादुर हेड मास्तर हुनुहुन्थ्यो । उहाँ जागिरको सिलसिलामा बाहिर जानु परेपछि मैले कार्यवाहक हेडमास्टर पनि चलाएको थिएँ । त्यसरी प्रौढ स्कुल चलाएकोले मलाई हरि मारसाब भनेर बोलाउने गथ्र्यो । नयाँ शिक्षा नीति आएपछि जल विनायक मिडिल स्कुल र जनसेवा प्रौढ हाईस्कुललाई मिलाएर २०२९ सालमा जनसेवा माध्यमिक विद्यालय भए पछि तत्कालिन हेडमास्टर उत्तम रत्न बज्राचार्यलाई स्कुल हस्तान्तरण गरेर विदा लिएको थिएँ ।
जनसेवा माध्यमिक विद्यालय स्थापनामा तपाईंको ठूलो योगदान छ भनिन्छ । के के योगदान गर्नुभयो ?
—जनसेवा माध्यमिक विद्यालय स्थापना गर्न तत्कालिन अवस्थामा पाँगाका हरेक नागरिकहरुको ठूलो योगदान रहेको छ । भवन नभैकन माध्यमिक विद्यालय नदिने । लाछिको भवनले मात्र पुग्दैन । सबभन्दा पहिलो तडकारो त भवनको भयो । भवन बनाउन तत्कालिन हामी युवाहरुले दिलोज्यान दिएँ । इचाखेलमा भवनको शिलान्यास त गरियो । तर जग हाल्न पनि पैसा थिएन । तत्कालिन शिक्षा मन्त्री जोगमेहर श्रेष्ठले १८ सय रुपैयाँको चेक, तत्कालिन जिल्ला पंचायत सभापति रुद्र प्रशाद शर्माले २ हजार रुपैयाँको चेक दिनुभयो । त्यो बाहेक हामी सबैजना मिलेर दश हजार रुपैयाँ जम्मा गरी जगसम्म हालेको थिएँ । जग हाल्न ढुंगा कीर्तिपुर नयाँबजारको ढुंगा खानीबाट ढुंगा सहयोग लिन दथलको गोपाल दाइको माध्यमबाट द्वारिका महर्जनबाट सहयोग लिएको थिएँ । त्यतिबेला पाँगाका मानिसहरु खर्पन बोकेर कीर्तिपुरको नयाँबजारदेखि बोकेर ल्याउँथें । चौकोस झ्याल बनाउन पाँगाका टोल टोलबाट सित्तैमा बनाएर दिएको थियो । त्यसमध्ये सबभन्दा बढी चौकोस बनाएर सहयोग गर्नेमा धुसिटोलको योगदान रहेको छ । त्यस्तै छाना छाउनु प¥यो । हामीसँग पैसा थिएन । विष्णुविर र सिकुछेँको धनदास दाइले घरघरबाट छ्वाली सहयोग लिने प्रस्ताव ल्याए । त्यो छ्वाली उठाउने जिम्मा धनदास दाइले लिनुभयो । दकर्मि काम पनि धेरैजसो जनश्रमदानबाट भएको थियो । धुसिटोलका थिमि दाइ र बुद्धिवहादुर दाइले दकर्मि काममा श्रमदान दिएपछि ज्यालामा काम गर्न दिएको थिएँ । त्यसबेला पानी परेर आधा काम मात्र भयो भने आधा दिनको मात्र ज्याला लिनु हुन्थ्यो । यसरी सम्पूर्ण पाँगालीहरुको मेहेनत र सहयोगले बनेको हो । यसमा कुनै एक व्यक्तिले मात्र मैले बनाएको भन्यो भने त्यो अन्याय हुनेछ । निस्वार्थ भावले मिलेर काम गर्दा जे पनि गर्न सकिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।
तपाईंलाई नेपाली कांग्रेसको कीर्तिपुरको इमान्दार नेता भनेर पनि चिनिन्छ । तपाईंको नेपाली कांग्रेस पार्टीमा संलग्नता कस्तो छ ?
—वि.सं.२०१४ सालको भद्रअवज्ञा आन्दोलनमा पाँगाको हरिगोविन्द श्रेष्ठको अगुवाईमा पाँगाका थुप्रै जनाले भाग लिएका थिए । त्यसमध्ये म पनि एक जना परें । त्यसबेला गणेशमान सिहको चाकसीबारीमा एक रात बसेर धर्ना दिन गएको थिएँ । त्यसबेला हामीलाई ६ दिनसम्म थुनामा राखेको थियो । तैपनि मैले कांग्रेस पार्टीको सदस्यता लिएको थिएन । २०४६ सालमा बहुदल व्यवस्था आएपछि मात्र मैले नेपाली कांग्रेसको सदस्यता लिएको हुँ । त्यसपछि निरन्तर रुपमा नेपाली कांग्रेसको कार्यकर्ता भएर समाज सेवा गर्दै आइरहेको छु । अहिले आफ्नो स्वास्थ्यको कारण निश्क्रिय रहन बाध्य भएँ ।
हाम्रो कीर्तिपुर भेगमा नेपाली कांग्रेसको त्यत्रो बर्चश्व हुँदाहुँदै पनि २०१५ सालको चुनावमा नेपाली कांग्रेस हा¥यो भन्ने सुनेको छु । त्यो कसरी भयो अलिकति बताई दिनुहुन्छ कि ?
—हो, त्यो त साहै्र दुःखद कुरा थियो । त्यो सबै नेता हरिगोविन्द श्रेष्ठको दुईटा डुंगामा पाईला राख्नुका कारण भएको हो । नेपाली कांग्रेसका नेताहरु गणेशमान सिंह, विश्वेश्वर प्रसाद कोइराला जतिकै शक्तिशाली नेता हुनुहुन्थ्यो । सबैले उहाँलाई त्यतिकै मान्नुहुन्थ्यो । उहाँको दरवारमा पनि त्यतिकै पहुँच थियो । राजा महेन्द्रलाई पाँगाको भ्रमण पनि गराउनु भएको थियो । २०१५ सालको चुनावमा उहाँलाई नेपाली कांग्रेसले टिकट दिएन । उहाँ दरबारको उम्मेदवारको रुपमा स्वतन्त्र उम्मेदवार बन्नुभयो । नेपाली कांग्रेसले त्रिपुरवर सिंहलाई उम्मेदवार बनायो । त्यसबेला दरवार नजिकको पार्टी गोरखा परिषदबाट नरवहादुर थापाले जितेको थियो । त्यसबेलादेखि हरिगोविन्द श्रेष्ठको राजनैतिक पतन भयो । उहाँले सही समयमा सही निर्णय गर्न सक्नु भएन । २०१७ सालमा पंचायत व्यवस्था आए पनि उहाँ पंचायतमा जानु भएन । कांग्रेस पार्टीले विश्वास गर्न छाडीसक्या । पछि पंचायतलाई समर्थन गर्ने कि जेलमा बस्ने भनेर तत्कालिन अञ्चाधीश विष्णुमणी आचार्यले भनेपछि उहाँ पंचायतमा लाग्नु भएको थियो ।
पंचायतकालमा तपाईंको राजनीति कस्तो रह्यो ?
—पंचायतकालको राजनीतिको के कुरा गर्ने ? नेपाली कांग्रेसका नेताहरु कोही जेल परे । कोही पंचायतमा प्रवेश गरे । हामी त्यसपछि कांग्रेसको राजनीति भित्र भित्र सक्रिय रहे पनि बाहिर देखा परेन । पंचायत विरोधी भन्ने बितिकै जेल नेल भोग्नु पथ्र्यो । पंचायतकालको राजनीतिको कुरा गर्दा काठमाडौंमा जोगमेहर श्रेष्ठ र श्याम प्रसाद श्रेष्ठ बीचको प्रतिस्पर्धानै त्यतिबेलाको राजनीति थियो । हामी जोगमेहर श्रेष्ठको पक्षमा थियौं । पाँगाको बालकुमारी गाउँ पंचायतको चुनावमा महन्त श्रेष्ठलाई हराउन लागि परेको थिएँ । तर उहाँले चुनाव लडुन्जेल हराउन सकेन ।
त्यसको प्रमुख कारण के हो ?
—उहाँ श्याम प्रसाद श्रेष्ठको पक्षमा हुनुहुन्थ्यो । हामी जोगमेहर श्रेष्ठको पक्षमा थियौं । उहाँले गाउँको विकासको काममा खासै उल्लेखनिय काम नगरे पनि गाउँका मानिसहरुको व्यक्तिगत काममा सहयोग गर्नु हुन्थ्यो । कसैलाई कुनै आपत विपत प¥यो भने आपूmले सक्दो सहयोग गर्नु हुन्थ्यो । उहाँ व्यक्तिगत कारणले नै जित्नु भएको थियो ।
त्यसपछि तपाईंले के कस्तो समाजसेवा गर्नुभयो ?
—जागिरे जीवनमा पनि मैले पाँगामा हुने हरेक सामाजिक शैक्षिक काममा सक्रियतापुर्वक भाग लिएँ । चोभारदेखि पाँगा धोकासीसम्मको बाटो ग्राभिलिङ र पाँगादेखि नयाँबजारको बाटो निर्माणमा पनि मैले सक्रिय सहभागिता देखाएँ । २०४६ सालपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिई नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर विभिन्न सामाजिक कामहरु गरेको छु । अहिले त स्वास्थ्यको कारणले म कहिं जान सकेको छैन ।
पहिलेको राजनीति र अहिलेको राजनीतिमा के भिन्नता पाउनु भएको छ ?
—पहिले राजनीति गर्ने भनेको देश र समाजको भलाईको लागि गर्थे । अहिले व्यक्तिगत स्वार्थको राजनीति गर्ने भएको छ । कुनै पनि पार्टीको नीति नियम हे¥यो भने सबैको राम्रो लाग्छ तर व्यवहारमा ठीक उल्टो छ । अहिले व्यक्तिगत समुहगत राजनीति हुन लागेको छ । खासमा भन्ने हो भने अहिले राजनैतिक पार्टी होइन समुहगत पार्टीको रुपमा चलिरहेको छ । देश गरीव छ तर नेताहरु एकसे एक धनी भएका छन ।
अहिलेका युवा पुस्तालाई तपाईंको के सुझाव छ ?
—अहिलेका इमान्दार युवाहरुले राजनीतिमा खासै चासो लिएको देखिंदैन । उनीहरु वर्तमान राजनैतिक पार्टीहरुबाट निरुत्साहित भएका छन । जसको कारण विदेश पलायन हुने चलन बढ्दै गइरहेको छ । म युवाहरुलाई के भन्न चाहन्छु भने विदेश पलायन भएर होइन, आफ्नै देशमा संघर्ष गरेर देशको विकासमा लाग्नु प¥यो । देश विकास गर्न राजनैतिक सुधारको आवश्यकता
देखिन्छ । त्यसको लागि युवाहरु अगाडि आउनु पर्छ ।
No comments:
Post a Comment