Thursday, November 12, 2020

कीर्तिपुर नगरपालिका वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जन कोभिड–१९ जितेको अनुभव

 कीर्तिपुर नगरपालिका वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जन कोभिड–१९ जितेको अनुभव




हुन त मलाई २०७७ साल असार महिनामा पनि RDT जाँच गराउदा पोजेटिभ देखाएको थियो । त्यही भएर ५ दिन सम्म राराहिलको क्वारेन्टेनमा बसेको थिएँ । त्यो समयमा धेरै साथिहरुबाट सुस्वाथ्यको कामना गरियो । धेरै जना वडा अध्यक्ष लगायत मेयर साहेब र उपमेयर साहेबले समेत फोन गर्नुका साथै भेटघाट समेत गर्न आउनु भएको थियो । मेरो आफ्नै ठाउँ नगाउँबाट भने फोन कलबाट सुस्वास्थ्यको कामना त गरियो तर भेट्न भने कोही आउनु भएन सायद आ–आफ्नो स्वास्थ्यको सचेतनाले गर्दा संक्रमित भएकोसंग नजिक जानु हुदैन भनेर पनि होला । त्यो समयमा म एक्लै विपद् व्यवस्थापन समितिको संयोजकको रुपमा कोरोना पोजेटिभ भयो भने होम आईसोलेसन हुनुपर्छ । म लगायत RDT पोजेटिभ भएकाहरुलाई घरमा बस्ने व्यवस्थाको निर्णय हुनुपर्छ भनेर कार्यपालिकामा कुरा राखेको भए पनि Quarintain मा नै बस्नुपर्छ भनी निर्णय गरियो । त्यसैले म ५ दिन राराहिल क्वारेन्टाइनमा बसे । त्यसबेला मलाई धेरै मानसिक तनाव र पीडा भएको थियो । २०४५ सालमा ९ दिनको जेल बस्दा झै ५ दिनको दिन मैले बिताए । तद पश्चात् PCR जाँच गराउदा Negative आयो र म घरमा फर्के । मलाई सधै झै समाजमा काम गर्ने नै मन थियो । जब म घर बाहिर निस्किन्थे तब “कोरोना निस्केको” भन्ने समेत गरे । मेरो  समाज, मेरो पार्टीका दौतरी एवं साथीहरुबाट उनीहरुको सुरक्षा लागि होला सायद मलाई घरबाट बाहिर नआउन आग्रह समेत गरियो । त्यो समयमा मलाई एकदमै मानसिक तनाव भएको थियो जुन म बिर्सिनै सक्दिन । 

कोरोना संक्रमितको डर कायमै थियो । तर पनि संक्रमण रोकथामका लागि वडा वडामा सेल्फ Quarintain  होम Quatintain को प्रयोग गर्ने भनी कीर्तिपुर नगरपालिकाले निर्णय गरियो । त्यही बीचमा भदौ महिना तिर मकवानपुर चित्लाङमा बस्ने ३ जना परिवार मेरो घरमा बस्नेहरु फर्केर आए । त्यसबेला म वडा अध्यक्ष भएको कारण तिनीहरु लाई कहाँ राख्ने हो भनी निर्णय गर्ने मेरो हकमा थियो तर वडाका टिमहरुले उनीहरुलाई मेरो घरमै होम क्वारेन्टाइन गरेर राख्न मिल्दैन भनेर विरोध गरे । जबकी मैले उनीहरुलाई मेरै घरमा हरेक सुरक्षाको लागि चाहिने सुविधाहरु दिएर सबै अलग गरेर राखेको थिएँ । त्यो समयमा मलाई धेरैले विरोध गरे, धेरै तनावहरु दिए तर हार नमानी उनीहरुलाई १४ दिन सम्म सुरक्षितका साथ राखे र स्वास्थ्य शाखामा सम्पर्क गराएँ । त्यसपछि उनीहरुलाई कोरोना छैन भनी पुष्टि गराईयो ।

असोज ८ गते बिहिवारको कुरा हो । मलाई हल्का ज्वरो आएको थियो । ज्वरो आएको कारण म यताउती हिडी बस्नु पर्ने भएकाले कोरोनाको शंका लागेर स्वाव टेष्टको लागि शुक्रबारको दिन नमुना पठाएँ । १३ गते मंगलबारका दिन मेरो रिपोर्टको खबर आयो पोजेटिभ भनेर । मलाई ८ गते देखि हल्का ज्वरो मात्र आएको थियो तर त्यस्तो विधि गाह्रो भने भएको थिएन । जब ५ दिन पछि पोजेटिभ भनेर थाहा भयो । मलाई एक्कासी १०१ डिग्री ज्वरो आयो ।  भोलीपल्ट खोकी लाग्न थाल्यो । त्यसपछि बिस्तारै बिस्तारै कम्मर दुख्ने, जीउ दुख्ने, मुख नमिठो हुने, स्वाद हराउने, गन्ध नआउने हुन थाल्यो । हुन त असार महिनाको RDT टेष्टमा पोजेटिभ आएदेखि निको भए पनि आफुले खाना खाएको भाडा आफैले माझ्ने गर्दै आएका थिएँ । घरको परिवारले पनि आफ्नो भाडा आफै माझ्ने गर्थे । मलाई कोरोना लागेको थाहा भए देखि म आफै होम आईसोलेसनमा गरि अलग्गै कोठामा बस्न थालें । मैले चलाउने भाँडाकुँडा सबै छुट्टै हुन्थ्यो । खाना खाने बेलामा मैले भाडा कोठा बाहिर राख्थे र परिवारले खाना राखिदिन्थ्यो । खाना खाईसकेपछि भाँडाकुँडा आफै माझेर घाममा सुकाउथे । आफु कोरोना संक्रमित हुनु अगाडि निरन्तर समाजमा विकास निर्माणका लागि खटेको, हरेक क्रियाकलापमा सहभागी भई दिनै पिच्छे जसो मिटिङ बस्दै काम गर्दै आएको थिएँ । घरमा खाना खान र बेलुका सुत्न मात्र आउँथें । म संक्रमित भएपछि एउटा कोठामा थुनेर बस्दा अनि आफुलाई शरिरमा गाह्रो हुदाको त्यो अवस्था साँच्चै सोच्दा मात्र पनि असह्य हुन्छ । म निरास हुन्छु कि आत्मबल घटाउछ कि भनेर मेरो परिवारले सधै सामाजिक दुरी कायम गरि कुरा गर्दै साथ दिने अनि हौसला दिने गथ्र्यो । त्यो समयमा शारिरीक मात्र नभएर मानसिक तनाव पनि धेरै भयो तर परिवारको साथ सहयोग अनि साथिभाईहरुको सुस्वाथ्यको कामना पाएको भएर आफुले आफैलाई सम्हाल्न सक्थे । समाजमा भिज्दै, जनचेतना दिदै, कोभिड १९ विरुद्धको अभियानमा सहभागी हुँदै, संक्रमण रोकथामका लागि पहल गर्दै आएको म आफैलाई त संक्रमण विरुद्ध लड्नलाई गाह्रो भयो भने झन सामान्य यसबारेमा केही थाहा नभएका मानिसहरुले कसरी सहन सक्छ होला भन्ने  कुरा पनि महसुस गरें । 

त्यसपछि गुर्जाे लगायत आफ्नो घरमा भएको जडीबुटिहरु राखेर पानी उमालि बेला बेलामा खान्थें । भिटामिन ’सी’ भिटामिन ’डी’ पाउने अमला, किवी, माछा, मासु, फलफूलहरु खान्थें । आफुले जिम्मेवारी पाएको वडाका सबै काम मिटिङहरु zoom  मार्फत बसेर अरुलाई कार्यभार जिम्मा दिन्थें । यस्तै काम गर्दा पनि कहिलेकाही एक्लोपन महसुस हुने अनि निरास हुन पुग्छु । म होम आईसोलेसनमा बसेको २ हप्ता पछि मेयर साहेबले पनि कोरोना टेष्ट गरिरहनु पर्दैन भन्नु भएको थियो । मैले मनले नमानेर फेरि २३ गतेका दिन परीक्षणका लागि नमुना पठाएँ । २५ गतेका दिन मेरो नेगेटिभ रिपोर्ट आयो । मैले होम आईसोलेसनमा बस्दा आफ्नो परिवारलाई केही नहोस भनेर धेरै ध्यानमा राखेर सुरक्षित साथ  बसें । मेरो घरपरिवारमा कोही पनि संक्रमित भएन । यसमा मलाई खुसी नै लाग्यो तर कहाँकहाँबाट मेरो छोराको एकजना साथिलाई  कोरोना संक्रमित भएको थाहा पाउँदा दुःख पनि लाग्यो । जहाँसम्म मलाई लाग्छ उसले म बिरामी हुँदा मेरो ओछ्यानमा आएर बसेको कारणले हुनुपर्छ ।

म बिरामी हुँदा महसुस  गरेको कुरा नै औषधी खाएर मात्र यो रोगसंग लड्न सक्ने होईन कि आफ्नो परिवारको साथ साथिभाईको हौसला अति नै आवश्यक पर्छ । साथै संक्रमित ब्यक्तिलाई हतोत्साहित, निरास बनाउने काम नगरिदिनु हुन पनि सबैमा आग्रह गर्न चाहन्छु । अन्तमा मेरो अनुभव सबै माझ राखेर जनचेतना गराउनको लागि मौका दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पूर्ण टिमलाई नै मेरो ब्यक्तिगत अनि कीर्तिपुर नगरपालिका वडा ९ को तर्फबाट हृदयदेखि धन्यबाद दिन चाहन्छु ।

प्रस्तोता ः अनीता महर्जन 


No comments:

Post a Comment