Friday, January 29, 2021

अग्रजहरुको कुरा सुनौं

 अग्रजहरुको कुरा सुनौं



छत्रबहादुर महर्जन

कीर्तिपुर नगरपालिका वडा नंं.५ पाँगा लाछि दोकामा बुबा हरिनारायण महर्जन र आमा तरी मैं महर्जनको ५ सन्तानमध्ये ४ जना छोरीपछि ५ औं सन्तान छोराको रुपमा वि.सं.१९९२ साल साउनमा जन्मनु भएको थियो छत्र बहादुर महर्जन । छत्र साहु भनेपछि कीर्तिपुर नगरपालिकाभित्रका धेरैजसोले चिन्छन् । यसरी चिन्नुको कारण अरु केही होइन, उहाँको पेशा, सरल मिजास र मृदुभाषीका कारण हुन् । उहाँले पाँगाको मलामी जाने बाटो बिग्रियो भने आफै कुतो कोदालो लिएर मर्मत गर्न जानुहुन्थ्यो । त्यस्तै पाँगालीहरुको मशान रहेको भाजंगलको खुडकिलाहरु पनि उहाँ आफै गएर मर्मत गर्नुहुन्थ्यो । सामाजिक काममा अत्यन्त मन भएका छत्र बहादुर महर्जन । आज उहाँसँगको अन्तरंग कुराकानीको आधारमा उहाँको विषयमा यहाँ प्रस्तुत गर्न लागेको छु ।

तपाईंको शिक्षा दिक्षा कहाँ भयो ? तपाईंले कति पढ्नु भएको छ ?

 —त्यतिबेला स्कूल भन्ने नै थिएन । चोभारको चिरंजीवी नाथ पोखरेल (जो गुरुबा भनेर चिनिन्छ) उहाँसँग भाषा पाठशालामा पढ्न सिकेको हुँ । त्यतिबेला अहिले जस्तो एस.एल.सी, आई.ए भन्ने थिएन । यति कक्षा त्यति कक्षा भन्ने हुँदैनथ्यो । मैले ऐन श्रेष्टा पास गरेको थिएँ । त्यति पास भएपछि जागिर खान योग्यता पुग्छ । त्यो भनेको निवेदन, लेखनदासको जस्तै नेपालीमा लेखपढ गर्ने काम सिकेको थिएँ । 

तपाईंको विवाह कहिले कोसँग भएको थियो ? 

—त्यतिबेला चाँडै विवाह गर्ने चलन थियो । म १४ वर्षको हुँदा मेरो विवाह १२ वर्षकी मेरी श्रीमती नानीमाया महर्जनसँग २००६ सालमा भएको थियो । 

तपाईंले विवाह पछि के काम गर्नु भएको थियो ?

–विवाह पछि मेरो ससुराको सहायताले मैले सिंहदरवारमा राजकीय परिषदमा जागिर पाएँ । मेरो काम भनेको राजा महेन्द्र सिंहदरवार सवारी हुँदा उहाँको कोठामा सरसफाई गर्ने, उहाँको आदेश विना कसैलाई पनि त्यहाँ जान नदिने भनूँ त्यतिबेलाको बैठकको रेखदेख गर्ने भएकोले मलाई बैठके भनिन्थ्यो । त्यतिबेला मेरो तलब रु.३५ प्रति महिना थियो ।

यस्तो जागिर भएको मान्छे किराना पसल थाप्न कसरी आउनु भयो ?  किराना पसल तपाईंको पुख्र्यौली पेशा हो ? 

— होइन, २००७ सालमा नेपालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र आयो । २०१५ सालमा आम चुनाव भयो । त्यस चुनावमा नेपाली कांग्रेसले अत्यधिक मतले चुनाव जित्यो । विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । उहाँ प्रधानमन्त्री भइसकेपछि राजकीय परिषद नै खारेज भयो । मेरो जागिर पनि खोसियो । अब के गर्ने भनेर सोचिरहेको बेला मेरोे बुबाले अब कहिं काम गर्नु पर्दैन, जागिर पनि खानु पर्दैन,  आफ्नै घरमा किराना पसल राख्नु भन्ने सल्लाह दिनुभयो । त्यहीबेलादेखि किराना पसल चलाएर आइरहेको छु ।”

छत्र साहुको पसल भनेपछि साह्रै प्रख्यात छ । प्रख्यात हुनाका कारण के हो ?

—मेरो पसलमा नूनदेखि सुनसम्म  पाइन्छ । हाम्रो परम्परा, संस्कार अनुसार मानिस जन्मेदेखि मशानघाट पु¥याउँदासम्म चाहिने सामानहरु मेरो पसलमा पाइन्छ । नेवारहरुको लागि मात्र होइन गैर नेवारहरुलाई चाहिने सर सामानहरु जस्तै सत्यनारायण पूजा गर्न, रुद्री पाठ गराउन र मानिस मर्दा चाहिने सबै सामानहरु जस्तै पिताम्बर, खडाऊ, काँचो हाँडी काँचो धागो, जौ, तील आदि मेरो पसलमा पाइन्छ । त्यसैले शहर जानु नपर्नेहरु सबै मेरो पसलमा सामान किन्न आउँछन् । मानिस मरेपछि पनि संस्कार चलाउन विभिन्न  सामानहरु चाहिन्छ । ती सामानहरु सबै मेरो पसलमा पाइन्छ । त्यसैले पाँगाको मात्र होइन, इटागोल, चोभार, चारघरे, टौदह, भत्क्यापाटी, दूध पोखरी आदि ठाउँबाट पनि ती सामानहरु लिन मेरो पसलमा आउँछन । त्यतिबेला मैले जनकपुर चुरोट कारखानाको चुरोटको डिलर पनि लिइराखेको थिएँ । त्यतिबेला त सबैजसोले चुरोट पिउँथ्यो । चुरोटको व्यापार खुब हुन्थ्यो । शहर जान नपर्नेहरु सबैले मेरो पसलमा किन्न आउँछ ।

अनि ती सामानहरु तपाईं कसरी ल्याउनु हुन्छ ?

—त्यतिबेला अहिलेजस्तो पसललाई चाहिने सामान पसलमा पु¥याईदिने चलन थिएन । बिहान भात खाएर साईकल लिएर शहर जाने । मरुहिति, मखन, असन यताउता डुलेर आपूmलाई चाहिने सामान किनेर त्यहि साईकलमा राखेर ल्याउने । दुई बाकससम्म चुरोट साईकलमा राखेर ल्याउँथें । एक बोरा चिनीसम्म साईकलमा राखेर ल्याउँथें । दशैं, तिहार, जात्रा पर्वको बेला धेरै सामान एकैचोटि ल्याउनु प¥यो भने मात्र जीपमा राखेर ल्याउँथें । 

शहरबाट साईकलमा सामान राखेर ल्याउँदा उकालो चढ्नु पर्छ । सामान ल्याउन गाह्रो हुँदैन ?

—त्यतिबेला साईकल लिएर शहर जाने बाटो भनेकै चोभारको मात्र बाटो थियो । त्यो पनि पाँगाको हरिगोविन्द दुवालको जोडले बाटो बनेको थियो । चोभार डाँडा फोड्न दिंदैनौं भनेर धेरै विरोध भएको थियो । अहिले यो हनुमानघाट भएर कीर्तिपुर जाने बाटो त पछि मात्र बनाएको हो । त्यतिबेला ध्वाकासीबाट बाहिर निस्कने बितिक्कै गूघारी थियो । अलि अलि ढुंगा छापेका साईकल लान पनि गाह्रो थियो । चोभारको उकालो चढ्न साहै्र गाह्रो  हुन्थ्यो । सकी नसकी ठेलेर आइरहन्थें बाटोमा आउने जो कोहीले पनि पछाडिबाट ढकेलेर सहयोग गथ्र्यो ।

अब तपाईंको पारिवारिक  स्थिति बारे केही भन्नुस्

—मेरो पारिवारिक स्थिति सन्तोषजनक छ । मेरो चार जना छोराहरु छन  –जेठो जंगबहादुर, माहिलो भिमसेन, साहिला अर्जुन र कान्छो पंच नारायण हुन । उनीहरु सबै आ–आफ्नो व्यवसायी गरिरहेका छन् । मैले पढन लेख्न र हुर्काउने काम गरें । सबैजनाको विवाह पनि भैसक्यो । घरजम भइसक्यो । अब आफ्नो बाटो आफै पहिल्याउनु भनेर छाडेको छु । चारैजना अलग अलग बस्छन् । म र मेरो श्रीमती जसकहाँ बस्न गए पनि हुन्छ । हामीलाई कुनै समस्या छैन । छोरा बुहारी सबैले हामीलाई मान्छन् ।

तपाईं झन्डै ८५ वर्षको हुनुभयो । तपाईंलाई केही रोग छ कि ? तपाईंको दिनचर्या कसरी बितिरहेका छन ?

—भगवानको कृपाले अहिलेसम्म मलाई खासै कुनै रोग छैन भने पनि हुन्छ । अहिलेसम्म म अस्पताल भर्ना हुनुपर्ने गरिकन विरामी भएको छैन । आँखामा मोति विन्दु भएर दुईटै आँखाको अपरेशन गरिसकें । अहिले राम्ररी देख्छु । अखवार पढन सक्छु । अहिले धेरैजसो मानिसहरुमा चिनी रोग, प्रेशरको रोग लागेको छ भन्छन् । अरुलाई जस्तो मलाई चिनी रोग, प्रेशर, ग्यास्तिक, कोलस्टोर केही पनि रोग लागेको छैन । अहिलेसम्म त मेरो खुट्टा पनि दुख्दैन । तिन चार महिना पहिले पिशावको समस्या भएको थियो । अल्का अस्पतालमा जँचाएर औषधि गरें । अहिले राती एउटा क्याप्सुल ख्वाइराखेको छ । त्यति हो औषधिको नाममा मैले खानु परेको । मेरो दाँतको कुरा गर्ने हो भने एउटा पनि दाँत उखेल्नु परेको छैन । बरु दाँत खिएर टुक्रा भएर गएको छ । म अहिलेसम्म पनि मकै, भटमाश जे पनि चपाउन सक्छु । पहिले त म दिनहुँ साईकल लिएर शहरमा सामान किन्न जान्थें । मैले पसलमा बस्न छाडेको ५ वर्ष भयो । मेरो पसलको जिम्मा कान्छो छोरालाई दिएको छु । अहिले म विहान सबेरै उठेर नुहाइ धुवाई गरी सबै देवीदेवताको दर्शन गर्छु अनि लाछिको विष्णुदेवी मन्दिरमा गएर भजन गर्छु ।  भजन गरेर घरमा आएर खाना खान्छु । हरेक आइतवार म लगनखेलको वटुक भैरव दर्शन गरेर भजन गरेर आउँछु । हरेक विहिवार जावलाखेलको उग्रचण्डीको दर्शन गर्न जान्छु । एकादशिको दिन फर्पिंगको शेष नारायण दर्शन गर्न जान्थें । पहिले त साईकल चढेरै जान्थें । अहिले शेष नारायण जान छाडीसकें ।




तपाईंले भजन गाउन सक्नुहुन्छ । तपाईलाई भजन सिकाउने गुरु को हुनुहुन्थ्यो ?

—मेरो भजन गुरु धुसि टोलका जगन्नाथ महर्जन, तपाईंको बुबा हुनुहुन्थ्यो । उहाँले मलाई खुब माया गर्नुहुन्थ्यो । सत्य नारायण पूजा गर्ने ठाउँमा भजन गाउनको लागि उहाँलाई निमन्त्रणा  आउँछ । कहिं जानु परे पनि मलाई साथी लिएर जानुहुन्थ्यो । 

तपाईं पसल चलउनु हुन्छ, सामान किन्न साईकल लिएर काठमाडौं शहर जानु हुन्छ । त्यसपछि खेतीपाती पनि त गर्नुहुन्छ, अनि भजन गर्न समय कसरी मिलाउनु हुन्छ ?

—त्यो त मनले चाहेमा जे पनि गर्न सक्छ । म कहिं जानु प¥यो भने पसलमा मेरो श्रीमती बस्छिन् । हाम्रो खेतवारी थुप्रै थियो । अहिलेजस्तो हो र ? सबै खेत आफैले जोतिरहेको थिएँ । धान रोप्ने बेलामा, गहुँमा पानी दिने बेलामा रातको १२ बजे झवाहितिमा गएर कुलोमा पानी फर्काएर ल्याउँथें । पानी पुरा नभएसम्म रातभरि जाग्राम भएर खट्थें । त्यतिबेला डर भन्ने पनि थिएन । एक रुपैया ज्यालामा खेत खन्न जान्थें । त्यतिबेला हाम्रो खेतबाट आउने अन्न हामीले खाएर बचेको धान बेच्थें, मकै बेच्थें । दुःख लाग्छ अहिले ती कुलाहरु धमाधम नासिंदै गइरहेका छन् । त्यसैले आकाशको भरमा खेतीपाति गर्नुपर्छ ।

तपाईं ८५ वर्षको उमेरसम्म आइपुग्दा पनि यति स्वस्थ हुनुको रहस्य के होला ?

–मेरो स्वस्थताको कारण साईकल चढ्नु होजस्तो लाग्छ । अर्को मेरो सादा जीवन पनि हो जस्तो लाग्छ । म मिठो नमिठो नभनिकन पेटभरि खान्छु । म जाँड रक्सी, चुरोट, मासु केही पनि खाँदिन । भट्टिमा पनि जाँदिन । विहानदेखि आपूmले सकेको काम गर्छु । पहिले पहिले साईकल चढ्दा अरुले भन्थे, साईकल चढ्दा छातीमा बल पर्छ टिवी रोग लाग्ला । तैपनि मैले वास्ता गरिनँ । जहाँ गए पनि साईकल चढेरै हिंडथें । अहिले लाग्छ साईकल चढेर नै म स्वस्थ भएको हुँ । स्वस्थ हुन कुनै चिन्ता लिनु हुन्न । समस्या भनेको परी आउँछ । समाधान पनि हुँदै जान्छ । कुनै कुरामा लोभ लाचल नगर्ने, राती समयमा सुत्ने, विहान समयमा उठ्ने, भगवानको नाम लिने मेरो जीवन यहि हो । अहिले मानिसहरु शौखिन भइसक्यो । खेतमा काम गर्नै छाडिसके । खायो सुत्यो कुनै व्यायाम गर्दैन अनि विभिन्न थरीका रोग लाग्न थालेकोछ । धेरैजसो पैसा औषधि किन्न र डाक्टर देखाउनमा खर्च हुन्छ । हाम्रो शरीर पनि मेशिन जस्तै त हो नि । मेशिन धेरै दिनसम्म चलाएन भने खिया लाग्छ ।

अन्तमा पहिलेको र अहिलेको समाजमा के भिन्नता पाउनु भयो ?

—आकास पातालको फरक भैसकेको छ । हाम्रो पालाको कुरा अहिले नातीहरुको अगाडि भन्दा दन्त्यकथा जस्तो हुन्छ । पहिले छोरा छोरी आमा बाबुबाट डराउँछ । अहिले आमाबाबु छोरा छोरीसँग डराउँछ । हाम्रो पालामा सबैजना समाजदेखि डराउँछ । अहिले समाज भन्ने नै छैनजस्तो लाग्छ । शत्रु भइएला भनेर जसले जे गरे पनि केहि बोल्दैन । मानिसहरुमा धर्मको चेतना नै रहेन । खाने पिउने हरेक कुरामा जीवनस्तर बढेको छ । हामी सानो छँदा आमाले खाए खाउ नखाए घिच भनेजस्तै गथ्र्यो । अहिले बच्चाहरुलाई खाना खुवाउन आमाले बच्चालाई फकाउनु पर्छ । हाम्रो पालामा चार पाँच वर्ष नभैकन पढ्ने चलन नै थिएन । अहिले दुई वर्ष नपुग्दै स्कूलमा खेल्नमात्र भए पनि पठाउन थालेका छन । हाम्रो पालामा एउटा किताब भए पुग्थ्यो । अहिले बच्चाहरुलाई बैगभरि किताब राखेर पठाउनु पर्छ । अहिले घरबाट बाहिर निस्कने बितिक्कै जे मन लाग्छ त्यो किनेर खान पाउँछ । जताततै मानिसको भीड, गाडीको भीड, बाटोमा हिंड्दा गाडीले किच्छ कि मोटरसाईकलले ठक्कर दिन्छ कि भनेर डराएर बाटोमा हिड्नु पर्ने भैसक्यो । पहिले अन्न फल्ने खेतबारीमा अहिले घरै घर फल्न थालेका छन् । हाम्रो पालामा विजुली बत्ती थिएन । टुकी बत्ती बाल्नु पथ्र्यो । एक गाग्री पानी थाप्न कहाँ कहाँ जानु पथ्र्यो । अहिले त भान्सा कोठासम्म पानी आइसकेको छ । अब गाग्रोको जरुरतै पर्दैन । कति बयान गर्ने ? अहिले खाजाको नाममा तयारी चाउचाउ, बिस्कुट, पाउरोटी के के आइसक्यो । पहिले चिया पसलमा गएर चिया पिउन लाज लाग्थ्यो । अहिले टोलैपिच्छे चिया पसल छ । पहिले पाटी पौवामा बसेर गफ गर्ने चलन थियो । अहिले चिया पसलमा बसेर गफ गर्ने चलन आइसक्यो । नमरी बाँचे के के हेर्न पाइन्छ भन्थ्यो साँच्चिकै हो । पहिले झाडापखाला मात्र लाग्दा पनि औषधि गर्न नपाएर मान्छे मथ्र्यो । अहिले औषधिको सुविधा भएर मान्छेको आयु बढेको छ । नत्र पहिले अहिलेको जस्तो नानाथरिको रोग थिएन । न त अस्पताल नै धेरै थियो । पहिले मासु खान दशैंपछि तिहार पर्खनु पर्छ अहिले टोलै पिच्छे मासु पसल छ । पैसा भयो भने दिनहुँ मासु खान पाइन्छ ।



प्रस्तोता ः नजरराम महर्जन

कर्मयोगी छत्रवहादुर महर्जन  गत मंसिर २२ गते हामीबीच रहनु भएन । उहाँलाई श्रद्धाञ्जली स्वरुप कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा ने.सं.११३९ दिल्लागा पारु, २०७६ साउन १ गते प्रकाशित अन्तरंग कुराकानी यहाँ प्रस्तुत गरिएको छ (  (सं.)


No comments:

Post a Comment