अविस्मरणीय Damil को फार्मिङ्ग यात्रा बाराको जितपुर र विराटनगर
— निरज मान सिंह
पहिलो दिन ः
पुष महिना १७ गते २०७७ को बिहानी एकदमै जाडो थियो । म दर्शन ग्रुपको दामिलको कृषि फार्म हेर्न जान विराटनगर जाँदै थिएँ । मलाई बिदाई गर्न मेरो बुबाले दर्शन बचत तथा ऋण सहकारीको नयाँभवन कार्यालयसम्म स्कुटीमा पु¥याउन आउनु भयो । त्यहाँ सबैजना विराटनगर जान तयार भइरहेका थिए । मेरो बुबाले त्यहाँ सबैसंग मेरो परिचय गराईदिनु भयो । केहि सहज महसुस गरें । दुईवटा सफारी गाडीहरूमा सामानहरू राख्दै रहेछन् । म टाटा एलएक्स सफारी स्ट्रोम गाडीमा गएर बसें ।
घडीले बिहानको ६ः२० संकेत दिंदा गाडी कीर्तिपुरको डांडाबाट बिस्तारै झ¥यो । गुडीरहेको गाडीसंगै झर्दै थिएँ, कीर्तिपुर शहर गाडीको लुकिंङ्ग गिलासबाट हेर्दै । ल्याब स्कुलबाट दक्षिणतिर गाडी मोडियो । छेकियो कीर्तिपुर शहर । बिलाए मेरो आँखाबाट । चोभारबाट उकालो–ओरालो लाग्दा हुस्सु र कुहिरो चारैतिर फैलिएको देखें । पहाडी कोखहरूमा घुनमुनिएका हुस्सुहरू चुपचाप थिए । घडीको सुईले ६ः५५ बजाई सक्दा पनि अँध्यारो देखिएका थिए धर्तिका पृष्ठभुमिहरू ।
हुमाने पुग्दा मकवानपुर र काठमाडौँको सिमानानिरै रहेको एउटा होटेलमा चिया, नास्ता खान हामी रोकियौ । हरियाली वातावरण, पहाडको छेउमा हुस्सुले ढाकेको फर्पिंङ्ग बस्ती अनि बिहानीको पहिलो सुनौलो किरणमा चम्किएको हिमाली शृंखलाले मनै लोभ्यायो । बाटोको एक घण्टा कसरी बित्यो पत्तै भएन । नास्तामा चिया, सेलरोटी, र अन्डा खाएर लाग्यौं हाम्रो पहिलो गन्तव्य बारा जिल्लाको जितपुरतर्फ ।
भैसेदेखिको समथर भूभागमा बग्ने अधिकांश नदीहरू जाडोयाममा पनि पानी चिर निन्द्रामा सुतेका देखिन्थे । आज ईस्वी संवत २०२१ सालको नयाँ वर्ष भएकोले पनि आँखाले नभेट्ने ठाउँसम्म फैलिएको बगरमा पिकनिक खान आएकाहरू आ–आफ्नो तालमा रमाई रहेको धेरै देखिए ।
करिब ६ घण्टाको यात्रापछी अमलेखगंजको जर्गा होटेलमा लोकल कुखुराको मासुसंग खाना खान बस्यौं । अलि–अलि साह्रो, अलि–अलि चाम्रो, लोकल कुखुराको मासुको चोक्टा र झोलसंग मुछेर खाएको खानाको स्वाद लहान नपुग्दासम्म मुखमै रह्यो ।
नयाँ वर्षको उत्साह हामीले यहाँ पनि देख्यौ । होटेल भरिभराउ देखिन्थ्यो । जुँगाका रेखा नै नदेखिएका मधेसी केटाहरूको समुह हुक्का तान्दैमा व्यस्त देखिन्थे भने कोहि–कोहि चिरिक्क चर्केको घाममा बियरको चुस्की लिंदै गरेको तराईका युवा समुह पनि देखिए । उनिहरू घाममा बस्न सकेता पनि आफ्नो शरीरले भने तराईको तापक्रम सहन नसक्ने भैसकेको रहेछ । गर्मी धेरै महसुस भयो । मैले आफुले लगाई राखेको ज्याकेट फुकाले र जर्गा होटेल बाहिरको वातावरण नियाल्दै गाडी भित्र पसें । गाडी भित्र ए.सी चलाईरहेको हुँदा गर्मि महसुस भएन । गाडी जर्गा होटेलको प्रांगणबाट बाहिर निस्कंदै अघि बढ्यो, पथलैया हुँदै जितपुरतर्फ ।
वास्तवमा सडक उस्तै छ । म पाँच वर्ष पहिले र भर्खरै पाँच महिना अगाडी मात्र बिरगंज जाँदा यी बाटो जुन अवस्थाको देखिन्थे आज पनि अवस्था उस्तै थियो । जितपुर, बाराको चर्को घाममा धुलो उडाउँदै धौलागिरी नेचुरल फुड्स एण्ड हार्वस प्रा.लि फारमको गेट अगाडी गाडी रोकियो ।
हाम्रो स्वागत भैसीको तातो दुध र बिस्कुटले फारम हाउसको इन्चार्जले गर्नुभयो । यो कृषि फार्म दिनेश दर्शनधारी ग्रुपको रहेछ । चिनीनै नचाहिने अर्गानिक दुधको स्वाद बारे खै के लेखौ ? बयान गर्न शब्द नै आएन । यस दुधको स्वादमा शुद्धता छ, जुन काठमाडौँ शहरी वातावरणमा सम्भव देखिंदैन । ५० बिगाहमा फैलिएको यस फारममा दुध पिएपछी हामी घुम्न निस्कियौ । यहाँ ३०० वटा भैसीहरू पालिराखेको र आगामी दिनहरूमा ५०० वटा भैसी थप्ने यस फारमको योजना रहेछ । हामी गोठमा पुग्दा प्रत्येक भैसीलाई चारा दिंदै रहेका स्थानीय कर्मचारीलाई देख्यौं । यस फारमले यहाँका स्थानीय वासिन्दाहरूलाई रोजगारी प्रदान गरेका रहेछन् । जसमध्ये १५ जना कर्मचारीहरूलाई यहिँ बस्ने र यहिँ काम गर्ने वातावरण मिलाईएको रहेछ ।
उक्त फार्ममा बाटो किनारदेखि परपरसम्म मैदानीफाँट । फराकिलो फाँटमा बोरिङ्गबाट बिभिन्न थरिका तरकारीहरूको खेतमा पानी छरिंदा घामको किरणले बनेको सप्तरङ्गी इन्द्रधनुषको मनमोहक दृश्य देखियो ।
हामी अर्को गेटबाट रुख फार्मीङ्ग तिर गयौं । फारममा एक–एक लाईन गरी क्रमशः मिलाई थरि–थरिका रुखहरू ६–७ फिट जतिका अग्ला देखिन्थें । त्यसमध्ये मलेसियन साल प्रजातिका रुख अहिलेसम्म पचास हजारवटा रहेछ । त्यहाँबाट अगाडी बढ्दा निरन्तर पानी बगीरहेको बोरिङ्ग देख्यौं । एकसय वर्ष पुरानो र कम्तीमा पांच सय मिटर गहिरो यस बोरिङ्गको पानी बिना पावर सोर्स चौबिसै घण्टा बगिरहने रहेछ । स्थानीय गाउलेहरूले त्यहि बोरिङ्गको पानीले नुहाउने, लुगा धुने र घरको अन्य कामकाजमा उपयोग गर्नुका साथ साथै पिउने रहेछन् । मैले पनि एक अन्जुली भरि पानी थापेर पिएर स्वाद लिएँ । आइरनको मात्रा अलि बढी भएको यस पानीको स्वादमा मैले बिरगंजको छवि भेटाएँ ।
हामी त्यहाँबाट अझै अगाडि बढ्दा पोखरी देख्यौ । तिनवटा पोखरीमा दूई हजारवटा हाँसहरू खेली रहेको मनोरम दृश्य देख्यौ । उक्त पोखरीहरूमा एकलाख जति फिंगरींङ्ग माछाहरू छोडी राखेका रहेछन् । त्यसपछि एउटा यस्तो चारपाटे खाल्डो पोखरी देख्यौ जसको बारे नबुझी बस्नै सकिनँ । चारपाटे खाल्डोमा पानी जमाई त्यस माथी स–सानो पातहरू जस्तो देखिने बिरुवालाई अजोला भनिँदो रहेछ । छहारीमा राख्दा हरियो र घाममा राखीयो भने खैरो हुने, यस नौलो खेती नेपालकै पहिलो अजोला खेती धौलागिरी नेचुरल फुड्स एण्ड हर्वस फारमले गरीरहेको रहेछ । प्रोटिनयुक्त अजोला हाँस, माछा, कालिज, टर्की र भैसीलाई दानाको रूपमा दिंदा अरू दाना भन्दा पचास प्रतीशतले मुनाफा हुने र दिनको ६० देखि ७० केजीसम्म खपट हुने रहेछ ।
अन्तरबाली भित्र पर्ने यस अजोला खेतीको एउटा पोखरीबाट हप्तामा ५ किलो उत्पादन भएता पनि अहिले चिसोयाममा भने अलि कम भएको छ तर गर्मीयाममा हरियो भै बडी उब्जनी हुन्छ । अहिले अजोलाको खेती ५५ वटा सानो पोखरीमा गरिरहेको छ भने आगामी दिनहरूमा बढाउँंदै १०० वटा सम्म पु¥याउने योजना बनाएको छ ।भैसीको दुध डेरीमा बिक्री गर्नुका साथै गोबरबाट भर्मी कम्पोज मल बनाई, रुख खेती, बिभिन्न तरकारी खेती र पोखरीमा समेत माछालाई उपयोग हुने गरी तैयार गर्ने रहेछ । भविष्यमा बायो ग्यास प्लान्ट, डेरी उद्योग खोल्ने र सरकारसंग स्वीकृति लिई बदेल, मृग, निल गाई, र कालिज जस्ता बन्यजन्तु पालनका साथसाथै उत्पादन गर्ने योजना राखेको रहेछ । ५० बिगाह क्षेत्रफलमा फैलिएको यस फारमको फाँटमा डोजरले अहिले पनि केहि न केहि खन्दै गरेको देखे । भनिन्छ, एउटा सफल उद्यमी बन्न सटिक दृष्टीकोण, योजना र धैर्यता चाहिन्छ । मैले यी तिनैवटा गुण फारमका मालिक दिनेश दर्शनधारीज्युमा पाएँ । वहाँको योजना, धैर्यता र सटिक दृष्टी यस फार्मिंङ्ग प्रोजेक्टमा प्रष्ट देखिन्छ ।
जितपुरको कच्ची निर्माणाधीन ग्राबेल र धुलाम्मे बाटो गाडीले ढाकिएको थियो । ट्राफिक नियम बिपरित आउंदै जाँदै गरेको गाडीको भिडहरू छिचोल्दै पथलैया आइपुग्यौं । यहाँबाट बाटो निकै सिधा र कहिं कतै कच्ची र डरलाग्दो थियो । जितपुरबाट पांच घण्टाको यात्रापछि हामी करिब ७ः५२ बजेतिर लाहान बजारमा रहेको कान्छा होटेलमा कटिया डिनर ग¥यौं । नाम सुन्दै अचम्म लाग्ने यस परिकारलाई माटाको भाडामा खसीको मासुलाई विभिन्न मसलाहरूले मलेर माथी रातो सुकेको खुर्सानी, सुकुमेल, जिरा, तेजपत्ता र सिङ्गो लसुनको झुप्पाको टपिङ गरेर माटोको भाडामा राखी माटोकै ढकनिले छोपेर कोइलामा पकाउने विधीलाई “कटिया” भनिने रहेछ । हामीले रेगुलर खाने मटनको स्वाद भन्दा भिन्न स्वाद यस परिकारमा पायौं । एउटा नौलो स्वाद र अनुभवका साथ हामी आफ्नो दोश्रो गन्तब्य बिराटनगर तर्फ बढयौं । क्रमश....
No comments:
Post a Comment