साहित्य कथा —"सम्मान"
—ज्ञानीराजा मानन्धर
भाईराजा र बाबुकाजि दुबै जनालाई धेरै समय पछि फोन गरे चन्द्रबहादुरले । शुरुमा आफ्नो परिचय दिए र सम्झना दिलाए । त्यसपछि धेरै कुरा नगरि उनिहरुको हालखबर सोधे । दुबैलाई भेट्न भोली घरमा आउँदैछु, समयमै तयार भएर बस्न अनुरोध गर्दै फोन राखिदिए ।
भोली पल्ट आफै आफ्नो चिल्लो मर्सिडिज गाडि हाँकेर गए चन्द्रबहादुर । दुबैजनाको घरमा गइ संगै लिएर आफ्नो घर फर्के । दुबै असमंजसमा थिए कि के गर्न लाग्यो यस्ले भनी ।
ठुलो बैठक कोठामा दुबैलाई राखे । बैठक कोठाको सजावत देखेर दुबैको मुखबाट निस्के “आहा ।” बाबुकाजिले मनमनै सोचे ’ कति प्रगति गरेछ यस्ले त । महल जस्तो घर, मुल्यवान गाडि । आफ्नो त छोराहरु नालायक भएर निस्के । पुर्खौं देखि गरी आएको काममा मलाई सहयोग गरी दिएको भए आज मेरो पनि यस्तै महल जस्तो घर हुने थियो । के गर्नु आफ्नो त कर्मै यस्तो । आँखा कमजोर भएर कामै छोड्नु परेथ्यो ।
उनीहरुलाई राखेको बैठक कोठामा एकजना उमेरले सो¥ह, सत्र बर्षकी देखिने ठिटी आएर दुबैलाई नमस्कार गरीन् । चन्द्रबहादुरले “यिनी मेरी छोरी आराध्य हुन् । अहिले प्लस टू पढदैछीन् काठमाडौंकै एउटा राम्रो स्कूलमा । डाक्टर बन्ने बिचार गरेकी छे छोरीले । आफु त अनपढ गंवार परें । हजुरहरुलाई त थाहा नभएको हैन ।” भनेपछि बाबुकाजिले सोधे “यी एउटी छोरी मात्रै हो तिम्रो ? छोरो पनि थियो हैन र ?”
“हो नि दाइ । एउटा छोरो पनि छन् नि । तर उनी अहिले यहाँ छैनन् । अमेरिकामा छन्” भनी जानकारी गराए । र छोरीलाई पनि भाईराजा र बाबुकाजिको परिचय दिए चन्द्रबहादुरले “वहाँ भाईराजा दाइ । मैले वहाँलाई भाईदाइ भनी सम्बोधन गर्ने गर्थें । म गाउँबाट पहिलो पल्ट काठमाडौं आउँदा कोठा पाउनलाई धेरै मुश्कील परेको थियो । अन्तमा वहाँँकै घरको छिँडिमा करीब करीब ५ बर्ष जति भाडामा बसेको थिएं । वहाँले मलाई आफ्नै छोरोलाई जस्तो ब्यवहार गर्नुहुन्थ्यो । त्यसबेला छिँडिमा बसेर मैले रांगाको हयिको सामानहरु बनाएर काठमाडौंका बिभिन्न ठाउंमा रहेका निर्यात कम्पनिहरु धाउने गर्थें । हयिको सामानहरुमा अरु भन्दा कमीजमा लगाइने टांखहरु बढी बनाउने गर्थें मैले । एक दुईजना कामदारहरुलाई पालेर राखेर पनि आफ्नो गुजारा ठीक ठिकै चलिरहेको थियो ।
गुजारा मात्र चलाएर पनि नपुगे पछि दिनरात मेहनत गर्थें । कहिलेकाहीं आपत पर्दा भाईदाइ संगै मैले धेरै आर्थिक सहयोग लिएको पनि छु । बिरामी पर्दा पानी ख्वाउनेसम्म पनि मेरो साथमा हुँदैनथे । वहाँको परिवारले मलाई आफ्नै सम्झेर मेरो हेरचाह गर्नुहुन्थ्यो । काठमाडौं पसेको एक दुई महिना बित्न नपाउँदै रुघा खोकिले स्वास प्रश्वासको समस्या भएपछि अस्पतालमा दुई चार दिन भर्ना हुनु परेको थियो । भाईदाइको परिवारलेनै मलाई त्यसबेला सहयोग गर्नु भएको थियो । अस्पतालमा कुरुवा समेत बसिदिनु भएको थियो । मेरो लागि भाउजुले बिहान र बेलुकिको खाना बोकेर आउनु हुन्थ्यो ।” त्यसैबेला घरी घरी बजिरहेको उस्को मोबाइल फोनमा फेरी कसैले फोन गरेर ल्याए । यस पल्ट उस्ले मोबाइल स्विच आँफै गरिदिए र कुरा अगाडि बढाए “महिनै पिच्छे आइरहने वहाँहरुको चाडपर्वमा मिठो मिठो नेवाः परीकारहरु त कति खाएं कति । अहिले पनि मलाई वहाँकी धर्मपत्नीले बनाएर ख्वाउने यःमरि सम्झेर आए भने मुखमा पानी आउँछ । जात्रा पर्बमा वहाँ र टोल छिमेकिहरु संगै जाँड रक्सी खाएर नाचेको र उपद्र गरेको सम्झंदा त अहिले पनि सब कामलाई फालेर जाउँ जाउँ लागेर आउँछ ।” भनी भाईराजा तिर ईशारा गर्दा भाईराजाले शीर हल्लाए र भने “हो, चन्द्रे .......” भनी पहिले जस्तै माया दर्शाएर आफ्नो नाम लिएको सुनेर भाव बिभोर भए चन्द्रबहादुर । उनकी छोरी कोठाको एक कुनातिर आफ्नो बाउले आफ्नो जीवनका बिगतका पानाहरुलाई पल्टाइरहेको ध्यान दिएर सुनिरहेकी थिइ ।
चन्द्रबहादुरले आफ्नो कथा फेरी शुरु गर्नै लागेकै बेला उस्की पत्नी एउटा थालमा चिया बोकेर आइपुगीन् । दुबैलाइ नमस्कार गरीन् र उस्ले चिनेका बाबुकाजिलाई “संच्चै हुनुहुन्छ दाइ ? मलाई चिन्नु भो ?” भन्दा बाबुकाजिले मुख खोले “किन नचिन्नु नि । पार्वती हैन ?”भनेर सोधे । पार्वतीले “हजुर । घरमा भाउजु आरामै हुनुहुन्छ नि ?”
बाबुकाजिले “ठीक छ । अनि तिमी त चिन्नै नसक्ने गरी मोटाएकी रहिछौ । के मात्र खान्छ्यौ हां, कति सा¥हो मोटएकी घ्याम्पो जस्तो । हाम्रो त जति खाए पनि बाँसको बाँसै” भन्दा सबै गलल हाँसे ।
पार्वतीले जवाफ दिइन् “के खानु नि दाइ । उही त हो नि नेपालीहरुको खाना दाल भात ।”
सबैले चिया पिए । चन्द्रबहादुरले फेरी आफ्नो कुराहरु राखे “मेरो शीपलाई राम्ररी बुझेका भाईदाइले मलाई पित्तलको काममा हात हाल्नु भनी सल्लाह दिनु भएकोथ्यो । वहाँको कुरो मनासिव लागेर मैले पित्तलको सादा बट्टाहरु बनाउन शुरु गरें । धेरैले मनपराए । बिदेशमा राम्रै निकासी हुँदो रहेछ । त्यसबेला पित्तलको बजार पनि राम्रै थियो । तर पछि बिस्तारै नेपालबाट सामान आयात गरिरहेका बिदेसिहरुलाई सादा पित्तलको बदलामा बुट्टा कुँदिएको चाहियो भनी यहाँका निकासिकर्ताहरुले मेरो सामान नलिदिँदा मलाई धरैनै मर्का परेकोथ्यो । त्यो बेला भाइदाइलेनै मलाई पाटनमा आफुले चिनेका मान्छे जो बुट्टा कोर्नमा माहीर हुनुहुन्थ्यो, वहाँसंग मेरो चिनजान गराइदिनु भो र म त्यहाँ गएर त्यो काम पनि सिकें । उ वहाँनै हुन् मलाई बुट्टा कोर्न सिकाउने बाबुकाजि दाइ” भनी बाबु काजि तिर ईशारा गरे । ३ महिनामै मैले पित्तल र चांदिको गहनाहरुमा मात्र हैन, सुनको गरगहनाहरुमा पनि बुट्टा हान्न सिकें । परम्परागत शैलिका चित्रहरु कोर्न मलाई औधी मनपथ्र्यो । म बाबुकाजि दाइ प्रति पनि धेरै धेरै आभारी छु दाइ” भनी बाबुकाजिलाई प्रणाम गरे ।
बाबुकाजिले भने “तिम्रोमा शीप थियो, तिमीले छिट्टै सिक्यौ र जान्यौ । कोही कोहि त भन्छन् नि कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा राखे पनि कहिल्यै सिधा हुँदैन, बाङगै भने जस्तै । “हो दाइ हजुरको कृपाले मैले चांडै नै सिकें ।” चन्द्रबहादुर बोल्याबोल्यै गरिरहेको थियो । बीचैमा भाईराजाले “ती सब कुराहरु सम्झनैमा मात्र सिमित भइसके अब । कति भो ? २५ बर्ष जति भएन होला तिमी काठमाडौं पसेको ?” भन्दा चन्द्रबहादुर “कहाँ २५ बर्ष भाईदाइ ! ३२ बर्ष भइसक्यो ” भनेपछि बाबुकाजि छक्क प¥यो र भन्यो “बाप रे ....!”
भाईदाइले “लौ त कुरा मात्र गरिरहने हो कि , काम कुरो पनि शुरु गर्ने हो ? तिमीले हामीलाई बाटोमा पनि केही भनिनौ । हामीलाई यहाँ तिम्रो घरमा किन बोलायौ भन । के प¥यो तिमीलाई ?” भनेपछि चन्द्र बहादुरले छोरीलाई “जाउ त छोरी । आमालाई छिट्टै आउनु भन्नु ” भनेर पठाइदिए । एकछिन पछि पार्वतीले पूजाको थाली र उनकी छोरी आराध्यले एउटा हातमा फलफुलहरु टन्नै भएको किस्ती र अर्को हातमा सुकुन्दा बोकेर आइन् ।
बाबुकाजि र भाईराजा दुबै आस्चर्य मान्दै हेरिरहेका थिए । त्यही बेला चन्द्रबहादुरले भने “आस्चर्य मान्नु पर्दैन दाइहरु । सबभन्दा पहिले त मलाई माफ गर्नु होला, मैले पैसो कमाउने धुनमा तपाइँहरुलाई बिर्सेंछु । हजुरहरु मेरा मार्गदर्शक भएर पनि कहिल्यै केही गर्न सकिनं । आज धेरै बर्ष पछि तपाईंंहरुलाई सम्झी यहाँ बोलाई तपाईंंहरुलाई सम्मान गर्न लागिरहेको छु । आज गुरु पुर्णिमाको दिन पनि हो र म यो पल क्षणलाई यादगार बनाउन चाहन्छु । अब देखि म बांचुंजेल हरेक गुरु पुर्णिमाको दिन तपाईंंहरु दुबैलाइ सम्झी सम्मान गरिरहुँला । तपाईंंहरुले म प्रति गर्नु भएको गुणहरु मैले कहिल्यै बिर्सिंदैनौ ।”
पूजा शुरु भो । दुबैको हातबाट आशिर्वाद थापे चन्द्रबहादुरले । अन्तमा फर्किने बेला बाबुकाजिले मुख खोले “मैले तिमी जस्ता सयौं जनालाई आफुले जानेको शीप सिकाएको छु । तर कसैले आज सम्म मलाई यस्तो सम्मान दिएको थाहा छैन । तिमीले ढिलै भए पनि हामीलाई सम्झ्यौ र बोलाएर सम्मान ग¥यौ । तिम्रो यस कार्यलाई पनि हामीले कहिल्यै बिर्सिने छैनौं । तिम्रो जय होस् । यसरीनै प्रगति भएर गएको यो बुढो आँखाले हेर्न पाओस” भनी भावुक भए बाबुकाजि र पछि भेट्ने बाचा गरी बिदा भए ।
No comments:
Post a Comment