Sunday, August 8, 2021

गुंजिरहेको आवाज–४ सात गाउँले जात्रा मध्ये पाँगा नगाउँ र कीर्तिपुरको जात्रावारे जानकारी

 गुंजिरहेको आवाज–४ सात गाउँले जात्रा मध्ये पाँगा नगाउँ र कीर्तिपुरको जात्रावारे जानकारी 


भाईकाजी खाना खाएर मन्दः फल्चामा गयो । कीर्तिपुर नयाँबजारको अमल्सिमा रहेको मन्दः फल्चा त्यही पाटीको तलतिर नगरमण्डप श्रीकीर्ति विहार छ । आजकल त्यो मन्दः फल्चा दिनभरी बुढापाकाहरूको गफ गर्ने, बाघ चाल खेल्ने थलो, साँझ भयो कि तरकारी बेच्नेको थलो, राती कहिं बास बस्ने ठाउँ नभएकाहरूको लागि आश्रयस्थल भएको छ । हाम्रा पुर्खाहरूले कति सोचेर यस्तो पाटी निर्माण गरी राखेका छन । आजकल सार्वजनिक पाटी पौवा राख्ने चलन हराईसक्यो । भएको पाटीलाई संरक्षण गर्नतिर पनि कसैको ध्यान गएको छैन जस्तो लाग्छ । यो पाटीको छानामा घाँस उम्रेर छाना नै भत्काईदेला जस्तो छ । 


                                     कीर्तिपुर नयाँबजारस्थित मन्दः फल्चाको पुरानो रुप

पहिले त्यो ठाउँमा काठमाण्डौं, ललितपुरबाट ल्याउने सामान र काठमाण्डौं, ललितपुर जाने सामानको कर लिने ठाउँ थियो । अनि वटुवाहरूलाई पानी खुवाउन त्यो पाटीमा ज¥हुँ हिटी (ढुंगाको पानी त्यांकी बनाएर त्यसमा पानी हाल्ने) पनि राखेको छ । तर अहिले अब त्यो ज¥हुहितिको काम छैन । अहिले त्यो मन्दः फल्चालाई बाहिरबाट आएर डेरामा बस्नेहरूले (सोह्रखुट्टे पाटी) भन्न थालीसक्यो । कालान्तरमा सो¥ह खुट्टे पाटी नाम रहन जान सक्छ ।


                        पाँगाको विष्णुदेवी र बालकुमारी जात्रामा विष्णुदेवीको खत

कीर्तिपुरको नयाँबाजारमा, पहिले अमल्सि, जिफा गः, जलख्यः भनेर नाम चलेको चौर थियो । पहिलेका मानिसहरू केटाले केटी, केटीले केटा हेर्न आउने ठाउँ, जलख्यःमा त युवा युवती भेट्ने ठाउँ थियो । अहिले त्यो ठाउँ घरैघरले भरिसक्यो । नयाँबजार बाटो छेउमा ठूलो कुलो थियो । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरेहरूको अन्न उब्जनी हुने खेत लिएपछि त्यो कुलो काम लागेन अनि त्यो कुलो ढाकेर बाटो बनायो । पंचायतकालमा प्रधानपंचहरूले विश्वविद्यालयमा खेत परेका कीर्तिपुरवासीहरूको लागि भनेर अमल्सि, जिफा गः र जलख्यःमा घर बनाउन जमिन बाँडियो । जग्गा हुँदा सक्नेले सकेजस्तो गरी घर बनायो । पहिले त सबै घरहरू एकनासको हुनुपर्ने नियम राखेको थियो । पछि आपूm खुसि घर बनाउन थालियो । घर बनाउन नसक्ने, घरको जरुरत नहुनेले त्यो जमिन बेचेर गयो । बाहिरकाहरू आएर घर बनाएर बस्न थाले । नयाँ बस्ति बन्यो । बाटो फराकिलो भयो । त्यो नयाँबजारको नजिक घर हुनेहरूले पनि घर बनाउन थाले, कसैले जमिन बेच्यो । त्यो जमिनमा पनि धमाधम घर बनाउन थाले । नयाँ बस्तिमा यताउताका मानिसहरू पनि घर बनाएर बस्न आए । यसरी नयाँबजारमा घना वस्ती सुरु भयो ।


              पाँगाको विष्णुदेवी र बालकुमारी जात्रामा बालकुमारीको खत बोक्दै युवाहरु

यता उताबाट आएर घर बनाएर बसेकाहरूलाई एक ठाउँमा भेला गराएको छ त्यो मन्दः फल्चाले । त्यहाँ गयो कि यताउता सबैतिरको कुरा सुन्न, बुझ्न पाउने । कसैको कुनै सार्वजनिक कार्यक्रम भयो भने मानिस भेला गराउनु प¥यो भने मन्दः फल्चामा बसिरहेकाहरूलाई पनि लिएर जान्छ । कार्यक्रममा गए पछि चिया नास्ता गर्न पाउने भएर सबैजना खुसी भएर जान्छन् । एन.जि.ओ.को कार्यक्रममा सहभागी संख्या बढाउनु प¥यो भने उनीहरूलाई लिएर जान्छ । कार्यक्रम सकिएपछि खाजा खुवाएर बाटो खर्च भनेर पैसा पनि दिएर ल्याउँछ । घरमा काम गर्नु नपर्ने बुढापाकाहरू धेरैजसो त्यहाँ भेला हुन्छन् । त्यहाँ गयो भने संसारको कुरा थाहा पाउने । कसको घरमा के भइरहेको छ । कसको छोरा कस्तो छ, छोरी कस्तो छ ? त्यस्तै मात्र गफ हुन्छ । त्यहाँ देशको अवस्था बारेमा पनि कुरो हुन्छ ।

 कीर्तिपुर देवढोकास्थित इन्द्रायणी मन्दिर जसको मूर्ति खतमा राखेर जात्रा गरिन्छ ।

“भाइदाइको आज छ्वय्ला भूको दिन पनि यहाँ आउने फुर्सत छ ?” ऊ मन्दः फल्चामा गएर बस्न पाएको छैन, पहिलेदेखि बसिरहेका दुर्गाले सोधि हाल्यो ।


                 जात्रा हुनु अगाडि लाखे पाः बसेको देवढोकामा

“छ्वय्ला भू भनेर दिउँसो के गर्नुपर्छ र ? छ्वयला भू मान्ने त भरे बेलुका हो ।” भाइकाजीले जवाफ दियो ।

“तःखा पकाउनु पर्दैन भनेर सोधेको नि ।” दुर्गाले भन्यो ।

“तःखा आज पकाउने होइन, भोलि मात्र पकाउने हो ।”

“भोलि त कीर्तिपुरेहरूको तःखा बनाउने दिन, तिमी पनि कीर्तिपुरे भयौं कि के हो ?” सिलालले सोध्यो ।


यसलाई भेलू क्वँ भनिन्छ । इन्द्रायणी जात्रा बाघभैरवमा पुगेपछि यो भेलू क्वँको जात्रा गरेर लगिन्छ । यो जाँडको घ्याम्पो हो । यसभित्रको जाँड खायो भने वर्षदिनसम्म पेट दुख्दैन भन्ने कहावत छ जसलाई कीर्तिपुरेहरुले विश्वास पनि गर्छन ।

“म कीर्तिपुरे बन्छु भन्दैमा हुन्छु र ?” भाइकाजीले भन्यो, “ल हेर्नु, कीर्तिपुरेहरूको तःखाः बनाउने बेला मात्र तःखा बनाउँछु भन्दा दुर्गाले के भन्यो सुनिनौं ?”

“त्यो त हो हामी जहाँ जन्म भयौं, जहाँ हुर्किन्छौं त्यहींका भन्छन् । बरु अब हाम्रो छोराहरूको पालामा, अझ नातिहरूको पालामा मात्र उनीहरू कीर्तिपुरवासी हुन्छ होला । नत्र अहिले हाम्रो नाम लिंदा ऊ त्यो पाँगामि, ऊ त्यो नगामिको भन्छ । हाम्रो पहिचान भनेको त्यही त हो नि ।” किसलालले भन्यो ।

“आज नगाःमि पंच आएको छैन ?” भाइकाजीले सोध्यो ।

“आज नगामिहरूको मूया, भोलि सिन्दूर जात्रा, नगाउँमा गयो होला ।” सिलालले भन्यो ।

“नगाउँमा उसको को छ ?” भाइकाजीले फेरि सोध्यो ।

“उसको कान्छो छोरो नगाउँमै छ । उसको छोराहरू दुबैजना भिन्न बसिसक्यो । ठूलो छोरा टाउनप्लानिंगमा घर बनाएर बस्न आएको छ । स्वास्नी छउञ्जेल कान्छो छोराकहाँ बस्यो । स्वास्नी मरेपछि काजक्रिया सक्याएर ठूलो छोरा कहाँ बस्न आयो । हाम्रो चलन आमा भए कान्छो छोराकहाँ बस्ने । बाबु भए जेठो छोराकोमा बस्ने चलन छ । चाड पर्वमा मात्र ऊ नगाउँ जान्छ ।” सिलालले भन्यो ।

“आमाबाबु छँदाछँदै दाजुभाइ भिन्न बसेको ? कस्तो जमाना आयो है ?” किसलालले भन्यो ।

“आज नगाउँलेहरूको मूया (मुख्य जात्रा) भोलि विहानैदेखि लाछिमा रहेको बालकुमारी मन्दिरमा गएर बालकुमारीको पूजा गर्छ । साँझ बालकुमारीको मूर्ति खतमा राखेर जात्रा गरेर पीठमा लैजान्छ । अनि त्यो मूर्तिलाई गर्भगृह भित्र लगेर राख्छ । अनि भेलूथ्वं ल्याउँछ । कालो एउटा बोको बलि दिन्छ । बालकुमारीको पूजा सकिने बितिक्कै धाल्चा खाकेगु सुरु हुन्छ । धाल्चा खाकेगु पुजा सकियो भने नगाउँको जात्रा सिद्धिन्छ ।” दुर्गाले भन्यो ।

“यो धाल्चा खाकेगु भनेको के हो ? मैले त कहिले पनि हेर्न पाएको छैन । पहिले जवान छँदा एकचोटि हेर्न गएको थिएँ । आधारातमा मात्र सुरु हुन्छ भनेकोले घरमा आउन अबेर हुन्छ भनेर नहेरीकन आएँ । पहिले जात्राको बेला बाटोमा अबेर हिंड्नु हुँदैन भन्थ्यो । देवताहरू भेटिन्छ, विरामी हुन्छ भन्थ्यो ।” भाइकाजीले भन्यो ।

“यो धाल्चा खाकेगु भनेको एउटा तान्त्रिक पूजा विधि हो । बालकुमारी माईको पूजा सकिएपछि पाँच जनालाई बालकुमारीको अग्निकुण्डको दायाँ बायाँ राख्छ । गुरुजुले पाँचैजनालाई सेतो कपडाको फेतां लगाई दिन्छ । सिन्दुर पुजा गरेर पाँचैजनालाई थ्व (जाँड), अय्ला (रक्सि), हि (रगत), दुरु (दूध) र धौ (दहि) पाँच किसिमको चीजको लागि पाँच वटा हरेकलाई एक एक धाल्चा हातमा राखी दिन्छ । अनि बालकुमारीस्थानदेखि ल्याएको पसुका (धागो)ले उनीहरूको हातमा बाँधिदिन्छ । गुरुजुले चर्या गाउनु हुन्छ, काँबाजा बजाउँछ, नायखिं बाजा बजाउँछ । अनि धाल्चा बोकिरहेकाहरूको हात विस्तारै काम्न थाल्छ । काम्दा काम्दै पछि हुँदा धेरै हल्लिन्छ । धाल्चाभित्र रहेको रक्सि पोख्लाजस्तो भयो भने गुरुजुले पूजा गरेर उनीहरूको हातबाट त्यो धाल्चा लिन्छ अनि बल्ल कामिरहेकाहरू काम्न बन्द हुन्छ । त्यसपछि नगाउँको जात्रा सकिन्छ ।” किसलालले बतायो । 

यो कुरा सुनेर भाइकाजी मात्र होइन सबैजना चकित भए । धाल्चा कमाउने भन्छ, के गरेर कसरी कमाउँछ भन्ने यति राम्ररी कसैको मुखबाट सुन्न पाएको थिएन । किसलालको मुखबाट सुन्न पाइयो । 

“पाँगामा पनि जात्रा भन्छन् । खट घुमाउने बेला पाँगामा भोज खान जाँदा हेर्ने त्यति हो । नत्र खास केही पनि थाहा छैन ।” जितलालले भन्यो, “ल, भाइकाजी तिमी पाँगामि हौ । पाँगामिहरूको जात्रा कहिलेदेखि सुरु हुन्छ ? तिमी भन ।”

“खास गरी पाँगाको जात्रा आजभन्दा चार दिन अगाडिदेखि सुरु भएको भने पनि हुन्छ । पाँगामा पाँचवटा गुथिहरू छन् । ज्यापुहरूको तिनवटा, दुवालहरूको एउटा र खड्गीहरूको एउटा । आजभन्दा चारदिन अगाडि ती गुथिका थकालिहरू र नाईकेहरू जम्मा भएर बलिदिने रांगो छाम्छ । जसलाई मन्दः म्ये भन्छ । त्यो भैंसिमा कुनै प्रकारको घाउ खोट नभएको हुनुपर्छ । त्यो रांगो छानेर ल्याएर गुथिमा बाँधिराख्छ । छ्वय्ला भूको दिन अर्थात सप्तमीको दिन बालकुमारीलाई त्यो मन्दः रांगो बलिदिन्छ । त्यो रांगो बलिदिएपछि पाँगा लाछिमा रहेको विष्णुदेवी र बालकुमारीको मूर्ति बाहिर ल्याएर खतमा राख्छ । त्यही राती बालकुमारीलाई बाजा बजाएर दिख्यःमा लैजान्छ । विष्णुदेवीलाई त्यो रात लाछीमा राख्छ । अष्टमीको दिन विहानैदेखि सबैले विष्णुदेवी र बालकुमारीको पूजा गर्छ । अष्टमीको साँझ विष्णुदेवीलाई खतमा राखेर भाजंगलको विष्णुदेवी मन्दिर प्रांगणमा लैजान्छ । दुवालहरूको ह्वांकिला गुथिले त्यहाँ होम गरेर पूजा गर्छ । त्यहाँ भएका सबैजनालाई समयबजि खुवाउँछ । दाउराको आगो बाल्छ । त्यही दिन आधारातमा विष्णुदेवीको खत भाजंगलबाट ध्वाखासीमा रहेको द्यःचपाःमा ल्याएर राख्छ । बालकुमारीको खत चोरेर ल्याउने भनेर दिख्यःदेखि बोकेर ल्याउँदा घण्टा नबजोस् भनेर परालले घण्टा छोपेर ल्याउँछ । नवमिको दिन बिहानदेखि द्यःचपामा राखेको खतमा पूजा गर्नेहरूको भीड हुन्छ । फेरि टोल टोलबाट सामुहिक रुपमा बाजा बजाएर पूजा गर्न आउँछन् । यसरी सबै टोलबाट सामुहिक पूजा आइसकेपछि दिउँसो बाह्रबजेतिर देवताको खत उठाएर जात्रा गरी देशभरि घुमाउँछ । त्यसबेला पनि आफ्नो घर अगाडि आँगनमा राखेर पूजा गर्न चाहनेहरूले रातो माटोले आँगन पोतीराखेको हुन्छ । त्यहिं खत बिसाएर पूजा गर्न लगाउँछ । कसैले जनावर या कुखुरा, हाँसको बलि नै दिन्छ । कसैले पूजा मात्र गर्छन् । अनि खत बोकेर आउनेहरूलाई जाँड रक्सि खुवाएर समयबजि बाँड्छ । त्यहाँ गिलासको जरुरत नै हुँदैन । जाँड राखेर ल्याएको भाँडाबाटै पिउँछन् । खत बोक्न ज्यापुहरूको गुथिबाट गुथियारहरू पठाउँछन् । तिनीहरूलाई चिरपाः भनिन्छ । उनीहरूले खत बोक्नै पर्दैन, अन्य युवाहरूले बोकेर खत कुदाउँछन ।” भाइकाजीले भन्यो ।

“आज यज्ञ प्रसाद बाहुन आएको छैन जस्तो छ ।” जितलालले सोध्यो ।

“ऊ नआएर त हामी यतिका बेर कुरा गर्न पाएको । नत्र ऊ भएको बेला उसको कुरा सुन्न मात्र ठिक्क हुन्थ्यो ।”

“आज विराटनगर जाने भनेको थियो । आजकल विराटनगरमा मौसम राम्रो छ । यहाँजस्तो जाडो छैन, न त गर्मी नै छ । उसको माहिलो छोरा विराटनगरमा छ रे ।” दुर्गाले भन्यो ।

“त्यो बुढोको कतिजना छोराहरू छन् ?” जितलालले जिज्ञासा राख्यो ।

“तिनजना छोराहरू छन् । जेठो यहाँ टाउनप्लानिंगमा घर बनाएर बसेको छ, माहिलो विराटनगरमा, कान्छो छोरा अमेरिका गइसक्यो ।”

“बुढाकै मोज छ । कहिले विराटनगर, कहिले काठमाण्डौं बस्न पाइन्छ ।”

“खास त्यो बुढाको घर त भोजपुर रे । भोजपुरबाट जागिर खाएर विराटनगर आयो । विराटनगरमै घर बनाएर बस्यो । जेठो छोरा काठमाडौंमा पढ्न आएको । यहिं जागिर भयो । पैसा कमाएर यहिं टाउनप्लानिंगमा जग्गा किनेर घर बनायो । कान्छो छोरा पढ्नको लागि अमेरिका गएको त्यहिं बस्यो ।” दुर्गाले भन्यो ।

“तिमीले त त्यो बाहुनको बारेमा सबै थाहा रहेछ ।”

“त्यो बुढाको घरमा चिया पिउन जाने यो । उसलाई थाहा नभए कसलाई थाहा होला ?”

“त्यो बुढा अस्सी वर्ष नाघीसक्यो । तैपनि हामीभन्दा बलियो छ हगि ?”

“उनीहरूले हामीले जस्तो जाँड रक्सि पिउँदैन अनि बलियो हुने त स्वाभाविकै भयो नि ।”

“बाहुन हो, दुई–चारजनालाई घरमा बोलाएर दुई–चारकप चिया पिलाएर मान्छेहरू हात लिन जानेका छन ।”

“हो भने बाहुनहरू धेरै चलाख छन् । जता गए पनि उनीहरू नै माथि हुन्छन् ।”

“हो भने, उनीहरू पढेलेखेका भनेर बाजे कि बाजे भनेर मान्छन् । उनीहरूले जे भने पनि आँखा चिम्लेर विश्वास गर्छन् अनि उनीहरू माथि हुने भइहाल्यो ।”

“उनीहरू मेहेनत गर्छन्, जसो गरेर भए पनि सरकारी जागिर त खाईहाल्छ । सरकारी जागिर भए पछि भविष्य सुनिश्चित हुनेभयो । अनि उनीहरूले मोज नगरे कसले गर्छ ?”

“उनीहरूको जुनसुकै अफिसमा आफ्नो मान्छे एक जना न एक जना हुन्छ । सांसदहरू पनि धेरैजसो बाहिरकाहरूनै हुन्छन् अनि उनीहरूलाई जागिर खान गा¥हो हुँदैन । अहिलेको अवस्थामा हामी नेवाःहरूले सरकारी जागिर खान आसै नगरे पनि हुन्छ । आफ्नो भन्ने कोहि छैन ।”

“नेवारहरूले लोकसेवा जाँच नै दिंदैन अनि कहाँबाट सरकारी जागिर खान पाइन्छ ? लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्छ सरकारी जागिर खानको लागि ।”

“हामी नेवाःहरूले लोकसेवा आयोगको जाँच दिएर के गर्ने ? हामीलाई पासै गर्दैन । लिखितमा पास गरे पनि अन्तर्वार्तामा पेल गरिदिन्छ । मेरो छोराले कतिपटक लोकसेवा परीक्षा दिइसकेछ, लिखितमा पास गरे पनि अन्र्तवार्तामा फेल ग¥यो भनेर जाँचै दिन छाडिसक्यो ।” जितलालले भन्यो, “बि.ए.पास गरेको छ । सरकारी जागिर नपाएर नीजि कम्पनीमा काम गरिरहेको छ । महिनाको जम्मा दश हजार तलब रे । सरकारी जागिर भएको भए आजकल बीस हजार भन्दा बढी तलब पाउँथ्यो होला ।”

“तिम्रो छोरालाई दश हजार तलब दिएकै भन्नुपर्छ नि, हामीकहाँ सहकारी होस या बोडिंग स्कुलमा होस दश हजार तलब लिन गा¥है छ ।” 

“हो भने, हाम्रो टोलका अष्टनारांको छोराले पनि धेरै पढेको छ । यहाँ राम्रो जागिर पाएन । अनि खेत बन्धक राखेर पैसा लिएर अमेरिकामा पढ्न गएको त्यही बस्यो । फर्केर आएन ।” सिलालले भन्यो ।

“हो त नि, पहिले नेपाल बैंक नेवाःहरूको, बाणिज्य बैंक बाहुनहरूको भन्थ्यो । अब दुईटै बैंकको माथिल्लो पदमा नेवाहरू छँदै छैन भने पनि हुन्छ । त्यसैले त आजकल नेवाहरूको हक अधिकार चाहियो भनेर नेवाः राज्यको मांग गरिरहेका छन् । नेवाः राज्य ल्याएर हाम्रो जनसंख्या अनुसार कोटा लिएर जागिर खान पाए मात्र हो नत्र अब जागिर खाने आशा नगरे पनि हुन्छ । नीति नियम बनाउने ठाउँमा हामी नेवारहरू पनि पुग्नु प¥यो । ”

“त्यसै भएर त नेवारहरूले नेवाः स्वायत्त राज्य चाहिन्छ भनिरहेका छन् ।”

“नेवाः स्वायत्त राज्य चाहिन्छ भनेर मात्र के गर्ने ? त्यसको लागि काम पनि त गर्नुप¥यो नि । नेवारले नेवाः भएर हेर्ने होइन । कुनै न कुनै पार्टीको मान्छे भएर हेर्छ । हामी सबै एक ढिक्का भएको भए उहिल्यै नेवाः राज्य आइसक्यो होला ।” भाइकाजीले भन्यो । सबै जना त्वाल्ल परेर हेरीरहे । भाइकाजीले नै फेरि सोध्यो, “वीरवहादुर दाइको घरमा ठूलो झगडा भयो भन्छ हो ?”

“के को बारेमा झगडा भएको ? कोसँग झगडा भएको ?” सिलालले उत्सुक भएर सोध्यो ।

“अस्ति उसको कान्छो छोरासँग झगडा भयो भन्ने सुनेको थिएँ ।

“हो त नि, उनीहरुको बाबु छोरा अलग भइसक्यो ।” दुर्गाले भन्यो, “नयाँ घर छोराले लियो । बुढाबुढी पुरानै घरमा बस्न गयो ।”

By : Najar Ram Maharjan


No comments:

Post a Comment