जनप्रतिनिधिहरूको आँखामा नपरेको महत्वपूर्ण पाटीको अवस्था
कीर्तिपुर सन्देश साप्ताहिक संयुक्तांक ५१२
वि.सं.२०७४को स्थानीय निर्वाचनबाट कीर्तिपुर नगरपालिकामा जनप्रतिनिधि आएपछि कीर्तिपुरमा सम्पदाको रूपमा रहेका विभिन्न पाटी पौवाहरूको जिर्णोद्धार गरेर सम्पदाको संरक्षणमा लागेका छन । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई सम्पदाप्रेमी मेयर भन्न थालेका छन ।
तर कीर्तिपुर नगरपालिका वडा नं.५ पाँगा धुसि दहनमा अवस्थीत ऐतिहासिक एउटा पाटी कसैको आँखामा परेको छैन । त्यसैले यो पाटी जिर्णअवस्थामा पुगिसकेका छन ।
यहाँ धारामा नुहाएर लुगा फेर्न जाने पाटी । यहाँ ४ वटा धाराहरु छन त्यसैले अहिले यो ठाउँलाई कमल पोखरी नभनीकन चारधारा भन्न थालेका छन ।
पाँगा गाउँ बाहिर कमल पोखरीको नजिक रहेकोले यो पाटी प्रति जनप्रतिनिधिहरुको आँखा नपुगेको हो कि ? यो पाटी पाँगाको तल रहेको कमल पोखरीको नजिकै रहेको छ । यस पाटीको विशेषता भनेको पाँगालीहरू भाजंगलको दीपमा लाशलाई दागबती दिएर जलाएर घर आउँदा यो पाटीनिरको दहन (कमल पोखरी)को धारामा नुहाएरमात्र घर जाने गर्छ । नुहाउनको लागि लुगा झुण्ड्याउने ठाउँ हो यो पाटी । जसले पानी परेको बेलामा ओट लाग्ने ठाउँ पनि दिन्छ । घरको मानिस मरेको १० औं दिनको कर्मकाण्ड (दू ब्यंकेगु) गर्ने ठाउँ पनि यो पाटी नै हो । पानी परेको बेलामा पनि यो पाटीमा बसेर कपाल खौरने, नङ काट्ने प्रक्रिया पुरा गर्छन । यो भयो मृत्यु संस्कारमा सहयोग हुने गरेको कुरा ।
कर्मकाण्ड गर्न आउँदा लुगा फुकालेर झुण्ड्याउनको लागि लस्करले ठोकीराखेको खुँटीहरु
पाँगालीहरूको खेतबारीमा काम गरेर घर फर्कने बेलामा यही पाटीमा आपूmले बोकेर ल्याएको खर्पन वा भारी बिसाएर आराम गर्ने पाटी हो । यहाँ आराम गरी सकेपछि हात मुख धोएर दूध पोखरीको निर्मल कञ्चन चिसो पानी अंजुलीभरी भरेर खाँदा प्यास बुझने र आनन्द आउने त छँदै छ । शरीरमा लागेका हिलो, माटो सफा गरेर घर जाने ठाउँ पनि यही हो । यो ठाउँको धारामा चौबिसौं घण्टा पानी आउँछ । यहाँको धारा कहिल्यै बन्द हुँदैन । यसरी हरेक दृष्टिकोणबाट महत्वपूर्ण पाटी अहिले जिर्ण अवस्थामा पुगेको छ ।
यो पाटीको पछाडि करीव ५ फिट जमिन अझै बाँकी छ । यो पाटीको जग्गा समेत समेतेर बनाउँदा अझ राम्रो हुन्छ ।
यो पाटी वि.सं.१९९४ बैशाख ३ गते विहिबारका दिन पाँगा लाछिका सिलाल महर्जन र श्रीमती जसथकुं महर्जनले लोक कल्याणको लागि स्थापना गर्नु भएको थियो । त्यतिबेला यो पाटी अहिलेको भन्दा ठूलो र झिंगटे छानाको थियो । कालान्तरमा यो पाटी भत्किन गयो । सिलालको छोरा जित बहादुर महर्जन र बुहारी श्रीमती दिलमाया महर्जनले २०३४ साल फागुण १ गते आइतवार जिर्णोद्धार गर्नुभयो । त्यसबेला पुरानो शैलीमा जिर्णोद्धार गर्न सकेन । छाना सिमेन्टले धलान गरि बनाएको थियो । त्यसबेलादेखिको यो पाटीको स्वरुप अहिलेसम्म पनि त्यतिकै छ । पहिले हरेक कुरो मानिसहरु आफ्नै खर्चमा बनाएर पुण्य कमाउनेतिर लाग्थ्यो । अहिले मानिसहरूमा त्यो मानसिकता हटिसकेको छ । जुनसुकै कुरोमा पनि सरकारको मुख ताक्ने बानीले गर्दा यो पाटीले जिर्णोद्धार हुन नपाएको जस्तो लाग्छ ।
त्यसपाटीमा रहेको शिलापत्र
समयबजि पुन्हिको दिन यस पाटीमा जीतलालका नातीहरुले अहिले पनि समयबजि बाँड्न आउने गर्छन् ।
यहाँ मर्यादित र अनुशासित ढंगले नुहाउनको लागि सूचना पनि टाँसिएको छ ।
अतः यो ऐतिहासिक महत्वको सबैलाई पाईक पर्ने पाटीको पुरानै शैलीमा झिंगटे छाना राखेर बनाउन पाए अझ यसको महत्व बढ्ने थियो । यसप्रति जनप्रतिनिधिहरुको ध्यान जाओस भन्ने कामना गर्दछु ।
No comments:
Post a Comment