बहुप्रतिक्षित हाथु स्वरूपका बाघभैरबको विशाल मुखाकृति कीर्तिपुर ल्याइँदै
—भरत महर्जन
सायद् अधिकांश कीर्तिपुरवासीहरूलाई थाहा नहोला, वसन्तपुरमा जस्तै भैरबको मुखाकृतिबाट छ्याङ् प्रवाह गर्ने संस्कृति कीर्तिपुरमा पनि सोही समय संचालन हुने गर्दथ्यो । एक स्थानमा मात्र नभई इन्द्रजात्रको दौरान (समय्बजि पुन्ही) वसन्तपुरकै समान कीर्तिपुरका विविध फल्चासतःहरूमा भैरवको मुखाकृति प्रदर्शनमा राखी मुखारविन्दुबाट छ्याङ् प्रवाह गर्ने संस्कृति थियो जसलाई नेपालभाषामा हाथु हाय्केगु भनिन्छ । मल्लकालमा हाथु हाय्केगु (छ्याङ् प्रवाह गर्ने चलन) संस्कृति निकै लोकप्रिय बनेको थियो । आफ्नो वस्तीका क्षेत्रपाल एवं जीवनकै रक्षकका रूपमा रहेका भैरवको मुखारविन्दुबाट छ्याङ् प्रवाह गर्ने र प्रसाद स्वरूप उक्त अम्बल ग्रहण गर्नाले आफू वर्षभर सुरक्षित भइने आत्मविश्वास मन–मस्तिस्कमा संचार हुने गर्दथ्यो । आफ्नो र आफ्नो देश रक्षाको मनोविज्ञानसंग जोडिएको यो संस्कृति नेपालमण्डलका विविध वस्तीमा मल्लकालको उत्तरार्धमा झाँगिएको पाउँछौँ । खोकना, टोखा, लुभु, भक्तपुर, थिमि, पाटन, हरिसिद्धि, कान्तिपुर आदि प्रचीन वस्तीका विविध टोलहरूमा यो संस्कृति हालसम्म पनि जीवन्त अवस्थामा छन् । कीर्तिपुर लगायत अन्य नेवार वस्तीहरूमा समान संस्कृति मल्लकालमा अस्तित्वमा रहेको तर वर्तमानमा कोही–कसैलाई थाहा नहुने गरी लोप भैसकेको तथ्य खुल्ने थुप्रै उदाहरणहरू प्राप्त भएका छन । जस्तै कीर्तिपुर, क्वाःच्व ख्यालिद्यः पछाडि टाँसिएको नेपाल संवत् ८१४ (यगनरेन्द्र मल्लको शसनकाल) को अभिलेखमा क्वाथ नायक (कीर्तिपुर किल्लाका नाइके)ले काष्ठ मण्डप –मन्दःफल्चा) बनाई लक्ष्मीनारायणको मूर्ति (हाल ख्यालिद्यः कहलिएको) स्थापना गरी हाथु हाय्केगु संस्कृतिको खातिर १४ रोपनी जग्गा दान गरेको कुरा उल्लेख छ । प्रतिवर्ष सो मण्डपमा शक्ति सहितको (भैरवसंगै उनकी पत्नी भएको) भैरव मूर्ति दर्शन–पूजनको निम्ति प्रदर्शनमा राखी सो मूर्तिमा जडित टुटीबाट छ्याङ् प्रवाह गरिनु पर्ने कुराको उल्लेख सो अभिलेखमा परेको छ । १४ रोपनी जग्गाबाट प्राप्त ‘‘४० पाथी चामलको उपयोग गरी सो संस्कृति संचालन गर्नू’’ भनी तत्कालीन दाताले अभिलेखमा निर्देशन दिएका छन् । केही वर्ष पूर्वसम्म ख्यालिद्यःलाई पूजी समय्बजि पुन्हीका दिन समय् वितरण गर्ने संस्कृति एक परिवारले गर्दै आएका थिए । यो परिवार नेसं ८१४ मा दाताबाट गठन भएको गुठीकै अवशेष हुनसक्ने सम्भावना छ । तथापि सो परिवारको कोही पनि सदस्य यस स्थानमा हाथु हाय्केगु संस्कृतिबारे ज्ञात छैनन् । यसबाट ख्यालिद्यः भएको स्थानमा निकै समय अगावै यो संस्कृति लोप भैसकेको प्रतीत हुन्छ । यो अभिलेख राखिएको ४ वर्ष पश्चात् (नेसं ८१८) कीर्तिपुरकै इछेँ टोलमा फल्चा (हाल ट्याङ्की भएको) र चैत्य निर्माण गरी सतःक्व टोलका रामहरि भारो र उनका अन्य परिवार सदस्यले हाथु संस्कृतिको लागि ९ रोपनी जग्गाबाट प्राप्त ३० पाथी चामल खर्चेर भैरबबाट छ्याङ् प्रवाह गर्नुपर्ने कुराको निर्देश गरेको पाइन्छ । यो संस्कृतिबारे पनि टोलबासीहरू अज्ञात देखिन्छन् । त्यसैगरी नेसं ८१३ को सिंहदुवाः टोलस्थित अभिलेखमा ग्यानसिंह भाव (ज्यापु) र धरम सिंहले चैत्र कृष्ण चतुर्थीका दिन हाथु संस्कृति संचालन गर्न पांगाको जाखा, यनचो (हालको यंच्व) र मुगरबुँ (हालको मगःबुँं) मा करिब ७ रोपनी जग्गा गुठी राखेको कुरा परेको छ । हाल यस घर भएका घरधनीलाई विगतमा यो थिति अस्तित्वमा भएको आफूलाई थाहा भएको कुरा बताएबाट केही दशक पूर्वमात्र यो संस्कृतिले निरन्तरता पाउन छोडेको देखिन्छ ।
अधिकांश स्थानमा समय्बजि पुन्हीका दिन संचालन हुने हाथु संस्कृति वस्तीको विशेष पर्व अर्थात् जात्रा विशेषमा पनि संचालन हुने गरेको तथ्य भेटिन्छन् । मछिन्द्रनाथको रथ यात्राका दौरान पाटनका दर्जनौ फल्चाहरूमा हाथु हाय्केगु गरिन्छ । कीर्तिपुका आरध्य देव बाघभैरवको जात्राका दिन पनि हाथु संस्कृति संचालन हुने गरेको तथ्य खुल्ने एक ताम्रपत्रको पाठ धनबज्रद्वारा ‘मध्यकालका अभिलेख’ पुस्तकमा प्रकाशित छ । हाल बाघभैरव मन्दिरको मोहोडा भागमा टाँसिएको नेसं ८२३ को उक्त ताम्रपत्रमा राजकुर (लाय्कू) निवासी क्वाथ नायक दुण्दिराज भारो र क्वाथ नकिनि चिकुटिले गुंद्य चपार (चपाः) बनाई शक्ति सहितको (भैरव र उनकी पत्नी भएको) सुवर्ण भैरब मूर्ति स्थापना गरेको उल्लेख छ । धनबज्रले गुंद्य (गुँदेय्) लाई गल्तीस गुंथ पढेका छन् । स्थापित भैरबको सुवर्ण मूर्तिबाट वर्षेनी सिंह संक्रान्ति (बाघभैरव जात्रा) का दिन हाथु हाय्के गरिनुपर्ने कुरा ताम्रपत्रमा खुलाइएको छ । यो थिति संचालनार्थ दाता दम्पत्तीले थुप्रै ठाउँमा जग्गा पनि दान गरेको कुरा ताम्रपत्रामा परेको छ ।
यी माथि उल्लेखित बाहेक कीर्तिपुरको गुत्पौ टोलको फल्चामा र इछेँ टोलको एक आवासीय घरको पेटीमा भैरब मूर्ति प्रदर्शन गर्ने थिति थियो । यीमध्ये गुत्पौ टोलको थिति केही दशक अघि लोप भैसकेको छ भने इछेँमा यद्यपि भैरवमूर्ति प्रदर्शनमा राख्ने कार्य एक महर्जन परिवारले गर्दै आएका छन् । मूर्त रूप पहिचान गर्न नसकिने गरी निकै खिइसकेको, बचेखुचेका केही काष्ठ फलक मात्र प्रदर्शनीमा राख्ने गरिन्छ । सो परिवार यस मूर्तिलाई हासाद्यः भन्ने गर्छन् जुन हार्खांद्यः वा हाथु द्यःको अपभ्रंश रूप हो । समय्बजि पुन्हीका दिन मूर्ति प्रदर्शनीमा राख्ने गरे तापनि आफूहरूलाई मूर्तिबाट छ्याङ् प्रवाह गर्ने गरेको तथ्य थाहा नभएको सो परिवार बताउछन् । यसबाट मूर्ति प्रदर्शनीमा राखिए तापनि छ्याङ् प्रवाहको संस्कृति भने निकै समय अघि लोप भैसकोको देखिन्छ । जे होस, इछेँस्थित यही एक मात्र हाल कीर्तिपुरमा जीवन्त हाथु संस्कृति मान्न सकिन्छ ।
एक मात्र नभई कीर्तिपुरका अनेकन मल्लकालीन अभिलेखमा उल्लेखित यो विशिष्ट संस्कृतिलाई पुनःर्जीवन दिने उद्देश्य लिई चीथू टोलस्थित सन स्टार क्लबले सन् २०१९ देखि गृहकार्य थालेको थियो । कीर्तिपुर, याकःछेँ निवासी, तत्कालीन समयका प्रसिद्ध बाद्यगुरु जोगलाल महर्जनका छोरा दिवंगत प्रेम बहादुर महर्जन र उनकी दिंवगत धर्मपत्नी गणेश कुमारीको नाममा सुपुत्रद्वय कृष्ण प्रसाद महर्जन र अर्जुन प्रसाद महर्जनले भैरवको विशाल मुखाकृति प्रायोजन गर्ने निर्णय भए पश्चात् सांस्कृतिक पुनःजागरणको यो कल्पनाले मूर्त रूप लिन थालेको हो । शुरुमा बुङ्गमतीका वरिष्ठ मूर्तिकार लक्ष्मण महर्जनले मुखाकृति कुँद्ने अभिभारा लिई उत्साहका साथ लाग्नुभएको थियो । दुर्भाग्यवस् काँठ तयारीको चरणमै कोरोनाका कारण वहाँको देहावसान भएपछि उनका शिष्यहरू रामभक्त महर्जन, अमिर शाक्य र जितेन्द्र तुलाधरले गुरूको अपुरो कार्यभार वहन गर्ने अठोट गरेका हुन् । उनीहरूबाट बुङ्गमतीमा ५ फीट भन्दा अग्लो काष्ठ मुखाकृति तयार भैसकेको छ । भैरवको त्वाकः (सिंहासन) भने बलम्बुका कलाकार शेर बहादुर महर्जनले कुँदेका हुन् । ठुलो आकारको काँठ उपत्यकामा उपलब्ध नभएकाले हेटौंडाबाट झिकाइएको हो । निर्मित यस भैरव मुखाकृति हालसम्म संसारकै अग्लो काष्ठ मुखाकृति बन्न पुगेको वरिष्ठ जानकार परम्परागत कलाकर्मीहरू दाबी गर्छन् ।
समग्र कीर्तिपुरकै गौरवका रूपमा लिन सकिने यस भव्य मुखाकृति यही आउदो फागुन १७ गते (शिवरात्री) का दिन कीर्तिपुर ल्याइँदै छ । देश–विदेशका आस्थावान दाताहरू र कीर्तिपुरका संस्कृतिप्रेमी युवाहरूको सामुहिक मेहेनतबाट यस कार्यले पूर्णता पाउन लागेको हो । विधिवत् रूपमा कां, धाः, नायःखिं, धिमय्, बांसुरी बाजा सहित भैरव भित्राउन क्लबले तयारी थालेको छ । कार्यक्रम लगायत वर्षेनी समय्बजि पुन्हीका दिन हाथु संस्कृति संचालन खातिर अझैपनि पर्याप्त अर्थ (चन्दा) संकलन भैनसकेकाले क्लबले संस्कृतिप्रेमी जन–समुदायलाई सहयोगको अपिल पनि गरेको छ । नगद रू १०,०००÷– भन्दा माथिका चन्दादाताको नाम शिलापत्रमा कुँद्ने योजना क्लबले राखेको छ । शदीऔं वर्ष पहिले लोप भैसकेको मौलिक संस्कृति पुनःजीवित गर्ने ऐतिहासिक दातित्व हामी सबैको हो । सांस्कृतिक पुनःर्जीवनको अभियान स्वरूप गरिएको यस कार्यले भविष्यमा नजिरको रूप लिई कीर्तिपुरका अन्य स्थानमा लोप भैसकेका हाथु संस्कृति पनि क्रमश पुनःस्थापना हुँदै जाने अपेक्षा राखिएको छ । यस ऐतिहासिक कार्यमा सबै क्षेत्रका जन–समुदायले कुनै न कुनै रूपमा साथ–सहयोग गरी हाथु स्वरूपका बाघभैरबको कीर्तिपुर आगमन कार्यक्रमलाई सफल तुल्याउन क्लब हार्दिक अनुरोध गर्दछ ।
(लेखक महर्जन हाथु संस्कृति पुनःस्थापना अभियानका संयोजक हुन्)
No comments:
Post a Comment