Thursday, August 18, 2022

बाघभैरव जात्रा, किंबदन्तीदेखि ऐतिहासिक पक्ष र बाघभैरवका मूर्ति

 बाघभैरव जात्रा, किंबदन्तीदेखि ऐतिहासिक पक्ष र बाघभैरवका मूर्ति

-----श्रीकृष्ण महर्जन 

काठमाडौँबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४ सय ५ मिटर उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र छ । पूर्व–पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो र महत्ववपूर्ण मन्दिर हो । मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारत र रामायणका दृश्यहरू देख्न सकिन्छ ।

कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९–२४६ (ई सं १०९९–११२६)को बीचमा गरेको गोपाल राज वंशावलीमा उल्लेख छ । कीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको मानिने बाघभैरवको मन्दिरको करिब ९०० वर्षको इतिहास रहेको मानिन्छ । बाघभैरव मन्दिरका सम्बन्धमा नेपाल संवत् ६२३ सम्म कुनै अभिलेख पाइँदैन । नेपाल संवत् ६३५ कात्तिक महिनामा पाटनका महापात्र जगतपाल वर्माले उक्त मन्दिरको भव्य जीर्णोद्धार गरिएको पाइन्छ । तत्पश्चात पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको उल्लेख पाइन्छ ।

किंवदन्ती

बाघभैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवम् जनश्रुतीअनुसार परापूर्वकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल थियो । उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे । बाघको मूर्ति बनेपछि त्यलाई सुहाउने जिब्रो बनाउनका लागि पात खोज्न गए । त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको र पात लिएर फर्कदा आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले पछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्ना भेडाबाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन् । पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती छ । त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जीब्रो नरहेको मानिदै आएको छ ।


ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएको कीर्तिपुर शहरका वासिन्दा अर्थात कीर्तिपुरवासीको आराध्यदेव वाघभैरबलाई हालसम्म पनि आजु द्यः भन्दै आएका छन् । बाघभैरव क्षेत्र अर्थात चोकलाई स्थानीय दाफा गीतमा धुनी बहि भनी पनि उल्लेख भएको पाइन्छ । 

स्थानीयवासीले अहिलेसम्म पनि गुने र आइथाय् भन्दै आएको सो चोकलाई हाल आएर बाघभैरव क्षेत्रको रुपमा प्रसिद्ध हुँदै आएको छ । बाघभैरबलाई आफ्नो पूर्खाको प्रतिक मान्दै आजु द्यः भन्ने गरिन्छ । नेवार समुदायभित्र हिन्दू र बौद्ध मार्गीहरुले पनि त्यतिकै मान्दै आएको आजु द्यः भनेको नेवार समुदायको पुरुष अर्थात बुबाको प्रतिकको देवता हो । नेवार समुदायले बुबा आमा र गुरुलाई प्रमुख देवताको रुपमा मान्दै आएको पाइन्छ । बुबा अर्थात पुरुष देवताको रुपमा आजु द्यः आमा अर्थात स्त्री देवताको रुपमा अजिमा द्यः र गुरुको रुपमा नासः द्यः अर्थात नाटेश्वरलाई मान्दै आएको पाइन्छ ।

नेपाल भाषामा द्यः भनेको देवता हो । विगतमा आजु द्यःको रुपमा मान्दै आएतापनि पछि आएर आजु द्यःलाई भैरव मान्दै सो मूर्ति बाघको जस्तो देखिएका कारण बाघभैरव भन्न गएको अनुमान गर्न सकिन्छ । बाघभैरव भनेपछि हिन्दू धर्म अनुसार भैरब भनेको महादेवको अर्को रुप भएका कारण महादेवको रुप नै बाघभैरव हो भन्नेहरु पनि नभएको हैन । तैपनि कीर्तिपुरवासीले परम्परादेखि बाघभैरवको विशेष पूजाआजा भाद्र १ गते गर्दै आएतापनि नेपाल संवत् १०७६ विक्रम संवत् २०१३ देखि मात्र खट् जात्रा सुरु गरेको हो । अहिले आएर बाघभैरवको सो जात्रा अत्यन्तै भब्य रुपमा हुन थालेको छ । बाघभैरव जात्राको क्रममा विभिन्न सांस्कृतिक बाजा बजाउदै नगर परिक्रमा गर्ने चलन रहेको छ । पछिल्लो समयमा आएर कीर्तिपुरवासीले बाघभैरव जात्राको समयमा आफन्तहरुलाई बोलाउने समेत गर्न थालेका छन् साथै भोज बनाई आ–आफ्नो परिवारमा खाने समेत गर्न थालेका छन् ।

कीर्तिपुरवासीका लागि मात्र हैन कीर्तिपुर भन्दा बाहिरका समुदायलाई पनि कीर्तिपुरको बाघभैरव जात्रा आकर्षक जात्रको रुपमा परिणत भएको छ । विशेष गरि बाघभैरवको मूर्ति राखी खट जात्रा भन्दा पनि बाघभैरव परिषद्मा एक किसिमको मेला जस्तै लाग्ने र बाघभैरव मन्दिर परिक्रमा गर्ने कार्यलाई भक्तजनहरुले प्राथमिकता दिन थालेका छन् । त्यसेले बाघभैरव जात्राको दिनमा सबै भन्दा रामाइलो क्षेत्र नै बाघभैरव मन्दिर क्षेत्र गुने क्षेत्र हो । जात्राको क्रममा अपरान्हदेखि बाघभैरवको रथ जात्रा सम्पन्न नभए सम्म नै सो क्षेत्रमा भक्तजनहरुको भीड लाग्ने गरिन्छ । अरु दिनको तुलनामा सो दिनमा बाघभैरव परिषद् आकर्षक हुने गरिन्छ ।

जे होस कीर्तिपुरवासीले करिव आधा शताब्दीमा नै 

बाघभैरव जात्रालाई भब्य रुप दिन सफल भएको छ । कीर्तिपुरवासीको आराध्यदेव बाघभैरवको एउटै मात्र नभई तीन वटा छुट्टा छुट्टै मूर्ति रहेका छन् । बाघभैरव मन्दिरमा रहेको भब्य मूर्ति माटोले बनाई र फलाम तामा पितल चाँदी र सुन गरी पाँच धातुबाट बाहिरी स्वरुप दिइएको छ । सो मूर्ति बाघको आकारमा रहेको छ । धर्मावलम्वीहरुले सो मूर्तिलाई नै पूजाआजा गर्ने गरिन्छ ।

बाघभैरव मन्दिरको भुई तल्लामा उत्तर दिशातिर फर्केको सो भब्य मूर्तिलाई दिनदिनै बज्राचार्यहरुले विशेष पूजा गरिसकेपछि मात्र अन्य भक्तजनहरुले पूजा गर्ने गरिन्छ । त्यस्तैगरि बाघभैरव जात्राका लागि बाघभैरव मन्दिरमा रहेको मूर्तिकै आकारमा मुखुन्दो मात्र बनाइएको छ । प्रत्येक वर्षको बाघभैरव जात्रामा सोही मूर्तिलाई खट्मा राखी जात्रा गर्ने प्रचलन रहेको छ । त्यसै गरी बाघभैरवको अर्को मूर्ति किंबदन्ति अनुसार गोठालोले बनाइएको मानिन्छ । सो मूर्ति माटोको र सानो आकारको रहेको छ । केहि दशक अगाडिसम्म पनि कीर्तिपुरवासीले बाघभैरवलाई विशेष पूजा चा पूजा राती गर्ने पूजा गर्ने दिनमा दर्शन गराउने चलन रहेतापनि हाल आएर सुरक्षाका कारण सो मूर्तिलाई अहिले भने दर्शन गर्ने दिइएको छैन ।

सो मूर्तिलाई नै कीर्तिपुरवासीले बाघभैरको बास्तविक मूर्तिको रुपमा लिने गरिन्छ । किंबदन्ती अनुसार बाघभैरवको मूर्ति बनाउने क्रममा गोठालोले बनाएको मूर्तिले भेडा बाख्रा खाएको र जिब्रो राख्न गएको समयमा भएको सो घटनाका कारण गोठालाले माटोको बाघमा पातको जिब्रो समेत नराखेको कारण बाघभैरवको जिब्रो नभएको हो । अहिले कीर्तिपुरको आकर्षक र महत्वपूर्ण जात्राको रुपमा बाघभैरवको जात्रा भएको छ ।


No comments:

Post a Comment