सार्वजनिक सवारी साधनमा महिलामाथि हुने मानसिक हिंसा
—विमल गौतम
तपाईंहरु सार्वजनिक यातायातमा त चढ्नु भएकै होला र अन्य यातायात तथा ढुवानीका साधनहरु बस, टूक, जीप, टिपर, भ्यान आदि बाटोमा गुडिरहेको पनि देख्नुभएकै होला ।
ति सवारी साधनहरुको बाहिर पट्टि पछाडिको भागमा लेखिएका विभिन्न सायरी तथा भनाईहरु पनि पढ्नु भएकै होला, आजभोली तिनै भनाई तथा सायरीहरुमा विशेषगरी महिलाहरुलाई होच्याउने तथा अपमान गर्ने शब्दहरु अत्यधिक प्रयोग हुन थालेका छन । बस वा टूकको पछाडि लेखिएको हुन्छ, “उकालोमा गाडी चलाउँदा गियरलाई चाप विदेश जानेको श्रीमती अर्कैसंग टाप” त्यस्तै अर्को “लडकी हंसी तो फसी” यि त केही उदाहरणहरु मात्र हुन, यि र यस्ता शब्द प्रयोग भएका भनाई र सायरीहरु प्रसस्तै प्रयोग भएका भेटिन्छन् । यसले एउटी महिला जस्को श्रीमान विदेश गएको छ, उस्लाई गरिएको अपमान होइन र !, त्यो पनि सार्वजनिक ठाउँमा यसले ति महिला र समग्र महिलाहरु प्रति हाम्रो समाजले हेर्ने मनोविज्ञानलाई धेरथोर रुपमा प्रतिनिधित्व गरेको छ । नत्र भने यस्ता भनाईहरु सार्वजनिक सवारीहरुमा लेखिंदा खासै कसैले विरोध गरेको किन देखिंदैन ?
देशमा रोजगारी नपाएर लाखौं युवा साउदी, कतार दुबई र अन्य देशमा रोजगारीमा गएका छन । उनीहरुले पठाएको रेमिट्यान्सले समग्र देशको अर्थतन्त्र धानिरहेको छ, उनीहरु र तिनका परिवारको सम्मान हुनुपर्नेमा उल्टै उनीहरुका श्रीमतीहरुको खुलेआम सार्वजनिक बेइज्जती र चरित्रमाथि प्रश्न उठाउने भनाई र सायरीहरु सार्वजनिक सवारीमा लेख्ने कार्य हुँदा पनि समाज र सम्बन्धीत निकाय मुकदर्शक किन ?
समाजमा श्रीमान वैदेशिक रोजगारीमा गएकाका श्रीमतीहरुले छोराछोरी छाडेर अर्कै पुरुषसंग गएको वा परपूरुषसँग अनैतिक सम्बन्ध गाँसेर घरव्यवहार बिगारेको एकाध घटना पनि नघटेका होइनन् तर एक दुई वटा त्यस्ता घटना भए भन्दैमा सम्पूर्ण महिलाहरुप्रति लाञ्छना लगाउनु कत्तिको जायज होला ?
नेपालमा बहुसंख्यक हिन्दु धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । हिन्दु धर्ममा नारीलाई देवीको रुपमा पुजा गरिने गरेको छ । लक्ष्मी, सरस्वती, दुर्गा, महाकाली, भद्रकाली यि सबै नारी स्वरुपहरु हुन । हामीकहाँ भनाई नै छ “वहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन । त्यतिमात्र होइन नेपाल विश्वको एकमात्र यस्तो देश हो जहाँ जिउँदो देवीको अर्थात ‘कुमारी’को रुपमा नारीको पुजा हुने गरेको छ । यति धेरै धार्मिक र संस्कृतिक रुपमा पुजा र सम्मान हुने देशको सार्वजनिक सवारीमा महिलाको मानमर्दन, अपमान हुने शब्द प्रयोग गर्नु भनेको सम्पूर्ण महिलाहरको आत्सम्मानमा चोट पु¥याउनु हो । नेपालमा वैदेशिक रोजगारीमा विदेश जाने चलन बढेसँगै महिलाको जिम्मेवारी थप बढेको छ । एउटी नारीले श्रीमान विदेश गएपछि पुरुष र महिला दुवैको जिम्मेवारी लिंदै सासु, ससुरा, छोरा छोरीको लालनपालन शिक्षा, दिक्षा स्वास्थ्य, उपचार, हेरचाह साथै घरको सम्पूर्ण जिम्मेवारीका साथै सामाजिक भुमिका र जिम्मेवारी पनि वहन गरेका छन् । जुन अत्यन्तै सराहनीय कार्य हो । त्यसका साथै केहि महिलाहरु जिविकोपार्जनका लागि श्रीमानको रेमिट्यान्समा मात्र आश्रित नभएर स(साना व्यवसायहरु पानिपुरी, चटपटे बेच्ने, खाजाघर चलाउने, ब्यूटी पार्लर खोल्ने, मजदुरी गर्ने तथा हस्तकलाका सामानहरु बनाउने विभिन्न कामहरु गरेर आय आर्जन गरेर घर व्यवहार चलाउने र श्रीमानले विदेशबाट पठाएको रकम भविष्यका लागि बचत गर्ने गरेका उदाहरणीय महिलाहरु पनि यहि समाजमा छन्, यस्ता मेहनती उदाहरणीय महिलाहरुको कामको खासै चर्चा नहुनु तर एकाध महिलाहरुका नराम्रा घटनाहरुलाई बढाई चढाई गर्नु यो हज्जारौं वर्षदेखि महिलाहरुलाई शोषण, दमन, अत्याचार, थिचोमिचो र महिलालाई कमजोर ठान्ने रुढिवादी, प्रदुषित पितृ सत्तात्मक सोचको कारणले भएको हो ।
अन्त्यमा आधि आकास ढाक्ने महिलालाई ३३% हक र सार्वजनिक यातायातमा आरक्षण सिट दिएर मात्र हुँदैन । प्रत्येक सार्वजनिक स्थान महिलामैत्रि हुनुपर्छ । उनीहरुको सम्मान हुनुपर्छ, साथै उनीहरुको आत्मसम्मानमा चोट पु¥याउने कार्य हुन नदिन प्रत्येक परिवार, समाज र राष्ट्रको ध्यान जान जरुरी छ ।
प्रशिक्षार्थी पत्रकार
No comments:
Post a Comment