कथा ‘प्रतीक्षा’
—प्रेमकृष्ण श्रेष्ठ
(दाया बायाँ अग्ला अग्ला पहाडहरुको बीचमा भन्ज्याङ्गको अवस्थिति । वरपर झिँगटी र परालले छाएका केही झुपडीहरु छरिएका हुन्छन् । अलिक पर केही घरहरु गुटमुटिएर रहेको एउटा स्यानो बस्ती हुन्छ । भन्ज्याङ्गको मध्यभागमा तेस्रो सोझिएको बरको रुखलाई लिएर चौतारो उभिरहेको हुन्छ । बेहानीप्रहर म यही चौतारोको फेदमा उनैको प्रतीक्षामा कुरिरहेको हुन्छु । )
हुस्सु टम्म लागिरहेको हुन्छ । यसर्थ सर्वत्र हुस्सुसिवाय अरु क्यै देखाइ नदिने वातावरणको सृजना भएको हुन्छ । जाडोले गर्दा रुखको छहारी छेवैका घाँस पातपतिङ्गरमा समेत तुषारो परेको हुन्छ । वरपरका बोट–बिरुवामा मोतीझैँ शीतका बिन्दुहरु टल्किरहेका हुन्छन् । अहिलेसम्म दाउरा, स्याउला खोज्न जाने गाउँका किशोर किशोरीहरु जुवारी खेल्दै उकालो लागिसकेका हुन्छन् । उनीहरुको गीत डाँडाको फेददेखि लिएर कुञ्ज, कन्दरा, सबैले मीठो मानी गुनगुनाइरहेका हुन्छन् ।
‘आउँछ जोवन, जान्छ ढल्केर
छ जोवन भन्दैमा ठूली नहोऊ नानी, आउँछ जोवन जान्छ ढल्केर’
मलाई पट्टाई लागेर आउँछ । कता कता हो, संसारभरका नरमाइला, नियास्रा चिजहरु आई, छोइगए जस्तो लाग्छ । रातको जाडोले कडाङ्गिएर खुट्टामुनिको एउटा मरेका कीरालाई टिपेर हत्केलामा राखी हेर्छु । बिचरी हिजो साँझसम्म पिलपिले बत्ती पुच्छरमा लुकाएर कति खुसीले नाँचिरहँदी होली, जुनकिरी त मरिछ । म कीरालाई भुइँमा छोडेर नाडीको घडी हेर्छु । कुुरी बसेको आधा घण्टा बितिसक्छ । अझैसम्म पनि नआइ पुगेकोले जाडोको यो मौसममा पनि मलाई उकुसमुकुस भएर आउँछ । गर्मी फुटेर आउँछ । एकफेर पुनः दूरदुष्टि लगाउँछु । यसपल्ट पनि असफल हुन्छु । अचानक कानको पर्दामा परबाट आएको केही आवाजले ठोकेको जस्तो भानले म उतैतिर कान थाप्छु । हो पक्कै टाढाबाट सरक सरक गर्दै यतैतिर आउँदै छ । हुस्सुले गर्दा के को आवाज हो भनी ठम्याउन मुश्किल परेता पनि मलाई दृढ हुन्छ, पक्कै पनि कोही मान्छे यतैतिर आउँदै छ । म उनको हिँडाइपनसित त्यो आवाज दाँजी हेर्छु, हो, दुरुस्त उनकै हिँडाइ हो । मन हलुङ्गो भएर आउँछ । पखेटा बिना चट्ट भुरर्र उडिहालुँ जस्तो खुसीले मन फुर्फुर हुन्छ । टाढाबाट फुस्सुको फिका–फिका रङ्गमा म उनैको अनुहार केलाउन खोज्छु । अझै यही हो भनी छुटयाउन आँखालाई कष्ट नै छ । तर, जे होस् त्यो आइरहने ब्यक्ति नजिकिरहेको छ, झन झन नजिकिँदै छ । उनका भासिएका पाइलाहरु झन झन आवाज दिई मतिर बढिरहेझैँ लाग्छ । जति जति त्यो आवाज नजिकिँदै छ, झन उति नै त्यो आइरहने ब्यक्ति जुनकिरी नै हो भनी किटान गर्नमा मलाई शंका रहँदैन । मेरो मन चङ्गाझैँ हलुंगो बनेर बादल तलमाथिबाट उड्न खोज्छ । जाडोले कठयाग्रिएर जमिरहेका मेरा ओठबाट मुस्कान छुटछ । बरफझैँ ढिका जमिरहेको छातीमा थोरै खुसीको अनुभूति मिल्छ । म हातले ‘छिटो’को इशारा दिँदै नाडीको घडीमा नजर लगाउँछुृ । साढे नौ बजिसकेको हुन्छ । दश बजेको त क्लासै छ । क्लास छुटिजाने एकातिर पिर छ भने अर्कोतिर अहिलेसम्म साथी नआइपुगेकोले अर्को पिर थपिएको छ । तर त्यो आउँदै गरेको मान्छेको आकृति जब कुहिरोलाई पन्छाउँदै मेरो नजरमा घुस्न पुग्दछ, आनन्दको संसारमा चङ्गाझैँ फिरफिरी गरिरहेको मेरो मन चटक्क चुँडेर एक्कासि पहाडको चट्टानमा ठक्करिन पुग्दछ । यी ओठमा सल्बलाउँदै गरेको अघिसम्मको सुखद मुस्कान क्षणमै रोषमा परिणत भई अपराध गर्न तम्सिन्छ । भर्खरसम्म खुसी डुलिरहेको गाला क्रोध र जलनले रगत फुट्लाजस्तो रातोपिरो भएर आउँछ । मेरो खुसी र चाहना भङ्ग गर्न आउने त्यो मास्टर काजीको राक्षेसी आकृतिलाई बाजले चल्लालाई झम्टा गरेजस्तो झम्टुँ झम्टुजस्तो लाग्दछ । तर यस्मा के दोष ? शहर लाग्ने यो बाटोसिवाय अर्को विकल्प पनि त छैन । क्रोध र ईश्र्याले जल्न पुगेको यो मन पुनः सेलाएर पहिलेकै धरातलमा आइबस्छ । फेरि हिजोसम्म सँगै स्कुल जाने वाचा दिएकीले आज किन ढिला गरिन् त ? न घरमा पो त्यस्तो कुनै्र काम पर्यो कि ? के बेर आउँदै पो छिन् कि ! उनैको बारेमा मनभित्र नानाभाँतिका कुराहरु खेल्न थाल्छन् । फेरि म उनैको प्रतीक्षामा गोरेटोको सहारा लिन्छु, एउटा बिटुलो आशा लिएर, मेरी जुनकिरी आउँदैछे, मलाई सम्झेर यतैतिर कुददैछिन् ।
अघिको जस्तो सरक सरक आवाज दिई कोही आउँछ, मनभित्र झिनो आशा पलाउँछ । ऊ पनि मास्टर काजीजस्तै मेरो आशाको घर भत्काएर हिँडिदिन्छ । जसरी अर्को आउँछ, त्यसरी नै ऊ पनि मेरो आँखाको सामु तमासा देखाएर हिँडिदिन्छ । जति न मान्छेहरु आए, गए सबैलाई म राक्षेसै देख्छु । कारण, के होला ? म आफै बुझ्न सकिरहेको छैन । मान्छेहरुको यो आउने जाने क्रममा आँखाले कति धोका खाए, कति राक्षेसी अनुहारहरु अवलोकन गरे तर उनको भने दर्शनपियास छ । एक्कासि तलको पँधेरीमा कसैले पानी पिएको आवाज आउँछ । जति म आवाजतिर ध्यान केन्द्रित गर्छु, झन उति नै त्यो उनैका हातका चुरा बजेका हुन् भन्ने आत्मविश्वास प्रबल भएर आउँछ । मेरो पँधेरोमा गई हेर्ने चाहनालाई म रोक्न सक्दिनँ र कुद्छु तर पँधेरी जस्तोको तस्तै एक्लै सुस्ताइरहेको हुन्छ । पँधेरीको पानी खेर गएको गयै हुन्छ, थापिलिने मेरी जुनकिरी त्यहाँ हुनन् ।
अगिसम्म धर्ती र आकास एक भएर जोडेर बसेको हुस्सु अब विस्तारी विस्तारी फाटेर अर्कै आकासतिर लाग्ने तर्खरमा देखिन्छ । तुँवालोले ढाकिएको गोेरेटो पनि तुँवालो अन्तैतिर पन्छिँदै गएको कारणले केही स्पष्ट देखिन थाल्छ । केही क्षणपछि सम्पूर्ण हुस्सु हटिसक्छ, सम्पूर्ण बादल बिलाइसक्छ । तहतह घाम लागिसक्छ । घामको किरणले सम्पूर्ण जगत छर्लङ्ग देखाई दिइसक्छ । ठाडो घाँटी लाएर लम्पसार सुतिरहेको त्यो नागबेली गोरेटोको पुछारसम्म आँखाले हेरिसक्छु, तर गोरेटो सुन्यको सुन्यै छ । गोरेटो हुँदै आउँदै गरेको कोही मान्छे पनि देखाइदिदैँन । आँखा प्रतीक्षा गर्दागर्दै साह्रै थाकिसक्छ, एकैक्षण बन्द गर्छु । बरु अँध्यारोमै उनी काँधमा झोला भिरी टाढै्रबाट नागबेली चालमा लहसिएर मतिर आउँदै गरेकी हुन्छिन्, सर्रक.....सर्रक । म अँध्यारोमै उनलाई कुरिरहेको छु, यही क्षण ।
No comments:
Post a Comment