Monday, January 8, 2024

 चिनारी महिलाको



नामःमनकुमारी वि.क (मनु)

ठेगानाः कि.न.पा–२ कीर्तिनगर

जन्मघरः बिरुवा गा.पालिका वडा ८ स्याङ्जा 

शिक्षाःब्याचलर (पृथ्वी नारायण क्याम्पस,पोखरा)

       ःमास्टर डिग्री (समाजशास्त्र,पाटन क्याम्पस )

आवद्धः दलित महिला संजाल–सचिव, कार्यक्रम संयोजक

कामको अनुभवःदलित महिला संघ (कार्यक्रम सहसंयोजक), कोस्टर (कार्यक्रम संयोजक), जनप्रतिनिधि (२०७४)

आज भोली तपाईं के मा व्यस्त हुनुहुन्छ ?

—म जनप्रतिनिधि हुदा नै २०७५ फागुन ८ गते एउटा दलित महिला संजाल गठन गरि हामीले जिल्ला प्रशासनमा दर्ता गरेका थियौ।त्यो बेलाममा स्थानिय सरकार र नगरपालिकाको सहयोगले दलित महिला तथा विपन्न वर्ग समुदायका महिलाका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ स्थानीय सरकारकै बजेटले दलित,विपन्न,सिमान्तकृत महिलाहरु,अपांगता भएका व्यक्तिहरु समावेश गर्ने गरि कार्यक्रमहरु संचालन गर्दै गयौ।हाम्रो संस्था दर्ता गरिसकेपछि वर्षमा १०/१२ लाखको कार्यक्रमहरु गरे पनि त्यो समयमा हाम्रो संस्थाको अफिस भने थिएन त्यो झोलामै थियो । यसरी पनि प्रोपोजल लाने बजेत लिएर काम गरिरहेका थियौ। वडा अध्यक्ष, मेयर, उपमेयर, कार्यपालिकाहरुको साथ सहयोगले यसरी संस्थालाई अगाडि बढाउन सकेका थियौ । जब मेरो कार्यकाल सकियो । त्यो बेला मैले ५ वर्ष भित्रमा धेरै महिला दिदीबहिनीहरु चिनजान र सम्पर्क पनि भएको थियो । उहाँ दलित, विपन्नको साथै कुन क्षेत्रमा के के गर्नुहुन्छ ?, के कारणले पछाडी परिरहेका छन् ? किन महिलाको आवाज सुनिदैन ? किन घरबाट नस्किन चाहनुहुन्न ? यो मेरो एकदम कौतुहलताको विषय थियो । म यता वडाको कामलाई पनि महत्त्व दिदै साथै यो संस्थामा पनि काम गर्दै गए । यसरी घरबाट निस्किसकेपछि महिलाको क्षेत्रमा केही न केही गर्नुपर्छ भन्ने भावनाले नै मेरो नेतृत्वमा साथिहरुको साथ सहयोगमा यो संजाललाई अगाडि बढाएका छौ । अहिले म त्यही संजालमा आवद्द रहेर काम गर्दैछु । यो संस्थालाई अहिले अस्ट्रेलियाको वल्र्ड फण्ड एसिया भन्ने संस्थाले आर्थिक सहयोग गरेको छ । त्यो भन्दा अगाडि टेवाःभन्ने संस्थाले पनि घरमा बसेका महिलालाई बाहिर आउनका लागि केही बजेट दिएर काम गर्न टेवा दिने काम गर्थ्यो। त्यसबाट पनि केही काम गरे । त्यसपछि एजेन्ट एक्सन फण्ड भन्ने संस्थाले पनि सहयोग गरेको थियो र अहिले म त्यही संस्थाको सचिव छु । कार्यक्रम संयोजकको रुपमा कार्यरत छु ।

यो संस्थालाई दर्ता नै गरि शुरुवात गर्नुको कारण के होला ?

—नेपाल सरकारको ऐेनमा हेर्ने दलित महिला र विपन्न समुदायको महिलालाई कसरी अगाडि लैलाने भन्ने कुरा पनि छन्।स्थानिय सरकारमा पनि २ जना मध्ये १ जना दलित महिला नै वडा सदस्यको रुपमा आउनुपर्ने कुरा संबिधानमा नै छ । न.पा ले पनि दलित महिलाको लागि भनेर नै बजेट छुट्टाएको हुन्छ । त्यसको लागि नै हामीहरुले प्रशासकीय अधिकृत निरन्जन बस्नेत, मेयर, उपमेयरको सल्लाहले नै यो संजाल गठन गरि काम गरेका थियौ । वर्षै पिच्छे दलित महिलाको लागि भनेर बजेत छुट्टाएको हुन्छ । यही बजेतलाई सही ठाउँमा सदुपयोग गर्न र अझै प्रभावकारी ढंगले काम गर्नका लागि नै हामीलाई राज्यले प्रतिनिधित्व दिएको हो । त्यसैले यो संस्था दर्ता नगरि पनि चलाउन सकिन्थ्यो तर न.पाको मात्र भर नपरी नगर भित्रमा मात्र सिमित नरहि काम गर्नका लागि नै दर्ता गरेका हौं । आफ्नो ५ वर्षको कार्यकाल सकेपछि पनि अरु दातृ संस्थासंग मिलेर महिला क्षेत्रमा रहेर काम गर्न सकोस भनेर नै यो संस्था दर्ता गरेका थियो र अहिले काम पनि भैरहेको छ ।

यो दलित महिला संजाल मार्फत के के कामहरु गर्नुभयो ?

—पहिला त काम गर्नका लागि विषयवस्तु बुझ्नुपर्दछ । महिलाको आर्थिक अवस्था कस्तो छ ?शैक्षिक स्थिति कस्तो छ ? आवश्यकता के हो भन्ने बुझ्नु जरुरी थियो । त्यसैले शुरुमा दलित महिलाले कतिको संख्यामा रोजगारी पाईराख्नु भएको छ ? पढाई लेखाई कतिको छ ? पढाउन नसक्ने परिवार पो छ कि भनी बुझ्न हामीले एउटा टीम नै बनाएर न.पा को गाडी र ड्राईभर समेतको सहयोग मागेर ३ दिन सम्म उनीहरुको वस्तुस्थिति कस्तो छ ?  भनेर बुझे । त्यसपछि वडा ५ बस्ने परियारको परिवारलाई सिलाई मेसिन,  भत्याकेपाटीको मिजार समुदायका ब्यक्तिहरुलाई जुत्ता सिलाउने मेसिन, आवश्यकता अनुसार पहिला वर्षमा हामीले मेसिनहरु वितरण गर्याे । त्यसपछि बिस्तारै सिलाईमा नै एड्भान्स डिजाईनको तालिम, किसान महिलाहरुलाई बाख्रा पालनका लागि बाख्रा वितरण, डल्लो साबुन तालिम साथै मेसिन वितरण, मखमल जुत्ता बनाउने तालिम साथै मेसिन वितरण, अस्थाई पुर्जामा बसोबास गर्ने बास विहिन दलित समुदायमा वडा ५ मा ६ वटा घर बनाउने काम भयो । दलित तथा विपन्न वर्गका समुदायका युवाहरुलाई म्युजिक तालिम, सामुदायिक किराना पसल, वडा ७ मा सिलाई केन्द्र स्थापना, क्षमता अभिवृद्धि सम्बन्धि तालिम, कानुनी सचेतना तालिम, जनप्रतिनिधि तथा सामुदायिक अघुवा महिलालाई नेतृत्व विकास तालिम,प्रोपोजल लेखन तालिम दिईसकेका छौं । अहिले उनीहरुले आफ्नो क्षेत्रमा राम्रो र उन्नतीका कामहरु गरिरहेका छन् ।

अहिलेको यो समयमा महिला दिदीबहिनीहरुको अवस्था कस्तो छ ?

—मैले जनप्रतिनिधि भएर ५ वर्ष सम्म महिलाको क्षेत्रमा र आफ्नो समुदायमा काम गर्दा देखेको कुरा भनेको एक त हामी महिलाहरु आफै अगाडि आउन चाहदैन।कुनै कार्यक्रममा सहभागी हुन चाहदैन । घरमै बसेर वल्लो पल्लो घरको मान्छेसंग कुरा गर्दै समय खेर फालेर बसेको हुन्छ । तर कही कतै कार्यक्रम तालिममा गएर केही सिकौ जाऔं भन्यो भने हामी भ्याउदैन भनेर अघि सर्न चासो राख्दैन । भन्दाखेरि एउटै रथका दुई पाग्रा भनिन्छ । तर पुरुषहरु बिहानै देखि समाचार हेर्ने,पढ्ने कहाँ के भयो के भयो चासो दिने, दिनभरि काम गर्ने उनीहरुलाई यसरी ज्ञान हासिल गरेको हुन्छ । महिला बिहान जुरुक्क उठ्ने बित्तिकै कुचो समात्न जानुपर्ने, भान्छामा जानुपर्ने अनि कसरी महिलाहरु ज्ञान लिन सकिन्छ । देश विदेशका घटनाहरु थाहा पाउन सकिन्छ त ? हुन त महिलाहरुलाई कामको भार नै छ । तर पनि थोरै कोसिस गरेर अगाडि बढ्यो भने अवश्य सकिन्छ । यो हुनको कारण उहाँहरुमा जनचेतनाको कमी सोचाईको स्तरको विकासमा परिवर्तन नै गर्नुपर्छ । अर्काे कुरा भनेको आफ्नो जीवन बिताउने जीवन साथीको साथ सपोर्ट भएन भने पनि महिला अगाडि आउन सक्दैन । आफ्नो घरबाट निस्किनै दिन्न समाजमा गोष्ठीमा केही बोल्न दिदैन भने कति खेर महिलाले सिक्ने त ? अनि कोही असक्षम महिलाले सक्षम महिलाको संगतले पनि धेरै कुरा सिक्न सकिन्छ । कीर्तिपुर नगर भित्रको हकमा दलित र विपन्न समूहका महिलाहरु आर्थिक अवस्थामै समस्या छ । यस्तै यस्तै कारण हाम्रो महिला दिदीबहिनिहरु सोचेजति अगाडि आउन सकेको छैन ।

स्थानिय सरकारमा रहेर काम गर्दा र गैर सरकारी संस्थामा काम गर्दा के फरक पाउनुभयो ?

—मैले जनप्रतिनिधि भएर स्थानिय सरकार रहेर काम गर्दा र गैर सरकारी संस्थामा रहेर काम गर्दा धेरै फरक पाए । हामीले यो संस्था दर्ता गरेर काम गर्ने अघि मैले अरु संस्थाहरुमा पनि काम गरेको थिएँ। त्यसको पनि अनुभव छ । सरकारी निकायमा काम गर्दा आफूलाई दिएको काम त गरिन्छ तर त्यसको सहि ठाउँमा काम भयो कि भएन, त्यसछि कसरी जाने भनेर त्यति ध्यान नदिएको र अलि फितलो काम देखियो । महिलाकै क्षेत्रमा पनि काम गर्दा पनि हामीले के ग¥यौ र त्यसले कति जनालाई रोजगारी पायो, कतिको कमाई भयो, प्रगति भयो र आगामी वर्षमा कसरी के गर्ने भन्ने मुल्यांकन गर्न, लेखाजोखा राख्न, नगरमा बहस गर्न, वडाले के कति काम गर्दैछ हेर्न जरुरी छ । तर एउटा कामको लागि एक जना ब्यक्ति जिम्मा लगाईयो बजेत सकाईयो त्यति छ । त्यो कुराले के कस्तो परिणाम निम्तायो बुझ्दैन । यी काममा सरकारी पाटोमा कमजोरी देखियो । तर गैर सरकारी संस्थाको काम गर्दा त्यसको एकदम मुल्यांकन हुन्छ । हामीले गरेको काममा महिलाहरुले कतिको राहत पायो पाएन, परिणाम कस्तो भयो त्यसको लेखाजोखा हुन्छ । गैर सरकारी संस्थाले कीर्तिपुरमा मात्र नभएर कति दातृ संस्थाले स्थानीय सरकारसंग मिलेर सम्वय गरेर काम गरिरहेको छ । सरकारी काम गर्दा जनप्रतिनिधिहरु कर्मचारीहरु नै समयमा नआउने, कार्यक्रम गोष्ठीमा सहभागी नभईदिने यसो गर्छन् । त्यसैले नितिनियम बनाउने, सिस्टम बनाउने कुरामा सरकारी निकायको कमजोरी देखियो ।

एकजना महिला अघि बढ्नका लागि राजनितीमा आउनु कतिको आवश्यक छ ? यसले कति असर गरेको देखिन्छ ?

—महिलाको क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा राजनीति हुनु जरुरी छ । महिला हिंसा कम गर्न, महिलाहरु अगाडि बढ्न जुनसुकै पर्टीमा आवद्ध हुनु आवश्यक छ र साथ सहयोग पनि दिनुपर्छ भन्ने म मान्यता राख्छु । म एउटा एमाले पार्टीमा रहेर काम गरेको व्यक्ति हो । अहिले काग्रेसको सरकार आएपछि पनि मलाई काम गर्न केही असहजिलो जस्तो लाग्दैन । मेरो मेयर, उपमेयर लगायत अरु जनप्रतिनिधिहरुसंग पनि राम्रो सम्बन्ध कायम छ । किनभने हामीलाई विकास चाहिएको छ, एउटा महिलाको परिवर्तन चाहिएको छ । तर आफू पावरमा पुगेपछि यो हाम्रो दलको होईन भनेर काम गर्न दिएन भने महिला हिंसाको अन्त्य कहिले हुन्छ त ? महिलाले महिलालाई खुट्टा टान्ने प्रवृति छ त्यो राजनितिक प्रतिस्पर्धा चुनावीको समयमा मात्र गर्ने हो । एक जना महिला जुन पार्टीबाट त्यो ठाउँमा पुगे पनि उसलाई अगाडि बढ्नका सबै दलका व्यक्तिले साथ सहयोग गर्नु जरुरी छ । महिला स्वयंले पनि मेरो दलको महिला मात्र अगाडि बढोस् भन्ने सोचाई राखेर काम गर्नुहुदैन । पदमा पुगेको महिलाले सबै दलका महिलाको कुरा सुन्नु पर्छ । अनि हामी तल बसेकाले पनि उहाँहरुलाई साथ सहयोग दिएमा महिला हिंसा न्युनीकरण गर्न सकिन्छ कि जस्तो लाग्छ । हाम्रो संस्थामा पनि पहिला सबै वडाका दलित महिला एउटै पार्टीका जनप्रतिनिधिहरु मिलेर नै बनाएको हो । तर अहिले सबै पार्टीका महिलाहरु छौं । हाम्रो संजाल भित्र छिरे पछि राजनितिका प्रतिस्पर्धा हुदैन । केवल कामको आधारमा जिम्मेवारी दिएर काम गर्ने मात्र हो ।

दलित महिला संजालको लक्ष्य र उद्देश्यहरु के के हुन् ?

—हाम्रो उद्देश्यहरु धेरै छन् । दलित महिलाहरुलाई स्थानीय सरकारसंग समन्वय गरेर स्वास्थ क्षेत्रमा पहुँच बढाउने, जलवायु परिवर्तनमा आएका ह्रासलाई कसरी न्युनिकरण गर्ने, पर्यटन व्यवसायका कुराहरु समेटेका छौ । स्थानीय युवाहरुलाई स्थानीय तहसंग समन्वय गरि शिक्षामा प्राथमिक तह देखि उच्च शिक्षासम्म छात्रवृत्ति बढाउने, जनचेतनाको लागि क्षमता अभिवृद्धि गराउने यस्ता कुराहरु छन् । कति महिलालाई राजनिती अधिकार, जातिय विरुद्धको छुवाछूत के हो समेत थाहा छैन । थाहा भएकाहरु पनि बोल्न सक्नुहुन्न । त्यसैले हामी महिलाको प्रगतिका लागि यस्तै अरु पनि धेरै कुराहरुमा परिवर्तन ल्याउने उद्देश्यहरु छन् । भविष्यमा हामी सबै समेटेर काम गर्दै जानेनै छौं ।

हजुर अन्तमा केही भन्न चाहनुहुन्छ ?

—कुरा गर्दै जाँदा केही कुरा राख्न पाएँ त केही बाकी रहयो । संजालका बारेमा केही कुरा राख्ने मौका पाए र आगामी दिनहरुमा पनि हामीले गरेका कामहरुको बारेमा भन्ने मौका दिनु नै हुनेछ भन्ने आशा पनि गरेकी छु । यो अवसर दिनुभएकोमा हजुर लगायत साप्ताहिक पत्रिका “कीर्तिपुर सन्देश”का सम्पूर्ण टीमलाई हृदय देखि धन्यबाद ।

प्रस्तोता ः अनिता महर्जन


No comments:

Post a Comment