Saturday, March 23, 2024

सिद्धिपुर थसिका पोखरीहरू

 सिद्धिपुर थसिका पोखरीहरू



नन्द बहादुर महर्जन

हाल क्यानाडा

साधारण भाषामा पुखू पोखरी भन्नाले कुनै एउटा खाल्डोठाउँमा पानी जम्मा भएर बसेको ठाउँलाई हामि पुखू भनेर  बुझ्छौ र बुझिन्छौ, यो दुई प्रकारका हुन्छन्,

प्राकृतिक पुखू ः– 

जस्तै तालहरू 

मानव निर्मित  पुखु  

हाम्रा आग्रजहरूले प्राचिन समयमा मानब बस्ति विस्तार गरिसकेपछी मानब बस्ति वरिपरी मानबिय जीबनलाई नभई नहुने पानीको आवश्यकतालाई परिपूर्ति गर्न समुदाय भित्र सुख्खायाममा पानीको आवश्यकतालाई परिपूर्तिका लागि अत्याधिक जैविक विविधताको मौलिक रूपमा प्राकृतिक आकासे पानीलाई संचय गरेर उपयोगमा ल्याउने उद्देश्यका साथ पोखरीहरू निर्माण गरेको देखिन्छ । साथै आफ्नो नाम, धर्म कृति र पुण्य कमाउनका लागि सबैजना मिलेर पानी पोखरी निर्माण गर्ने गरिन्थ्यो । जसलाई हामीले मानबले बनाएको पुखूको रूपमा लिन सकिन्छ । जुन कार्यको परम्परा मल्लकालीन शासन भन्दा पहिलेबाट नै सुरू भएको तथ्य धार्मिक तथा ऐतिहासिक शिलाभिलेख र ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । नेपालमण्डलाका प्राचिन नेवा बस्तिहरूमा हामीले यस्ता थुप्रै पोखरीहरू आज पनि देख्न सकिन्छौ । पहिले पहिले रसाएको जमिन, आकाशे पानीको भण्डारण र कुलोको पानी संकलन गर्ने गरिन्थ्यो । संकलित पानीको गाउँभरि प्रचुर मात्रामा सदुपयोग पनि गरिन्थ्यो । पुर्खाहरूले बस्ति विकास संगसंगै कृषि सिचाई गर्नको लागि, मानब बस्तीमा आगलागी भयो भने सक्दो छीटो आगोलाई निभाउनको लागि, अनि पशु स्याहारसुसार गर्नको लागि पहिलादेखि नै पोखरीको उपयोग गर्दै आइरहेका थिए भने बस्तीमा भन्दा माथिको कृषियोग्य जमिनमा सिंचाई गर्न गाउँ (देश)मा  देय् धः (राजकुलो) बनाएको छ, र त्यही देधःबाट पोखरीहरूमा पानी भर्ने गरिन्थ्यो । जुन समयमा हाम्रा अग्रजहरू व्यक्तिगत स्वार्थलाई छोडेर सामाजिक कार्य र कल्याणकारी कार्यहरूमा धरै अग्रसरता रहेको हामी देख्न सक्छौ जसको फलस्वरूप हरेक नेवा बस्ति बस्तीमा पुखुः पौवा, पाटी, सत्तल, ईनार, ब्वंगा, लोंह हिटी देब देबालय, चिभा, चैत्य र धर्म धातुहरूले देश (गाउँ)को अमुल्य सभ्यता र संस्कृतिको धरोहर बनेर आजसम्म  गौरबका साथ उभिरहेको छ ।

      प्रचीन समयका यस्ता  पुखुः पौवा, पाटी, सत्तल, ईनार, ब्वंगा, हिटी देब देबालय, चिभा, चैत्य र धर्म धातुहरू यस सिद्धिपुर थसिमा पनि कमि छैनन । यहाँको धार्मिक  सभ्यता र संस्कृतिक धरोहरहरू यस देश (गाउँ )मा पनि एउटा खुला संग्राहलयको रूपमा हरेक टोल टोलमा, गल्लि गल्लि, बहा अनि ननीहरूमा बडो गौरबका साथ उभिरहेको आज सम्म पनि हेर्न र देख्न सकिन्छौ । सिद्धिपुर थसीमा लिखित शिलाभिलेखहरूमा भेटाउन नसके पनि आज भन्दा ३० देखि ४० वर्ष अघि सात वटा भन्दा बढी पोखरीहरू रहेको कुरा हाम्रा अग्रजहरूको मुखारसबाट सुन्ने गरेका छौं । ति पोखरीहरू मानब जीबनकोलागी मात्र नभई चराचुरुङ्गी, पुतली, उभयचर घस्रने प्राणि, जल बनस्पति किरा–फट्यांग्राहरूको समेत साझा घर थियो । तर बदलिँदो समय, समाज र नयाँ सोचले आज ति पोखरीहरू (घर) उजाडिएको छ ठुलठुला बाटो, बडेमानका घरहरू भू–उपयोगिता नीतिमा परिबर्तन र मूर्खतापूर्ण मानबिय अतिक्रमणले धेरै पोखरीहरू धरापमा पर्दै गए जुन पुखूहरू केहि हामीले  देख्ने अवसर पाएं भने केहि पुखूहरू देख्ने अवसर हामीले गुमाईसकेका छौं भन्दा  केहि फरक नपर्ला । ति सबै पुखूहरूको नाम लिनु पर्दा हामीले सुन्दै आइरहेका नामहरूमा १.खाःपुखु २.न्हू पुखु ३.खाशी पुखु ४. भिन्द्यो पुखु ५.फोंगा पुखु ६.गणेद्यः पुखु ७.धंसली (राजामति )पुखु  र ८.सति पुखु रहेका छन । 

समयको माग अनि बिकाशको क्रममा अतीतका ति गौरबमय सम्पदा र संस्कृतिको महत्व र सहि ज्ञानको अभावका कारणले गर्दा बिकाशको नाममा हाम्रा सम्पदाहरू क्रमबद्ध रूपमा बिनाश हुँदै गईरहेका छन् जसमा यी पुखु पनि अछुतु भने  छैनन् । आजसम्म आउँदा हामीले ४ वटा पोखरीको पनि पाएका छौ पुरिसकेका ति पुखूहरूको नाम लिनु पर्दा सर्बप्रथम त द्यः ननिमा अवस्थित वडा भबनको ठिक्क अगाडीको खाःपुखू– खा ः भनेको नेपालीमा शिसा र पुखु भनेको पोखरी हो । एक समय थियो पोखरीको पानी स्वच्छ र सफा थियो र मानिसहरू आफ्नो अनुहार सजिलैसंग देख्न सक्थे त्यसैले  खाःपुखु नाम राखिएको हुन् सक्ने स्थानीयवासीहरूले बुझाइ छ । पछिका  समय  ढलको पानी र पानीले बगाएर ल्याएको फोहर थुपरेर फोहरको दुन्गुर बनेको थियो ।  सिद्धिपुर थसिको मुटुमै यस्तो फोहरको दुन्गुर देख्नु धरै अशोभनीय देखेकोले सिद्धिपुर स्पोर्ट्स क्लबले कहिले सुन्दर बगैचा त कहिले टेबल टेनिसको कोर्ट बनाएर त्यहाँको फोहरलाई हटाउन अथक प्रयासहरू गरेका थिए । ति बिगतका दिनहरू पनि हामिले सुनेका र देखेका छौ, अन्तत अहिले ताहाः फल्चा निर्माण गरिएको छ, भनिन्छ भोजको लागि तःखा (मासुको थलथले) बनाउदा यो पुखूको पानी हाल्यो भने एकदम राम्रो मिठो हरियो देखिनथ्यो रे, एक समय थियो त्यही पुखूमा बच्चाहरूको आँखा पाक्यो भने मुख धुन त्यहाँ ल्याईन्छ र प्रायः जसो निको पनि हुने गरिन्थ्यो रे भने कुरा हामी सुन्छौ ।

खासी पुखु ः—  

यो पुखुको बारेमा दुइमत देखिन्छ, यो पुखुको नाम सुनेको छैन भने पनि उतिकै छ सुनेको छु भने पनि उतिकै छ तर अहिले यसलाई पुस्टि गर्ने कुनै आधिकारिक प्रमाणहरू भने कसै संग छैन ।

धंसली पुखु (राजामति पुखु)ः— 

रामढोका टोलमा अवस्थित पोथ गुठीसंगै जोडिएको यो पुखु धेरै समयसम्म बिना पानी यतिकै बेवारिसे अवस्थामा रहिरहेकोले  स्थानीय वासिन्दाको लागि पिउने पानीको सहज होस् भनेर पानी ट्यांकी बनाइएको थियो ।

गणेद्यःपुखु (मिखाःस्या पुखु)ः—  

यंगल टोलमा रहेको गणेद्यः पुखु जहाँ एक समयमा गाउँका बच्चाहरू अईसा चालः धासा बिहान सबेरै नुहाईदिन र मुख धुलाउन ल्याउने गरिन्थ्यो रे, यति गरिसकेपछि बच्चालाई निको हुने गरिन्थ्यो भन्ने सुनिन्छ । त्यही पुखुमा आज भन्दा ४० देखि ४५ बर्ष अघि नयाँ पिंढीहरूलाई ज्ञानगुणका कुराहरू सिकाउनको लागि एउटा पुस्तकालयको अपरिहार्य भएको निष्कर्ष निकाली स्थानियावासिहरूको सहकार्यमा, गंगाराम महर्जनको अध्यक्षतामा भबन बनाउन सार्बजनिक जग्गा नभएकोले पुखुमाथि भबन निर्माण गरि “जन जीवित पुस्तकालय” स्थापना गरिएको थियो । त्यसको केहि समयपछी सोहि भबनमा एक तल्ला थपी कहिले परोपकार गुठी त कहिले रेडक्रस सोसाइटीको कार्यालय बनाईएको थियो । हाल रेडक्रसको कार्यालय राखिएको छ । 

आज सम्म अस्तित्वमा रहेका पुखुहरू तल उल्लेख गर्न गइरहेको छु ः—

१) न्हू पुखू ः— मन्दिरै मन्दिर अनि देबीदेवताहरूको संगमस्थलको रूपमा चिनिदै आएको द्यः ननिमा अवस्थित अति महत्वपूर्ण ऐतिहासिक मानिएको पुखू हो न्हू पुखू, श्रीपन्चमिको दिन थसिकै जेठो गुठी तः गुठीको गाँसी आजुको भोजको लागि न्हू पुखुको पानी लगेर चोख्याईसके पछी मात्र भोजको सुरुवात हुने गर्छ । म सानो छंदा यो पोखरी  वरिपरी पर्खाल लगाएको थियो  र पोखरीभित्र छिर्नको लागि बिचमा एउटा ढोका राखिएको थियो भने एकतर्फ राम्रोसंग लामो लामो ढुंगाहरू औछ्याइएको थियो । समय समयमा सरसफाई पनि गरिन्थ्यो यस्तै एक पाली पुखू सफाइको क्रममा धौ बन्जा भजोको जेठो छोरा परन महर्जनले गणेशको मुर्ति भेताईएको थियो । 

जुन मुर्तिलाई द्यःनानिकै गणेश मन्दिर भित्र रहेको मुर्ति संगै प्रतिस्थापन गरिएको थियो जसले गर्दा गणेशको मन्दिर भित्र दुई वटा गणेशको मुर्तिहरू हामि देख्न सकिन्छौ र जसलाई आजसम्म पनि पुजा गर्दै आइरहेकाछौ । बिभिन्न कालखण्डमा बिभिन्न स्वरूप परिबर्तन गरिसकेको यो पुखुले गएको २०७७ साल कार्तिक ३० गते देखि फेरी नयाँ स्वरूपमा फेरिएको छ, जहाँ मौलिकता र कलात्मक झल्कने गरि नौ धाराको निर्माण संगै दुर्गा भवानीको नौ अवतारको मुर्ति र गणेश भगवानको मुर्तिको  स्थापना कार्य सम्पन्न गरि वडा अध्क्षय श्री वासु देव महर्जनले उद्घाटन गर्नु भएको थियो । जसले गर्दा आज त्यो पुखू द्यः ननिको एक आकर्षकको केन्द्र  बन्न पुगेको छ ।  

२) फोंगा पुखूः— यो पुखुको पानी सधै (ल फों ःफों गाना च्वनेगु  गाः जुया फों + गा = फोंगा पुखु धया तगु ख) फोका फोका आइरहने भएर यस पुखुको नाम फोंगा पुखु भनिएको भनिन्छ र त्यही पुखुको नाम पÞmोंःगा, हुदै हुदै फोंन्गा टोल नामाकरण हुन् गएको पनि मानिन्छ  जसलाई  २०६३ साल फागुन १२ गते सिद्धिपुर शान्ति तथा बिकाश केन्द्रले पुखूलाई पुनः निर्मण गरि पुखूको बिचमा शान्तिको अग्रदुत दिपंकर बुद्धको प्रतिमा प्रतिस्थापन गरिएको थियो । 

३) भिन्द्यो पुखू ः— पिन ननि टोलको भिन्द्यः मन्दिर संगैको पुखूलाई भिन्द्यः पुखू भनिन्छ ।

४) सति पुखू ः– हथं सीमाको बाट र धसी, यंगल दोबाटो निस्किना साथ सानो चिटिक्क परेको पुखु नै सति पुखु हो जस्को बिच भागमा महादेव पार्वतीको मुर्ति प्रतिस्थापन गरिएको छ । बास्तबमा यो यति सानो पुखू थिएंन दुई तर्फ बाटो अनि दुई तर्फ घरहरूले घेरिएको ठुलो पुखु नै थियो, धेरै समयसम्म यो ठुलो पुखू फोहर दुर्गन्ध अनि 

बेवारिस अवस्थाबाट गुज्रिरहेको थियो, पुखु भित्रको फोहर र गन्धले स्थानीयवासीहरूको  स्वास्थ्यमा  प्रत्यक्ष असर पर्ने र गाउँ ठाउँको अशोभनीय भएको कारणले सिद्धिपुर उपभोक्ता समितिले बिक्रम सम्बत  २०६१ मा सबैलाई चाहिने बाटो अलि फराकिलो गरेर  यसको पूर्णनिर्माण गरि पुखुको पछाडिको एक ठाउँमा महादेवको मुर्ति प्रतिस्थापन गरिएको थियो ।

यसरी नै अबका दिनहरूमा पनि हाम्रा पुर्खाहरूले निर्माण गरेर गएका यस्ता सम्पदाहरूलाई संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो, र सम्पदाहरूलाई सरंक्षण गरेर हामीले हाम्रो नयाँ पुस्ताहरूलाई  हस्तान्तरण गर्ने काम र  कर्तब्य पनि हाम्रै  हो ।

wednes day 7 Chaitra 2080

No comments:

Post a Comment