Sunday, September 22, 2024

जीवन के हो ?

 जीवन के हो ?



—संगिता उप्रेती श्रेष्ठ

जीवन एउटा सुन्दर प्राकृतिक उपहार हो । हामीले चाहेर जन्मेका हुँदैनौं । नचाहेर पनि जन्मदैनौं । जन्म एउटा सबैभन्दा ठुलो संयोग हो । आविस्कार हो । प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मेपछि जीवन आरम्भ हुन्छ । रजनि ओशो भन्छन्, जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नु पर्दछ । जीवनको खोजी गर्नु एउटा कला हो । यसको अर्थ जिउनु अर्थात् भोग्नुमा हुन्छ । यसको कुनै परिभाषा हुँदैन । भोगाईको के परिभाषा हुनु यो यसै हुन्छ । जे छ हुन्छ र हुनेछ त्यो नै सार्थकता हो ।

जीवन के हो भन्ने प्रस्न नै सबैभन्दा ठूलो दार्शनिक प्रश्न हो । यसको अर्थ र सार्थकता के मा छ,त्यो बुझ्नु अहम कुरा हो । यो नै तत्व ज्ञान सम्म पु¥याउने प्रश्न हो । समुद्र भित्र पसेर समुद्र काहाँ छ भन्ने जस्ता प्रश्नले यसको उत्तर प्राप्त गर्न गाह्रो हुन्छ । यसका आयामहरुलाई केलाउँदै रमाउँदै भोग्दै आनन्दित हुँदै अगाडि जाने हो । यो गन्तव्य नभएर सुन्दर बाटो हो । त्यो कि जबरजस्त हुन्छ कि स्वैच्छिक ! जीवनको खोज र अनुसन्धान हामीलाई यो बाध्यता हो कि रोजाईसम्म पु¥याउँछ ।

जीवनका मानवीय पारिवारिक र सामाजिक पाटाहरु छन । बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीहरु छन । पढ्नुपर्ने, जागिर गर्नुपर्ने पालनपोषण गर्नुपर्ने,पढाउनुपर्ने अभिभाराहरु छन । उतरदायित्वहरु छन । अलिकति परिवारले, अलिकति समाजले र धेरैजसो आफैले निर्धारण गर्ने कुरा हुन । यसलाई स्वाभाविक मान्ने कि अस्वाभाविक बोझ मान्ने कि रोग भोग गर्ने कि प्रयोग कि मोज । कसरी लिने कुरा अहम हो । मानिसले पारिवारिक र सामाजिक जीवनमा नै आफ्नो जीवनको सार्थकता देख्ने कि बोझ त्यो जिम्मा स्वयंको हुन्छ । उतरदायित्व बहन गर्ने कुरालाई नै बाध्यता मान्ने कि रोजाइ । जीवनको दार्शनिक खोज र भोग, दर्शन र दृष्टिकोणले यसमो छिनोफानो गर्छ । प्रतिको दृष्टिकोण, आदर्श, करुणा र मुल्यले हामीलाई ड्राइभ गरेको हुन्छ ।

विचारबाट निदेशन हुने हामी जे चाहन्छौं त्यो पाउँछौं । विचारको विजजस्तो रोप्छौं त्यस्तै योजनारुपि रुख र लक्ष्यरुपि फल लाग्छ । अमृतवृक्ष रोपे अमृत र विषवृक्ष रोपे विष फल्छ । कुरा छ विचार निर्माणको विषयलाई कसरी ग्रहण गर्ने भन्ने कुराको पत्यक्षिकरणको । आत्मसाक्षात्कारको जीवनमा दुःख छ । असफलता अज्ञानता छ । गरिबी छ । बाध्यता छ । यी सबै सापेक्षित कुरा हुन । समयसँगै परिवर्तन हुन्छन् । दुःख सुखमा असल, सफलता, अज्ञानता–ज्ञानमा, गरिब,ि सम्पन्नतामा, बाध्यता रहरमा बलिदान हुनसक्छ । नबदलिन पनि सक्छ । पुनः बदलिन पनि खाली प्रक्रियामा समय लाग्छ । यो सबको लागि बोध र धैर्यताको आवश्यकता पर्छ । सत्य लागेको असत्य र असत्य लागेको सत्य पनि हुनसक्छ । खासमा जीवन भनेकै धैर्यता र बोधको लामा यात्रा हो । अझ खास भन्दा एक सत्यजस्तो लाग्ने भ्रम हो । र एक भ्रमबाट अर्को भ्रमसम्मको यात्रा हो हामी यात्री ।

जसरी भैंसिलाई सिंगको भारी हुँदैन त्यसरी नै हामीले जीवनलाई भारी बोझ र बाध्यताको रुपमा हेर्नु हुँदैन । चाहे अरुले जस्तैसुकै देखोस या वास्तविकता नै किन नहोस तथापि त्यो पनि परिवतृन हुने कुरा हो भन्दै सुन्दर जीवन जिउने अवसरको रुपमा लिंदैं उच्चतम विवेकको प्रयोग गर्दै बाँच्नु पर्छ । स्टिफन हाकिङ्ग भन्छन् । जीवन सारो दुखद हुनेछ, यदि हामीले हाँसो ठट्टा गरेनौं भने । यो सत्य कुरा हो त्यस्तै प्रकाश सायमी भन्छन्, शंकर लामिछानेका यी पंक्ति जतिको शाश्वत साहित्य अरु लागेन बाच्नु जतिको ठुलो कुरा अरु केही रहेनछ, कुमुदिनी बहिनी ।’ हो जे जति बाच्नुमा छ । बाँकी त के छ र ? बाँचिएकै छ र त हास्न, रुन गुनासो गर्न पाइएको छ । विस्टिन चर्चिलको सफलताको तीन सुत्र—हरेस नखाउ, हरेस नखाउ र हरेस नखाउले बाच्नको लागि जोड दिएको, बाँच्नु नै सफलता भएको इङ्गित गर्छ ।

यदि बाध्यताको जीवन बाँच्छौ भने हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई सिमित गर्छौ । स्वतन्त्रता नष्ट गर्छौं । जीवनको सही अर्थ निर्माण गर्न सक्दैनौं । इतरमा रस छ, आफैमा चाहिं छैन भ्नने निस्कर्षमा पुग्छौं । निरास हुन्छौं । त्यसपछि बाँच्दैनौ–बाँचिदिन्छौं, हास्दैनौं, हाँसिदिन्छौं, खाँदैनौं खाइदिन्छ, गर्दैनौं, गरिदिन्छौं, लाउदैनौं लगाइदिन्छौं । भोग्दैनौ भोगिदिन्छ यी सबै भोगाइहरु र बाध्यताको जीवन बाँच्नेहरुका अनुभूति र अनुभवहरुमा आशित छन ।

जब हामी हाम्रो रोजाईको जीवन बाच्छौं हामीले हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई असीमित बनाउँछौं । जीवनप्रतिको आत्मविश्वास लाग्छ ।जोश र उत्साह आउँछ । आफैमा रस देखिन्छ । इच्छाशक्ति तीब्र हुन्छ । कुनै विषय वा लक्ष्यलाई लिएर हामी जस्तोसुकै कठिन यात्रा नै किन नहोस गर्न तयार हुन्छौं । हामीले रोजेका हरेक कामहरु यसका उदाहरणहरु हुन । जहाँ इच्चा त्यहाँ उपाय हुन्छ । शारीरिक रुपले कमजोर भएर पनि जीवन रोजेकाहरुको सफलता हेरौ न–अमेरिकी बैज्ञानिक स्टेफन हाकिङ अमेरिकी लेखिका हेलेन केलर, नेपाली अब्बल स्रष्टा झमक छिमिरे, मेक्सिकोका प्रख्यात कलाकार प्रिद्धा कच्छे चर्चित बलिउड नृत्यांगना सुधा चन्द यी प्रतिनिधि उदाहरण मात्र हुन । हरेक मान्छेका इच्छा हुन्छन रोजाई हुन्छन । इच्छा र रोजाइलाई स्वयंले गहिरिएर हेर्ने शुद्धीकरण गर्ने मुल्यवान र अर्थपूर्ण बनाउने हो भने शरीर, मन र आत्मा संयोजनमा संयुक्त शक्ति लिएर पुर्ति गर्न लागि पर्छ । कुनै बाध्यताको आभास हुँदैन । त्यो उसको डेस्टिनी बन्छ । चाहाना र रोजाईको काममा थकाई हुन्न । कामैबाट खुशी, आराम र मनोरञ्जन पाउँछ । त्यही काम बाध्यतावस गर्नु प¥यो भने चैन भाग्छ जीवनलाई बाध्यात्मक ठानेर बेअर्थी बनाउने कि रोजाइ अनुसारको बाँचेर अर्थपुर्ण बनाउने आफ्नै हातमा हुन्छ जुन भाग्यवस अहिले हामीले पाएका छौं । लाखौं र करोडौं मध्य एकलाई प्राप्त हुन्छ । जो अहिले हामीलाई सुन्दर अवसर प्राप्त छ । भनिन्छ, शरीर बुढो हुँदै जान्छ । मन अझ परिपक्व हुँदै जान्छ । कहिल्यै बुढो हुँदैन मन असीमित शक्ति मनसँग हुन्छ । जति भोग्दै गयौं, त्यति बुझ्दै गयो, जीवन झन झन अर्थपूर्ण र मुल्यवान हुँदै जान्छ । मर्ने बेलामा त जीवनको मुल्य चुलिएर सगरमाथामा बन्छ । थोरै बातावरणले र बाँकी सबै मन र मस्तिष्कले जीवनलाई कसरी लिने र चलाउने भन्ने कुरा निर्धारण गर्छ । मानिसका आ–आफ्ना बुझाई र भोगाई हुन्छ । यस्तो फरकपन हुनु नै मान्छे हुनु हो । यात्रा आफै गर्नुपर्छ । यात्री त कतिबेला बाटो बन्नुपर्छ त्यसमा पनि बाटोहरु अलग अलग हुनसक्छन तर गन्तव्य एउटै छ । आखिर सबैको यात्रा असत्यबाट, सत्यतर्फ अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलता तर्फ, अंशबाट पुर्णतातर्फ र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ । हामीलाई जीवनको बाध्यताले होइन रोजाइले नै यी प्रक्रियाहरु तर्फ धकेल्छ । हामी रोज्छौं एउटा, चाहन्छौ एउटा तर अर्कै पायौं जस्तो लाग्छ । अल्पकालमा यस्तो लागेको भए पनि दीर्घकालमा यो पाएरै छाड्छौं । अन्ततः आकर्षणको नियम लाग भएरै छाडछ । तर गर्नु पर्ने मुल कुरा हो नियमपूर्वक अभ्यास, सकारात्मक सोच, पूर्ण विश्वास, मेहनत र संघर्ष ।  खानु पर्छ यहाँ । पछि खाउँला भनेर अहिले रहरतिर लाग्न सकिन्न । सबै रहर र रोजाइले कहाँ खान दिन्छ र । भन्नेहरु थुप्रै भेटिन्छन । यहाँ रोजाइबाट खान सकिने भए त कुरै सकियो तर धेरैको रोजाइ एकातिर गर्नुपर्ने अर्कै हुनसक्छ । खानको जाहो गर्दा गर्दै रोजेको गर्न नपाइने हुनसक्छ ।त्यसैले बेलैमा ध्यान दिनु जरुरी छ ।

वर्तमानमा पल प्रतिपल आफ्नो लागि बाँच्न डर र तनावबाट मुक्त हुन मनका कुरा बोल्न, असलमित्र बनाउन र खुशी हुन जीवनका बाध्यताहरुबाट मुक्त हुनै पर्छ । बेलैमा आफ्नो जीवनले रोजेको बाटो हिड्नै पर्छ ।


No comments:

Post a Comment