Friday, November 1, 2024

चिया गफ—स्थानीय चुनाव २०८१ को लागि चर्चित नेपाली कांग्रेसका उम्मेदवारहरू

 चिया गफ—स्थानीय चुनाव २०८१ को लागि चर्चित नेपाली कांग्रेसका उम्मेदवारहरू 


चुनावको मिति जति जति नजिकिंदै गइरहेको छ । हरेक पार्टीमा मेयर पदको उम्मेदवारको अनुमान र चर्चा हुन थालेको छ ।

नेपाली कांग्रेसमा मेयरको टिकट पाउने दावी गर्नेहरु ११ जना भए पनि अहिले आएर स्व.राजकुमार नकर्मीका श्रीमती जमुना नकर्मी, कृष्णमान डंगोल र हिमाल कार्कीे नाम अग्रपक्तिमा छन । त्यो बाहेक कीर्तिपुरबाट राममान सिंह, पाँगाबाट बद्रीलाल महर्जन र जनकलाल महर्जनको नाम चर्चामा छ । 

सबै आ-आफ्नो क्षेत्रमा सक्रिय छन । सबैलाई थाहा भएकै कुरा हो, नेपाली कांग्रेसमा उम्मेदवार दर्ता गर्ने बेलामा मात्र उम्मेदवारको टुंगो लाग्ने गर्छ । अर्थात जसको बुढानिलकण्ठ र चाक्सीबारीसम्म पहुँच छ उसैले टिकट पाउने गरेको छ । हुनत यसपाली दशैंमा दुवै ठाउँमा टिका लगाएर आशिर्वाद लिनेहरुको फोटो फेसबुकमा छरपस्त थियो । 

नेपाली कांग्रेसमा एक थरि कार्यकर्ताहरु कृष्ण मान डंगोललाई दिनुपर्छ । सँधै उहाँलाई अर्को पटक अर्को पटक भनेर छकाउँदै आएका छन । यसपाली त जसरी पनि टिकट दिनुपर्छ भन्छन । अर्को थरी यो सिमित अवधि २ वर्षको लागि पनि के लोभ गर्ने ? बरु ८४ को लागि तयार रहँदा राम्रो हुन्छ । यो छोटो अवधिको लागि लोभ नगरे पनि हुन्छ । 

नेपाली कांग्रेसको अर्को चर्चित उम्मेदवार हिमाल कार्की राजनैतिक दृष्टिकोणले काठमाडौं जिल्ला समिति सदस्य नै २ कार्यकाल बिताइसक्नु भएको छ । धेरैवर्ष पहिलेदेखि मेयरको उम्मेदवार डाँडाभन्दा तलको उम्मेदवार भन्ने मांग गर्दै आएका थिए । यसपाली हिमाल कार्की त्यो पनि गैर नेवाः उम्मेदवार दिंदा इतिहास रचिन्छ । उहाँले जिते पनि इतिहासै रचिन्छ । उहाँका समर्थकहरु यो छोटो अवधिको लागि प्रयोगात्मक रुपमा भए पनि हिमाल कार्कीलाई दिनुपर्छ भन्छन । 

अर्काथरी नेवाःहरुको बाहुल्य भएको नगरपालिकामा गैर नेवाः उम्मेदवार उठाउँदा राम्रो हुँदैन भन्छन । हिमाल कार्कीका समर्थक नेवाः कार्यकर्ताहरु कीर्तिपुरमा नेवाः र गैर नेवाः भन्ने भेदभाव छैन । यदि त्यसो भएको भए २०७४ सालमा एमाले, ने.का र माओवादी ठूला पार्टीहरुले उपमेयरमा तिनै जना गैर नेवाःहरुलाई उम्मेदवार बनाएको थियो । वर्तमान उपमेयर शुभलक्ष्मी शाक्य एक्लै नेवाः समुदायबाट उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो । यदि नेवाः र गैर नेवाःको कुरा गर्ने होभने त त्यतिबेला शुभलक्ष्मीले चुनाव जित्नु पर्नें, सरस्वती खड्काले कसरी जित्यो ? नेपाली कांग्रेसका कार्यकर्ताहरुको माझमा मात्र होइन सर्वसाधारणले पनि रुचाएका चर्चित नाम हुन राममान सिंह । हरेक क्षेत्रमा सबैलाई सक्दो सहयोग गरिंदै आइरहनु भएका समाजसेवी राममान सिंहको पनि चर्चा चुलिंदै छ । विभिन्न सामाजिक संस्थाहरुमा कार्यरत राममान सिंहलाई नेपाली कांग्रेसको मात्र होइन स्वतन्त्र मतदाताको पनि मत पाउने आंकलन गरिएको छ ।

नेपाली कांग्रेसको नगर प्रमुखको लागि अर्का चर्चित उम्मेदवार पूर्व मेयर स्व.राजकुमार नकर्मीका श्रीमती जमुना नकर्मी हुन । कीर्तिपुर जनताले स्व.राजकुमार नकर्मीलाई ५ वर्षको लागि मेयरमा जिताएका थिए । तर उहाँको रोगका कारण असामयिक निधन भयो । त्यसैले बाँकी अवधिको लागि जमुना नकर्मीलाई नै उम्मेदवार दिनुपर्छ भन्नेहरु पनि छन । उहाँ विभिन्न संघ संस्थाहरुमा कानूनी सल्लाहकार भएर काम गरिरहनु भएको छ । साथै इजलाशमा बहश पनि गर्नुहुने अधिवक्ता  हुनुहुन्छ । अधिवक्ता भएका कारण स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा कानून बनाउनु पर्ने थुप्रै छन । उहाँ जितेर आएमा कानून बनाउन सजिलो हुन्छ । अर्को थरि भन्छन यसरी भयो भने यो त वंशवाद हुन्छ । यसको जवाफमा जमुनाका समर्थकहरु भन्छन नेपाली राजनीतिमा यो पहिलेदेखि चल्दै आइरहेको छ । गिरिजा पछि उहाँको छोरी सुजाता कोइलारा, गणेशमान पछि प्रकाश मान । अहिलेकै कुरा गर्ने हो भने नेपाली कांग्रेसका नेता नवीन राज जोशीको निधन पछि उहाँको श्रीमती सपना जोशीलाई समानुपातिक बाट सांसद बनाइयो । एमालेका सुवास चन्द्र नेवाङको निधन पछि उहाँका छोरालाई चुनाव लडाएर जितेकै छ । एमालेकै रबिन्द्र अधिकारीको निधन पछि विद्या भट्टराईलाई चुनाव लडायो जितेर आयो । अहिले पनि चुनाव जितेर शिक्षा मन्त्री हुनुहुन्छ । यदि जमुना नकर्मीलाई टिकट दिएमा सहानुभूति मत पाउने आशाका साथ पहिलो पल्ट महिलालाई नगर प्रमुखको उम्मेदवार बनाउँदा महिलाहरुको मत पाउने पनि आशा गर्न सकिन्छ । अहिलेका महिलाहरु धेरैजसो शिक्षित र राजनैतिक चेतना भएकाहरु छन । यदि यो पटक महिलालाई नगर प्रमुखको उम्मेदवार दिंदा जितेन भने महिलाहरुलाई नगर प्रमुख टिकट दिनु हुँदैन भन्ने भाष्य स्थापित हुन्छ । जसले गर्दा पछि महिलाहरु जतिसुकै योग्य र सक्षम भए पनि नगर प्रमुखको टिकट दिंदैन भन्ने उनीहरुलाई थाहा छ । त्यसैले शिक्षित र सचेत महिलाहरुको अत्यधिक मत पाउने आशा राख्न सकिन्छ । कीर्तिपुरका ससिर महर्जन र नगाउँका मीन प्रकाश महर्जनले पनि आंकांक्षा राखेका छन ।


No comments:

Post a Comment