Friday, November 8, 2024

कीर्तिपुर नगरको नगरप्रमुख स्वघोषित उम्मेदवार राजमान महर्जनको चर्चा चुलिंदै

 कीर्तिपुर नगरको नगरप्रमुख स्वघोषित उम्मेदवार राजमान महर्जनको चर्चा चुलिंदै

नगर प्रमुखको लागि स्वतन्त्र उम्मेदवार राजमान महर्जन

नेकपा एमाले कीर्तिपुर नगर कमिटीले आउँदो मंसिर १६ गते कीर्तिपुरमा हुन लागेको नगर प्रमुख पदको उम्मेदवारको रुपमा केन्द्रीय सदस्य  सुरेन्द्र मानन्धरको नाम सर्वसहमतिले सिफारिस गरे पछि कीर्तिपुरको राजनीतिमा हलचल ल्याइदिएको छ । सुरेन्द्र मानन्धर वि.सं. २०७० सालको संसदीय चुनावमा प्रचण्ड विरुद्ध एमालेबाट चुनाव लडेका थिए । त्यसबेला नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सि.ले चुनाव जितेका थिए । सुरेन्द्र दोस्रोमा परेको थियो । प्रचण्ड तेस्रोमा झरेको थियो ।

अहिले राजमानको चर्चा यसकारण चुलिएको छ कि यो भन्दा अगाडि केशरत्नलाई टिकट दियो भने हराउनको लागि राजमान महर्जनलाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि ल्याएको भन्ने हल्ला थियो । अहिले केशरत्नको नामको बदला सुरेन्द्र मानन्धरको नाम आएपछि राजमानले उम्मेदवारको नाम फिर्ता लिन्छ भन्ने हल्ला चलाएको छ ।

राजमान महर्जन  २०५३ सालमा कीर्तिपुर नगरपालिका बनेपछि एमाले कीर्तिपुर नगर कमिटिको संस्थापक सचिव हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले कीर्तिपुर नगरपालिकामा नगर प्रमुख, उप प्रमुख र बहुमत वडा अध्यक्ष जितेका थिए । तर २०६० सालदेखि उहाँले एमाले पार्टीबाट अलग रहेर स्वतन्त्र जीवन बिताइरहनु भएको छ । उहाँले लहना विश्व सफाई अभियान चलाएर आइरहनु भएको छ । उपनिर्वाचनको तिथि तय हुने बितिक्कै सर्वप्रथम उहाँले नै नगर प्रमुखको लागि स्वतन्त्र उम्मेदवार घोषणा गर्नु भएको थियो । त्यसपछि हरेक गाउँ, टोल घुमेर चुनाव प्रचारमा लागि सक्नु भएको छ । आउने शनिवार अर्थात कार्तिक २४ गते बिहान बाघभैरव मन्दिर परिषदमा उहाँले चियापानको कार्यक्रम राख्नु भएको छ । 

उहाँले स्वतन्त्र उम्मेदवार नहुने भन्ने हल्ला चलेपछि यस संवाददाताले उहाँसँग जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ, “अभियन्ता राजमान मानव बच्चा होइन, यो चुनावलाई खेलौना ठानेको छैन । मैले निर्णय लिए पछि लिएँ लिएँ । कसैको लोभ, लालच, धाक धम्कि कुनै किसिमले पनि पछि हट्ने वाला होइन । यो कीर्तिपुरलाई नमूना कीर्तिपुर बनाउने लक्ष्य लिएर अगाडि बढेको मान्छे म । सबैको सहयोग पाउने आशाका साथ म अगाडि बढिरहेको छु । मैले चालेको कदम पछाडि होइन, निरन्तर अगाडि बढिरहन्छ आफ्नो लक्ष्यमा नपुगेसम्म ।”

उहाँ कतिको निडर र आफ्नो योजनामा अडिग छ भन्ने २०७३ सालमा घटेको एउटा घटनाले प्रष्ट पार्छ । त्यतिबेला प्रहरी बृत्त कीर्तिपुरका इन्चार्ज डिएसपि डा.मेखबहादुर खत्री हुनुहुन्थ्यो । उहाँले कीर्तिपुरमा धेरै ठाउँमा छापा मारेर घरेलु रक्सी बरामद गरी नष्ट गरिदिएको थियो । डिएसपि डा.मेख बहादुर खत्रीले नै नयाँबजारमा एकतर्फि सवारीको नियम लगाएको थियो । जुन अद्यापि कायमै छ । उहाँले घरेलु मदिरा बनाउने ठाउँमा छापा मार्ने क्रममा २०७३ भाद्र १३ गते सोमवार डिएसपि डा.मेख बहादुर खत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले कीर्तिपुर नगरपालिका वडा नं.१ थाहाँबहालमा रहेको लहना नेवाः रेष्टुरेण्टमा छापा मारे । लहना रेष्टुरेन्ट कीर्तिपुरमा मात्रै होइन राजधानीमा नै चर्चित छ । लामो समयदेखि चर्चामा रहेको सो रेष्टुरेन्टमा प्रहरीले छापा मारेको विषयमा सम्पूर्ण कीर्तिपुरबासीले चासो लिएका थिए ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपि डा.मेखबहादुर खत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले रक्सी बनाउने कत्त, भाँडाकुँडाहरु समेत जफ्त गरेर ९वटा ड्रममा रहेको कत, रक्सी बनाउने फोसि, डुबुली, घैंटो समेत प्रहरी कार्यालयमा ल्याए ।  लहनाको संचालक को हो भन्दा राजमान महर्जन अगाडि आएर म हुँ भनेपछि उहाँलाई अफिसमा ल्यायो । त्यहाँ केलफेल भयो ।

“विक्रम संवत २०६३ साल भाद्र २२ गते नेवाः तजिलजि, संस्कृति जगेर्ना गर्न भनि कीर्तिपुर नगरपालिका वडा नां.१ स्थित थांबहाल टोलमा खोलेको लहना नेवाः रेष्टुरेन्ट हो । जसको उद्घाटन संस्कृतिविद एवं तत्कालिन नेपालभाषा एकेडेमीका चान्सलर सत्यमोहन जोशीले गर्नु भएको थियो । राजमान महर्जनले कुरा राख्नु भएको थियो ।

राजमानलाई किन गिरफ्तार गरेको भनी डिएसपि खत्रीसँग सोध्दा, “दर्ता र कहिं कतैबाट स्वीकृति नलिई भट्टि पसल चलाईरहेको भन्ने जनगुनासो आएपछि हामीले छापा मारेका हौ भनि बताउनु भयो । उहाँका अनुसार “अबैध रुपमा रक्सी बनाएर बेच्नु गैर कानूनी हो, हामीले सबुत प्रमाण सहित गिरफ्तार गरेर ल्याएका छौ । गैर कानूनी काम गर्न हामी कसैलाई छुट दिने छैनौं । अन्तशुल्क कार्यालयमा भाँडाकुँदासहित बुझाउने छु । त्यहाँबाट जे कारवाही हुन्छ, हुन्छ ।”

घरेलु रक्सि बनाउन तयार पारेका कत राख्ने भाँडाकुँडाहरु

यसको जवाफमा राजमान महर्जन भन्नुहुन्छ, “लहना खोलेपछि विभिन्न कार्यालयमा गएर दर्ताको लागि कुरा गर्न गएँ । संग्रहालय दर्ता गर्ने कुनै कानुन बनेको छैन । कानुन बनेपछि सम्पर्क राख्न आउनु होला भनेको थियो । त्यसैले लहना एउटा संग्रहालयको रुपमा संचालित भैरहेको हो । नेवाः परिकार, नेवाः भोज खानको लागि आन्तरिक पर्यटकहरु मात्र होइन विदेशी पर्यटकहरु पनि आउँछन् । नेवाः परिकार मागेपछि त्यसमा रक्सी, जाँड सबै पर्छन । हामीले हामीलाई चाहिने जाँड, रक्सीमात्र उत्पादन गर्छौं । बाहिर ग्यालेन का ग्यालेन बेच्दैनौं । हाम्रो रक्सी बनाउने कत्तको वैज्ञानिक परिक्षण गरियोस शिलबन्दी रक्सीभन्दा कुनै मानेमा कमि छैन ।” 

उहाँले फेरि भन्नुभयो, “मलाई जेल पठायो भने जेलमै सफाई अभियान चलाउँछु । संसार सफाई गर्न हिंडेको मान्छे मलाई केही लोभ छैन । नेवाः लहना अन्तर्गत जाँड रक्सी पर्छ कि पर्दैन, हामीले हाम्रो संस्कृति हाम्रो परम्परा चलाउन पाउने कि नपाउने यो सवाल दह्रो रुपमा उठाउनेछु ।”

राजमान महर्जनको गिरफ्तारी विरुद्ध कीर्तिपुर प्रहरी बृत्तमा स्थानीय महिलाहरु प्लेकार्ड सहित विरोध प्रदर्शन गर्दै

उहाँको गिरफ्तारी पछि स्थानीय मानिसहरु नेवाः पोशाक लगाएर सांस्कृतिक बाजा धिमे बजाएर प्रहरी वृत्त घेर्न आएका थिए । उहाँलाई कलंकीस्थित कर दाता सेवा राजश्व कार्यालयमा लगेको थियो । स्थानीय मानिसहरु त्यहाँ पनि बाजा बजाएरै पुगेका थिए । उहाँको सवालमा नाजवाफ भएर छाडेर ल्यायो । त्यतिबेला देखि लहनामा छाप्न मार्न कसैको हिम्मत भएन ।

राजमान महर्जनको समर्थनमा आन्तरिक राजश्व कार्यालय कलंकीमा धिमे बाजासहित जुलुस प्रदर्शन गर्दै स्थानीयबासीहरु

राजमान महर्जनको नेतृत्वमा २०६७ सालमा ३ दिन कीर्तिपुर महोत्सव गरिएको थियो । त्यसपछि आजसम्म कसैले गर्न सकेको छैन । यही कारण कीर्तिपुर नगरपालिकाका परिवर्तनकामी जनता राजमानप्रति आकर्षित हुँदै गइरहेका छन । त्यसैले त पार्टीका नेताहरु राजमानदेखि डराइरहेका छन । कीर्तिपुरवासी मंसिर १६ को प्रतिक्षामा छन ।


No comments:

Post a Comment