राजनीति पेशा व्यवसाय होइन
राजनीति के हो र यो किन गरिन्छ भन्ने कुरा बुझ्न आम जनतालाई गाह्रो परिरहेको छ । कसैले राजनीतिलाई पेशा भन्छन, कसैले समाजसेवा, कसैले व्यापार पनि भन्ने गरेका छन । वास्तवमा राजनीति पेशा पनि हुन सक्दैन, व्यापार त झन हुनै सक्दैन । असल राजनीति आफ्नो समाज र राष्ट्रको हितमा काम गर्नको लागि गरिने सामुहिक कार्य हो, जिम्मेवारी हो । सरल भाषामा भन्नुपर्दा राजनीति भनेको राज्य चलाउने एउटा व्यवस्था हो । विभिन्न विचार र आस्था भएका मानिसले राज्य चलाउने सिलसिला हो राजनीति । मुलुकमा उपलब्ध स्रोत र साधनको सही तरिकाले उपयोग गरेर जनतालाई सुखसविधा तथा सुरक्षा प्रदान गर्ने उद्देश्य राजनीतिको हुनुपर्छ । सबै राजनीतिज्ञले जनताले तिर्ने करबाट जम्मा हुने राज्यको ढुकुटी चलाउने हो । राज्यको ढुकुटी खर्च गर्ने क्रममा भ्रष्टाचार नगरी सदुपयोग गर्ने नेता समाजसेवी हो । तल्लो तहमा होस या माथ्लो अथवा निर्णायक तहमा जसले राजनीति मर्यादित बनाउँछु भन्ने सोच्छ, उसले राजनीतिसँग केही न केही व्यवसाय या पेशामा आफु सीधा नजोडिएको किन होस जुन व्यवसाय या पेशाले राजनीतिलाई सहयोग पनि गरोस, राजनीतिक गनै व्यक्तलाई आर्थिक संकटबाट बचाउन सकोस् । राजनीतिबारे विश्वेश्वरप्रसाद कोइराजा भन्थे, राजनीति कुनै गहन विषय होइन, राजनीति कपट अनि दाउपेच पनि होइन, राजनीति मुखले एउटा कुरा बोल्ने मनमा एउटा कुरा राख्ने पनि होइन । राजनीति सबैभन्दा ठूलो कुरा हो । तर आज वीपिको यो भनाई ठीक उल्टो हुँदै गएको छ । अहिले नेपालको राजनीति सेवाको भावनाले नभई विशुद्ध पेशा वा कमाइखाने थलोको रुपमा विकास हुन थालेको छ ।
यसको प्रभाव समग्र राज्यव्यवस्था सञ्चालनमा परेको छ । त्यसले आजको आवश्यकता भनेको राजनीतिलाई व्यापार गर्ने थलोको रुपमा होइन, विशुद्ध सेवाको भावनाले विकास गर्नु हो । विशुद्ध समाज सेवा समाज परिवर्तनको बाहकको रुपमा राजनीतिलाई जबसम्म अगाडि बढाउन सकिंदैन तबसम्म आमजनताले चाहेअनुरुपको परिवर्तन हुन सक्दैन । अचेल राजनीति कमाइखाने भाँडो, अनैतिक काम गर्ने व्यक्तिलाई संरक्षण दिने थलो र सबै ठाउँबाट गलहत्याइएका व्यक्तिको स्थानको रुपमा विकाश भैरहेको छ । यही परिपाटीका कारण आज जुनरुपमा राज्यका हरेक क्षेत्रमा विकास हुनुपर्ने थियो त्यो हुन सकेको छैन । त्यही गलत परिपाटीका कारण सबै पार्टीमा सक्षम दूरदर्शी, इमानदार र शिक्षित व्यक्तिको अभाव हुृँदैछ । आज दैनिक १५ सयभन्दा बढी सक्षम युवा विदेशतिर पलायन हुँदैछन । यस्तो हुनुमा नेतृत्वतहमा रहेका राजनीतिज्ञको नै दोष छ । जब यो परिवर्तित समाजलाई अनेकौं बहानामा अंकुश लगाउन थालिन्छ, तब समग्र प्रणालीमा नै प्रभाव पर्न थाल्छ । सक्षम र राम्राभन्दा पनि हाम्रो र आफ्नो मान्छेको खोजी हुन थाल्छ । जसले देशकै दुर्दशा निम्त्याउँछ । समाज र देशविकाशमा भन्दा पनि आफ्ना मान्छेको विकासलाई महत्व दिइरहेका नेतृत्ववर्ग वर्तमान अवस्थाप्रति संवेदनशील नहुनु दुर्भाग्य हो ।
घर चलाउने कार्यमा हामी जुन नैतिकता देखाउँछौं त्यो नैतिकता देश चलाउँदा पनि देखाउनु पर्छ । भनिन्छ नि, घर राम्रो हुनका लागि घरमुली राम्रो हुनुपर्छ । देश राम्रो हुनका लागि त्यस देशलाई दिने पार्टीका शीर्ष नेतृत्व इमानदार, सक्षम र दूरदर्शी हुनु जरुरी छ । जब हरेक पार्टीमा नेता दूरदर्शी हुन्छन् तब देशको विकासलाई उनिहरु आफ्नो विकास ठान्छन् । जबसम्म नेताहरु राजनीतिक भनेको देशलाई विकसित बनाउनु हो, देशको आर्थिक उन्नति भनेको म र मेरा सन्ततिको पनि आर्थिक उन्नति हो, मेरो दायित्व भनेको यो देशलाई समुन्नत, सुन्दर र विश्वकै नमुना देश नेपाल बनाउनु हो भन्ने सोच्दैनन् तबसम्म देशले परिवर्तनको काँचुली फेर्न सक्दैन । अहिले नेपालको राजनीति गलत बाटोतिर उन्मुख हुँदैछ । भ्रष्टाचार गर्ने, आफ्ना र आफन्तलाई मात्र हरेक क्षेत्रमा अवसर दिने, सरुवा बढुवाका लागि आफ्ना मान्छे वा पैसाको खोजी गर्ने अनैतिक काम गर्ने वा लुट मच्चाउने, समाजमा अशान्ति फैलाउने, चन्दा आतंक गुन्डागर्दी लगायत काम गर्नेको संरक्षित थलोको रुपमा राजनीति चिनिंदै गएको छ । यही कारण नै राजनीति र राजनीतिज्ञप्रति आम मानिसको विश्वास गिर्दै गएको छ । तिनले आमजनताबाट पाउनुपर्ने मान सम्मान, इज्जत, प्रतिष्ठा बिस्तारै ओरालो लाग्दैछ । समाजनै राजनिीतक प्रति नकारात्मक हुँदैछ । त्यसैले अब सबै तह र तप्काका नेतृत्ववर्गले राजनीतिलाई कसरी मर्यादित तथा व्यवहारिक बनाउने भन्ने बारे सोच्नुपर्छ । सबैभन्दा बढी आर्थिक मामिलामा कमजोर भइदिनाले राजनीति विकृत बन्न थालेको देखिन्छ । त्यसको निम्ति पनि राजनीतिज्ञले परिवार चलाउन र आफ्नै पनि दैनिक खर्च चलाउन कुनै छुट्टै पेशा अपनाउन जरुरी छ । समाजले पनि राजनीतिकलाई सबै नकारात्मक आँखाले मात्र नहेरी सच्चिनका निम्ति सहयोग गर्नुपर्छ । त्यसपछि मात्रै देशले खोजेको आमुल परिवर्तनको अपेक्ष ागर्न सकिन्छ । गाउँ, जिल्ला र केन्द्रीय तहमा रहेका नेताले पैसाका लागि लाचार बन्नु पर्ने दिन आउनु हुन्न । यति गर्न सकेमा पनि राजनीतिमा इमानदारी प्रतिबिम्बित हुन थालिहाल्छ । समग्र राजनीतिमा त्यस्तो अवस्था सिर्जना हुनसक्दा मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । त्यसकारण पनि राजनीतिलाई पेशा व्यवसाय बनाउन नखोजौं त्यसलाई समाजसेवाको भावनाले विकास गरौं । यही सोचबाट नै आमजनताले खोजेको आमुल परिवर्तन सम्भव हुन्छ । त्यसपछि आम जनताले लामो समयदेखि खोजेको आर्थिक सामाजिक विभेदको अन्त्य भइ समुन्नत नेपाल निर्माण सकिन्छ ।
No comments:
Post a Comment