के अधिकार खोज्दै गर्दा हामीले आफ्नो कर्तब्य पनि पुरा गरेका छौं ?
संगीता उप्रेती श्रेष्ठ
अधिकार र कर्तब्य एउटा सिक्काका दुईवटा पाटा हुन । त्यसैले यी दुवैलाई एक अर्कोसँग अलग गरेर हेर्न मिल्दैन । तथापि आजकाल कर्तव्यभन्दा पनि अधिकारका कुराहरु धेरै चल्ने गर्दछन् । जुन व्यक्तिले समाजप्रतिको आफ्नो दायित्वलाई राम्रोसँग बुझेको हुन्छ र जुन व्यक्तिमा समाज सेवाको भावना रहेको हुन्छ त्यस्तो व्यक्तिले कर्तब्यको ख्याल गरेको हुन्छ भने आफ्नो निहित स्वार्थ मात्र बढी हेर्ने व्यक्तिले कर्तव्यलाई भनदा पनि अधिकारलाई बढी महत्व दिन्छ र त्यस्तो ब्यक्ति कर्तव्य निर्वाहमा लाग्नुभन्दा पनि अधिकारकै लागि बढी उफ्रने गर्दछ ।
निश्चय पनि जायज सवालमा आफ्नो हक, हित र अधिकारको आवाज उठाउनु नराम्रो कुरा होइन । राज्यको प्रचलित नियम, कानून र मर्यादाको सीमाभित्र रही प्रत्येक नागरिकले आ–आफ्नो अधिकारको खोजी गरिरहँदा हामीले आफ्नो कर्तब्य निर्वाह गरिरहेका छौ कि छैनौ त ? त्यसतर्फ पनि ध्यान दिनुपर्ने हो कि ? होइन अधिकारको नाममा केबल आफ्नो ब्यक्तिगत वा नाता सम्बन्ध पार्टीलाई मात्र अघि सारिरहने तर आफ्नो कर्तब्यलाई बेवास्ता गर्दै जाने हो भने यसले हाम्रो समाज र राष्ट्रलाई अघि बढाउँदैन बरु झनझन पछि धकेल्दछन । किनकी अधिकार कर्तब्यको सन्तुलनबाट नै समाज र राष्ट्र पनि सन्तु्लित रुपमा अघि बढ्न सक्तछ । हाम्रो नेपालमा एउटा अत्यन्त प्रचलित कहावत पछि छ सेवा गरे नै मेवा पाइन्छ । यहाँ सेवाले कर्तब्यको बोध गराउँछ भने मेवाले अधिकारको सेवा नगरी मेवा पाईदैन । अर्थात कर्तब्य नगरी अधिकार पाईँदैन । यसकारण नेपाली समाजमा कर्तब्यलाई पहिलो प्राथमिकता दिइएको छ । साँच्चै भन्ने हो भने दिनुमा जे आनन्द हुन्छ त्यो लिनुमा हुँदैन । हामीले बसोबास गर्दै आएको यस चराचर जगतमा पानी नदी, वृक्ष, सूर्य चन्द्र सबै दिनकै लागि सृष्टि भएका छन । नदीले जल दिएर, वृक्षले फलपूmल दिएर, सूर्यले ताप दिएर, चन्द्रमाले शितलता दिएर आफ्नो कर्तव्य पुरा गरेका छन । यसबाट पनि हामीलाई के शिक्षा मिल्छ भने हामीले अधिकार र कर्तव्यको कुरा गरिरहँदा सबैभन्दा पहिलो कर्तव्यलाई नै प्राथमिकता दिनु पर्दछ । आफ्नो कर्तब्य पुरा गरेपछि मात्र हामीले अधिकारको कुरा गर्न सुहाउँछ । आज विश्वमा जति पनि मुलुकहरु प्रगतिको पथमा अघि बढेका छन । तिनीहरुले पनि अधिकारभन्दा पहिला कर्तव्यलाई नै प्राथमिकता दिएको देखिन्छ । उनीहरुले पहिला म बनौं भन्ने भाव कहिल्यै राखेनन् । बरु मेरो देश बन्यो भने म अवश्य बन्छु भन्ने भावना राखेर आफ्नो कर्तव्य पथमा अघि बढे जसले गर्दा उनीहरु आज उन्नतिको शिखरमा पुग्न सफल भएका छन ।
हुन त कतिपय मानिसको भनाई के रहेको पाइन्छ भने कर्तव्य कसरी पुरा गर्न अथवा आफ्नो जिम्मेवारी निर्वाह गर्न अधिकार पनि चाहिने हुन् सक्छ तर प्रश्न के हो भने के कर्तब्य पुरा गर्नको लागि अधिकार माग गरिएको छ त ? यहाँ त आफ्नो कर्तब्य पूरा गर्नकै लागि भन्दा पनि अधिकारमै बढी केन्द्रित रहने र कर्तब्यको कुरा आयो भने या त जिम्मेवारीबाट पनि नभए अरुलाई पन्छाउने प्रवृत्ति रहेको पाइन्छ ।
वास्तवमा हामीले अधिकारको सही प्रयोग पनि आफ्नो कर्तव्य वा जिम्मेवारी निर्वाह गरेर नै गर्न सक्छौं । किनकी अधिकार सँगसँगै कर्तव्य पनि गाँसिएर आएको हुन्छ । यदि हामीले आफ्नो कर्तब्य जिम्मेवारीपूर्वक निर्वाह गर्न सकेनौं भने हामीले पाएको अधिकारको हनन भयो कि भएन त्यो पनि हेर्नुपर्ने हुन्छ । अथवा हामीले समाजको हितकै लागि उपयोग गर्नु पर्दछ । त्यसो त हाम्रो देशको संविधान २०७२ को भाग ३ मा पनि मौलिक हक र कर्तब्यका सम्बन्धमा प्रष्ट रुपमा ब्याख्या गरिएको पाइन्छ । उक्त संविधानको भाग ३ अन्तर्गत धारा १६ देखि ४६ सम्म स्वतन्त्राको हक, समानताको हक, शिक्षा, स्वास्थ्य र रोजगार सम्बन्धी हक, सामाजिक न्यायको हक, सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, गोपनीयताको हक, सूचनाको हक शोषण बिरुद्धको हक, भाषा तथा संस्कृति सम्बन्धी हक, स्वच्छ वातावरण सम्बन्धी हक महिलासम्बन्धी हक आदि रहेका छन भने सोही भागको धारा ४८ मा नागरिक कर्तब्यको बारेमा पनि स्पष्ट रुपमा उल्लेख गरिएको पाईन्छ । जस्तै राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संबिधान र कानूनको परिपालना गर्नु राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु अनि सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भन्ने रहेको छ । त्यसैले राज्यले हाम्रो अधिकारको संरक्षण गर्दछ भने राज्य र आफ्नो देशप्रतिको जिम्मेवारी बफादार र उत्तरदायी रहँदै आफ्नो कर्तब्य पनि हामीले पुरा गर्नु पर्दछ । वास्तवमा जुन कुरा गर्नु पर्दछ । र गर्न सकिन्छ त्यही नै हाम्रो कर्तब्य हो दायित्व हो ।
यसरी मानिसको हरेक सामाजिक आर्थिक र राजनीतिक गतिविधिहरुमा अधिकार र कर्तब्य अन्तर्निहित बनेर रहेको हुन्छ । अधिकारको मानिसको स्वतन्त्रताको रक्षा गर्दछ भने प्राप्त स्वतन्त्रताको सम्मानजनक रुपमा उपयोग गर्नु पनि ब्यक्तिको कर्तब्य हुन्छ । अबश्य पनि अधिकार भन्ने कुरा समाजको हितकै लागि उपयोग गरिने हुनाले यसलाई सामाजिक हित विपरित लान सकिंदैन । त्यसैले पहिलो ब्यक्तिगत सामुदायिक अथा संस्थागत तहमा आफ्नो कर्तब्य रजिम्मेवारी निर्वा गर्न पर्दछ । र आफ्नो अधिकार पनि खोज्नु पर्दछ । किनकी कर्तब्यविहिन अधिकारको प्रयोग गर्न खोज्नु अराजक र अहंकारी प्रवृद्धि ठहरिन्छ । आज घर परिवार अनि समाजमा जुन किसिमले अशान्ति र अन्तर्कलह देखिने गरेको छ, त्यसको मूल कारण पनि आफ्नो कर्तब्यभन्दा अधिकारतर्फ नै बढी केन्द्रित रहनाले हो भन्दा अतिशयोक्ति हुने छैन । जस्तो घर–परिवारमा छोराछोरीले आफ्नो बुबा आमाप्रति गर्नु पर्ने आदर सेवा, कर्तव्यचाहिं पुरा गरेका छन कि छैनन् त ? यसतर्फ पनि हामी सबैकोध्यान पुग्नुपर्ने आबश्यकता देखिन्नछ ।
त्यसैले हामीले अधिकारको कुरा गरिरहँदा एक पटक आफ्नो आत्मसमीक्षा पनि गर्ने गरौं । के मैले आफ्नो देशको लागि समाजको लागि कर्तब्य पनि पुरा गरेको छ त ? यदि कसैले कर्तब्यबाट च्युत भई केवल अधिकारको मात्र खोजी गरिरहन्छ भने त्यसले उसको निहित स्वार्थ र अहंकारी प्रवृत्तिलाई नै उजागर गरिरेको हुन्छ । एउटा जिम्मेवारी नागरिकको आफ्नो समाज र राष्ट्रप्रति कर्तब्य र अधिकार दुबै रहन्छ । निश्चित रुपमा उसले अधिकारको उपयोग गर्दछ भने आफ्नो कर्तब्य वा जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ ।
No comments:
Post a Comment