Friday, January 3, 2025

        पालुवः टोलमा धिमे प्रशिक्षण कार्यक्रम सम्पन्न


बुद्ध महर्जन

          कीर्तिपुर, पालुवः पौष १० २०८१ । कीर्तिपुर नगरपालिका वडा नं. ४ स्थित पालुवः धिमे खलःको आयोजनामा गत २०८१ साउन २१ गतेदेखि २०८१ पौष ९ गते सम्म संचालित धिमे बाजा प्रशिक्षण कार्यक्रमको समापन समारोह भब्य कार्यक्रम बीच पालुवः स्थिति बुद्ध मन्दिरको हलमा सम्पन्न भयो । 

          कार्यक्रममा कीर्तिपुर नगरपालिकाक प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि, उपप्रमुख शुभलक्ष्मी शाक्य विशिष्ट अतिथि, कीर्तिपुर न.पा. ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँ, नगर समिति सदस्य दिनेशचन्द्र दाहाल, अनिल बास्कोटा, सलिना स्यावा त्यसैगरि ढुगाँ पालुवः सना गुठीका थकाली चन्द्रमान महर्जन, कीर्तिपुर ज्ञानमाला संघ तथा नगरमण्डप श्री कीर्ति ज्ञानमाला भजनखलःका सचिव महन्तबहादुर महर्जन साथै कीर्तिपुर नगरपालिका, सामाजिक विकास शाखाका निमित्त प्रमुख सुजिन्द्र महर्जन एवम् अधिकृत पवित्रा अर्याल अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । पालुवः धिमे खलःका अध्यक्ष जीवन महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा धिमे खलःका कजीः जयराम महर्जनको पनि उपस्थिति रहेको थियो । 

Mayer Krishna Man Dangol

               पालुवः धिमे खलःको सो प्रशिक्षण कार्यक्रमका लागि चन्द्रागिरि नगरपालिका वडा नं. ९ साखल्बस्थित मानन्धर धिमे खलःबाट गुरुहरुको ब्यवस्था र अनुगमन, सुपरिवेक्षण गरिएको थियो । सो कार्यक्रममा मानन्धर धिमे खलःलाई धन्यवादपत्र, मूल गुरु सबिन मानन्धर गुरुहरु आर्यन मानन्धर, विक्रम मानन्धर र निरोज मानन्धरलाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट प्रथम (मुसीः) दृष्तान्त महर्जन, दोश्रो प्रनिल महर्जन, तेश्रो सुबिना चौधरी लगायत अन्य विशिष्ट श्रेणीमा उत्तिर्ण हुने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

Vice Mayer Shubha Luxmi Shakya Sunita

               कार्यक्रम सम्बन्धमा जानकारी दिँदै पालुवःधिमे खलःका सचिव सुबिना चौधरीले सो प्रशिक्षण कार्यक्रम नेवारी संस्कृति र परम्परा बमोजिम चन्द्रागिरि मच्छेगाउँबाट नासँ द्योः (नाट्यश्वर) भगवानलाई मन्त्रविधिद्वारा पालुवः स्थित प्रशिक्षण स्थलमा पदार्पण गराई प्रतिस्थापित गरिएको बताउनु भयो । शुरुका ४५ दिन सम्म बोल, तत्पश्चात बाःपूजा, क्षमापूजा जस्ता कार्यक्रमको आयोजना गरी धिमे हस्तान्तरण गरिए पश्चात् बादन प्रशिक्षण शुरु गरिएको जानकारी दिनु भयो । सम्पूर्ण गुरुहरुको समुपस्थितिमा लिइएको परिक्षामा प्रथम मुसी दृष्तान्त महर्जन, दोश्रो प्रनिल महर्जन र तेश्रो स्थानमा सुबिना चौधरीले हासिल गर्नु भएको जानकारी दिनु भयो । कीर्तिपुर नगरपालिका वडा नं. ४ बाट पहिलो पटक बाजागाजा अन्तरगत रु. ३ लाख विनियोजन गरि शुरु गरिएको उक्त प्रशिक्षण कार्यक्रमका लागि मिति २०८१ असोज २२ गते विशेष कार्यक्रमको आयोजना गरी पालुवःधिमे खलःलाई कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहालबाट धिमेबाजा हस्तान्तरण गर्नु भएको पनि बताउनु भयो । २०८१ असोज २३ गतेका दिनमा धिमे पिकायेगु कार्यक्रम सम्पन्न भई प्रशिक्षण कार्यक्रम सम्पन्न हुँदा कूल ११ जना प्रशिक्षार्थीले नियमित रुपमा उपस्थित भई प्रशिक्षित भएको बताउनु भयो । प्रतिष्थापित नासँ द्योः (नाट्यश्वर) भगवानलाई विधिवत् रुपमा विशेष पूजाको आयोजना गरी यथा स्थान मच्छेगाउँस्थित नासँ द्योः स्थानमा २०८१ पुष ६ गते ससम्मान फिर्ता पु¥याईएको बताउनु भयो । 


                समापन कार्यक्रमको उद्घोषण सचिव सुबिना चौधरी, स्वागत मन्तब्य सदस्य बुद्ध महर्जन र नगर समिति सदस्य दिनेशचन्द्र दाहाल, वडा अध्यक्ष राजेन्द्र बानियाँ, विशिष्ट अतिथी कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य र प्रमुख अतिथी कृष्णमान डंगोलले मन्तब्य राख्नु भएको थियो । धिमे खलःको स्थापना गर्नु पालुवः टोलका लागि गौरवमय र ऐतिहासिक रहेको यसलाई निरन्तरता, संरक्षण र सम्वद्र्धनका लागि वडाबाट नियमित वार्षिक बजेटको ब्यवस्था हुन जरुरी भएको कुरा स्वागत मन्तब्यको क्रममा बुद्ध महर्जनले बताउनु भयो । 


           त्यसै गरी वडाका सदस्य दिनेशचन्द्र दाहालले आफुले पालुवः टोलमा माग भएबमोजिम बाजागाजाका लागि बजेट विनियोजन गरेको र पालुवः टोलको सक्रियता सबैका लागि अनुकरणीय रहेको बताउनु भयो । त्यसैगरी वडा अध्यक्ष राजेन्द्र बानियाँले अब आउंदा दिनमा जात्रा संचालन अन्तरगत बुद्ध मन्दिर संरक्षण समिति र पालुवः धिमेखलःका लागि नियमित बजेट विनियोजन गर्न वडा कार्यपालिकाबाट नीतिगत निर्णय गर्ने आश्वासन दिनुभयो । पालुवः टोलले छोटो समयमा गरेका सामाजिक, साँस्कृतिक र पारम्पारिक गतिविधि प्रशंसनीय रहेको बताउनु भयो । 


             विशिष्ट अतिथी कीर्तिपुर न.पा.का उपप्रमुख शुभलक्ष्मी शाक्यले पालुवः टोलको एकता र उत्साहले आफु खुशि भएको र सामुदायिक भवन बनाउन र यसलाई पूर्णता दिनका लागि आफुले सकेको प्रयास गरेको बताउनु भयो । त्यसैगरी प्रमुख अतिथी कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले “हाम्रो पहिचान नै हाम्रो संस्कृति, संस्कार र परम्परा रहेको र आउँदा दिनमा यसलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक उपार्जनसँग जोड्न सके यसको निरन्तरता र संरक्षण सम्वर्धनमा सहज हुने बताउनु भयो । आफु पनि संगीतको फाँटमा निरन्तर लागिरहेको हुँदा यसका समस्याहरु जानकार रहेको तसर्थ यसको महत्व, संरक्षण र सम्वर्धनमा विशेष जोड दिने बताउनु भयो । कार्यक्रमको समापन पश्चात् आयोजकले आयोजना गरेको थईभ्वयेः कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सबै महानुभावले हर्षाेल्लासका साथ उपस्थिति जनाउनु भएको थियो । 


स्मरण रहोस् पालुवः टोलमा स्थापित धिमे बाजाका कजिः जयराम महर्जनको संरक्षण र अभिभावकत्वमा उक्त धिमे बाजाखलः रहनेछ ।




No comments:

Post a Comment