Wednesday, February 5, 2025

शहीद स्मारक कलेजको ३४ औं वार्षिक उत्सव सम्पन्न

शहीद स्मारक कलेजको ३४ औं वार्षिक उत्सव सम्पन्न

 कीर्तिपुरको पहिलो सामुदायिक कलेजको रूपमा स्थापित शहीद स्मारक कलेजले गत २०८१ माघ १६ गते बुधबार (शहीद दिवस) का दिन आफ्नो चौंतिसौँ वार्षिक उत्सव सम्पन्न गरियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष श्री शम्भुराम महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूबाट पानसमा दिप प्रज्वलन र शहीदहरूको फोटोमा माल्यापर्ण गरी उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हिराबहादुर महर्जन, परीक्षा नियन्त्रण सह प्रा. पुष्पराज जोशी र कीर्तिपुर नगरपालिकाका उप प्रमुख शुभलक्ष्मी शाक्यज्यू विशेष अतिथिका साथै कलेजका संस्थापक, कीर्तिपुरका शिक्षाविदहरू, शैक्षिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरू र कलेजका शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


प्रमुख अतिथिज्यूबाट पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा क्याम्पस प्रमुख मिलन मान महर्जनले स्वागत मन्तव्य दिदैं कलेजको प्रगति विवरण पेश गर्नु भयो । उहाँले हाल कलेजमा स्नातक तहमा एक हजार भन्दा बढी र +२ तहमा छ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको र त्यसमध्ये पचास प्रतिशत भन्दा बढी छात्राको संख्या रहनुको साथै स्नातक तहमा करिव तेइस प्रतिशत स्थानीय विद्यार्थी रहेको व्यहोरा जानकारी गराउनु भयो । यसै क्रममा कलेजको शैक्षिक गतिविधिलाई आधुनिक सूचना प्रविधिसंग जोड्दै लैजानुको साथै अनुसन्धनामूलक गतिविधिमा सक्रिय हुदै आइरहेको कुरा राख्नु भयो ।

दशर्नाचार्य (एम फिल) उत्तीर्ण गर्न सफल कलेजका ८ जना शिक्षक शिक्षिकाहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको सो कार्यक्रममा कीर्तिपुरका अन्तराष्ट्रिय धावक तथा पदक विजेता धर्म महर्जनलाई पनि विशेष सम्मान गरिएको थियो । साथै लोक सेवा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गर्न सफल कलेजका सात जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम कै क्रममा वोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न तह र संकायका विद्यार्थीहरू सम्मान गर्नुको साथै कलेजको वार्षिक उत्सवको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगितामा विजय हुने खेलाडीहरूलाई पनि मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

        कलेजलाई शुभकामना मन्तव्य दिने क्रममा विशेष अतिथि कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यज्यूले कीर्तिपुर क्षेत्रको उच्च शिक्षा अध्ययनको सहजताका लागि एक घर एक स्नातक कार्यक्रम लागु गर्दै आईरहेको साथै शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्दै आइरहको कुरा बताउनु भयो । शहीद स्मारक कलेजका प्रगतिका कारण यस कलेजको व्यवस्थापन समितिको सदस्य बन्न पाउँदा आफूलाई गर्व लागेको छ भन्नु हदै शुभकामना व्यक्त गर्नु भयो । मन्तव्य कै क्रममा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक सह प्राध्यापक पुष्पराज जोशीले शहीद स्मारक कलेजले त्रिभुवन विश्वविद्यालयका विभिन्न परीक्षाहरू उत्कृष्ट ढङ्गले सञ्चालन गर्दै आइरहेकोले त्रि.वि. स्थायी परीक्षा केन्द्र कायम गरिएको बताउनु भयो । परीक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालय र कीर्तिपुर मिलेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । 


     प्रमुख अतिथिको तर्फबाट मन्तव्य दिदै त्रिभुवन विश्वविद्यायका उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूले आफू यस पदमा आसिन भइसकेपछि कीर्तिपुर क्षेत्रको कुनै औपचारिक कार्यक्रममा भाग लिएको यो पहिलो अवसर भएको र कीर्तिपुर क्षेत्रको कलेज भन्ने वित्तिकै आफूले सहर्ष स्वीकार गरी कार्यक्रममा सहभागिता जनाएको र यस अवसरका लागि शहीद स्मारक कलेजलाई धन्यवाद ज्ञापन गरियो । मन्तव्य कै क्रममा कीर्तिपुर कै योगदानका कारण त्रिभुवन विश्वविद्यालय स्थापना र सञ्चालन भएकोले कीर्तिपुरको योगदानको कदर गर्दै आगामी दिनमा कीर्तिपुरलाई पनि साथमा लिई अगाडि बढ्ने आफ्नो योजना रहेको मनसाय पेश गर्नु भयो । आजको दिनमा विश्वविद्यालयमा विद्यार्थी संङ्ख्या उत्साहजन रूपमा नहरेको र विदेश जाने प्रचलन अध्याधिक मात्रामा रहेको तथ्यलाई मनन गर्दै रोजगार र सिपमूलक शिक्षा आजको आवश्यकता रहेका छ भन्नु भयो । पढाईसंग कमाईको बाटो पनि खोल्दै खुलाउदै जानु पर्ने कुरामा जोड दिनु भयो । यसका लागि उपकुलपतिको हैसियतले आफूले सक्दो काम गरिरहेको कुरा बताउनु भयो । अन्य संस्थामा विद्यार्थी संङ्ख्या कमी भैरहेको अवस्थामा यस कलेजको प्रगति सुन्दा खुशी लागेको र गुणस्तरिय शिक्षाको निरन्तरताको कामना गर्नु भयो साथै लोकसेवा मार्फत निजामती सेवामा प्रवेश गर्ने कार्यका साथै स्वरोजगार सिर्जना हुने कार्यमा पनि लाग्न सक्ने जनशक्तिको सिर्जना सकियोस् भन्ने कामनाका साथ चौंतिसौं वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नु भयो । कलेजका सहायक क्याम्पस प्रमुख सञ्जय ज्ञवाली र शिक्षिका रिद्धि भन्सारीले सञ्चालन गर्नु भएको उक्त सभाको अन्तमा कलेजका विद्यार्थीहरूद्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।



कलेजको ३४ औं वार्षिक उत्सवको उपलक्ष्यमा माघ १५ गते साँझ खासीबजार अवस्थित शहीद स्तम्भमा माल्यार्पण र दिप प्रज्वलन कार्यक्रम पनि गरिएको थियो भने त्यहाँबाट बाजागाजा सहित कलेज व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको व्यापक सहभागितमा कलेजसम्म ¥यालीको आयोजना गरी कलेजमा दिपावलीको कार्यक्रम गरिएको थियो ।

No comments:

Post a Comment