समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठूलो विद्रोह हुन्छः
अध्यक्ष श्रेष्ठ, सङ्घीय परिषद
बालकुमारी, ललितपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठूलो विद्रोह हुने कुरा बताएको छ । उनले उक्त कुरा प्राध्यापक, डाक्टर, इञ्जीनियर, कानुन व्यवसायी, पत्रकार, शिक्षक, अडिटर, राष्ट्रसेवक, भूपु कर्मचारीलगायतका बौद्धिक पेसाकर्मीहरूको छाता सङ्गठन नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ पुनर्गठनका लागि भएको घोषणा सभामा प्रमुख अतिथिको आशनबाट बताएको हो ।
सङ्घीयताविदकोरूपमा समेत चर्चित श्रेष्ठले आफ्नो पार्टीले समाजवाद सँगसँगै सङ्घवादलाई पनि सिद्धान्तको रूपमा मानेको बताउँदै उत्पीडित राष्ट्रियताहरूको मुक्ति सङ्घवादले र श्रमजीवी वर्गको मुक्ति समाजवादले गर्ने मौलिक सिद्धान्तको रूपमा सङ्घीय समाजवाद अगाडी सारेको बताए ।
नेपालजस्तो बहुलतायुक्त मुलुकका लागि सङ्घवाद र समाजवादलाई सिद्धान्त मान्ने नयाँ ढड्गको पार्टीको आवश्यकता भएको कुरा स्पष्ट पार्दै प्रमुख अतिथि श्रेष्ठले राजनीतिक रूपमा उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि सङ्घीयता र साङ्गठनिक रूपमा जस्तो समाज उस्तै पार्टी– जस्तो समाज उस्तै राज्यको नारा अगाडी सारेको कुरा बताए । यी विचारहरूले जनता समाजवाीलाई अरु पार्टीभन्दा भिन्न बनाएको कुरा पनि उनले स्पष्ट पारे ।
प्रमुख अतिथि श्रेष्ठले नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक स्थिरताका लागि भन्दै समानुपातिक निर्वाचन फेर्ने कुरा गर्नु टाउको दुख्दा नाइटोमा औषधी हालेजस्तो भएको बताए । उनले देशमा राजनीतिक स्थायित्वका लागि सङ्घ र प्रदेशमा पनि स्थानीय तहमा जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने प्रणाली तथा संसद पूर्ण समानुपातिक र मन्त्रिपरिषद् विज्ञहरूको बनाउनुपर्ने बताए ।
घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि तथा पार्टीका केन्द्रीय समितिका अध्यक्ष माननीय अशोक कुमार राईले पहिचानसहितको सङ्घीयताबिना देशमा स्थायीत्व नहुने बताउँदै यस काममा निरन्तर रूपमा लागे पार्टीले सफलता हाँसिल गर्ने कुरा बताए । उनले आफूहरूले राजनीतिक सिद्धान्त, माग र मुद्दाहरूमा केन्द्रित भएर पार्टी पुनर्गठन गरेको बताउँदै राजनीतिक मुद्दालाई ओझेलमा पार्न जसपा नेपालका नेताहरूले मुद्दा हालेको बताए । उनले मुद्दा हाल्दैमा तर्सनु नपर्ने भन्दै कार्यकर्ताहरूलाई निर्धक्क भएर लाग्न निर्देशन दिए ।
पूर्वमन्त्री समेत रहेका राईले बौद्धिक पेसाकमीहरूको देश निर्माणमा ठूलो भूमिका हुने भन्दै व्यापक रूपमा सङ्गठन विस्तार गर्न निर्देशन दिए । उनले कार्यकर्ताहरूले पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन र परिपत्रहरू अध्ययन गरी आत्मविश्वासका साथ काममा जुट्न आहह्वान गर्नुका साथै कतिपय व्यक्तिहरूले बडनियतका साथ आफ्नो पार्टी एमालेमा विलय हुने भनेर भ्रम फैलाएकोमा आक्रोश व्यक्त गरे । पुनर्गठन घोषणा कार्यक्रममा पार्टीका उपाध्यक्ष द्वय रणध्वज कन्दङ्वा र माननीय सुशिला श्रेष्ठले पनि पुनर्गठित समितिलाई मन्तब्य दिएका थिए ।
पुनर्गठन घोषणा सभाले बौद्धिक पेसाकर्मी महासङ्घको अध्यक्षमा लामो समयदेखि अध्यापन कार्यमा संलग्न अर्जुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ भने अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष डा. युवराज लिम्बू, उपाध्यक्षहरूमा डा. अमीर आलम र नातिकाजी महर्जन, महासचिव दिलिप कुमार साह, सचिवहरूमा के वि अधिकारी र बागधन राई, कोषाध्यक्षमा संजय कुमार न्यौपाने चयन गरेको छ । अन्य सदस्यहरूमा प्रकाश श्रेष्ठ, जहर सिं राई, डा. सरिता, बसन्त कुमार कनौजिया चयन भएका छन् ।
No comments:
Post a Comment